गएको दशकमा नव अन्वेषणको धीमा गतिबाट थुप्रै मानिस निराश भए। खासगरी अर्थशास्त्रीहरु। उत्पादकत्व वृद्धि एकदमै गतिहीन थियो। स्मार्टफोन र सामाजिक सञ्जालजस्ता लोकप्रिय बनेका अन्वेषणहरुले उत्पादकत्वमा खासै ठूलो योगदा दिन सकेनन्। अर्कोतर्फ तिनको खराब कुप्रभाव भने प्रत्यक्ष देखिन्थ्यो। उदाहरणका लागि तिनले खडा गरेको शक्तिशाली एकाधिकार र सार्वजनिक विचारको प्रदुषणलाई लिन सकिन्छ। स्वचालित कारजस्ता भरोसा गरिएका प्रविधि अगाडि बढ्न सकेनन्। जसले गर्दा सिलिकन भ्यालीका प्रचारकहरु बुद्धु देखिए। सुरक्षाबारे बढाइचढाइ कुरा गर्नेहरुले सर्वसत्तावादी चीनले पश्चिमलाई उछिन्न लागेको खतरा देखाए। निराशावादीहरुले अन्ततः संसारमा कामलाग्ने विचार समाप्त हुँदै गएको चेतावनी दिए।
तर, आज प्रविधिसम्बन्धी नयाँ आशा उदाउँदैछ। कोभिड–१९ को खोप जुन गतिमा उत्पादन भयो, त्यसले वैज्ञानिकहरुलाई लोकप्रिय बनाएको छ। महामारीकै समयमा प्रविधिको क्षेत्रमा लगानीमा ह्वात्तै वृद्धि भयो र डिजिटल प्रविधिको प्रयोग पनि व्यापक वृद्धि भयो। यी सफलताले प्रगतिको नयाँ युगको आशा देखाएको छ। आशावादीहरु निकै फूर्तिसाथ आगामी दशकमा प्रविधिले ठूलो फड्को मार्ने अनुमान गर्छन्। उसो त सन् २०१० दशकमा पनि थुप्रै प्रगति भएका थिए। उदाहरणका लागि क्यान्सर उपचारलाई लिन सकिन्छ। त्यसैले प्रविधिका कारण उटोपिया नै आउने भविष्यवाणी बेकार हुन्। तर, यदि राज्यले नयाँ प्रविधिलाई फूल्नफल्न दिए भने मानिसको जीवनस्तरलाई नै उकास्नेगरी अन्वेषणको नयाँ युग सुरु हुने सम्भावना भने छ।
पुँजीवादको इतिहास हेर्ने हो भने प्रविधिको तीव्र विकास नै यसको मुख्य विशेषता हो। १८औँ शताब्दीले औद्योगिक क्रान्ति र यन्त्रसहितको कारखाना ल्यायो। १९ औँ शताब्दीमा रेलमार्ग र विद्युत विकास भयो भने २० औँ शताब्दीमा कार, विमान, आधुनिक औषधिविज्ञान। वासिङ मेसिनको विकासले घरेलु कामकाजबाट ठूलो राहत दियो। तथापि १९७० को दशकमा पुगेर समग्र उत्पादकत्व वृद्धिका हिसाबले प्रगतिको गति सुस्तायो। काम गर्ने जनशक्तिमा महिलाहरु थपिँदै गएकाले त्यसले अर्थतन्त्रमा पारेका प्रभाव भने केही समयलाई छोपियो। १९९० को दशकमा व्यक्तिगत कम्प्युटरको विकासले कार्यक्षमता वृद्धि ग¥यो। तर, २००० पछि भने वृद्धि पुनः रोकियो।
यो मन्दी अन्त्य हुनुपर्ने तीन वटा कारण छन्। पहिलो हो– ठूलो परिवर्तन निम्त्याउने सम्भावना रहेका प्रविधिको विकास। फाइजर–बायोएनटेक र मोडर्नाले तयार गरेको कोभिड–१९ विरुद्धको खोपमा ‘मेसेन्जर आरएनए’ प्रविधि सफल भएको छ। विज्ञानले औषधि विज्ञानलाई कसरी शक्तिशाली बनाउँछ भनेर यसले देखाउँछ। मानिसले जीव विज्ञानलाई आफ्नो इच्छाअनुसार मोड्दै आएको छ। उदाहरणका लागि रोगको उपचार, जिन एडिटिङ वा ल्याबमा मासु उत्पादनलाई लिन सकिन्छ।
अन्ततः आर्टिफिसियल इन्टेलिजेन्सले पनि अनेक क्षेत्रमा गतिलो प्रगति गरिरहेको छ। अल्फाबेटकै एउटा हिस्सा डिपमाइन्डले बनाएको एउटा कार्यक्रमले प्रोटिनको आकार अनुमान गर्ने गतिलो क्षमता देखाएको छ। त्यस्तै, गएको गर्मीमा ओपनएआईले भाषासम्बन्धी हालसम्मकै उत्तम अल्गोरिदम ल्याएको छ। अक्टोबरदेखि एरिजोना राज्यको फिनिक्समा चालकरहित ट्याक्सीले मानिसहरुलाई ओसरपसार गर्न थालेको छ। नवीकरणीय उर्जाको मूल्यमा ठूलो गिरावट आएको छ। जसले गर्दा हरित उर्जामा गरिएको लगानी नडुब्नेमा सरकारहरु ढुक्क भएका छन्। चीनले समेत सन् २०६० सम्ममा कार्बन उत्सर्जन शून्यमा झार्ने बाचा गरेको छ।
आशावादी हुने दोस्रो कारण हो– प्रविधिमा ह्वात्तै बढेको लगानी। २०२० को दोस्रो र तेस्रो त्रैमासिकमा अमेरिकाको निजी क्षेत्रले भवन वा औद्योगिक यन्त्रमा भन्दा बढी कम्युटर, सफ्टवेयर र अनुसन्धानमा खर्च गरेको छ। एक दशकको समयमा यस्तो पहिलो पटक भएको हो। त्यस्तै, वैज्ञानिकहरुलाई बढी पैसा दिन पनि सरकारहरु इच्छुक देखिएका छन्। चिकित्सकीय निदान, बायोटेक्नोलोजी र सेमिकन्डक्टरप्रति लगानीकर्ताको रुचि जागेको छ। विद्युतीय वाहनप्रति बजारको आशा यति ठूलो छ कि अहिले टेस्लाका सीईओ इलोन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति भएका छन्।
खुसीको तेस्रो स्रोत हो– नयाँ प्रविधि तीव्र रुपमा प्रयोगमा आउनु। अहिले कर्मचारीले भिडियो कन्फ्रेन्स र उपभोक्ताले ई–कमर्सको सहारा मात्र लिइरहेका छैनन्। महामारीले डिजिटल भुक्तानी, टेलिमेडिसिन र औद्योगिक स्वचालनलाई पनि तीव्रता दिएको छ। अप्ठेरो परिस्थितिले समाजलाई प्रायः विकसित तुल्याउँछ। जलवायु परिवर्तनविरुद्धको लडाइँ अनि अमेरिका र चीनबीचको महाशक्तिको प्रतिस्पर्धाले अझ ठूला कदम चाल्न बाध्य बनाउन सक्छ।
तर, दुःखको कुरा अर्थतन्त्र वृद्धिमा रहेका संरचनागत बाधालाई नवअन्वेषणले मात्रै हटाउन सक्ने छैन। समाज जति धनी हुँदै गयो, त्यसले आफ्नो आयको त्यति नै ठूलो हिस्सा अत्यधिक श्रम आवश्यक पर्ने सेवाहरु जस्तै रेस्टुराँको खाना, आदिमा खर्च गर्छ। जसमा उत्पादकत्व वृद्धि एकदम न्यून हुन्छ। किनभने त्यस्ता क्षेत्रमा स्वचालन कठिन हुन्छ। जनसंख्या जति बुढो हुँदै गयो, त्यति नै बढी केयरगिभरको आवश्यकता पर्छ। यो पनि न्यून उत्पादकत्व भएको क्षेत्र हो। जीवाष्म इन्धनभन्दा हरित उर्जा सस्तो नभइन्जेल कार्बन उत्सर्जन घटाइरहँदा दीर्घकालीन वृद्धि सम्भव हुँदैन।
तथापि, नवअन्वेषणको नयाँ लहरले चाँडै नै आर्थिक मन्दीलाई उल्ट्याउने आशा गर्न सकिन्छ। २१औँ शताब्दीको आर्थिक मन्दीमा करिब २० प्रतिशत हिस्साका लागि अन्वेषणमा भएको ढिलाइ जिम्मेवार छ। त्यो लहरले अन्ततः जीवनस्तर उकास्न सहयोग गर्नेछ। किनभने स्वास्थ्य सेवा र शिक्षाजस्ता थुप्रै सेवा उद्योगहरु नवअन्वेषणबाट विशाल मात्रामा लाभान्वित हुनेछन्। अन्ततः सिन्थेटिक बायोलोजी, आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्सले लगभग सबैखाले काम गराइको तरिकालाई बदलिदिनेछ।
कुन अन्वेषण सफल हुन्छ र कुन असफल हुन्छ भन्ने निर्धारण निजी क्षेत्रले नै गर्नेछ। तर, सरकारले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ। अत्यन्त महत्वाकांक्षी परियोजनामा जोखिमको भार सरकारले वहन गर्नुपर्छ। अनुसन्धान र विकासका लागि राज्यले नै सबैभन्दा बढी र उत्तम अनुदान दिन सक्छ। कुनै अन्वेषण अर्थतन्त्रमा कति छिटो विस्तार गर्ने भन्ने विषयमा पनि राज्यको ठूलो प्रभाव रहन्छ।
नवअन्वेषणले ल्याउने परिवर्तनको लहर र गडबडीलाई नियमकानुन र लबिङले नरोकोस् भनेर सरकारले सुनिश्चित गर्नुपर्छ। नयाँ आविष्कारले जसको जीविका खोस्छ, तिनलाई सरकारले आर्थिक सुरक्षा प्रदान गर्नुपर्छ। अहिले अन्वेषण एकदमै कम कम्पनीहरुमा मात्र खुम्चिएको छ। नयाँ प्रविधिबाट सम्पूर्ण अर्थतन्त्रले लाभ पाउनका लागि कर्पोरेसनहरुलाई नियमन गर्ने कानुन बलियो हुनुपर्छ भने बौद्धिक सम्पत्तिसम्बन्धी कानुन खुकुलो। यदि राज्यले यस्ता चुनौती समाधान ग¥यो भने तीव्र वृद्धि र उच्च जीवनस्तर सम्भव छ। यसले निराशावादीहरुलाई गलत साबित गर्न सहयोग पुग्नेछ। २०२० को दशक पीडा र रोदनका साथ सुरु भएको छ। तर, सही नीति लिने हो भने यो दशक उल्लासका साथ समाप्त हुन सक्छ।
Shares
प्रतिक्रिया