ad ad

विचार


कोरोनाको दोस्रो लहर आए पनि लकडाउन आवश्यक छैन

कोरोनाको दोस्रो लहर आए पनि लकडाउन आवश्यक छैन

डा. समीरमणि दीक्षित
चैत १२, २०७७ बिहिबार ८:३५,

कोरोना संक्रमणको अवस्था अहिले बिग्रिसकेको छैन। भारतमा जस्तो हाम्रोमा देखिएको छैन। तर अत्यन्त सतर्क रहिरहनुपर्ने अवस्था छ।

नेपालका सीमासँग जोडिएका भारतीय राज्यमा के भइरहेको छ, त्यो हेर्नुपर्ने हुन्छ। उत्तर प्रदेश र बिहारमा बिरामीको संख्या बढेका छन्। यी प्रदेशबाट नेपालमा आवतजावत बढी हुन्छ। मानिस ठूलो संख्यामा आउँछन्। हजारौं आउँदा सयौं संक्रमित पनि हुन सक्छन्।

नेपालभित्र अहिले पनि सक्रिय संक्रमित हजार जना छन्। थाहा पाएको हजार हो। थाहा नपाएका जति पनि हुन सक्छन्। यो पनि हामीले बिर्सन हुन्न। उनीहरू छरिएर रहेका छन्। भारतबाट आउने र नेपालभित्रै रहेकालाई जोडेर हेर्ने हो भने कुनै पनि बेला संक्रमण तीव्र रूपमा फैलिने खतरा छ।

भारतबाट आउनेहरूलाई र्‍यापिड एन्टिजेन टेस्ट गर्नु एकदमै राम्रो हो। नतिजा १५ मिनेटमा आइहाल्छ। जसमा संक्रमण देखिन्छ, उनीहरूलाई आइसोलेसनमा राख्नपर्‍यो। पहिले क्वारेन्टिनबाट धेरै संक्रमण फैलिएको थियो। मेरो विचारमा यसपटक घरमै आइसोलेसनमा राख्नु उचित हुन्छ। उनीहरूको निगरानी/हेरचाहको जिम्मेवारी स्थानीय सरकारलाई दिन सकिन्छ।

केही समयदेखि नेपालमा संक्रमण निकै कम देखिएको थियो। बढ्ने, घट्ने क्रम जारी रहन्छ। युरोपमा त्यस्तै देखियो। पाकिस्तान, बंगलादेश पनि दोस्रो लहर पार गरेर अहिले तेस्रो चरणमा छन्।

धेरैजसो मानिसलाई खोप नलगाएसम्म बढ्ने/घट्ने क्रम भइरहन्छ। यसअघि संक्रमण नभएकालाई भाइरसले आक्रमण गर्न खोज्छ। खोप लगाएपछि कडा लक्षण हुँदैन। मृत्यु हुँदैन।

त्यसैले जबसम्म खोप लगाइँदैन, तबसम्म यस्ता चरण र लहर चलिरहन्छन्। यसलाई स्वाभाविक रूपमा लिनुपर्छ। तर सतर्कता अपनाउँदै रोग लाग्न नदिने गरी अघि बढ्नुपर्छ।

मुख्य कुरा लहर आउने/जाने भइरहन्छ। लहर आउँदैमा डराउन पर्दैन। लहर आउँदा मृत्यु वा कडा लक्षणमा परिणत हुन नदिन हामीले बढी काम गर्नुपर्छ। त्यसका लागि जनस्वास्थ्यका उपाय कडाइसाथ पालना गर्नुपर्छ।

आउला दोस्रो लहर?
दोस्रो वेभ (लहर) आउने सम्भावना बढी छ। संसारभरै आएको छ भने नेपाल मात्र किन अछुतो रहन्थ्यो ! भारतमै भएको छ। बिहार र उत्तर प्रदेशलाई नै हेर्नुपर्छ। त्यहाँ बढ्यो भने हाम्रोमा दोस्रो लहर आउँछ।

आए पनि हामी डराउनचाहिँ पर्दैन। भारतमा पनि दोस्रो लहरमा मृत्युदर एकदमै कम छ। हाम्रोमा जस्तै धेरै मान्छे संक्रमण भएर ठीक भइसकेका छन्। जोखिम समूहले खोप लगाइसकेको छ।

हामी संक्रमणबाट डराउन हुँदैन। रुघाखोकीको पनि संक्रमण हुन्छ तर हामी डराउँदैनौं। दोस्रो वेभ आउन सक्छ। डराउन पर्दैन। परीक्षणलाई निरन्तरता दिने, मास्क अनिवार्य गर्ने, नलगाउनेलाई कारबाही गर्ने, जरिवाना तिराउने गर्नुपर्छ।

नेपालमा पहिलेभन्दा यस चरणमा संक्रमण बढ्न सक्छ। संक्रमण भनेको मान्छेमा सर्ने हो। तीन करोड जनसंख्यामा अहिलेसम्म ५० लाख जनालाई लाग्यो होला। पहिलो चरणमा हामीले थाहा पो निश्चित संख्याको पायौं। कतिलाई त्यसै निको भयो। कतिले परीक्षण गराएनन्। धेरैलाई लागेर ठीक हुनु पनि राम्रो कुरो हो। अब उनीहरूलाई संक्रमण भयो भने पनि कडा लक्षण हुँदैन।

त्यसबाहेक झण्डै १८ लाख नेपालीले खोप पनि लगाइसकेका छन्। संक्रमण भइसकेका र खोप लगाइसकेका ३० देखि ५० लाख नेपाली कडा संक्रमण हुनबाट सुरक्षित छन्। बाँकीलाई बचाउनुपर्‍यो। राम्रो कुरा जोखिम समूह र अग्रपंक्ति (फ्रन्टलाइन) मा रहनेले खोप लगाइसकेका छन्।

जनघनत्वका हिसाबले उपत्यकासहित ठूला सहरमा सर्ने सम्भावना बढी हुन्छ। तर उपत्यकामा पहिलो लहरमा संक्रमित बढी देखियो। त्यसबाहेक कतिले खोप लगाइसकेका छन्। संक्रमित हुने र खोप लगाउनेहरू उपत्यकामा पनि सुरक्षित छन्।तर सतर्कता आवश्यक हुन्छ।

आइसोलेसन, अस्पताल तयारी अवस्थामा राख्नुपर्‍यो। कहीँ न कहीँ कोही न कोही जटिल अवस्थाका बिरामी कुनै पनि बेला आउन सक्छन्। संक्रमित बढेसँगै कडा लक्षणसहितका बिरामीको संख्या पनि बढ्छ। त्यसका लागि बेड, आईसीयू, भेन्टिलेटर तयारी अवस्थामा राख्नुपर्छ।

तर अहिले नै भयावह, डरलाग्दो स्थिति भयो भन्ने छैन र त्यो अवस्था आउँदैन पनि होला।

लकडाउन आवश्यक छैन
कन्ट्याक्ट ट्रेसिङ (संक्रमितलाई सम्पर्क) गर्न एकदमै गाह्रो छ। धेरै जना संक्रमित भइसकेका छन्। अब कन्ट्याक्ट ट्रेसिङमा त्यति ध्यान नदिए हुन्छ। अब परीक्षणलाई निरन्तरता दिने, मास्क लगाउने र दूरी कायम गर्नु नै महत्त्वपूर्ण। त्यसमै जोड दिनुपर्छ।

म लकडाउनको आवश्यकता नपर्ला भन्छु। हामीलाई पहिलेभन्दा धेरै कुरा थाहा भइसकेको छ। धेरै मानिस संक्रमणबाट मुक्त भएका छन्। कतिले खोप लगाइसकेका छन्। लकडाउन भनेको जोखिम समूहलाई जोगाउन हो। जोखिम समूहले खोप लगाइसकेकाले लकडाउन केका लागि?

लकडाउन जरुरी छैन। एकदमै जोखिम बढ्यो भने नाइट क्लब चल्न नदिने,  रेस्टुरेन्ट पनि निश्चित समयमा मात्रै खोल्न दिने, भीडभाड हुन नदिने, सभा/सम्मेलन गर्न नदिने हो। अरू कुरो सामान्य रूपले अघि बढ्न दिनुपर्छ। मुख्य कुरो मास्क लगाउने, दूरी कायम गर्नमै बढी जोड दिनुपर्छ।

खोप छिटो ल्याउनुपर्‍यो
चीनबाट पनि ८ लाख डोज खोप आउँदै छ भन्ने सुनेको छु। त्यतिले पुग्दैन। २०–२५ लाख डोज ल्याउनुपर्‍यो।

जोखिम समूहलाई खोप लगाएर एकदम राम्रो भएको छ। अब ५५ वर्षमाथिका शिक्षकलाई लगाइदिनुपर्छ। त्यति भयो भने विद्यालय खुला रहन्छन्। युवा र बच्चालाई यो रोगले खासै केही गरेको छैन। अरू कुरा रोक्नुपरेन। मुख्य भनेको जोखिम समूहलाई खोप लगाएर जनजीवन अगाडि बढाए हुन्छ।

संक्रमणलाई निर्मूल पार्न कि त अधिकतर मानिस संक्रमित भएर हार्ड इम्युनिटीमा जानुपर्‍यो कि खोप नै लगाउनुपर्‍यो। खोपलाई निकै प्राथमिकताका साथ हेर्नुपर्‍यो। सरकारले सकेसम्म बढीभन्दा बढीलाई खोप नै लगाउने व्यवस्था गर्नुपर्‍यो र जनताले चाहिँ मास्क लगाउनैपर्‍यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .