विचार

Tata MotorsTata Motors

राजनीतिको अपहरण हुँदैछ, महेन्द्रवाद फर्कंदैछ


प्रदिप गिरि
काठमाडौं, भदौ १४

प्रदिप गिरि

‘हाम्रो समाजबाट सुस्तरी तर निश्चित रुपले राजनीतिको अपहरण हुँदैछ। राजा महेन्द्रको मुख्य आदेश थियो, नेपालीले अरु जे गरेपनि हुन्छ, राजनीति चाहिँ गर्न पाइँदैन। हो त्यही महेन्द्रवाद, पञ्चायती व्यवस्था फर्कंदैछ।’

चैतन्य मिश्रको ‘लोकतन्त्र र आजको मार्क्सवाद’ पुस्तक सरसर्ती पढेपछि, सबैतिरबाट सरसर्ती हेरेपछि एउटा सजिलो निष्कर्षमा म सरसर्ती पुगें। पुस्तकमा तीन खालका विषय छन्। सबैले सजिलै बुझ्ने, सबैले बुझ्न खोज्ने र सबैले बुझ्न पर्ने। ती विषय बुझ्न विशेषज्ञ हुनुपर्दैन।

पुस्तकमा अति जटिल कुराहरु पनि छन्, विशेषज्ञलाई पनि बुझ्न गाह्रो हुने। मार्क्सवादबारे यति जटिल कुराहरु छन् कि मार्क्सवादमै पीएचडी गरेका मान्छेलाई पनि हाम्मे पर्नसक्छ। तेस्रो यस्ता विषय पनि छन्, समय अभावले हो वा लेखकको दृष्टि नपुगेर हो ती कुरा यसमा परेकै छैनन्। परेका कुरा, परेका मध्ये सजिला कुरा, परेका मध्ये अप्ठेरा कुरा र मेरो विचारमा पर्नैपर्ने नपरेका कुरा। यी तीनवटा विषयमा केन्द्रीत रहेर मेरो टिप्पणी प्रस्तुत गर्छु।

चैतन्य मिश्रप्रति मेरो सम्मान नै झल्कनेछ। बेलायतका अन्त्यन्त ठूला नोवल पुरस्कार प्राप्त विद्धान बर्टट्रान्ड रसेलका बारेमा यो कथन खासमा प्रचलनमा छ। उनले केही पुस्तक यस्ता खेलेका छन्, सरल भन्दा सरल पाठकले पनि यो कस्तो पुस्तक लेख्या हो भनेर गाली गर्छन्। उनका भौतिक र गणित विषय अथवा दर्शन सम्बन्धी पुस्तकहरु विशेषज्ञले पनि नबुझ्ने खालका छन्।

चैतन्य मिश्रले तीनवटा बडा मार्मिक विषयलाई बेलाबेलामा मार्मिक रुपमा उठाउनुभएको छ। आज नेपाललाई चाहिने भनेको सामाजिक लोकतन्त्र हो। सबै राजनीतिक दलले अन्य लफ्फाजी बिर्सेर सामाजिक लोकतन्त्र गरौं भनेका छन्। सामाजिक लोकतन्त्रको बडो सरल परिभाषा मिश्रले दिनुभएको छ। यो भनेको पुँजीपतिलाई एकाधिकार गर्न नदिने, उसलाई मनपरि गर्न नदिने। मजदुरवर्गको न्यूनतम भन्दा अलि बढी भनौं– गास बास, शिक्षा स्वास्थ्य, नाना, मानाको समस्या राज्यले हस्तक्षेप गरेर सुलभ गराउनु पर्ने। यो आजको राज्यको कार्यसूची हो, राष्ट्रिय दायित्व हो भनेर मिश्रले एक हैन्, अनेक ठाउँमा भन्नुभएको छ। त्यही शीर्षकका दुई तीनवटा लेखहरु पनि छन्, आज चाहिएको सामाजिक लोकतन्त्र भनेर। यो हामी सबैको चासोको विषय हो। सडकमा हिंड्ने, गाडी चलाउने, मास्टर, प्रोफेसर, पत्रकार जम्मैको।

