ad ad

विचार


दुश्मनलाई पनि नतमस्तक पार्न सक्ने नेता

दुश्मनलाई पनि नतमस्तक पार्न सक्ने नेता

विश्वभक्त दुलाल ‘आहुति’
जेठ ३१, २०७६ शुक्रबार ११:१,

चितवनका धनीराम (डिआर) पौडेल २०३७ सालदेखि विद्यार्थी पृष्ठभूमिबाट वाम राजनीतिमा लाग्नुभएको हो। ०३९ मा उहाँ अखिल क्रान्तिकारीको जिल्ला सदस्य हुनुभयो। ०४२ मा उहाँले निर्मल लामाको नेकपा (चौम)बाट सक्रिय पार्टी राजनीति सुरु गर्नुभयो। ०४४ मा जिल्ला सदस्य हुनुभयो।

०४८ मा हामी एउटै पार्टी (एकता केन्द्र) मा संलग्न रह्यौँ। चितवनको माडीमा भएको एकता केन्द्रको महाधिवेशनमा हाम्रो पहिलो भेट भयो। उहाँ त्यतिबेला २४–२५ वर्षको हुनुहुन्थ्यो। महाधिवेशनमा उहाँले आफ्नो वैचारिक धारणा राख्नुभएको थियो, जसमा मतदानसमेत भयो। युवाहरु मध्येको सबैभन्दा कान्छो युवाले त्यसरी आफ्नो विचारलाई मतदानसम्म लगेको देख्दा म उहाँप्रति आकर्षित भएको थिएँ। त्यहाँबाट हाम्रो निकटता बढ्दै गएको हो।

०५१ मा एकता केन्द्रमा विभाजन आउँदा उहाँले निर्मल लामा र नारायणकाजी श्रेष्ठलाई साथ दिनुभयो। त्यससँगै पूर्वी पहाडको कमाण्ड सम्हाल्ने जिम्मा पाउनुभयो। पूर्वी पहाडी क्षेत्रमा एउटा राजनीतिक पुस्ता निर्माणमा उहाँको महत्वपूर्ण भूमिका छ।

त्यस्तै, ०६० पछि उहाँले सुदूरपश्चिमको पहाडि क्षेत्रको जिम्मा पाउनुभयो। त्यहाँ पनि उहाँको भूमिका संगठनात्मक रुपमा निकै सफल रह्यो। उहाँले राज्य समितिको सचिव भएर पनि काम गर्नुभयो।

संगठनात्मक ढंगले हेर्ने हो भने डिआरजीलाई कुशल, शालिन र गुप्त कार्यकर्ताको रुपमा लिन सकिन्छ। उहाँमा त्यति तडकभडक नभएपनि पार्टीको संगठनात्मक जिम्मेवारी निर्वाह गर्नसक्ने क्षमता थियो। उहाँको काम दीर्घकालिन प्रभाव पार्ने खालको हुन्थ्यो।

व्यवहार, स्वभाव र कार्यशैली
डिआरजी निकै सरल व्यक्ति हुनुहुन्थ्यो। उहाँ आडम्बरी खालको व्यक्ति होइन। आफू जे छ जस्तो छ, त्यही रुपमा प्रस्तुत हुनुहुन्थ्यो। र, सधैँभरि त्यस्तै हुन सक्नुभयो। यो सबैले अनुकरण गर्न लायक पक्ष हो।

नेपालको कम्नुष्टि आन्दोलनमा आएको विकृति, विसंगति जोड्ने–जोडाउने वा प्रदूषित गराउने खालको विचार उहाँमा थिएन। उहाँको मूल प्रबृत्ति पार्टी, क्रान्ति, आन्दोलन, वर्ग, जनता र सिद्धान्तप्रति अविचलित थियो। सांस्कृतिक आचरणमा पनि उहाँ प्रष्ट हुनुहुन्थ्यो।

मुलतः उहाँ वैचारिक मानिस हो। कतिपयले उहाँलाई त्यति धेरै भाउ नदिएको भएतापनि उहाँको मूल भूमिका वैचारिक नै रहन्थ्यो। पद, प्रतिष्ठा ईत्यादिमा मरिहत्ते गर्ने चरित्र पनि उहाँमा थिएन।

म उहाँको राजनीतिबाहेकको व्यक्तिगत जीवन नै देख्दिन। किनकी, उहाँले सधैँभरि पार्टीकै लागि काम गर्नुभयो। यतिसम्म कि, पत्रकारिताको माध्यमबाट जनएकता साप्ताहिकको प्रधानसम्पादक बनेर समेत उहाँले पार्टीकै विचारलाई जनतासमक्ष ल्याउने काम गर्नुभयो। कामभन्दा बाँकी समय पनि उहाँले विभिन्न पुस्तकको सम्पादन गरेरै बिताउनुभयो। पत्रपत्रिकाहरुमा आलेख लेख्नुभयो।

राजनीतिले गर्दा उहाँले सामाजिक जीवन जिउने वा सामाजिक रुपमा काम गर्ने अवसरसमेत पाउनुभएन। पार्टी–पार्टी भन्दा भन्दै आज उहाँ हामीमाझ हुनुहुन्न।

अध्ययनशील तर, कम बोल्ने
उहाँ निकै अध्ययनशिल मान्छे हुनुहुन्थ्यो। पुराना सामग्रीहरु संकलनमा उहाँको अत्यन्तै रुचि थियो। धेरैलाई वास्ता नभएका वक्तव्यहरु, धेरैलाई पुराना भइसकेका दस्तावेजहरु संकलन गर्ने स्वभाव अचम्मको थियो। मैले नै कतिपय अवस्थामा वक्तव्य र दस्तावेज आवश्यक परेमा उहाँलाई गुहार्ने गर्थेँ। वैचारिक पुस्तक अध्ययन र संकलनमा उहाँको रुचि धेरैका लागि ईष्याको विषय थियो।

उहाँलाई चिन्ने सबै मानिसहरुलाई नराम्रो लाग्ने भनेको उहाँको कम बोल्ने बानी हो। यसले कसैलाई घात त गर्दैन। तर, आफूसँग कम बोलिदिँदा मानिसहरुलाई मन पर्दैनथ्यो। असाध्यै कम बोल्ने यसप्रकारको बानीलाई उहाँको विशेषता भने पनि, स्वभाव भने पनि उहाँको स्वभाव यस्तै थियो। त्यस्तो नभइदिए हुन्थ्यो भन्ने धेरै साथीहरुलाई लाग्थ्यो।

पछिल्लो समय उहाँले पार्टी भित्रका विषयमा आफ्ना वैचारिक धारणाहरु सामाजिक सञ्जालमार्फत प्रस्तुत गर्दै आउनुभएको थियो। यसबाट उहाँको जनता, आन्दोलन र वर्ग पक्षको सरोकार प्रष्ट बुझ्न सकिन्थ्यो। यस्ता कुराले कतै उहाँ ‘नेकपाभित्रको मूल नेतृत्वसँग असन्तुष्ट पो हुनुहुन्छ कि’ भन्ने प्रश्न पनि जन्माएको थियो।

रक्सीसमेत खानुहुँदैनथ्यो
सामान्यतया नेताहरुको आनी, बानी र आदत उस्तै–उस्तै खालको हुने गर्छ। तर, उहाँ कुलतभन्दा टाढा हुनुहुन्थ्यो। न अतिरिक्त लोभ, लालच नै थियो। कतिपय अवस्थामा त उहाँको सरलता देखेर त्यो स्वभाव टिठ लाग्ने पनि गथ्यो । त्यति ज्यादा सरल त किन हुनुपर्ने होला भन्ने लाग्थ्यो।

तर, लतमा लागेका साथीहरुप्रति उहाँको घृणा थिएन। आफूले रक्सी नखाने भएपनि रक्सी खाने साथीहरुसँग बसेर खाजा खान सक्नुहुन्थ्यो। अर्को कुरा, उहाँ निडर हुनुहुन्थ्यो। कुनै पनि संघर्षको मोर्चामा दुस्मनसँग डराएर हिँड्ने, छल्ने स्वभाव थिएन। जे हो, त्यही कुरा भन्नुहुन्थ्यो।

०५१ मा हामी सातदोबाटोबाट ठैब जाँदै थियौँ। हामीसँग पार्टीको दस्ताबेज थियो। बाटोमा प्रहरीले हामीलाई केरकार गर्यो। उहाँले म धनीराम पौडेल भनेर कत्ति पनि नहडबडाई सिधा–सिधा, फटाफट जवाफ दिनुभयो।

यसरी उहाँमा जस्तोसुकै समस्या आइपरे पनि त्यसलाई हल गर्न सक्ने क्षमता थियो। त्यतिबेला नै मलाई उहाँको नाम धनीराम रहेछ भन्ने थाहा भएको हो। नत्र डिआर भन्ने थियो।

माओवादीमा लागेपछि 
०६५ मा तत्कालिन नेकपा (माओवादी) सँग पार्टी एकता भएपछि उहाँ पार्टीको केन्द्रीय सदस्य हुनुभयो। उहाँको कमाण्ड सुदुरपश्चिम नै थियो। त्यसबखत उहाँमाथि वैचारिक र गुटगत केही बाधाहरु थिए। उहाँले त्यसलाई सरल ढंगले निप्टाएर सफल हुनुभयो। पार्टीको पोलिटब्यूरो सदस्यसमेत बन्नुभएका उहाँलाई असफल बनाउने प्रबृत्तिहरु पनि थिए। तर, उहाँ झुक्नु भएन। जसले गर्दा त्यो तत्व पनि उहाँसँग नतमस्तक भएको थियो।

दोस्रो संविधानसभामा समानुपातिक सांसद बनेपछि उहाँ मन्त्री बन्नुभयो। संस्थापन पक्षको नभएपनि नारायणकाजी क्षेष्ठले नेतृत्व गरेको गुटबाट मन्त्री बन्दा उहाँ विवादमा आउनुभएन। तर, उहाँले मन्त्रीकालमा आफ्नो स्वेच्छाले धेरै काम गर्न पाउनुभएन। उहाँमाथि उहाँभन्दा सिनियरहरुको निकै ठूलो दबाब थियो। त्यही दबाबमा बसेर काम गर्नुपर्ने भयो। यति हुँदाहुँदै पनि उहाँले बदनामी कमाउने काम भने गर्नुभएन।

अहिले मन्त्री भएर बदनाम नहुने कमै हुन्छन्। तर उहाँ खरो उत्रनुभयो। तत्कालिन माओवादी पार्टीबाट मन्त्री भएर आएपछि गाडी नचढ्ने एकाध नेतामा उहाँ पनि पर्नुभयो। यसरी उहाँले आफू प्रदूषित हुने वा लाञ्छना लगाउन मिल्ने काम गर्नुभएन। यस्तो प्रदूषणको माहोलमा आफूलाई खरो उत्राउनु उहाँको निकै राम्रो पक्ष हो।

पारिवारिक सम्बन्ध
उहाँले पार्टीकै सल्लाहमा विवाह गर्नुभएको हो। गंगा बेल्बासेजी र डिआरजी पार्टीको युवा मोर्चामा काम गर्नुहुन्थ्यो। जनकपुरमा भएको पार्टीको एउटा सम्मेलनमा मैले नै ०५२ मा उहाँहरुको बिहेको प्रस्ताव राखिदिएको हुँ। त्यसको ६ महिनापछि बिहे भयो।

श्रीमती जैशी र उहाँ उपाध्याय ब्राह्मण भएका कारण सुरुवाती दिनमा परिवारमा केही असहज भएको कुरा उहाँले मलाई सुनाउनुहुन्थ्यो। तर, यो असहजता धेरै लामो समय रहेन। अहिले उहाँको श्रीमती र दुई छोरी हुनुहुन्छ।

मृत्यु
अकस्मात उहाँको मृत्यु चिकित्साशास्त्रलाई नै फेल गर्ने गरी भयो। खानपिनका कारण भन्ने हो भने उहाँमा कुनै गलत आदत थिएन। बंशाणुगत रोग भनौँ भने त्यस्तो पनि केही थिएन। न उहाँ गम्भीर बिरामी पर्नुभएको थियो। निकै सादा जीवन थियो उहाँको। अलिकति मोटोपन बढेको थियो। तर, त्योबाहेक नियमित औषधिसमेत खानुहुँदैनथ्यो।

१ हप्ताअघि मसँग फोनमा कुराकानी भएको थियो। उहाँ दिवाकर भुषालको स्मृति ग्रन्थ सम्पादन गर्दै हुनुहुन्थ्यो। त्यतिबेलासम्म उहाँ स्वस्थ नै हुनुहुन्थ्यो।

उहाँसँगैका हामीले अहिले धेरै खाले औषधि खान्छौँ। तर, उहाँले केही खानु हुँदैनथ्यो। स्मृति ग्रन्थ सम्पादनकै क्रममा भएको उहाँको निधनले हामी सबैलाई स्तब्ध तुल्याएको छ। हामीले नेपालको कम्युनिष्ट आन्दोलनको एक असल योद्धा गुमाउन पुगेका छौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .