ad ad

विचार


कोभिडका बिरामी घरैमा बसिरहनु खतरा

कोभिडका बिरामी घरैमा बसिरहनु खतरा

डा. अनुप बाँस्तोला
जेठ २३, २०७८ आइतबार ३:१६,

अहिले कोरोना संक्रमितको संख्या विगत ३ हप्ताको तुलनामा केही कम छ। वैशाख पहिलो साता टेकु अस्पतालको इमर्जेन्सीमा जुन दरमा सिकिस्त बिरामी आएका थिए, जेठको अन्तिम साता त्यही दरमा बिरामी भर्ना भएका छन्। तर, वैशाखको पहिलो साताको तथ्यांक बढ्दो क्रममा थियो भने अहिले घट्दो क्रममा छ।

यो डेढ महिना कोभिडका सिकिस्त बिरामीको उपचारमा हामी अहोरात्र खट्यौं। यति संवेदनशील अवस्थासम्म आयो कि इमर्जेन्सीमा एकै दिन ५ जनासम्म बिरामीको मृत्यु भयो। हामी यति निरीह थियौं कि चाहेर पनि इमर्जेन्सीका सिकिस्त बिरामीलाई भेन्टिलेटरसम्म लैजानै पाएनौं।

टेकु अस्पतालमा २४ बेडको आईसीयू बढाएर २८ बेड पुग्यो। कोभिडको पहिलो लहरमा ७ वटा भेन्टिलेटर थियो भने अहिले २२ वटा भेन्टिलेटर छन्। तर, अहिले पनि आईसीयू बेड र भेन्टिलेटर भरिएका छन्। यसको अर्थ हो– अस्पतालको हालको क्षमताबराबर सिकिस्त बिरामी उपचाररत छन्।

खोपको उपलब्धता नहुँदासम्म अनावश्यक औषधि सेवन गरेर कोभिडका बिरामी घरैमा बसिरहनु खतरा हुन सक्छ। कोभिड निमोनिया भएको ६/७ दिनमा बिरामीलाई निकै गाह्रो पर्छ, त्यसबेला सामान्य ठानेर अस्पताल नआउँदा बिरामी जोखिममा पर्न सक्छन्। यो समय सबैले ध्यान दिनु जरुरी छ।

बिरामी बेलैमा अस्पताल आइपुगे उपचारका अनेक उपाय अपनाउने सम्भावना रहन्छ। तर, घरै बसेर अन्तिम अवस्थामा अस्पताल आउँदा ढिला हुन सक्छ। अब, श्वासप्रश्वासमा समस्या भएका बिरामीलाई अस्पताल ल्याउन ढिलाइ नगरौं। अहिले बिरामी व्यवस्थापन गर्न सक्ने अवस्थामा अस्पताल आइपुगेका छन्।

सम्भवतः दोस्रो लहरको डरलाग्दो समय पार हुने चरणमा छ। तर, धेरैभन्दा धेरैलाई खोपको व्यवस्था हुन नसके र सुरक्षाका मापदण्ड पालना नगरे यो महामारीले अर्को रूप नलेला भन्न सकिन्न। दोस्रो लहरको उत्कर्षमा भोग्नुपरेको बेहाल अवस्था फेरि पनि आइलागे धान्न सक्ने धैर्यता सायद नरहन सक्छ।

(डा. बाँस्तोला काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत छन्।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .