विचार

Tata MotorsTata Motors

टाढाबाट टाढाबाट

किताबसँग कस्तो प्रेम?


सन्जय घिमिरे
टेक्सास, अमेरिका , साउन २७

निरु राजवंशीको ट्वीटरबाट सांकेतिक तस्वीर

क्रान्तिकारी हुने नियत हो भने चिनियाँ, फ्रेन्च, रुसी क्रान्तिका किताब पढ्ने। दार्शनिक नियत हो भने कामु, नित्से पढ्ने।

जुन दिनदेखि थोरै भए पनि किताबमा रुचि बस्यो, त्यही दिनदेखि नै यो एउटा प्रश्नबारे म सोचिरहेको छु। किताबको गफ दिने कोही मान्छे फेला पर्यो कि त आज पनि म यही प्रश्न तेस्र्याउँछु।

तर चित्तबुझ्दो जवाफ आज पर्यन्त पाउन सकेको छैन।

सरुभक्तको ‘पागल बस्ती’, मदनमणि दीक्षीतको ‘मेरी निलिमा’, बीपी कोइरालाको ‘सुम्निमा’, जगदीश शमशेरको ‘नरसिंह अवातार’, पारिजातको ‘शिरिषको फूल’, लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ वा भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, शंकर लामिछानेको ‘एब्स्ट्रयाक्ट चिन्तन’ र ‘प्याज’ पढेर मेरो जिन्दगीमा कुनै फरक पर्यो वा परेन?

आफैंलाई सोध्छु वा सोच्छु, ‘भीमसेन थापाको इतिहास नपढेर मेरो वा अरू कसैको जीवनमा, के–कति सानो वा ठूलो प्रभाव पर्छ? अथवा पर्दै पर्र्दैन?’

कतिपयले सोचिसक्नुभयो होला, ‘भीमसेन थापाको इतिहास नपढे पनि जीवनमा केही फरक पर्दैन।’

हो, पर्दैन।

भीमसेन थापाको इतिहास नपढ्ने संसारमा कति छन् कति।

उसोभए भीमसेन थापाको इतिहास किन पढ्ने?

नेपालमा एकजना विद्वान् र भरपर्दा इतिहासविद् थिए– नयराज पन्त। करिब बीस वर्षअघि उनको घरमा गएको थिएँ, अन्तरंग कुराकानी गर्न। उनको कोठामा छिर्नुअघि म टक्क रोकिएको थिएँ। उनको कोठाको ढोकामाथि ठूला अक्षरमा लेखिएको थियो– ‘पुस्तक नपढ्ने मान्छे यहाँभित्र नछिर्नुहोला।’

मैले श्रद्धेय पन्तसँग सोध्नुपर्ने थियो– ‘कस्ता किताब र कुन किताब गुरुजी भनेर।’

आँट भएन वा के भो, सोधिएन।

आज सोच्छु– ‘हत्तेरी एउटा मौका त्यहाँ पनि गुमाइएछ।’

तर पन्तको कोठाको ढोकामाथि ठूला अक्षरमा लेखिएको त्यो वाक्यले आज पनि मलाई झस्काउँछ। आज पनि अलि विद्वानजस्ता लाग्ने मित्रका कोठामा पस्नुअघि म त्यही वाक्य सम्झन्छु।

त्यसैताका हो, नेपालमा हामी खोज्दै हिँड्थ्यौ– सबैभन्दा बढी पुस्तक पढ्ने मान्छे को–को हुन् भनेर। पत्ता लगाउने थलो थियो– काठमाडौंको बागबजारस्थित रत्नपुस्तक भण्डार।

Niru2

त्यहाँको साहुजीलाइ सोध्थ्यौं– ‘यहाँ पुस्तक किन्न बढी को–को आउँछन?’

जवाफ आउँथ्यो– ‘डा. हरि शर्मा, प्रदीप नेपाल आदि।’

प्रोफेसर डा. दुर्गाप्रसाद भण्डारी, प्रोफेसर डा. पुरुषोत्तम बाँस्कोटा, प्रोफेसर बीसी मल्लहरू, हाम्रा पुस्तक र ज्ञानका सगारमाथाजस्तै थिए। र, हामी पुस्तक र ज्ञानका बेसक्याम्पसम्म नै सही, पुग्न खोज्थ्यौं।

पुस्तक र ज्ञानको संसार यस्तो रहेछ कि जहाँ ८ हजार ८ सय ४८ मिटरभन्दा कैयौं ठूला, अग्ला पहाडहरू हुँदारहेछन्, टुप्पोमा पुग्नै नसकिने। बेसक्याम्पमै रोकिएको, रोकिएै।

बेसक्याम्पमै सही, जिन्दगीमा धेरै त्यस्ता मान्छे भेटिए– जो धेरै थोरै किताब पढ्ने।

तर किताब किन र कुन पढ्ने भन्ने प्रश्नको ठयाक्कै चित्तबुझ्दो जवाफ दिने मानिस भने भेटिएनन्। नपढ्नेहरूको त के कुरा, पढनेहरू पनि किन पढिरहेका छन्, ठयाक्कै भन्न सक्दैनन्।

तपाईंहरू भन्नुहोला– ‘किन हुनु? ज्ञान आर्जनका लागि किताब पढ्ने।’

एकछिन धैर्य गर्नुहोस्, हतार नगर्नुहोस्।

म तपाईंहरूलाई लगत्तै सोध्नेवाला छु– ‘ज्ञान प्राप्त गरेर के हुन्छ?’

तपार्इंहरू भन्नुहोला– ‘ज्ञानले जीवनलाई सहज बनाउँछ। र, आत्मसन्तुष्टि वा खुसी दिन्छ।’

पर्खनुहोस्, म फेरि अर्को तर्क गर्नेवाला छु– ‘आत्मसन्तुष्टि र खुसी मिल्ने अरू पनि बाटा छन्, पुस्तक नै किन चाहियो? फेरि ज्ञानले त घमण्ड पनि बढाउँछ। जसले चैनसँग बस्न दिएको मलाई याद छैन।’

तपाईंहरू भन्नुहोला– ‘मन र मस्तिष्कको आनन्द र शान्तिका लागि पुस्तक पढ्ने। मनोरञ्जनका लागि पुस्तक पढ्ने।

म फेरि पनि उही तर्क गर्नेवाला छु– ‘आत्मसन्तुष्टि र खुसी मिल्ने अरू पनि बाटा छन्, पुस्तक नै किन त?’

उसोभए, किताब पढ्नु र सिनेमा हेर्नु उस्तै–उस्तै हो त?

तपाईंहरू भन्नुहोला– ‘चेतनाका लागि किताब पढ्ने।’ 

यहाँ पनि म तर्क गर्नेवाला छु– ‘किताब नपढ्ने मान्छेमा चाहिँ चेत छैन?’

Niru5

अब मलाई थाहा भइसक्यो– ‘तपाईं यहाँनिरचाहिँ तिलमिलाउनुभएको छ।’

भैगो, भैगो, मेरो उद्देश्य तपाईंलाई यस्तो अन्योलको स्थितिमा पुर्याउने होइन।

म आफैं तिलमिलाएको छु– ‘साँच्चै, किताब किन पढ्ने?’

नोबेल पुरस्कार विजेता लेखक इर्नेस्ट हेमिंग्वे भन्छन्– ‘पुस्तकजस्तै ‘लोयल’ अरू कोही साथी छैनन्।’

हो कि झैँ पनि लाग्छ। जब सबैले साथ छाड्छन्, तब म किताब समाउँछु।

यसैकारण किताब पढ्ने? हुन सक्छ।

कसैले भनेको मलाई याद आउँछ– ‘हामी आफूलाई पुस्तकमा हराउँछौं र पाउँछौं पनि।’

मैले धेरैपटक आफूलाई किताबभित्र विलाएको छु। र, त्यहीँभित्र आफूलाई पाएको पनि छु।

मलाई थाहा छ– यो अलि बढी जटिल र आदर्शवादी कुरा भो। अलिक स्पष्ट कुरा गरौं है त?

‘ह्याारी पोर्टर’की लेखिका जेके रोवलिङ भन्छिन्– ‘बुक्स् लाइक मिरर अर्थात् पुस्तकहरू ऐनाजस्तै हुन्।’

हो, हामी त्यहाँ आफूलाई पाउँछौं र देख्छौं पनि। यसो भनेर को जिन्दगीभरि ऐना मात्र हेरेर बसिरहन्छ र भन्नुहोला। कुरा ठीकै हो। ऐनाअगाडि मात्र उभिएर पनि जिन्दगी कहाँ चल्छ र?

ऐनाबाहिर पनि त जिन्दगी छ, जुन जिन्दगीका अनेक रूप र रङ छन्। जसका माझ हामी हराएका जस्तै हुन्छौं। कहिले त एक्लो जस्तो पनि।

उसोभए विलियम निकोल्सन, जो दुईपटक ओस्कारका लागि छनोटमा परेका थिए, का कुरा सुनौं है त?

उनी भन्छन्– ‘वि रिड टु नो, वि आर नट अलोन्।’ अर्थात् हामी एक्लो छैनौं भन्ने थाहा पाउन किताब पढछौं।

यो पनि सान्त्वना दिनेजस्तो कुरा मात्र भो। फेरि पनि उही प्रश्न– ‘किताब किन पढ्ने र कुन वा कस्ता पढ्ने?’

Niru4

केही महिनाअघि अमेरिकाको टेक्सासमा मेरा एकजना प्रिय मित्र विनोद रिजाल बुक्स् क्लबको प्रस्ताव लिएर आए।

क्लबको पहिलो कफी गफका सहभागीहरू एकसे एक पढैयाहरू थिए, तर पढ्ने रुचिका विषय भने फरक। त्यहाँ पनि मैले यही प्रश्न तेर्स्याएँ– ‘किताब किन पढ्ने?’

दर्शनदेखि समाज विकाससम्म र अध्यात्मदेखि राजनीतिसम्मका किताबमा रुचि राख्ने विनोद जोशीले जवाफ दिए– ‘जीवनलाई थप अर्थपूर्ण बनाउने तरिकाहरू खोज्न।’

उनले यस्तै र यिनै किताब पढ्नुपर्छचाहिँ भनेन्।

भनेकै भए पनि डा. शिलु घिमिरेको जवाफ तयार थियो– ‘आफ्नो स्वाद अरूलाई लाद्नु ठीक होइन।’

डा. मुरली अधिकारी, जो भागवत् गीता लिएर आएका थिए, उनको सपाट जवाफ थियो– ‘किताब पढ्नु, एउटा ध्यान हो, जसले जीवनको खोजलाई सजिलो बनाउँछ।’

धार्मिक र आध्यात्मिक पुस्तक भनेपछि हुरुक्क हुने डा. अधिकारी भन्दै थिए– ‘पढेन भने म पागल हुन्छु।’

किन पढ्ने भन्ने प्रश्नको जवाफमा डा. अधिकारी जति स्पष्ट र खुला छन्, त्यति नै के पढ्ने भन्नेमा साँघुरा लाग्छन्। किनकि उनको झुकाव धार्मिक र आध्यात्मिकतर्फ छ। र, अरूलाई पनि त्यतै झुकाउन खोज्छन्।

पढ्ने त पढ्ने, तर के पढ्ने?

शेक्सपियरको ‘हयामलेट’ पढ्ने कि होमरको ‘दि आडिसी’? फ्रेन्च लेखक बाल्जाकको ‘लस्ट इल्युजन’ पढ्ने कि अस्ट्रेलियन उपन्यासकार रोबर्ट मुसिलको ‘द म्यान विथआउट क्वालिटिज’ पढ्ने?

हरमेन हेस्सेको ‘सिद्धार्थ’ पढ्ने कि पाउलो कोल्होको ‘द अल्कामिस्ट’? दोस्तोयभस्किको ‘क्राइम एन्ड पनिसमेन्ट’ पढ्ने कि म्याक्सिम गोर्कीको ‘द मदर’?

अल्बर्ट कामुको ‘द स्ट्रेन्जर’ पढ्ने कि हार्पर ली को ‘टु किल ए मोकिङबड’? सल्मान रुस्दीको ‘मिडनाइट्स चिल्ड्रेन’ पढ्ने कि इ एम फोस्र्टरको ‘ए प्यासेज टु इन्डिया’? जेन अस्टिनको ‘प्राइड एन्ड प्रिज्युडिस’ पढ्ने कि लियो टोल्सटोयको ‘वार एन्ड पिस’?

धर्म पढ्ने कि राजनीति? इतिहास पढ्ने कि समाज? फिक्सन पढ्ने कि आत्मकथा? विज्ञान पढ्ने कि संस्कृति? उहिलेका कुरा पढ्ने कि अहिलेका?

वा सबै पढ्ने? सकेजति पढने?

बुक क्लबका संयोजक विनोद रिजाल अलिक सजिलो पारामा भन्छन्– के पढ्ने भन्ने कुरा ‘इन्टिसनल’ कुरा हो। उनको विचारमा किताब आफ्नो नियतअनुसार पढ्ने।

क्रान्तिकारी हुने नियत हो भने चिनियाँ, फ्रेन्च, रुसी क्रान्तिका किताब पढ्ने। दार्शनिक नियत हो भने कामु, नित्से पढ्ने।

अबचाहिँ अलिक टुंगोमा कुरा आयो कि जस्तो छ।

के पढ्ने?

आफ्नो नियतअनुसारका किताब पढ्ने।

किन पढने?

आफ्नो नियत पूरा गर्न।

नियत के हो?

जो व्यक्तिपिच्छे फरक–फरक हुन्छन्, समाजपिच्छे अलग–अलग हुन्छन्।

 

साउन २७, २०७६, सोमबार

सन्जय घिमिरे अमेरिकाको टेक्सासस्थित पत्रकार हुन्
लेखकबाट थप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors