ad ad

विचार


कांग्रेस सत्ता कि प्रतिपक्ष?

कांग्रेस सत्ता कि प्रतिपक्ष?

पुरञ्जन आचार्य
साउन १३, २०७६ सोमबार ६:१३,

देशमा दुई तिहाईको कम्युनिष्ट सरकार छ। कांग्रेस लामो समयपछि ५ वर्षका लागि प्रतिपक्षमा छ। अहिले प्रतिपक्षले निर्वाह गर्नुपर्ने भूमिका जे हो त्यो पार्टी सभापति शेरबहादुर देउवाले निर्वाह गर्न नसकेको अवस्था छ। त्यतिमात्र नभएर होइन ओली सरकार मुछिएका कतिपय भ्रष्टाचार प्रकरणमा देउवाजी पनि मुछिनु अर्को दुर्भाग्य हो। ऐतिहासिक पार्टी किन यसरी आफ्नो भूमिकाबाट च्यूत भइरहेको छ भन्ने आजको गम्भीर प्रश्न हो। बिडम्बना यस्ता कमजोरीका विषयमा कांग्रेसभित्र कहिलै विश्लेषण हुने गरेको छैन।

कांग्रेसलाई मनोवैज्ञानिक रुपमा आफू प्रमुख प्रतिपक्षमा बसेको छु भन्ने हेक्का नै छैन। प्रहरी, न्यायालय, विश्वविद्यालय, सिंहदरबार जति पनि राज्यका संयन्त्रहरु छन् त्यहाँ कांग्रेसले चिनेका वा कांग्रेस सभापतिनिकटस्थ छन्। त्यसैले उसलाई अझै आफू सत्तापक्ष हुँ भन्ने भ्रम छ।

कांग्रेस केन्द्रमा मात्र नभइ प्रतिपक्षको भूमिका सात वटै प्रदेशमा समेत स्वीकार्न तयार छैन। यसले गर्दा पार्टी कार्यकर्ता, नेपाली जनता र अन्तर्राष्ट्रियस्तरबाट पनि ‘खोइ कांग्रेस’ भन्ने प्रश्न उठेको छ।

कमजोर विचार
अहिले जुन ढंगले कांग्रेस अघि बढिरहेको छ यसो हुनुको पछाडि यसका आयामहरु कमजोर हुनु हो। कांग्रेसभित्र अहिले विचार, नेतृत्व र संगठन तीन वटै महत्वपूर्ण पक्ष कमजोर छन्। पार्टी जुन हिसाबले चलिरहेको छ यो गतिले पुरानै गौरवको अवस्थामा फर्किन सम्भव छैन।

वैचारिक धारका दृष्टिले पनि कांग्रेस अहिले विभाजित देखिन्छ। एउटा सशक्त धार छ जसले नेपाल संघीयतामा गएको मन पराइरहेको छैन। अहिलेसम्म शेबहादुरजीले मुलुकमा संघीयताको महत्व र आवश्यकता किन छ भनेर सार्वजनिक रुपमा भनेको कहीँ सुनिएको छैन। न कार्यकर्तामाझ, न केन्द्रीय कार्यसमिति माझ, न जनतामाझ।

अर्को धार धर्म निरपेक्षताको विरोधमा छ। नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्ने विचारका साथ त्यो धार अघि बढिरहेको छ। जसको नेतृत्व महामन्त्री शशांक कोइरालाले गरिरहनु भएको छ। त्यसैले कांग्रेस वैचारिक रुपमा धुजाधुजा छ। यी विचार समूहका कारण कांग्रेसको मूल विचार के हो भन्ने विषय आफैँमा अन्यौल छ।

धेरैले कांग्रेस बीपीको विचार बोकेको पार्टी हो भन्छन्। खासमा बीपीको विचार के हो त? उहाँ राष्ट्रियता भनेको राजतन्त्र हो भन्नुहुन्थ्यो। कम्युनिष्टसँग संगत गर्नु हुँदैन भन्नुहुन्थ्यो। नेपाल संघीयता र धर्मनिरपेक्षतामा नजाओस् भन्नुहुन्थ्यो। आज सबै कुरा त्यसको ठिक उल्टो भएको छ। त्यसैले बीपीको विचामाथि पुनः भ्रमण गर्नुपर्ने देखिन्छ।

बीपीको विचार मुख्य पद्धति हो वा रणनीतिक भन्ने कुरामा पार्टी स्पष्ट हुन जरुरी छ। उहाँ राजावादी भएको भए किन राजाविरुद्ध बन्दुक र बम उठाउनुहुन्थ्यो? त्यतिबेला (२०३७–३८ सालतिर) संसारका सबै कम्युनिष्टमा रुस र चीनको मोडल हाबी थियो। बर्निलको पर्खाल ढलेपछि वा शोभियत संघको विघटनपछि संसारभरका कम्युनिष्टमा गिरावट आउँदा बीपी भएको भए के गर्नुहुन्थ्यो होला? त्यसैले उहाँले बोलेको कुरा जस्ताको त्यस्तै बोक्नेभन्दा पनि त्यसलाई समयसँग जोडेर हेर्न र उहाँ लोकतन्त्रवादी हो भन्ने कुरा स्थापित गर्न आवश्यक छ।

यी वैचारिक कुरामा स्पष्ट भएर कांग्रेसले सर्वप्रथम एउटा दस्तावेज बनाउनुपर्छ। राजतन्त्र चाहिन्छ कि चाहिँदैन? धर्म निरपेक्षता चाहिन्छ कि चाहिँदैन? महाधिवेशनअघि खुला रुपमा बहस गरेर पार्टीको एउटै विचार बनाउनुपर्छ। त्यति नभएसम्म कांग्रेसमा संगठनात्मक वैचारिक खडेरी पर्ने र व्यक्ति हाबी हुँदै जाने देखिन्छ।

तीन गुट
अहिले कांग्रेसमा तीन वटा गुट छन्। एउटा फाइल बढुवा गुट। जसले त्याग गरेँ, १० वर्ष जेल परेँ भनेर पद खाइरहेको छ। त्यसको नेतृत्व अहिले शेरबहादुर देउवाले गरिरहनुभएको छ। यो गुटमा सक्षमताभन्दा इमोसनले काम गरिरहेको छ।

जुँगाको रेखी बसेदेखि कांग्रेसमा लागेको भनेर अर्को गुट चलाउने रामचन्द्र पौडेल हुन्। आइडिया र भ्यालुमा शेरबहादुरभन्दा रामचन्द्र सक्षम छन् तर उनी नेतृत्वमा आउन सकेनन्। जनता र कार्यकर्तामाझ विचार आदान–प्रदान गर्न सक्छन्। उनीभन्दा कम सक्षमलाई कार्यकर्ताले मन पराउँछन्। यो कांग्रेसको प्रबृत्ति हो। यसरी यो गुट पनि नेतृत्वमा आउन नसकी भागबन्डाको हिसाबकिताब गर्दै चलिरहेको छ।
तेस्रो गुट भनेको कोइराला परिवार हो। जहाँ बाबु–बाजेको इमोसनहरु बेचिन्छन्। हिजो कांग्रेसको भ्यालुभन्दा पनि बाबु र परिवारको छाता बोकेर आएकाहरु यसमा छन्। दक्षिण एसियाकै राजनीतिको कुरा गर्ने हो भने बाबुको छाता बोक्नेहरु ह्रास हुँदै गइरहेको अवस्था छ। यसको प्रभाव नेपालमा पनि पर्ने देखिन्छ। यसमा शेखर कोइराला भने अलि पृथक हो कि भन्ने छ।

कांग्रेसमा गुटगत राजनीति यसरी हाबी भयो कि कार्यकर्तामा पनि कतै एउटा छाता समातिएन भने आफैँ समाप्त हुन्छु भन्ने डर छ। कुनै गुटमा नलागेका एक सय एक कार्यकर्ता भित्तामा पुगेको उनीहरुले देखेका छन्। त्यसैले आफू भित्तामा पुग्न चाहँदैनन्। पैसा र पावर हुनेहरु नेता हुने माध्यम हाबी भएसम्म कांग्रेस सुध्रिने सम्भावना देखिँदैन।

कमजोर नेतृत्वको परिणाम
आफ्नोे नेतृत्वमा संविधान जारी भएको भनेर कांग्रेसले गौरव गर्छ तर संविधानभित्र रहेका आयामहरुमा पार्टी मौन छ। एकातिर कम्युनिष्टहरु एकताबद्ध भएर दुई तिहाईको सरकार बनाएका छन् भने अर्कोतर्फ कांग्रेस च्यातिएर दयनीय अवस्थाबाट गुज्रिरहेको छ। हिजो दुई पटक हतियार उठाउनुभएका बीपी कोइरालाले राजासँग राष्ट्रिय मेलमिलाप गर्नुभयो। सबैले उहाँको निर्णयको स्वागत गरे। अहिले कांग्रेसमा खोई वर्तमान समयसँग लड्न सक्ने नेता?

नेतृत्व बलियो भएको भए कांग्रेसको नेतृत्वमा बनेको संविधानलाई बोकेर, जनता, कार्यकर्ता र अन्तर्राष्ट्रिय समुदायलाई पनि यसबारे बुझाएर पार्टीलाई सत्तामा ल्याउन सक्थ्यो। अहिलेको नेतृत्व त्यसका लागि लायक भएन। शेबहादुरजी कुनै बेलाको हिरो नै हो यसलाई नकार्न सकिँदैन। वर्तमान अवस्थामा शेरबहादुर र शशांकबाट पार्टी र देशका लागि केही होलाजस्तो देखिँदैन। उहाँहरु समय सुहाउँदो हुनुहुन्न। कुनै दिन कांग्रेस फेरि सत्तामा त जाला तर यो नेतृत्वले न सत्ता हाँक्न सक्छ न पार्टी न मुलुक नै। त्यसकारण कांग्रेसको नेतृत्व परिवर्तन अहिलेको प्रमुख शर्त हो।

अहिले शेरबहादुरजीले संसदमा बोलेर होस् या मिडियामा बोलेर मुलुकबारे भाषण गर्न सक्नुहुन्छ? सक्नुहुन्न। संसदीय दलको नेता भएर संसदमा कुनै आवाज सुनिदैन भने त्यो जति दुर्भाग्य अर्को के नै हुन सक्छ। यस्तो अवस्थामा छायाँ सरकार बनाउनुको कुनै औचित्य छैन। यो त महाभारतमा शैल्यलाई कमाण्डर बनाएर दुर्योधन युद्ध लड्न गएजस्तो कुरा हो। छायाँ सरकारको मन्त्री भएकाहरुको अवस्था यस्तै छ ।

अबको नेतृत्व कस्तो?
कांग्रेस एक्लैसँग पनि अहिले देश हाँक्न सक्ने क्षमता छ। पार्टी सुधार गर्न सक्ने, नेपाली समाजको रुपान्तरण गर्न सक्ने र संसारलाई कांग्रेसको गौरव सुनाउन सक्ने क्षमता भएका व्यक्ति पार्टीमा छन्। दुर्भाग्य के भयो भने पार्टीभित्र यस्तो खाले सेटअप छ जसले गर्दा राम्रो ब्यक्ति नेतृत्वमा आउने बाटो बन्द भएको छ। शासकहरु हाबी भएका छन्। जसले गर्दा कार्यकर्तामा राम्रो नेताभन्दा पनि दाइलाई विश्वास गर्ने परिपाटी रहिआएको छ।

कांग्रेसको महत्व बुझेको नेता पार्टीभित्रबाट खोज्ने काम कार्यकर्ताहरुको हो। उनीहरु त्यसो गर्दैनन्। किन कि उनीहरु स्वार्थी छन्। उनीहरु कांग्रेसलाई नेतृत्व प्रदान गर्न सक्ने नेताभन्दा पनि गुट र गिरोहको भुँमरीमा फसेर दाइहरु खोज्दै हिँड्छन्। मानसिक रुपमा कार्यकर्ताहरु यो भँुमरीबाट निस्कने हो भने कांग्रेस अहिले कहाँ पुगिसक्थ्यो।

नयाँ नेतृत्वको चर्चा चलिरहेका बेला दुई वर्ष महाधिवेशन सार्ने षड्यन्त्र भइरहेको छ। दुई वर्षपछि स्थानीय निर्वाचन आउँछ। यसो भयो भने कांग्रेसको अर्को दुर्भाग्य हुनेछ। महाधिवेशनमा उठेका तिता–मीठा कुरा मिलाउन, गुट–गिरोहभन्दा माथि उठेर अघि बढ्न केही समय लाग्छ। महाधिवेशन र निर्वाचन सँगै सामना गर्नु पार्टीको अज्ञानता हुनेछ।

अबको महाधिवेशनमा कार्यकर्ताले विगतको गल्ती सच्याउने सम्भावना निकै कमजोर छ। कार्यकर्ताहरु पार्टी राम्रो हुनुपर्छ भन्ने त सोच्छन् तर यो मान्छे नेतृत्वमा आउँदा यस्तो प्रभाव पर्छ भन्ने सोच्दैनन्। कार्यकर्तामा कसरी शेरबहादुर, कसरी रामचन्द्र, शशांक वा अरु कसैलाई जिताएर आफू केन्द्रीय सदस्य बन्न सकिन्छ वा कसरी आफ्नो स्वार्थ पूरा हुन्छ भन्ने मात्र मनसाय छ।

केही नगरी सत्तामा फर्किन सक्छ
भर्खरै भारतमा लोकसभा निर्वाचन सम्पन्न भएको छ। निर्वाचनअघि धेरैले प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपालाई मात खुवाउँदै कंग्रेस अगाडि आउने आँकलन गरेका थिए। भइदियो उल्टो। मैले सो निर्वाचनअघि भारतको भ्रमण गरेकाले परिणाम भाजपाको पक्षमा आउने अनुमान लगाएो थिएँ। नेपालको कांग्रेसको सवालमा पनि यस्तै अवस्था नआउला भन्न सकिन्न।

भारतीय कंग्रेसमा प्राविधिक (पुराना, त्यागी) नेताहरु धेरै छन्। सधैँभरी दिल्ली बस्ने अनि चुनाव लड्दा महामन्त्री, अध्यक्ष सबै पदमा हार्ने। नेपाली कांग्रेसका नेताहरु पनि काठमाडौं केन्द्रित छन्।

भारतीय कंग्रेस राम्रो काम गर्दा गर्दै पनि जनतासँग प्रत्यक्ष जोडिन सकेन। भारतमा २००५–२०१४ सम्म (कंग्रेसको पालमा) २९ करोड मानिसहरु गरिबीको रेखाभन्दा माथि उठे। भनेपछि काम त भएको रहेछ। नेपालमा पनि कांग्रेसको पालामा थुप्रै कामहरु भएका छन्। तर पछिल्लो नेतृत्व ऊर्जाबिहीन छ। देश बुझ्ने, युवालाई अघि ल्याउने, मिडियासँग समन्वयन गर्ने काम नै भएको छैन।

यस्तो अवस्थामा अब हुने आम निर्वाचनमा कांग्रेसले आफ्नो सक्षमताको कारणले बाजी मार्न सक्ने सम्भावना निकै कमजोर छ। दुई तिहाईको सरकारको अहिलेको काम–कारबाही हेर्दा जसरी जनतामा नैराश्यता छाएको छ यो अवस्थामा कांग्रेसले केही नगरी सत्ता पाउने सम्भावना भने छ। कम्युनिष्टले खेर फालेको अवसरको फाइदा कांग्रेसले पायो भने त्यसलाई कर्मको फलभन्दा भाग्यको खेल भन्नुपर्ने हुन्छ।

अब के गर्ने ?
अब कांग्रेस अघि बढ्न अब दुई बाटाहरु छन्। पहिलो कांग्रेस साच्चिएर, दोस्रो कम्युनिष्ट पार्टी स्वात्तै तल झरेर। हामीले दोस्रोभन्दा पनि पहिलो मार्ग नै रोज्नुपर्छ। यसका लागि सर्वप्रथम कांग्रेसको विचार स्थिर हुनुपर्छ। विचारअनुसारको संगठन निर्माण गर्नुपर्छ। विचार र संगठनलाई अघि बढाउन सक्ने नेतृत्वको खोजी गर्नुपर्छ।

५ वर्षका लागि तिमी सरकार चलाउ, आर्थिक बृद्धिदर गर हामी सहयोग गछौँ भन्नु प्रमुख प्रतिपक्षको कर्तव्य हो। प्रतिपक्ष भनेको रचनात्मक प्रतिपक्ष हो। रचनात्मक प्रतिपक्ष भनेको के त ? सबैभन्दा पहिला सरकारलाई निरंकुश हुनबाट बचाउने, खबरदार हामी यहाँ छौँ है भनेर उसको ढोका सधैँ घचघच्याउने काम प्रमुख प्रतिपक्षको पहिलो कर्तव्य हो।

अर्को भनेको सरकारलाई पारदर्शी बनाउने हो। राज्यको स्रोत साधनको बाँडफाँड कसरी भएको छ र त्यसको उच्चतम प्रयोग भएको छ कि छैन। यसमा अध्ययन गरेर प्रमुख प्रतिपक्षले सरकालाई पारदर्शी बनाउन सक्नुपर्छ। सरकार यो–यो काममा जिम्मेवार हुनुपर्ने हो तर भइरहेको छ यस्तो भनेर प्रष्टरुपमा आफ्नो विचार राख्न सक्नुपर्छ। यतिबेलासम्म बाटोको धुलो सिद्धिएको हुनुपर्ने थियो। भ्रष्टाचार कम हुनुपर्ने हो, अस्पतालहरु प्रभावकारी हुनु पर्ने हो किन भएन भनेर प्रश्न गर्न सक्नुपर्छ।

जनता र कार्यकर्तासँग जोडिएर सत्तालाई प्रहार गर्दै युवालाई अघि नल्याएसम्म कांग्रेसको भविष्य सुनिश्चित हुँदैन। अब इच्छा हुनेलाई होइन, ऊर्जा हुनेलाई नेतृत्वमा अगाडि ल्याउनु पर्छ। (कुराकानीमा आधारित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .