ad ad

विचार


रवि जस्ता ‘नायक’अगाडि झुकेन कानुनको सर्वोच्चता

रवि जस्ता ‘नायक’अगाडि झुकेन कानुनको सर्वोच्चता

डा. राजु अधिकारी
भदौ १४, २०७६ शनिबार ६:४२,

दुई सातादेखि अन्यौलमा रहेको र सडक तताइरहेको पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणले अन्ततः एउटा निकास पाएको छ। शालिकराम पुडासैनीको मृत्युभन्दा पनि लोकप्रिय टेलिभिजन प्रस्तोता रवि लामिछानेको गिरफ्तारीले गर्दा यो प्रकरणले धेरै चर्चा पायो। अदालतको आदेशपछि केही समयका लागि यो विषय मत्थर हुनेछ।

अब अदालती प्रक्रिया अनुसार वास्तविक दोषीहरुको पहिचान हुँदै जाला र त्यही अनुसार कारबाही पनि हुँदै जाला। तर जे भए पनि अधिकांश नेपालीले यो विषयमा अदालतले सन्तुलित फैसला गरेको महशुश गरेका छन्। हुन त रवि लामिछानेका समर्थकहरुले अदालतको आदेशलाई आफ्नो विजय भनेर अबिर यात्रा नै गरे उनका विरोधीहरुले चाहिँ आफ्नो जितका रुपमा व्याख्या गरे। तर तटस्थरुपमा हेर्दा यो आदेशको वास्तविक बिजेता न त रविका समर्थक हुन् न उनका विरोधीहरु नै, सही बिजेता अदालत र कानुन हो।

युट्युब र फेसबुकमा आएका सामग्री हेर्दा रविलाई निकै ठूलो षड्यन्त्र गरेर फसाइन लागेको जस्तो लाग्थ्यो। युट्युब र फेसबुकमा उनका समर्थकहरुले आफ्नै फैसला पनि सुनाइसकेका थिए र, रविको विरोधमा बोल्न चाहनेहरुको स्वर मत्थर पारेका थिए। त्यहाँ देख्दा लाग्थ्यो, पुरै देश रविमय भएको छ। सर्वसाधारण मात्र हैन, कलाकारहरु पनि खुलेरै रविको पक्षमा न्यायको माग गर्दै प्रहरी र अदालतलाई परोक्ष दबाब दिइरहेका थिए। उनको समर्थनमा दिनदिनै हजारौंको संख्यामा मानिसहरु सडकमा आएका थिए। 

शालिकराम पुडासैनी मृत्यु प्रकरणले रवि लामिछानेलाई हानि भन्दा फाइदा नै बढी भएको छ। रविलाई नचिनेकाहरुले पनि उनलाई चिन्ने मौका पाए। उनले गरेका कामको बढाई चढाई गरेर प्रचारप्रसार गरियो, जसले गर्दा उनको लोकप्रियता अझ बढ्यो।

रवि कुनै राजनीतिक दलका नेता भन्दा कम शक्तिशाली होइनन् भन्ने जस्तो गरी समर्थकहरुले उनको देवत्वकरण नै गरेको भान हुन्थ्यो। उनको रिहाइको माग गर्दै शुरु भएको आन्दोलनमा समर्थकहरू मर्नु परे पनि मर्ने भनेर आएका थिए। तर त्यस्तो अवस्थामा पनि अदालतले कसैको दबाब र प्रभावमा नपरी कानुनले अर्थ्याएको दयरा भित्र रहेर सबैलाई मान्य हुने गरी सन्तुलित फैसला गरेको छ। हुन त यो अन्तिम फैसला होइन तर अहिलेको परिस्थितिमा यसले निकै अर्थ राख्छ। बाहिर जतिसुकै जोड जोडले चिच्याए पनि, जति दबाब सृजना गर्न खोजे पनि यस पटक भिडले आखिर केही महत्वपूर्ण काम गर्न सकेन। हुन त भिड सृजना गर्नेहरूले दबाबका कारण डराएर प्रहरी र अदालतले रविलाई छोड्ने फैसला गर्‍यो भन्लान् तर निस्पक्ष रुपमा हेर्दा यो प्रकरणमा भिडको दबाब र प्रभाव न्यून नै रह्यो।

Rabi3
प्रहरी हिरासतबाट रिहा भएपछि चितवनमा समर्थकहरूलाई सम्बोधन गर्दै रवि लामिछाने

रवि आफै पनि केही हदसम्म कानुनलाई चुनौती दिंदै, प्रहरी र सरकारको नालायकीपनको फाइदा उठाउँदै प्रहरीले गर्ने काम पनि आफैले गरेर लोकप्रिय भएका हुन्। त्यसो भनेर उनले गरेका राम्रा काम र सर्वसाधारणलाई उनले गरेका सहयोगको अवमुल्यन गर्न खोजिएको होइन। तर सायद आफ्नो त्यही सफलताले गर्दा हौसिएका रविले यसपटक पनि प्रहरी र अदालतले गर्ने काम आफ्ना समर्थकहरुको दबाबबाटै गराउन सक्छु भन्ने भ्रम पालेका हुन सक्छन्। उनले सायद त्यही मनसाय बोकेर ‘म प्रहरीबाटै असुरक्षित छु, बाहिर निस्केको तीन मिनेटभित्र आफूलाई निर्दोष प्रमाणित गर्न सक्छु’ भनेर कानुनलाई चुनौती दिने अभिव्यक्ति दिएर आफ्ना समर्थकहरुलाई उत्तेजित बनाउन खोजेका थिए।

तर उनका समर्थक जति उत्तेजित भएपनि यसपटक प्रहरी र अदालतले आफ्नो काम र कर्तव्य छोडेन, निकै संयमित भएर आफनो काममा लागिरह्यो। अनि नागरिक पनि मान्न बाध्य भए कि भिडको माध्यमले कानुन हातमा लिएर आफूले चाहे अनुसारको फैसला गराउन नसकिने रहेछ। प्रहरीले निकै संयम भएर रविलाई कानुनी हिरासतमा लिएर आफ्नो जिम्मेवारी पुरा गर्‍यो भने अदालतले पनि रविको लोकप्रियता र उनको सार्वजनिक छविलाई वास्ता नगरेर कानुनको परिधिभित्र रही अन्य सामान्य नागरिकको मुद्दा जस्तै उनको मुद्दा हेर्‍यो।

निर्मला काण्डमा निकै नराम्रोसँग फसेर तर्सिएको प्रहरीले त्यो काण्डबाट राम्रो पाठ सिकेको हुनुपर्छ। त्यसैले प्रहरीले आफ्नो कार्यतालिका र तौरतरिका अनुसार काम गर्नुपर्छ भनेर यो पटक त्यही अनुरुप काम गर्‍यो र निकै हदसम्म सफल पनि भयो। अहिले सामान्य नागरिकमा प्रहरी र अदालत प्रति अलिकति भएपनि सकारात्मक भावना पलाउन थालेको छ। तर त्यसको मतलब नागरिकले प्रहरी र अदालतलाई विश्वास गरिसके भन्ने चाहिँ कदापि हैन, यो शुरुवात मात्र हो।

यति धेरै मान्छे एक जना टेलिभिजन प्रस्तोताको समर्थनमा किन उर्ले भनेर केलाउँदा भन्न सकिन्छ, अधिकांश नागरिक रविको पक्षमा भन्दा पनि सरकारको विरोधमा आक्रोश पोख्न उर्लेका हुन्। सरकारप्रति जनताको विश्वास भएको भए न त रवि जस्ता ‘नायक’ जन्मिन्थे न त उनको रिहाइको पक्षमा यत्रो जन सागर नै उर्लन्थ्यो। नागरिकको नजरमा अहिले सरकार भनेको ‘लुटेराहरुको समूह हो’ भन्ने परेको छ र त्यही आक्रोश पोख्न जनता सडकमा उर्लेका हुन्। तर पटक पटक सचेत गराउँदा पनि सरकार कानमा तेल हालेर बसेको छ। ‘निदाएको मानिसलाई उठाउन सजिलो हुन्छ तर निदाएको जस्तो गर्नेलाई उठाउन सकिँदैन’ भने झैँ, सरकार देश र नागरिकका समस्या देख्दा देख्दै पनि नदेखे जस्तो गरी वेवास्ता गरेर बसेको छ।

रविको गिरफ्तारी र अदालतको फैसलाले जतिसुकै लोकप्रिय, जतिसुकै शक्तिशाली भए पनि काननु सबैको लागि बराबर हो, कानुन भन्दा माथि कोही छैन र कानुनको सर्वोच्चता सबैमा लागू हुन्छ भन्ने सन्देश दिएको छ। रविसँग शक्ति थियो, पैसा पनि थियो र त्यत्रो जनसमर्थन पनि थियो तर पनि उनले कानुनलाई चुनौती दिन सकेनन्। कानुनी राज्य स्थापनाको दिशामा यो यौटा शुरुवात मात्र हो। हेर्न बाँकी छ, यो राम्रो शुरुवात कतिसम्म अडिग रहन सक्छ। फेरि पहिले जस्तै पैसा र शक्तिको भरमा ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने परिस्थिति आयो भने अहिले बसेको यो राम्रो उदाहरण खालि उदाहरणमा मात्र सिमित हुनेछ।

आशा गरौँ, रवि प्रकरण जस्तै भविष्यमा आफूलाई शक्तिशाली भनेर मनलागी गर्दै हिंड्ने जो कोही कानुनको दायराबाट बाहिर भाग्न नपाउन। चाहे उनीहरु सरकारका मन्त्री हुन् वा राजनीतिक दलका शक्तिशाली नेता।

(आइटी विज्ञ डा. राजु अधिकारी हाल चीनको सांघाईमा कार्यरत छन्)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .