ad ad

विचार


सेयरबजारमा चलखेल बढेको हो, नियन्त्रण गर्न बोर्डले त्यो बाटो लिनुहुन्नथ्यो

सेयरबजारमा चलखेल बढेको हो, नियन्त्रण गर्न बोर्डले त्यो बाटो लिनुहुन्नथ्यो

रुकमागत काफ्ले
असार ३, २०७८ बिहिबार १३:३९,

नेपाल धितोपत्र बोर्डले मंगलबार ५१ वटा कम्पनीको सेयर मूल्य अवस्थाबारे सार्वजनिक वक्तव्य जारी गर्‍यो।

नामै सूचीबद्ध गरी सार्वजनिक वक्तव्यमा यी कम्पनीको सेयर खरिदबिक्रीमा चलखेल भएकोले जोखिम हुनसक्ने हुँदा सचेत रहन लगानीकर्तालाई भनिएको थियो।

बोर्डले प्रयोग गरेको भाषाअनुसार लगानीकर्तालाई सजग गराउने गरी ५१ वटा कम्पनीको नाम सार्वजनिक गरिएको हो।

तर बजारमा अहिले यो निकै कौतूहलको विषय बनेको छ। यसलाई सकारात्मक रुपमा लिने कि नकारात्मक रुपमा लिने? चर्चा भइरहेको छ।

के छ अन्तर्राष्ट्रिय चलन?
खासगरी आजसम्मको सेयरबजारको इतिहास र अन्तर्राष्ट्रिय प्रयोगहरु हेर्दा पनि नियामक निकायले कतिसम्म आफ्नो क्रियाकलाप गर्नसक्छ त? त्यसको सीमितताको विषयलाई पनि जोड्नुपर्ने हुन्छ।

नेपालको सेयरबजारकै इतिहासमा यो–यो कम्पनीमा लगानी गर्नु जोखिमपूर्ण छ भनेर कम्पनी नै तोकिएको अहिलेसम्म थिएन। त्यस्तै अन्तर्राष्ट्रिय बजारमा पनि यस्तो भएको देखिँदैन।

हामीले बुझ्नुपर्ने के हो भने कुनै पर्टिकुलर (विशेष) कम्पनीको स्टक (धितोपत्र/सेयर) राम्रो वा नराम्रो छ भनी नियामक निकायले भन्न मिल्ने कुनै पनि आधार छैन। नेपालमा न आजसम्म यसो भएको थियो, न त अन्तर्राष्ट्रिय प्रयोग नै छ।

अन्तर्राष्ट्रिय रुपमा हेर्दा पनि कहीँ कतै प्रयोग नभएको नियामक निकायको भूमिका धितोपत्र बोर्डले निर्वाह गरेको देखिन्छ।

त्यसमा सकारात्मक तथा नकारात्मक बहस गर्नेहरुले दुवैतर्फ गर्न सक्लान्। तर केही ठूला खेलाडी अर्थात् ठूला लगानीकर्ताहरुसँग मिलेर त बोर्डले यसो गरेको होइन भन्ने प्रश्नहरुले अहिले सामाजिक सञ्जाल भरिएका छन्। आमलगानीकर्तामाझ पनि यस किसिमका शंका उपशंका उब्जिएका छन्।

हचुवामा विज्ञप्ति?
हुन पनि बोर्डले सेयरबजार ह्वात्तै बढेर यसलाई नियन्त्रणमा ल्याउनको लागि गरेको हो भन्न सक्ने ठाउँ देखिँदैन। कुनै अध्ययन र अनुसन्धानविना यसको प्रभावलाई समेत बेवास्ता गरी उसले विज्ञप्ति जारी गरेको देखिन्छ।

विज्ञप्तिको भूमिकामा पनि ३ महिनाको अवधिमा ३ सय प्रतिशतले बढेको छ, सोही कारण सचेत हुनु भनिएको छ।

एउटा कुरा के हो भने बोर्डले भनेजस्तो ३ महिनामा सेयर मूल्य दोब्बर बढेका र कम्पनी नकारात्मक हुँदा पनि मार्केट बढेको चाहिँ छैन।

यसरी विना अध्ययन, हतार–हतार सेयरबजारलाई पछि पार्ने असरको कुनै प्रवाह नै नगरी बोर्डले विज्ञप्ति सार्वजनिक गर्नु हुँदैनथ्यो।

यस्तो कार्यले धितोपत्र बोर्डको गरिमा जोगाउँदैन। उसले गर्नुपर्ने भूमिकामा उसकै साख गिराउने काम भएको छ। त्यसकारण यसलाई उपयुक्त मान्न सकिँदैन।

चलखेल सत्य तर बोर्डको बाटो गलत
तर अर्को कुरा, सेयरबजार नेपालको अर्थतन्त्रसँग मेल नखाईकन अर्थात् कोरोनाको प्रभाव परिरहेको अवस्थामा पनि मार्केट अलि अस्वाभाविक रुपले बढेको देखिन्छ।

यसले साना लगानीकर्ताहरुलाई अप्ठ्यारोमा पार्नसक्छ। यस अर्थमा बोर्डले लिन खोजेको भूमिकालाई सकारात्मक रुपमा लिने ठाउँ नभएको होइन। तर जुन बाटो अपनाइयो, त्योचाहिँ गलत छ। यो बाटोलाई बोर्डको गल्ती र हतारमा ल्याइएको विज्ञप्तिको रुपमा लिनुपर्छ।

नेप्सेले बोर्डलाई गाइड गर्ने होइन
यता फेरि नेपाल स्टक एक्स्चेन्जले पनि यसलाई गलत भनिरहेको छ। नेपालमा धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्जबीच धेरै पहिलेदेखि कुराहरु बाझिँदै आएको पाइन्छ। नियामक र व्यवस्थापकबीचको यो द्वन्द्व ‘साइलेन्ट’ (भित्रभित्रै हुने) खालको हुन्छ। त्यो पहिलेदेखि नै देखिन्थ्यो। यो विषयमा पनि यस्तै देखिएको हो।

नेपाल धितोपत्र बोर्ड र स्टक एक्सचेन्जको क्षेत्राधिकार कति कति हो भन्ने विषय तोकिए पनि उनीहरुले त्यसलाई आआफ्नै विश्लेषण गरिरहेका हुन्छन्।

पक्कै पनि नेपाल स्टक एक्स्चेन्जले अर्थात् त्यसमा कार्यरत पदाधिकारीहरुले धितोपत्र बोर्डको क्षेत्राधिकार तोक्ने होइन।

किनभने नेपालको पुँजीबजारमा के कस्ता गतिविधिहरु भए वा भइरहेका छन् भनेर अध्ययन गर्ने काम बोर्डकै हो। बजारमा कहीँ कोही दोषी पाइए कारबाही गर्ने, नियन्त्रण गर्ने काम उसकै हो। नेपाल स्टक एक्स्चेन्ज त एउटा प्लेटफर्म मात्र हो। जुन प्लेटफर्म प्रयोग गरेर हामी सेयर कारोबार गर्छाैँ।

अर्को स्टक एक्सचेन्जको चर्चा पनि छ। अर्को एक्सचेन्ज आयो भने पनि नियमन गर्नेचाहिँ धितोपत्र बोर्डले नै गर्ने हो। यसमा स्पष्ट हुनुपर्छ।

यसमा मैले जोड्न खोजेको कुरा के हो भने धितोपत्र बोर्डले गरेको उक्त काम ठीक हैन भनेर नेप्सेका कुनै व्यक्तिले व्यक्तिगत हिसाबमा भनेका हुन् भने त ठीकै होला। तर संस्थागत रुपमै यसरी स्टक एक्सचेन्जले धितोपत्र बोर्डलाई गाइड गर्नथाल्यो भने भविष्यमा झनै समस्या हुन थाल्छ।

भन्नुको मतलब, यसलाई आन्तरिक रुपमा छलफल गर्नचाहिँ पाइयो। विज्ञहरु बसेर धितोपत्र बोर्ड, स्टक एक्स्चेन्ज बसेर यसलाई कसरी सल्टाउने भन्ने विषयमा आन्तरिक छलफल गर्नु राम्रो हुन्छ। दुवै निकायले मिलेर कसरी बजारमा ट्रान्सपरेन्सी (पारदर्शिता) देखाउने, कसरी यसको विकास गर्ने लगायतका विषयमा जोड दिनुपर्छ।

बाहिर एकअर्कालाई दोषारोपण गर्नु सेयरबजारको लागि सकारात्मक पक्ष होइन।

यसरी हुन्छ सेयरबजारमा चलखेल
धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगाना आफैँले बजारमा चलखेल गर्न खोजेपछि नियन्त्रणको लागि यो उपाय अपनाउनु परेको बताएका छन्।

त्यो चलखेलकै कुरा गर्ने हो भने नेपालमा मात्रै होइन अन्तर्राष्ट्रिय सेयर बजारमा पनि देखिन्छ।

पुँजीबजारमा मात्र होइन, अन्य प्रकारका बजारमा पनि कार्टेलिङ हुने, कर्नरिङ हुने, नयाँ मूल्यहरु निर्धारण गर्ने कोशिस जहाँ पनि हुन्छ।

यसलाई सामान्य इन्भेष्टरहरुले कसरी बुझ्ने त?

यसरी बुझौँ, कुनै पनि ‘पर्टिकुलर’ कम्पनीको स्टकलाई त्यो कम्पनीको फाइनान्सियल (वित्तीय) सूचक नराम्रो हुँदाहुँदै पनि कसैले ‘आर्टिफिसियल डिमान्ड’ (कृत्रिम माग) सिर्जना गरेर अथवा ‘सप्लाई क्रिएट’ गरेर मूल्य बढाउन खोज्नु अस्वाभाविक चलखेल हो। त्यसलाई नै बजारमा चलखेल भयो कि भनेर बुझ्ने हो।

फाइनान्सियल्ली टर्मिनोलोजी (वित्तीय क्षेत्रको शब्दकोश)मा त्यसलाई ‘कर्नरिङ’ वा ‘इनसाइड ट्रेडिङ’ गरेको पनि भनिन्छ।

यो गर्ने विभिन्न विधि छन्। यस्ता कार्यमा सेयरबजारका ठूला खेलाडीको संलग्नता हुन्छ। ठूलो पुँजी लगानी गर्नेहरु नै ठूला खेलाडी हुन्। उनीहरुले यसो गर्न सक्छन्।

नेपालको सेयरबजारमा चाहिँ जुन कम्पनीहरुको सप्लाई थोरै छ, जुन कम्पनी कमजोर छ, जुन कम्पनीलाई थोरै लगानी गर्दा पनि त्यसको मूल्यलाई छिट्टै तलमाथि गराउन सकिन्छ, त्यस्ता कम्पनीलाई छनोट गर्ने, अनावश्यक रुपमा ‘डिमान्ड’ र ‘सप्लाई क्रिएट’ गरेर चलखेल गर्ने गरेको पाइन्छ।

अझ अर्को कुरा, नेपालमा सूचना तथा सञ्चारको पनि धेरै दुरुपयोग भएको देखिन्छ। सामाजिक सञ्जालबाट त्यस्तै अनावश्यक सूचनाहरु पोष्ट गरिदिने, हल्ला फैलाउने र सञ्चारमाध्यमलाई गलत प्रयोग गरेर फेक (तथ्यहीन) समाचारहरु प्रसारण गर्न लगाउने चलन बढेको छ। यसरी ट्रान्सपरेन्ट रुपमा मार्केट आफैँ चल्न नदिई निजी स्वार्थको प्रयोग गरेर मार्केटलाई तलमाथि गर्न खोजिन्छ।

यस्तो चलखेलबाट प्रोफिट (मुनाफा) लिइँदै आएको छ।

सेयर मार्केट बियर स्ट्रेन्थमा गइरहेको अवस्थामा र बुल स्ट्रेन्थमा भइरहेको अवस्थामा चलखेल गर्न सजिलो हुन्छ। किनकि त्यस्तो अवस्थामा मार्केटमा धेरैको सहभागिता हुन्छ। मूल्यहरु आफैँ पनि तलमाथि गरिरहेका हुन्छन्। धितोपत्र बोर्डले उक्त विज्ञप्ति जारी गरेजस्तै विभिन्न ठाउँबाट विभिन्न सूचनाहरु पनि आइरहेका हुन्छन्। त्यसले ‘हाई मार्केटेबिलिटी’ भइरहेको हुन्छ। त्यतिखेर चलखेल हुन्छ।

बोर्डले के गर्नुपर्थ्याे?
नेपालको सेयरबजारमा अहिले धेरै नै चलखेल भएको सत्य हो। पछिल्लो समय पुँजीबजारमा ह्वात्तै लगानी भइरहेको छ। लगानीका रुपमा आएका ती पुँजीको स्रोत के हो त?

दैनिक १५/२० अर्बको कारोबार गर्ने हाम्रो अर्थतन्त्रमा तरलताको मापन हो कि हैन भनी यी कुराहरुलाई अध्ययन गर्ने बाेर्डकै विषय हो। यसका बाबजुद बोर्डले विज्ञप्तिमार्फत कम्पनीको नामचाहिँ सार्वजनिक गर्नुहुँदैनथ्यो।

बोर्डले यसमा अलिक हतार गरेको देखिन्छ। कसले–कसले चलखेल गरिरहेका छन्, अध्ययन गरी पत्ता लगाएर उनीहरुलाई कारबाहीको दायरमा ल्याएपछि मात्रै सार्वजनिक गर्नुपर्थ्याे।

यसरी हतारिएर चलखेल भयो भन्दै कम्पनीको नाम सार्वजनिक गरेकाले समग्र लगानीकर्ताहरुलाई द्विविधामा पुर्याउने काम भएको छ।

यसलाई अन्य प्रक्रियाबाट निराकरण गरिनुपर्छ। नाम सार्वजनिक गर्ने विषय सच्याउनुपर्ने हुन्छ।

बोर्डको विज्ञप्तिसँगै सेयरबजार केही तल गएको छ। तर यसलाई त्यसैको प्रभाव नै हो भन्नचाहिँ मिल्दैन। किनभने त्यसरी प्रभाव नै परेजसरी मार्केट तल गएको देखिँदैन।

दीर्घकालीन असर
यसरी नामै किटेर कम्पनी सार्वजनिक गर्ने चलन विकास भयो भने यसको दीर्घकालीन असर नराम्रो हुनसक्छ। यी कुराहरु पछि पनि दोहोरिन सक्छन्।

विशेषगरी ठूला लगानीकर्ताहरुले पनि बोर्डमा आफूअनुकूल व्यक्ति हुँदा त प्रभावमा पारेर बजारमा ‘म्यानिपुलेसन’ (चलखेल) पनि गर्न सक्छन्। यो चिन्ताको विषय हो। उनीहरुले यस्तो विज्ञप्ति निकालिदिनु न भने भने र बोर्डले पनि त्यस्तै गर्यो भने के हुन्छ? प्रश्न गम्भीर छ।

पछिल्लो समय सेयरबजारमा लगानीकर्ताको आकर्षण बढेको छ। पुँजीबजारमा प्रवेश गर्ने संख्या बढिरहेको छ। महामारीको बेला लकडाउनले घरमै थुनिएका मानिसहरुमा सेयर लगानीको चाख बढेको छ भने अनलाइन प्रणालीमै कारोबार सुरु हुँदै सजिलो पनि भएको छ। सोही कारण लगानीकर्ताको संख्या बढेको हो।

अहिले यस्ता लगानीकर्ता चलखेलको कुराले अलमलमा परिरहेका हुनसक्छन्।

पहिलो कुरा त पछि अर्थात् भर्खरै आएका लगानीकर्ताहरुलाई बजारबाट घाटा हुँदा कस्तो अनुभव हुन्छ, त्यसको फिल नै गर्न पाएका छैनन्।

पछिल्लो समय बजारमा आएका लगानीकर्ताहरुले अहिलेसम्म नाफै नाफा मात्र चाख्न पाएका छन्।

‘ट्वान्टी-एट्टीको गेम’
उनीहरुलाई मनभित्र सेयरबजारमा नाफै नाफामात्र हुन्छ जस्तो लागेको छ। तर सेयर बजार आफैँमा कम्प्लेक्स (जटिल) छ, यो मार्केट ‘ट्वान्टी-एट्टीको गेम’ हो अर्थात् २० प्रतिशतले कमाउँदा ८० प्रतिशतले गुमाउँछन्।

त्यो २० प्रतिशतमा पनि टाठाबाठा, अनुभव भएको र ठूला खेलाडीहरु पर्छन्। र, गुमाउनेमा पर्ने भनेको नयाँहरु नै हुन्छन्। त्यसकारण कम पुँजी भएका र नयाँ आएका लगानीकर्ताहरुले यो मार्केटमा लगानी गर्दा धेरै कुरा हेर्नु र बुझ्नुपर्छ।

आफ्नो पुँजीको अवस्था के हो, यो पुँजी लगानी गर्दा कति जोखिम वहन गर्न अर्थात् रिस्क लिन सकिन्छ, आफूसँग मनि म्यानेजमेन्टको टेक्निक (पैसा व्यवस्थापन) कस्तो छ, प्रोफिट बुक (नाफा) गर्दा कतिसम्म गर्न सकिन्छ भन्नेजस्ता समग्रमा वित्तीय शिक्षा कतिसम्म लिएर बजारमा आएको हो, त्यसलाई ख्याल गर्नुपर्छ।

नयाँ लगानीकर्ताहरुले अन्य हल्लाहरु नसुनी आफूले लगानी गर्न चाहेको कम्पनीलाई बुझेर मात्रै लगानी गर्नुपर्छ।

त्यो कम्पनीले विगतमा दिएको प्रतिफलहरु र ती कम्पनीहरुका लाभांश वितरणको अवस्थालाई हेरेर लगानी गर्नुपर्छ। कुनै कम्पनीमा लगानी गर्नु छ भने त्यो कम्पनीको सञ्चालक समिति कस्तो छ, त्यो कम्पनीको व्यवस्थापन पक्ष के कस्ता व्यक्तिहरुले हेरिरहेका छन् र त्यो कम्पनीका भविष्यका लागि योजनाहरु कस्ता छन् समेत थाहा पाउनुपर्छ।

यसरी जानकारी लिएर लगानी गर्यो भने मार्केट घटे पनि आफ्नो लगानीको सुरक्षा कम्पनीले दिने प्रतिफलबाट परिपूर्ति हुन्छ। यसमा चलखेलको कुनै डर हुँदैन।

(सेयरबजार विश्लेषक काफ्लेसँग नेपालखबरका दीपक भट्टले गरेको कुराकानीमा आधारित)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .