यसपटक नेकपा एमालेका ‘निष्कासित’ वरिष्ठ नेता माधवकुमार नेपाल आफ्ना आन्तरिक विपक्षी एवं अध्यक्ष केपी शर्मा ओलीको ‘एकता प्रस्ताव’रूपी ‘पासो’मा पर्नबाट आफूलाई बचाउन सफल भएका छन्। सम्भवतः नेपालको यो निर्णय आफ्नै समूहका केही नेता र अन्य धेरै व्यक्तिको अनुमानविपरीत हो। तर मेरो विचारमा यसअघि ओलीका ‘जाल’मा पटकपटक फसेका पूर्वप्रधानमन्त्री नेपालले यसपालि अनपेक्षित ढंगले एकदमै उचित निर्णय गरेका छन्।
अहिले सरसर्ती हेर्दा जारी एमाले विवाद एउटा पार्टीको आन्तरिक व्यवस्थापनको विवाद हो। यस हिसाबले हेर्दा यो एमाले नेता/कार्यकर्ताको मात्र राजनीतिक भविष्यसँग सरोकार राख्ने विषयजस्तो देखिन्छ। यसैले हुन सक्छ, नेपाल पक्षकै केही नेताले जुनसुकै मूल्यमा एमाले ‘एकता’मा मात्रै जोडबल गरिरहेका पनि छन्। तिनले आफ्नै पद र सुख-सुविधाका लागि मात्रै राजनीति गरिरहेका हुन् भने यो स्वाभाविकै हो। यसबीच छेपारोले रङ फेरेझैं एकाएक नेपाल समूह छाडेर ओलीको भजन गाउन पुगेका केही नेताले यसको पुष्टि पनि गरिसकेका छन्।
तर गहिरिएर विश्लेषण गर्ने हो भने जारी ‘एमाले विवाद’ एमालेभित्रको आन्तरिक व्यवस्थापनको मात्र विषय नभएर सिंगै देश र जनताको भविष्यसँग जोडिएको गम्भीर सवाल हो।
यसका लागि हामीले वर्तमान एमाले विवादको उत्पत्तिस्थलसम्म पुग्नुपर्ने हुन्छ। खासमा पहिलेको नेकपा विवाद नै अहिले एमाले विवादमा परिणत भएको हो। हामीलाई थाहा छ, अहिले ‘ओली एमाले’बाट ती एमाले नेता/कार्यकर्ता बहिष्करणमा परेका छन्, जो गत पुस ५ गते पहिलोपटक संसद् विघटन गरिँदा सडक आन्दोलनमै उत्रिएका थिए। जतिबेला उनीहरू प्रचण्ड–नेपाल समूहमा रहेर नेकपाको आधिकारिता प्राप्त गर्न पनि संघर्षरत थिए।
यहीबीच गत फागुन २३ गते जब सर्वाेच्च अदालतले पार्टीको नामसम्बन्धी विवादमा पछिल्लो नेकपा अवैधानिक भएको र यसमा मिसिएका पुरानै दुई दल (एमाले र माओवादी केन्द्र) ब्युँतिएको फैसला सुनाएपछि न ओली–नेपाल विवाद एमाले विवादमा परिणत भएको हो।
यसर्थ जारी एमाले विवाद मूलतः प्रतिगमनकारी र अग्रगमनकारी शक्तिबीचको लडाइँ हो। यत्ति भन्न हिचकिचाइरहन पर्दैन, एमालेकै नाममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनकारी शक्तिको नेतृत्व गरिरहेका छन् भने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अग्रगमनकारी शक्तिको नेतृत्व गरिरहेका छन्।
यहाँनिर के बिर्सन हुँदैन भने नेकपामा हुँदा माधव नेपाल समूहले ओलीले पार्टीको विधान मिचेकामा मात्र होइन, देशको संविधान मिचेकाप्रति पनि भयंकर विरोध गरेको थियो (अहिले पनि गरिरहेको छ)। ओलीलाई प्रतिगमनकारी भन्दै ऊ संविधान र गणतन्त्र रक्षाका लागि सडकमै उत्रिएको थियो।
यसैले त एमाले अध्यक्ष ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने वचनसहित नेपाल पक्षलाई सहमतिमा आउन आह्वान गरेपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत सोधेका छन्, ‘एमाले कणहरूसँग जिज्ञासा : तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चुलामा बाक्लो दालसहित भातभान्सा गरेमा त्यसयता ओलीले गरेका २/२ पटकका संसद् विघटन, संवैधानिक अंगहरूको अवैध कब्जा...लगायत राष्ट्रघात सबै माफ हुन्छन्?’
प्रश्न गम्भीर छ।
खासमा डा. भट्टराईको प्रश्न ती एमाले नेताहरूलाई हो, जो पार्टी एकताको मात्र एकोहोरो रटान गरिरहेका छन्। मानौं, देशमा व्याप्त अराजकता, बेथिति र संकट समाधानको एउटै मात्र उपाय एमाले ‘एकता’ हो।
माधव नेपाल समूहका ती कमरेडहरूलाई मेरो अर्काे पनि प्रश्न– पहिलोपटक संसद् विघटनयतादेखि जारी तपाईंहरूको आन्दोलनको एउटै मात्र उद्देश्य सर्वाेच्च अदालतको फैसलाअनुसार एमालेलाई माओवादी केन्द्रसँग एकीकरण हुनुअघिको अवस्थामा फर्काउनु मात्रै हो त?
कि सर्वाेच्च अदालतकै अघिल्लो फैसलाबमोजिम देशलाई पनि गत फागुन ११ गते (प्रतिनिधि सभा पुनःस्थापना) को अवस्थामा फर्काउनु हो?
मानिलिऊँ, ओलीले तपाईंहरूले भनेजस्तै पार्टीलाई पुरानै अवस्थामा फर्काए, झलनाथ खनाल, माधव नेपाल, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे...सबैलाई पहिलेजस्तै पद दिए, हामी धन्य हुन्छौं? हाम्रो शिर ठाडो हुन्छ?
कि निहुरिन्छ?
किनकि संविधानविपरीत दुई–दुईपटक प्रतिनिधि सभा विघटन गर्ने व्यक्ति तिनै हुन्, जो तपाईंको पार्टीका प्रमुख हुन्। देशमा अहिलेसम्म जे जति प्रतिगमनकारी निर्णय भएका छन्, ती सबै एमालेको खातामा चढेका छन्। अब आफूलाई पार्टीमा पुरानै पद नदिएकोबाहेक ओलीले गरेका अन्य सबै काम-कुरा शिरोपर गरेर उनैको नेतृत्वको एमालेमा एकताबद्ध हुन जानुभयो भने तपाईं त्यस्तो पार्टीको नेता/सदस्य बन्नुहुन्छ, जसले देशमा प्रतिगमनको नेतृत्व गरिरहेको छ।
अहिलेसम्म एमालेकै एउटा पक्ष तपाईंहरू त्यसको विरोधमा रहेकाले आम नागरिकले कम्तीमा सिंगै एमालेलाई प्रतिगमनकारी पार्टी ठानेका छैनन्। अन्यथा, एकपछि अर्काे प्रतिगमनकारी निर्णय गर्दै देशमा भाँडभैलो मच्चाउने प्रधानमन्त्री कुन पार्टीका अध्यक्ष हुन्?
तपाईंहरूले यतिबेला ‘एकता’ शब्दलाई निकै सकारात्मक प्रतीकका रूपमा प्रचार गरिरहनुभएको छ। र, भनिरहनुभएको छ– हामी अन्तिम क्षणसम्म पनि एकताको प्रयत्न गरिरहन्छौं।
यहाँनिर अत्यन्तै सजग भएर सोच्नुपर्ने कुरा के हो भने– एकता आफैंमा नराम्रो कुरा होइन। तर सधैं सबै ठाउँमा एकता हुनु राम्रो पनि हुँदैन। जस्तो : राजतन्त्रवादी राप्रपाको एकताले देश र जनतालाई के फाइदा हुन्छ? अनि ऊ फुट्दा यो देशलाई के घाटा हुन्छ?
कुनै पार्टीको कार्यकर्ता नभएर एउटा आम नागरिक भएर सोच्ने हो भने ओलीजस्ता प्रतिगमनकारी नेताले नेतृत्व गरेको राजनीतिक शक्ति/समूह जुटेको/बलियो भएको राम्रो होला कि बरु फुटेको, चोइटिएको र अझ मासिएकै राम्रो?
तपाईंहरूले खोजेको ‘एकताबद्ध एमाले’ अहिले ओलीले नेतृत्व गरिरहेको जस्तै एमाले हो? हो भने तपाईंहरूलाई आइन्दा प्रतिगमनको विरोध गर्ने हक हुने छैन।
तर तपाईंहरू देश र जनताको मुक्तिका लागि राजनीति गरिरहनुभएको हो भने एमाले बचाउन त पर्छ, तर त्यस्तो एमाले जस्तो मदन भण्डारीले नेतृत्व गरेका थिए, त्यस्तो एमाले, जसले अहिलेको संविधान बनाउन र गणतन्त्र ल्याउन संघर्ष गरेको थियो। त्यस्तो एमाले– जसले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध सशक्त आन्दोलन गरेको थियो।
अन्यथा, सोच्नुस् त– ओलीले नेतृत्व गरेको जस्तो एमाले एकता हुँदा यो देश र जनताले के पाउँछन्?
यसर्थ खालि एकता, एकता मात्र भनेर तपाईंहरूको जिम्मेवारी र दायित्त्व पूरा होलाजस्तो लाग्दैन। देश र जनताले खोजिरहेको एकथान एमाले व्यवस्थापन मात्रै हो त? राष्ट्रको आवश्यकता एमालेको अस्तित्व जोगाउनु मात्रै हो त? कि संविधान, गणतन्त्र र राष्ट्रकै अस्तित्व जोगाउनु अहिलेको प्रमुख आवश्यकता हो?
यसर्थ एमाले नामकै पार्टीको मोह र विरासत त्याग्न हामीलाई गाह्रो भइरहेको हो भने सर्वप्रथम आफ्ना प्रतिगमनकारी अध्यक्षलाई ‘आउट’ गर्नुस् र आफैं पार्टीको नेतृत्व गर्ने ल्याकत राख्नुस्।
अन्यथा, पुराना चिज भएकाले जसरी पनि जोगाउनुपर्छ भन्ठान्ने हो भने त अढाई सय वर्ष पुरानो राजतन्त्र फालेर गणतन्त्र ल्याउनै हुन्थेन।
यसर्थ पूर्वप्रधानमन्त्री माधव नेपालले प्रतिगमनकारी अध्यक्ष ओलीको एकता आह्वानलाई साहसपूर्वक अस्वीकार गरेर जुन निर्णय गरेका छन्, त्यसले उनी केवल पद प्राप्तिका लागि होइन, देश र जनताका लागि राजनीति गरिरहेका छन् भन्ने पुष्टि गरेको छ।
प्रतिक्रिया