अर्को यस पुस्तकमा आदिदेखि अन्त्यसम्म यो देशमा लोकतन्त्रका नाममा गणतन्त्र हावी भयो है भन्नुभएको छ। पुस्तकको भूमिकामा गणतन्त्रको अभिसाप, गणतन्त्रको अपराध उल्लेख गरिएको छ। पुस्तकको अन्तिम लेखमा पनि गणतन्त्रको कुरा उल्लेख छ। यो सबैले बुझेको, बुझेको मात्रै होइन भोगेको कुरा हो। मिश्रले विश्व विद्यालयको कुरा गर्नुभएको छ। १०–२० वर्षयता हाम्रा विश्वविद्यालयका भिसी, रेक्टर, रजिष्ट्रार दलगत रुपमा भागबन्डा गरिँदैछ भन्ने विषय यसमा उठाइएको छ।

तेस्रो, यो पुस्तकमा अलिकति बुझ्न गाह्रो तर नबुझ्दाखेरि तपाईं हाम्रो भविष्य, नेपालको भविष्य खतरामा पर्ने कुरा छ। हाम्रो समाजबाट सुस्तरी तर निश्चित रुपले राजनीतिको अपहरण हुँदैछ। नेपाली समाज, नेपालका स्कुल र कलेजको अराजनीतिकरण हुँदैछ। एक प्रकारले भन्ने हो भने महेन्द्रवाद, पञ्चायती व्यवस्था फर्कंदैछ। राजा महेन्द्रको मुख्य आदेश, निर्देश के थियो भने नेपालीले जे गरेपनि हुन्छ, राजनीति चाहिँ गर्न पाइँदैन। त्यस्तै खालको अराजनीतिकरण २०४७ सालदेखि नै थालिएको थियो। अहिले त्यो चर्किएको छ। यो सबैका लागि हानिकारक छ।

यो पुस्तकका लेखक मिश्र स्पष्ट सोध्नुहुन्छ– एउटा शिक्षक तलबमात्रै खान्छ, स्कुल आउँदैन भने त्यो राजनीति हो कि हैन? त्यसमा हामीले बोल्ने कि नबोल्ने?

भर्खरैको एउटा घटना बताउँछु– म जुन गाउँमा जन्मिएँ त्यो अहिले नगरपालिका भएको छ। अनि त्यो नगरपालिका फोहोरको डंगुर भएको छ। नगरपालिका र राजनीतिक कार्यकर्ताको झगडाको कारण फोहोर उठाउन दिइएको छैन। गाउँ गन्हाइराख्या छ। त्यो राजनीति हो कि हैन? फोहोरबाट भोलि रोग हुन्छ कि हुँदैन?

कुनैपनि प्रकारको लोकतन्त्र, गणतन्त्र भनेको जनताको बढीभन्दा बढी राजनीतिकरण हुनु हो। जनताले सचेत भएर, कुरा बुझेर, क्रान्तिकारी साहित्य– पढेर, क्रान्तिकारी कविता लेखेर राजनीतिमा हस्तक्षेप गर्नुपर्छ। जुलुसमा आएर, नारा लगाएर गर्नुपर्छ। राज्यले पनि त्यस्ता संस्था बनाउनुपर्छ, जहाँ जनताको बढी भन्दा बढी चासो होस्। जसलाई लागोस्– अरे हामीले यो विषयमा बोलेनौं भने बित्छ है।

यी तीनवटा विषय चैतन्य मिश्रले शुत्र वाक्यका रुपमा यथासम्भव व्याख्या गरेर बारम्बार उठाउनु भएको छ। उहाँले राख्नुभएका प्रत्येक प्रस्तावमा म समर्थन गर्छु। तर उहाँले प्रश्नमात्रै राख्या हो, समाधान दिनुभएको छैन। उहाँले यी तीन वटा हुन है रोग भनेर देखाउनु भएको छ। तर रोग यति सजिलो जात हैन र उपचारका धेरै धर्का उहाँले कोर्नु भएको छैन। संकेतसम्म गर्नुभएको छ। मेरो विचारमा तीनवटै कुरा बडो महत्वपूर्ण छन्।

त्यसपछि चैतन्य मिश्र कुनै प्रश्नको उत्तर दिने क्रममा चाहेर वा नचाहेर जटिल क्षेत्रमा प्रवेश गर्नुहुन्छ– त्यो क्षेत्र हो, मार्क्सवाद।

यो मार्क्सवाद भन्ने कुरा ब्रह्म जस्तै हो, जति बुझ्यो उति कठिन, झन् बुझ्यो झन् झन् कठिन। यसमा मिश्र आफैले समस्या निम्त्याउनु भएको छ। भूमिकामै के लेख्नु भएको छ भने, मार्क्स र एंगेल्समा पनि मतभेद थियो। मार्क्स र एंगेल्सका पनि सबै कुरा मिल्दैनथे।

मार्क्स र मार्क्समै मतभेद छ भन्ने धारणा पनि धेरै आए। माक्र्सोलोजिस्टहरुले २२ वर्षदेखि ७५ वर्षसम्म मार्क्स, मार्क्समात्रै लेखे। शंकराचार्य र रामारोचार्यले वेदान्त, वेदान्तमात्रै लेख्या जस्तै। जर्मन र अन्य लेखकहरूले पनि सुरुमा मार्क्स मानवतावादी थिए, इकोनोमिकल र फिलोसोफिकल थिए पछि भौतिकवादी हुँदै गए भनेर लेख्या छन्। मार्क्सको कम्युनिष्ट घोषणापत्रमा सर्वहरा वर्ग र तानाशाहीबारे उल्लेख नै छैन। राजनीतिक दलको भूमिका उल्लेख नै छैन्। मार्क्सले किटेर नै कम्युनिष्टहरुले आफ्नो दल बनाउँदै बनाउँदैनन्, उनीहरु त भएकै पार्टीको अग्रभागमा बस्छन् भनेर लेख्या छन्। कम्युनिष्ट भनेका सर्वाधिक अग्रगामी दस्ता हुन भनेर लेख्या छन्।

मार्क्सवादका विशेषज्ञहरू सुरुको मार्क्स र अन्त्यको मार्क्समा धेरै फरक देख्छन्। चैतन्य मिश्रले लेख्नुभएजस्तो द्वन्द्वात्मक भौतिकवाद भन्ने शब्द मार्क्सको कुनै रचनामा छ त? उत्तर स्पष्ट छ– कार्ल मार्क्सको रचनामा द्वन्द्वात्मक भौतिकवाद भन्ने शब्द छैन, छैन, छैन। यो शब्द एंगेल्सले पहिलोपटक प्रयोग गरेका हुन्। यसमा भन्नुपर्ने के छ भने एंगेल्सले प्रयोग गरेका ती शब्द ‘डाइलेक्टिभ्स अफ नेचर’ भन्ने पुस्तकमा मार्क्सकै जीवनकालमा छापिइसकेको थियो। मार्क्सका यस्ता धेरै रचना छन्, जुन एंगेल्सको नामबाट लेखिन्थ्यो।

सम्पादकहरूले माक्र्ससँग लेख माग्थे, उनी खासगरी न्यूयोर्क ट्रिब्यून भन्ने पत्रिकामा लेख लेख्थे। त्यसैबाट उनको दानापानी चल्थ्यो। मार्क्स हरेक पटक ‘तिमि नै लेखेर पठाइदेऊ’ भनेर एंगेल्सलाई भन्थे। यी प्रमाणित भइसक्या कुरा हुन्।

चैतन्य मिश्रको महत्वपूर्ण प्रस्तावनामा भनिएको छ– लेनिन र माओले मार्क्सको मूल परम्परा, मूल आग्रह, मूल प्रस्तावनासँग न्याय गरेनन्। यस कुराले हामीलाई बहसको नयाँ चरणमा लैजान्छ। बहसको यो नयाँ चरण मिश्रको पुस्तकमा पटकपटक लक्षित छ। यो राजनीति भनेको के हो? राजनीतिले कुन हदसम्म कुनै शास्त्रसँग खेलवाड गर्न सक्छ?

लेनिनलाई धन्यवाद दिनुस्, उनले अन्त्य खत्तम गरेका छैनन्, प्रारम्भ चाहीँ खत्तम गरेका छन्। लेनिनले तत्कालीन परिस्थितिमा बुझे अनुसार मार्क्सवाद नै प्रयोग गर्न खोजेका हुन्। पहिलो विश्वयुद्धको क्रममा दोस्रो अन्तर्राष्ट्रियमा भिषण फुट भयो। त्यो महाफुट भित्र हाँगाबिँगा थुप्रै थिए। तर त्यसभित्र साढे ३ वटा मुख्य धारा थिए। पहिलो, लेनिनले नेतृत्व गरेको धारा, जसको औचित्य पुष्टी गर्न उनले दुई वटा पुस्तक लेखे। तिनै पुस्तकका आधारमा उनले रुसमा क्रान्ति गरे।

लेनिनको भन्दा विल्कुल पृथक धारणा कार्ल कौसिकको थियो, जसले लेनिन जोसुकै भएपनि मार्क्सवादी चाहिँ होइनन् भनेर अर्को पुस्तक लेखे।

तेस्रो धेरै चर्चामा नआउने तर बडो महत्वपूर्ण धारा थियो, एडवर्ड बर्नस्टिनको। उनले लेनिनविरुद्ध पुस्तक पनि लेख्नु परेन। उनलाई पहिले नै संशोधनवादी भनिसकिएको थियो। मार्क्सको देहान्त भएको १५ वर्ष, एंगेल्स बितेको ५ वर्षभित्रै उनले लेख्न थालिसकेका थिए– मार्क्स र एंगेल्सका विश्लेषण ठिक छैनन् भनेर।

मैले साढे ३ वटा धारा किन भनें भने, माथिका तीनभन्दा पृथक अर्को धारणा राख्ने एक जना महिला थिइन्, रोजा लक्जेम्वर्ग।

यसपछि मार्क्सवाद र समाजवादको स्वर्ण युग भनिने समयमा रोचक र शिक्षाप्रद अनेक धारा र उपधाराहरु देखिएका छन्। विचारउत्तेजक पहलहरु छन्। जति भनुँ उति कठिन, झन् झन् भनुँ झन् कठिन विषय छन्।

चैतन्य मिश्रले माक्र्सवादको शास्त्रीय व्याख्या पेश गर्नुभएको छ। यो प्रस्तावनाको पक्ष विपक्षमा म जान चाहन्नँ।

रुसमा खासगरी स्टालिन आएपछि र थोरबहुत लेनिनकै पालामा कार्ल मार्क्स र एंजेल्सको देवत्वकरण भयो। माक्र्सका हरेक चिठ्ठी, हरेक शब्द, हरेक दस्तावेज खोजीखोजी प्रकाशित गरियो। त्यसपछि गीता, पुराण र महाभारतमा जस्तै मार्क्सको व्याख्या गर्न थालियो। जो शासक हो, जो बलियो छ, जोसँग बन्दुक छ उसैको जयजय गान भयो।

कुनै पनि व्यक्ति– न माओ, न मार्क्स, न लेनिन, न गान्धी, न वीपी, न पार्टीको अध्यक्ष, न प्रधानमन्त्री कसैलाई पनि विचारको केन्द्रमा राख्नु हुँदैन। सबै महान व्यक्तिका कमजोरी छन्। म त त्यसको विशेषज्ञ हुँ।

मार्क्सको विचारलाई देवत्वकरण गर्ने क्रममा द्वन्द्वात्मक भौतिकवादी अवधारणामा उचित स्पष्टिकरण भएन। मार्क्सवादमा व्यक्तिको भूमिका के हुन्छ भन्ने विचार गरिएन।

लोकतान्त्रिक समाजवादको नवनिर्माणमा हामी कस्तो मनुष्य बन्दैछौँ भन्ने सबैभन्दा महत्वपूर्ण पक्ष हो। हाम्रोमा मोही मीठो लाग्छ कि कोकाकोला भनेर प्रश्न गरियो भने कोकाकोला भन्ने पक्षमा भोट हाल्नेहरु धेरै हुन्छन्। लस्सी कस्तो हुन्छ भन्ने थाहा छैन। भुटेको मकै र भटमास थाहा छैन। कर्नफ्लेक्स र चाउचाउ थाहा छ। कतिपय नेपाली शब्दहरु मेरो जीवनकालमा हेर्दा–हेर्दै बिरानो भएका छन्।

कुनै पनि समाजको केन्द्रविन्दुमा रहेको प्रश्न भनेको हामी कस्तो मान्छे बनाउँदैछौँ भन्ने हो। हामी जे जस्तो मान्छे बन्दैछौं त्यो पूँजीवाद, साम्राज्यवाद, भूगोलिकरणले बनाउँदै छ। यसतर्फ मार्क्सवादले बेलैमा ध्यान दिन सकेन।

मार्क्सको मुल प्रस्तावना श्रम मूल्यको एकमात्र स्रोत हो भन्ने थियो। श्रमको विकास सँगसँगै नयाँ नयाँ मेसिन बन्छन्। अहिले त झन् कम्युटराइज मेसिनको विकास भएको छ। केही समय पहिले एउटा रोबर्ट महिला नेपाल आएकी थिइन्। कति युवाहरु उनको प्रेममा परे। रोबर्टलाई व्यक्तिले प्रेम गर्ने जमानामा श्रमसम्बन्धी मार्क्सको प्रस्तुतीमा केही कमजोरी छ कि भन्ने प्रश्न उठाउन थालिएको छ।

मार्क्सले पूँजीवादको विकासमा श्रमको योगदान त देखे तर, प्रकृतिको योगदान देखेनन्। प्रकृति नष्ट हुँदै जाँदा पूँजीवादी समाज आफै नष्ट हुँदै जाने खतरा छ। नेपाललाई नै हेर्ने हो भने ‘हरियो वन नेपालको धन’ भन्दा भन्दै देश नै उजाड भइसकेको छ। वातावरण बदलिन थालिसक्यो। विश्व परिवेशमा पनि कोइला, फलाम, इन्धन सकिँदै गएको छ र यसको प्रत्यक्ष असर पूँजीवादी देशमा पर्दैछ। यही कुरा मार्क्सले नदेख्नाले माक्र्सवादमाथि समस्या आयो। र, अहिले हाम्रो अगाडि साक्षात उत्तर कोरियाका सम्राट किम जोङ उन उपस्थित छन्।

लेनिनसँग समस्या थियो। तर लेनिन नभएको भए मार्क्सको विश्वव्यापी चर्चा हुने थिएन। उनले त्यो दिन सत्ता नलिएको भए के हुन्थ्यो? त्यस्तो आलोचनात्मक कालमा लेनिनले आफ्ना कामरेडलाई चेताए। उनले लेखेको चिठ्ठी छ– सत्ता भोली कब्जा गर्दा ढिला हुन्छ, हिजो गरेको भए छिटो हुन्थ्यो।

नेपाललाई, तेस्रो विश्वलाई जुन लोकतान्त्रिक समाजवाद चाहिएको छ, त्यसको सुरुवात हुने दिन आएको छ। जमिन छैन, जंगल छैन, खनिज पदार्थ छैन भनेर हामीले निपूर्णताका आधारमा समाजवाद ल्याउने होइन। सादगीका आधारमा समाजवाद ल्याउने हो।

मार्क्स, एंगेल्स, लेनिन, गान्धी, वीपी, गणेशमान, किसुनजीको विचारलाई ध्यानमा राखेर हामीले लोकतान्त्रिक समाजवादको दिशामा अघि बढ्ने बाटो आफै बनाउने हो। उनीहरुले बाटो देखाइदिन्छन्, मञ्जिलमा हामी आफै पुग्ने हो।

(शनिबार काठमाडौंमा चैतन्य मिश्रको पुस्तक ‘लोकतन्त्र र आजको मार्क्सवाद’ सार्वजनिक गर्ने क्रममा प्रदिप गिरिले दिएको मन्तव्यको सम्पादित अंश)

 

भदौ १४, २०७६, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors