ad ad

विचार


संकटमा मोदी : मृत्यु बढ्दै, चुनाव हार्दै

संकटमा मोदी : मृत्यु बढ्दै, चुनाव हार्दै

दि इकोनोमिस्ट
बैशाख २६, २०७८ आइतबार १४:१९,

मात्र दुई महिनाअघि नरेन्द्र मोदीको सरकारलाई भारतको इतिहासकै सबैभन्दा लोकप्रिय र बलियो मानिन्थ्यो। तर, पछिल्लो चुनावको नतिजा, आज्ञाकारी मानिने मूलधारको सञ्चारमाध्यममा समेत ओइरिएका आलोचना, उच्च अदालतलहरुले तीक्ष्ण शब्दमा गरेका हकारपकार, पाका विश्लेषकहरुको निष्कर्ष र सामाजिक सञ्जालमा व्यक्त चरम आक्रोशलाई हेर्ने हो भने प्रधानमन्त्री मोदी र उनको सरकार अहिले संकटमा छ।

सरकारी स्वास्थ्य विज्ञहरुले समेत कोभिड–१९ को दोस्रो लहर आउँदैछ है भनेर बारम्बार दिएको चेतावनीलाई वास्ता नगरेकाले मात्र यो संकट आइपरेको होइन। न त भारतले पुस्तौँपछि भोगेको यो प्रलयलाई मोदी र उनको समूहले ठिकसँगले सम्हाल्न नसकेकाले नै संकट आएको हो। भारतीयहरु सरकारको अयोग्यतामा बानी परिसकेका छन्। बरु, सरकारले आफूहरुलाई पुरै परित्याग गरेको भाव मध्यम वर्गमा पैदा भएको छ र त्यसले आक्रोशलाई बढाइरहेको छ।

महामारीको अवस्था झन्झन् खराब हुँदै गइरहेको छ। ५ मेका दिन भारतमा ४ लाख १२ हजारभन्दा धेरै संक्रमित फेला परे। विश्वमा फेला परेका संक्रमितमध्ये आधा संख्या भारतमा छन्। मार्चमा मृतकको संख्या तीन गुणाले वृद्धि भयो भने अप्रिलमा १० गुणाले। परीक्षण गरिएकामध्ये एक चौथाइ हिस्सा पोजिटिभ आउने गरेको छ। गएको महिनाभन्दा यो पाँच गुणा बढी हो। भारतको भयंकर दोस्रो लहर अझै उत्कर्षमा पुग्न बाँकी नै छ। सरकारी आँकडालाई नै मान्ने हो भने पनि कोरोनाबाट अढाई लाखभन्दा धेरैको ज्यान गइसकेको छ।

कुनै पनि देशका लागि यस्तो विनाश झेल्नु निकै कष्टदायी हुन्छ। मृतकको सरकारी तथ्यांक वृद्धि भइरहे पनि यसप्रति मानिसहरुको विश्वास घट्दै गइरहेको छ। महामारीका प्रमाणहरुले देखाउँछन्– मृतकको ठूलो संख्या गिन्ती भएको छैन। अस्पताल, घाट र शोक सन्देशबाट पत्रकारहरुले जम्मा गरेको तथ्यांकसँग सरकारी आँकडा मेला खाँदैन।

भारतमा दुई तिहाइ जनसंख्या गाउँमा बस्छ। जहाँ तथ्यांक र स्वास्थ्य सेवा दुवै उपलब्ध छैन। संक्रमण दर जुन गतिमा बढेको छ, सरकारको प्रतिष्ठा त्यही दरमा गिरेको छ।

मोदीले समस्या झनै थपे। मार्च र अप्रिलको धेरैजसो समय उनले आफ्नो उर्जा महामारी व्यवस्थापनमा भन्दा बढी पश्चिम बंगालको चुनाव प्रचारमा खर्चिए। खोपको उपलब्धताबारे सरकारले हिसाबमा ठूलो गडबडी गरेको खुलासा भएपछि उनी तमासा देखाउन थाले। राष्ट्रिय ‘टिका उत्सव’ अर्थात् खोप उत्सव घोषणा गर्नतिर लागे।

यो अभियान सुरु भएयता दैनिक खोप लगाउने मानिसहरुको संख्या घटेर आधा भएको छ। किनभने खोप अभाव छ। एकदमै ढिला गरेर उनले अप्रिल २० मा जनतालाई सम्बोधन गरे। सम्बोधनमा लकडाउन लगाउने पक्षमा आफू नभएको भन्दै उनले परीक्षण, संक्रमितको आइसोसलन र कन्ट्याक्ट ट्रेसिङलाई बढावा दिन आह्वान गरे। तर, धेरै ढिला भइसकेको थियो, यस्ता उपायले कामै नगर्नेगरी। अन्ततः धेरैजसो राज्य र ठूला सहरहरुले लकडाउन गरे।

यो संकटले मोदी सरकारलाई लज्जास्पद रुपमा आफ्नै नीति उल्ट्याउन बाध्य बनायो। जनवरीमा विश्वकै ठूलो र सबैभन्दा सस्तो भनिएको खोप अभियानलाई परिमार्जन गरियो। सुरुमा अभावलाई सम्बोधन गर्न खोप निर्यातमा प्रतिबन्ध लगाइयो। त्यसपछि सरकारले अचानक राज्य र निजी क्षेत्रले खर्चको आधा हिस्सा बोक्नुपर्ने घोषणा गर्‍यो। नयाँ भारतको पहिचान भनेको आत्मनिर्भता हो भनेर घोषणा गरेका मोदीले अघिल्लो सरकारले लागू गरेको विदेशी सहयोग नलिने नीतिलाई पनि उल्ट्याए। र, उनले एक दर्जनभन्दा बढी मुलुकले दिएका विमानका विमान स्वास्थ्य सामग्रीलाई स्वागत गरे। अक्सिजनको अभाव र यसले उत्पन्न गरेको प्रलयका माझमा सहयोग अस्वीकार गर्नु असम्भव थियो।

मोदी सरकारको दुर्भाग्यलाई विवशताले अझ बढायो। जताततैको मृत्युबाट व्याकुल बनेका जनता मोदी र उनको सरकारको अक्षमताको बारम्बार खुलासा भएपछि झनै हतप्रभ भए। जनताले थाहा पाए– सुरुमा अन्य मुलुकले पठाएका सहयोग सामग्री कर असुल्न भन्दै सरकारी अधिकारीहरुले बन्दरगाहमै रोकेका रहेछन्। अन्ततः ती कर या त हटाइयो, या घटाइयो। तर, ज्यान बचाउन उपयोगी उपकरण अक्सिजन कन्सन्ट्रेटरको कर २८ प्रतिशतबाट घटाए पनि अझै १२ प्रतिशत असुलिन्छ। गुजरात राज्यमा कारखानाहरुले ग्यास भण्डारण गर्ने ट्यांक बनाइरहेको खुलासा भयो, जसमा ठूलो मात्रामा अक्सिजन खपत हुने गर्छ। ट्यांक उत्पादन पनि रोकियो किनभने सरकारले सबै अक्सिजन अस्पताल पठाइरहेको थियो।

सरकारले जनताप्रति देखाएको निर्दयीपन पनि आश्चर्यजनक छ। दिल्लीका अस्पताल भरिभराउ छन्। अक्सिजन आपूर्ति नपाएर अदालत गुहार्न पुगेको राज्य सरकारलाई प्रमुख सरकारी वकिलले ‘रुन्चे बच्चा’ बनेको आरोप लगाए। यो तमासा दिल्लीका बासिन्दा हेर्न बाध्य दिए। राजधानीमा कडा कर्फ्यु लागेको बेलामा मोदी सरकारले नयाँ प्रधानमन्त्री निवाससहितको २.६ अर्ब डलरको विशाल सरकारी भवन निर्माणको कामलाई निरन्तरता दियो।

अर्कोतिर, केहीले मोदीको उत्तराधिकारी भनेर दाबी गर्ने उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले २३ करोड जनसंख्या भएको अत्यन्त गरिब राज्यमा अक्सिजनको अभावै नभएको घोषणा गरे। त्यति मात्र होइन अक्सिजन नपाएको ‘हल्ला’ फैलाउने व्यक्ति र अस्पताललाई कारबाही पनि गरे।

‘यो सरकार बौलाइसक्यो,’ उत्तर प्रदेशको मिरुत सहरमा भतिजी गुमाएका एक व्यक्ति चिच्याएको न्युजलन्ड्रीले खिचेको भिडियोमा देखिन्छ, ‘यिनीहरु महाशक्ति बन्ने भन्छन्। आफ्नो जनतालाई अक्सिजन पनि दिन नसक्ने कस्तो महाशक्ति हुन्छ?’

मोदी र उनको पार्टी भाजपाको भाग्यमा यसले कस्तो असर पार्छ, निश्चय नै चुनावले स्पष्ट पार्नेछ। तर, सन् २०२४ सम्म मोदीले आम चुनावको सामना गर्नुपर्ने छैन। त्यसैले आफ्नो प्वाल परेको जहाज मर्मत गर्न उनीसँग पर्याप्त समय बाँकी हुनसक्छ। तर, अहिलेको लक्षण उनका लागि सुखद् छैन। मे २ मा नतिजा घोषणा भएका चार राज्यको चुनावमा भाजपाले एउटामा मात्र जित हात पार्न सक्यो।

अझ भन्ने हो भने भाजपा पश्चिम बंगालमा नराम्ररी हार्‍यो। जहाँको चुनाव जित्न भाजपाले निकै मेहनत गरेको थियो। महामारीमा मोदीको नेतृत्वमाथिको जनमतसंग्रह होइन यो। किनभने धेरैजसो बंगाली मतदाता भाजपाको धार्मिक कट्टरतालाई मन पराउँदैनन्। भाजपाका हिन्दी बोल्ने, आडम्बरपूर्ण रुपले धार्मिक नेताहरुलाई सांस्कृतिक हिसाबले बाहिरिया ठान्छन्। यो चुनाव आठ चरणमा गरिएको थियो। अर्थात्, दोस्रो लहरको महामारीले ठूलो क्षति गर्नुअघि नै केही चरणका चुनाव भइसकेका थिए। मृतक संख्या बढ्दै जाँदा मतान्तर फराकिलो हुँदै गएको देखिन्छ।

उत्तर प्रदेशमा पनि गाउँ तहको चुनावमा मतदाता भाजपा समर्थित उम्मेदवारहरुविरुद्ध ढल्किए। कतिपय त भाजपाको किल्ला भनिएका ठाउँमै उनीहरुको हार थियो। त्यसमध्ये एउटा हो– वाराणसी, अर्थात् मोदीकै निर्वाचन क्षेत्र।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .