ad ad

विचार


अस्पतालबाट घर फर्केका कोरोना संक्रमितले के गर्ने?

अस्पतालबाट घर फर्केका कोरोना संक्रमितले के गर्ने?

डा. अनुप सुवेदी
बैशाख २९, २०७८ बुधबार १०:५०,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ जारी गरेको विवरणअनुसार ९७ हजार ८ जना सक्रिय संक्रमित छन्। कोरोना महामारी सुरु भएयता मंगलबारसम्म ४ लाख १३ हजार १ सय ११ जना संक्रमित भएका भने ३ लाख १२ हजार १९ जना निको भइसकेका छन्। मंगलबार मात्रै ५ हजार २ सय २५ जना कोरोनामुक्त भएका छन्।

संक्रमितमध्ये धेरै लक्षण नदेखिने र सामान्य लक्षण देखिने हुन्छन्। उनीहरुलाई खासै उपचारको आवश्यकता पर्दैन। गम्भीर अवस्थामा पुगेका संक्रमितको भने अस्पतालमा उपचारमा गराउनु पर्ने हुन्छ, अन्याथा ज्यानै जाने अवस्थामा उत्पन्न हुनसक्छ। कुनै लक्षण नदेखिएका वा सामान्य लक्षण देखिएका, मध्यम लक्षण देखिएका वा गम्भीर अवस्थामा पुगेर निको भएका संक्रमितहरुले के के विषयमा ध्यान दिने त?

सामान्य अवस्थामा निको भएका संक्रमितले केही गर्नुपर्दैन। खोकी, घाँटी खसखस, थकान वा अलि कमजोरी जस्तो समस्याहरु २–४ दिनदेखि २–४ सातासम्म रहिरहन्छन्। त्यसलाई सामान्य रुपमा लिनुपर्छ। तर, खोकी बढ्न थाल्यो, सास फेर्न गाह्रो भयो, धेरै नै गलेको जस्तो वा कमजोर भएको जस्तो भयो भने चिकित्सकको परामर्श लिनुपर्छ।

अक्सिजनको मात्रा घटेर अस्पतालमा भर्ना हुनुपरेको वा आईसीयूमा बस्नु परेको वा भेन्टिलेटरमा राखिएको बिरामीमा अन्यमा भन्दा बढी समयसम्म लक्षण हुनसक्छ। खोकी, कमजोर हुने, जिउ दुख्ने वा मुटु भट्याक भट्याक हुने।

त्यसबाहेक मानसिक समस्या पनि हुनसक्छ– युद्ध वा भूकम्पको समयपछि हुने पोस्टट्रमाको जस्तै। एक प्रकारको एन्जाइटी हुनसक्छ। सानो सानो कुरामा डर लाग्ने। तर, शारीरिक वा मानसिक रुपमा देखिएको समस्या पनि विस्तारै निकै हुनसक्छ। यस्तो निको हुनका लागि २–४ सातादेखि २–४ महिना लाग्नसक्छ। बिरामीले मात्रै होइन वरिपरिको मानिसले पनि बुझिदिनु समस्या बुझेर त्यही अनुसारको सहयोग गरिदिनुपर्छ।

आईसीयूमा भर्ना भएका वा भेन्टिलेटरमा रहेका संक्रमितहरुलाई चिकित्सकहरुले फलोअप लेखिदिएको हुनसक्छ। त्यसैअनुसार गर्नुपर्ने हुन्छ। भर्खर संक्रमणबाट मुक्त भएको हो डाक्टरलाई देखाउनैपर्छ भन्ने होइन। यो लक्षण र आवश्यकताअनुसार हुने हो। कसैलाई मानसिक परामर्श लिनुपर्ने हुनसक्छ।

कतिपय संक्रमितहरुले घरमै अक्सिजन लिएर बस्नु भएको हुनसक्छ। उहाँहरुको हकमा भने विस्तारै अक्सिजन नलिँदा पनि निको भयो भने चिकित्सकलाई देखाउनु पर्ने आवश्यकता पर्दैन। विशेषगरी यो महामारीको समय जहाँ पनि भीडभाड हुन्छ, लामो समय कुर्नुपर्ने हुनसक्छ। त्यसैले चिकित्सकले हेरेर तपाईं ठिक हुनुभयो भन्न मात्रै जानु पर्ने आवश्यकता छैन।

जसले घरमै अक्सिजन लगाएर बस्नु भएको छ, स्टेरोइड सुरु गर्नु भएको छ, उसले निरन्तर रुपमा चिकित्सकहरुसँग परामर्श गरिरहनु पर्छ। यो औषधि सुरु गरेपछि कहिले बन्द गर्ने वा अन्य औषधिसँग मिलाउने कि भनेर जान्न चिकित्सकहरुसँग सम्पर्कमै रहनुपर्छ। निको हुँदै गएको हो भने एक महिनापछि एक्स रे गरेर देखाउनु पनि पर्दैन। समस्या बल्झिँदै गएको अवस्थामा अवस्थामा चिकित्सकहरुले के भनेका छन्, त्यसमा भर पर्छ।

संक्रमणबाट मुक्त भएका व्यक्तिले स्वस्थ्य र पौष्टिक आहार लिने हो। कोभिड निको भएको व्यक्तिका लागि छुट्टै व्यायम छैन। तर, आफ्नो शरीरले धान्न सक्नेगरी विस्तारै सक्रियता बढाउनु पर्छ। आफ्नो शरीरले धान्ने व्यायामहरु निरन्तर रुपमा गर्दै जाने हो। सामान्य जीवन जिउनका लागि पनि त्यो गर्न आवश्यक छ।

लक्षण देखिएको १० दिनपछि अक्सिजनको मात्रा घटेन र ७२ घण्टासम्म ज्वरो आएन भने रोग निको भयो भन्ने मानिन्छ। मध्यम लक्षणहरु छन् र घरमै आइसोलेसनमा बसिरहनु भएको छ भने त्यसका लागि जाँच गराइ राख्नु पर्दैन। १० दिनमा आइसोलेसनबाट निस्कँदा हुन्छ। तर, अक्सिजन आवश्यक परेकोहरुको हकमा भने १० को ठाउँमा १४ दिन बस्नुपर्छ। १५ दिनमा ज्वरो आउन छाडेको ७२ घण्टा भयो भने आइसोलेसनबाट निस्कँदा हुन्छ। उहाँहरुबाट कसैलाई पनि सर्दैन। तर पीसीआर कहिलेकाहीँ हप्तौँसम्म पोजिटिभ भइरहन्छ।

(संक्रामक रोग विशेषज्ञ डा. सुवेदीसँगको कुराकानीमा आधारित)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .