विचार

Tata MotorsTata Motors

अहिलेको व्यवस्थापनले महामारी नियन्त्रण हुँदैन, थेग्नै नसक्ने अवस्था आउनसक्छ


डा.शरद वन्त
काठमाडौं, बैशाख १५

हामी संक्रमणको दोस्रो लहरमा पुग्नुको दुई वटा कारण छ। एउटा, संक्रामक महामारीको प्रकृति के हुन्छ भने संक्रमण पिकमा पुगेपछि विस्तारै खस्ने गर्छ। यो सामान्य प्रक्रिया हो। हाम्रोमा खस्दै गइरहेको थियो। त्यसबेला संक्रमण विस्तार कम भएकै हो। संक्रमणको विस्तार कम हुँदा हामीले सबैभन्दा बढी ख्याल गर्नुपर्थ्यो। अझ बढी जनस्वास्थ्यका विधि कार्यान्वयन गरेर निस्तेज गर्दै लैजानुपर्ने थियो।

त्यसबेला संक्रमण कम भए पनि संक्रमणको स्रोत हाम्रो समुदायमा बाँकी नै थियो। जब संक्रमणको स्रोत बाँकी रहन्छ, तब अवसर पाउनेबित्तिकै त्यो विस्तार भइहाल्छ। हामीले यो बीचमा जनस्वास्थ्यका विधिलाई धेरै नै खुकुलो बनायौँ। जसले संक्रमणको स्रोत विस्तार हुने अवसर पायो।

अर्को पाटो के भने हाम्रो आयातित केसहरुमा वृद्धि हुन थाल्यो। भारतमा अत्यधिक आक्रामक तरिकाले भाइरसको नयाँ लहर आयो। त्यसले हाम्रो आयातित स्रोत पनि बढ्न थाल्यो। ती आयातित केसलाई हामीले ठिक ढंगबाट व्यवस्थापन गर्न सकेनौँ।

आयातित केसलाई कम गर्ने, नियन्त्रण गर्ने विगतका थुप्रै अनुभव थिए। तर, हामीले यसबीचमा भएका संरचनालाई पनि बिगार्‍यौँ। आयातित केसलाई समयमा सम्बोधन गर्न नसक्नु नै अहिले दोस्रो चरणमा प्रवेश गर्नुको अर्को मुख्य कारण रह्यो।

यो हाम्रो व्यवस्थापनको कमजोरी हो। यस्तो खालको प्रकोप अवसर पाउनेबित्तिकै फैलिहाल्छ। हामीले त्यो अवसर दियौँ।

पहिलो लहरपछि हामीले व्यवसाय, गतिविधलाई चलायमान बनाउन जरुरी थियो नै। तर चलायमान बनाउने क्रममा सुरक्षाका उपाय अपनाउनुपर्ने थियो। त्यहाँ हामी चुक्यौँ। यातायातलाई लयमा फर्काउनुपर्थ्यो। तर विगतका जस्तो सामान्य हुने छुट थिएन।

बारम्बार हामीले सामान्यमा फर्काउने भनेको नयाँ सामान्यमा फर्काउने भनेका थियौँ। त्यो भनेको सुरक्षाका विधिसहित फर्काउने हो। तर हामीले एकदमै लापरबाही गर्‍यौँ।

सबै ठाउँमा त्यही भएको हो। हामीले मास्क लगाउन छाड्यौँ। दुरी कायम गर्न छाड्यौँ। यी मापदण्डसहितको व्यवसाय, जनजीवन सञ्चालन गरिनुपर्थ्यो। भीड नगरीकन पनि व्यवसाय चलाउन सक्थ्यौँ। मास्क लगाएर व्यवसाय गर्न सक्थ्यौँ। तर सबै कुरामा हाम्रो ध्यान पुगेन। कमजोरी यहीँनेर रह्यो। जसको परिणाम अहिले हामी भोग्दैछौँ।

हामीले परीक्षण गर्न छाड्यौँ, कन्ट्याक्ट ट्रेसिङ गर्न छाड्यौँ। क्वारेन्टिन, आइसोलेसन भन्ने नामै बिर्सन थाल्यौँ। होम आइसोलेसनमा मात्रै बढी ध्यान केन्द्रित भयो। होम आइसोलेसनको विधि पनि पटक्कै पालना भएको देखिएन। हाम्रो मानसिकता यस्तो बन्यो कि कोभिड अब हाम्रो समस्या होइन।

सरकारी तहबाट कोभिडलाई हरायौँ भन्ने सूचना प्रवाह हुन थाल्यो। मन्त्री, प्रधानमन्त्री तहबाट पनि कोरोनालाई नियन्त्रणमा ल्याएको, हराएको भन्ने खालका अभिव्यक्तिहरु आउन थाले। जबकि हामीले संक्रमणलाई हराइसकेका थिएनौँ।

कोभिडलाई हामीले धेरै हदसम्म नियन्त्रणमा ल्याइसकेका थियौँ तर कोभिड हारिसकेको थिएन। कोभिड केही होइन रहेछ भन्ने मानसिकताले जुन किसिमको खुकुलोपना आयो, त्यही नै हाम्रो लागि दुर्भाग्य बन्न पुग्यो।

महामारीको प्रकृति नै कस्तो हुन्छ भने जब संक्रमण एकदमै पिकमा पुग्छ, तब डरले वा जिम्मेवारीपनले मानिसहरु जनस्वास्थ्यका मापदण्ड पालन गर्न थाल्छन् र संक्रमण विस्तारै कम हुन थाल्छ। तल खस्न थालेपछि हामी फेरि पुरानै लयमा फर्किन थाल्छौँ र संक्रमण विस्तार हुन थाल्छ। जुन नेपालमा अहिले देखियो।

नयाँ भेरियन्टमात्रै छैन दोषी
नयाँ भाइरस भएकाले यसको अर्को भेरियन्ट भन्दा हामी सशंकित भएका हौँ। अन्यथा भाइरसले आफूलाई परिवर्तन गरिरहन्छ। जीव विज्ञानका हिसाबले यो नौलो कुरो होइन। यसले आफ्नो स्वरुप परिवर्तन गर्दा कहिले बढी शक्तिशाली, कहिले दुर्बल हुन्छ। हामीले यसको विस्तारमा अवरोध गरिरहेका छौँ। त्यही अवरोध हेरेर यसले आफूलाई सहज बनाउन नयाँ स्वरुपमा परिवर्तन गर्छ नै। यो पहिलोपल्ट भएको पनि होइन। अरु भाइरसका पनि धेरै भेरियन्टहरु छन्।

नयाँ भेरियन्टले कहीँ न कहीँ त संक्रमण विस्तारमा भूमिका खेलेको छ। तर, नयाँ भेरियन्टकै कारणले अहिलेको प्रकोप आएको होइन। हामीसँग राम्रो व्यवस्थापन थियो भने नयाँ भेरियन्टलाई पनि रोक्न सकिन्थ्यो। किनभने रोक्ने विधि पुरानै हो। त्यही व्यवस्थापन अभावकै कारण दोस्रो लहर देखिएको हो।

यतिबेला नयाँ भेरियन्ट होइन, जनस्वास्थ्यका विधि पालनालाई मुख्य चासोको विषय बनाउनुपर्छ। पहिलेको भन्दा यो भेरियन्ट अलि आक्रामक भएको स्थापित भएको हुनाले पहिलेको भन्दा अलि बढी सतर्क हुनुपर्छ। तर सुरक्षाका विधि उही हुन्।

राजनीतिक नेतृत्व गम्भीर छैन
यसबीच विभिन्न राजनीतिक घटनाहरु भए। नारा, जुलुस, आन्दोलन, शक्ति प्रदर्शन देशैभरि भए।सरकार र सरकारबाहिरका राजनीतिक शक्ति पनि महामारी नियन्त्रणमा गम्भीर देखिएनन्।

सत्तामा रहेका राजनैतिक दलको प्राथमिकतामा महामारीभन्दा पनि उद्घाटन, भीड जम्मा गर्नु आदिमा बढी देखियो। उनीहरुले आफ्ना गतिविधिहरु सुरक्षित ढंगबाट सञ्चालन नगरेकाले संक्रमण फैलाउन भूमिका खेलेको छ। नीतिगत रुपमा पनि राजनीतिक दलको प्रभावकारी भूमिका देखिएन। केही नेताहरु बोल्न थालेको देखिन्छन्। नीतिगत र कार्यगत हिसाबमा महामारी नियन्त्रणमा उनीहरुको भूमिका प्रभावकारी देखिएन। 

राजनीतिक दलको ठूलो जनशक्ति छ, कार्यकर्ताहरु छन्। उहाँहरुले एक ढंगबाट आफ्नो समूहलाई समूहगत रुपमै परिचालन गरेर, व्यवस्थापनमा गर्नसक्ने अवस्था थियो। त्यो पनि उहाँहरुबाट कमजोरी भयो।

नियन्त्रणका उपाय
अहिलेको स्थितिलाई अर्थपूर्ण ढंगबाट हस्तक्षेप गर्न सकेनौँ, कार्यक्रम ल्याउन सकेनौँ भने संक्रमण बढिरहन्छ। यसले स्वास्थ्य र जीवनको अरु क्षेत्रमा पनि धेरै ठूलो असर पर्छ। अहिलेको स्थितिमा संक्रमण फैलिँदै गयो भने हाम्रो संरचनाले थेग्न सक्छ कि सक्दैन भन्ने ठूलो प्रश्न छ।

त्यसैले एकातिर अहिलेका संरचनालाई विकास गर्नुपर्छ भने अर्कोतिर सबैभन्दा महत्वपूर्ण पाटो भनेको संक्रमण विस्तारलाई रोक्न आवश्यक छ। नियन्त्रणमा राख्न सीमा नाकाबाट आयात हुने संक्रमणलाई एकदमै प्रभावकारी रुपमा व्यवस्थापन गर्नुपर्छ।

त्यसबाहेक समुदायमा संक्रमण विस्तार भएको छ। त्यहाँ पनि जनस्वास्थ्यका मापदण्ड प्रभावकारी ढंगबाट पालना गर्नुपर्छ र गराउनुपर्छ। अन्यथा यो निरन्तर वृद्धि भइरहन्छ। त्यसो हुँदा हामीले थेग्न नसक्ने स्थिति आउँछ।

पहिलो लहरपछि जब हामी स्वास्थ्य मापदण्ड खुकुलो पार्न थाल्छौँ, तब संक्रमणको रफ्तार पहिलेको भन्दा तेज हुनसक्छ। त्यसैले अहिले हिजोको भन्दा बढी चुस्तीका साथ व्यवस्थापन गर्नुपर्छ।

यतिबेला हामी हिजोको जस्तो स्रोतको नितान्त अभावबाट पीडित छैनौँ। स्रोत साधनलाई प्राथमिकतामा राख्नु, जुटाउनु छँदैछ। तर हामीसँग भएका स्रोतको प्रभावकारी परिचालन गर्ने र प्रभावकारी व्यवस्थापनको पनि चुनौती ठूलो छ।

तथ्यांकमा अहिले पनि थुप्रै बेड, आईसीयू खाली देखिन्छ। तर व्यवस्थापनको कमजोरीले गर्दा यथार्थमा बिरामीलाई बेड अभाव भइसक्यो। कतिपय स्थानमा थप बिरामी लिनसक्ने अवस्था छैन। यो हेर्दा स्रोत साधनको व्यवस्थापन, परिचालन गर्न नसकेको हो कि भन्ने देखिन्छ।

अर्थात्, व्यवस्थापनमा चुक्यौँ भने जति स्रोत र साधन थपे पनि स्थिति गम्भीर बन्दै जान्छ।

प्रभावकारी व्यवस्थापनका लागि सुरुमा सूचनामा मनिटरिङ गर्नुपर्‍यो। वास्तविकतालाई राम्रोसँग हेर्नुपर्‍यो। विभिन्न निकायसँग राम्रो समन्वय हुनुपर्‍यो। निर्णय चुस्त ढंगबाट हुनुपर्‍यो र भएको निर्णयलाई कार्यान्वयन गर्न हामी बढी सतर्क, सचेत बन्नुपर्‍यो।

नीतिगत निर्णय मात्रै गरेर हुँदैन। त्यसको कार्यान्वयनमा चाहिने चुस्ती हुनुपर्‍यो। हाम्रो समस्या सधैँभरि यही नै छ। हिजो पनि क्वारेन्टिन गर्ने भनेर नीतिगत निर्णय भएको हो। तर, कार्यान्वयन गर्दा क्वारेन्टिनमा खराब अवस्था देख्यौँ, भोग्यौँ। अहिलेपनि अवस्था त्यस्तै देखिएको छ।

अहिले नीतिगत रुपमा केही कुरा बनेका छन्। निर्देशिका जारी भएका छन्। तर त्यसको सशक्त कार्यान्वयन हेर्न बाँकी छ। कसरी अनुगमन, निरीक्षण हुन्छ, त्यो पाटो महत्वपूर्ण हुन्छ। त्यसमा अझै पनि कमीकमजोरी छ भन्ने मलाई लाग्छ।

अहिले पनि हामीले क्वारेन्टिनको व्यवस्थापन गर्न सकेका छैनौँ। अहिले पनि होम आइसोलेसनमा बस्नेलाई सुपरीवेक्षण गर्न सकेका छैनौँ। त्यो कार्यान्वायनको पाटो अझै हाम्रा लागि चुनौतीपूर्ण छ।

एउटा संक्रमणको विस्तार रोक्ने, संक्रमितको व्यवस्थापन गर्ने र कोभिडले सिर्जना गरेको अन्य समस्यालाई समाधानमा अब मुख्य ध्यान दिनुपर्छ। स्वास्थ्यबाहेकका अन्य समस्यालाई पनि सम्वोधन गर्नुपर्छ।

संक्रमित व्यवस्थापन गर्नमा स्वास्थ्य मन्त्रालयको भूमिका होला तर विस्तार रोक्नमा अरुको पनि भूमिका हुन्छ। कोभिडले सिर्जना गरेका सामाजिक, आर्थिक, मनोवैज्ञानिक समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयबाहेक अरु मन्त्रालयको बढी भूमिका हुन्छ।

संक्रमणको ‘चेनब्रेक’ गर्न लकडाउनलाई प्रभावकारी बनाऊँ
लकडाउन छैन भनेर सबैकुरा छाड्ने, लकडाउन छ भने सबैकुरा ठप्प हुने अर्थमा बुझ्ने गरिन्छ। त्यसो होइन। नेपालमा लकडाउन पहिले नै सुरु गरिसकिएको हो। २५ जनाभन्दा भेला नहुनू, ८ बजे होटल, रेस्टुरेन्ट बन्द गर्नु भन्नु नै लकडाउनको विविध चरण हुन्।

लकडाउनको चरम स्वरुप पनि लागू हुनसक्छ। चरणबद्ध रुपमा पनि जान सक्छ। अहिले हामीले भन्दा अब सबै बन्दाबन्दी हुने भयो भन्ने अवस्थामा बुझेका छौँ। सबै बन्दाबन्दी गर्नुभन्दा अघि धेरै काम गर्नुपर्छ। पसललाई केही समय खोल्नसक्छौँ। खोल्दा सुरक्षाका सबै प्रावधानलाई कार्यान्वयन गर्न सक्छौँ।

अहिलेको स्थिति हेर्दा लकडाउन गर्नै हुँदैन भनेर म भन्दिनँ। तर लकडाउनको कार्यान्वयन प्रभावकारी बनाउनुपर्छ। कार्यान्वयन प्रभावकारी बनाए चेनब्रेक हुन्थ्यो। लकडाउनको औचित्य पनि हुन्छ।

कहिलेसम्म रहला?
संक्रमणको विस्तार हुनेक्रम कहिलेसम्म रहला भन्ने सजिलैसँग अनुमान लगाउन सकिन्न। प्राकृतिक रुपमै यो कसरी अघि बढ्छभन्दा पनि यसलाई रोकथाम गर्न हामी कसरी अघि बढ्छौँ, त्यसमा भर पर्छ। सबै कुरा हाम्रो रोकथामका उपायहरु कति प्रभावकारी हुन्छन् त्यसमा भर पर्छ।

हामीले प्रभावकारी ढंगबाट काम गर्न सकेनौँ भने लामो समय यसले क्षति पुर्‍याउँदै जान्छ। हाम्रा उपायहरु प्रभावकारी भए भने यसलाई चाँडै नियन्त्रणमा ल्याउन पनि सकिन्छ।

(जनस्वास्थ्यविद् डा. शरद वन्तसँग यज्ञराज जोशीले गरेको कुराकानीमा आधारित)

 

बैशाख १५, २०७८, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors