विचार


ट्रम्पले युक्रेनलाई अलपत्र छाड्न लागेका हुन्?

ट्रम्पले युक्रेनलाई अलपत्र छाड्न लागेका हुन्?

जेकब हाइलब्रन
बैशाख १२, २०८२ शुक्रबार ११:३५,

रुस र युक्रेनबीचको शान्तिवार्तालाई लिएर तनाव बढिरहेको छ। फेब्रुअरीमा ओभल अफिसमा भ्लादिमिर जेलेन्स्कीलाई भेटेदेखि नै डोनाल्ड ट्रम्पले उनलाई स्पष्ट रूपमा सम्झौताको बाधक मान्दै आएका छन्। अप्रिलमा ट्रम्पले युद्ध सुरु हुनुमा जेलेन्स्कीलाई दोषी ठहर्‍याए। 

अहिले लन्डनमा शान्तिका लागि छलफल चलिरहेको छ। जहाँ अन्तिम समयमा अमेरिकी अधिकारीहरूले सहभागी नहुने निर्णय लिए। जेलेन्स्कीले कब्जा गरिएको भूमिमा रुसको सार्वभौमिकतालाई मान्यता नदिने र पहिले पूर्ण युद्धविराम हुनुपर्ने माग राखेपछि ट्रम्पले उनको चर्को आलोचना गरेका छन्।

कसले कसलाई छल गरिरहेको छ त? 

युक्रेनले आफ्नो अडान अझ कडा बनाउँदै लगेको छ। अहिलेसम्म अमेरिकासँग खनिज सम्झौतामा हस्ताक्षर गरेको छैन। यद्यपि, उसले अमेरिकासँग खुला व्यापार क्षेत्रमा काम सुरु गर्ने सहमति व्यक्त गरेको छ। 

बुधबार जेलेन्स्कीले घोषणा गरे, ‘हामी युक्रेनीहरू तुरुन्त, पूर्ण र निसर्त युद्धविराममा जोड दिन्छौँ। कमसेकम गैरसैनिक ठेगानामा। यो कुरा हामीले पहिले पनि भनेका छौँ। ज्यान बचाउनु– सबै साझेदारहरूको पहिलो साझा प्राथमिकता यही हुनुपर्छ।’

ट्रम्प क्रुद्ध भए। ‘उनी या त शान्ति प्राप्त गर्न सक्छन् या अर्को तीन वर्ष लडाइँ जारी राखेर अन्तिममा सिंगै देश गुमाउन सक्छन्,’ उनले ट्रुथ सोसलमा लेखे, ‘हामी सम्झौताको एकदमै नजिक छौँ। तर, आफूसँग चल्नका लागि कुनै पत्ती नभएका व्यक्तिले बुझ्नुपर्छ– अततः उसले यो काम सम्पन्न गर्नुपर्छ।’

ह्वाउट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिट ट्रम्प निराश भएको र उनको धैर्य क्षीण हुन थालेको बताउँछिन्। यसमा कुनै सन्देह छैन। ट्रम्पसँग बच्चाको जति पनि धैर्य छैन। उनले चुनावी अभियानमै २४ घण्टाभित्र शान्ति कायम गर्ने वाचा गरेका थिए। उनले सत्ता सम्हालेको महिनौँ भइसकेको छ।

ट्रम्पको प्रस्तावले रुसलाई ती सबै कुरा दिन्छ, जुन कुरा रुसले मागिरहेको छ। युक्रेनले नेटो सदस्यता पाउने छैन, रुसले नाकाबन्दीबाट पूरै राहत प्राप्त गर्नेछ, क्रिमियामा रुसको कब्जालाई वैधानिकता दिइनेछ र पूर्वी युक्रेनमा उसले कब्जा गरेको भूमिमा नियन्त्रण पनि प्राप्त गर्नेछ। 

पुटिनका लागि समस्या के छ भने (यदि यो समस्या हो भने) उनलाई कुनै पनि सम्झौता गर्नुमा ज्यादा फाइदा छैन। अहिले रुसी सेना युक्रेनमा निरन्तर अघि बडिरहेको छ। त्यसैले, किभ र वासिङ्टनबीचको विवाद रुसका लागि फाइदाजनक छ। उपराष्ट्रपति जेडी भान्सले अमेरिका ‘छाडेर हिँड्न’ तयार रहेको बताएका छन्। 

यदि ट्रम्प युक्रेनलाई अलपत्र छाडेर हिँड्ने हो भने किभ सम्झौताका लागि सहमत किन हुने?

ट्रम्पका लागि हैरानीको कुरा के छ भने नेटो मुलुकका सहयोगीप्रति उनको धाकधम्की उनैलाई घाटा हुनेगरी ज्यादा सफल भयो। युरोपेलीहरूलाई तत्काल कदम चाल्नका लागि तर्साउने मामिलामा ट्रम्पले गर्नुपर्नेभन्दा ज्यादा प्रदर्शन गरे। जर्मनी, फ्रान्स र बेलायतले आफ्नो रक्षा खर्च र सहकार्य वृद्धि गरेका छन्। जर्मनीका नयाँ चान्सलर फ्रेडरिक मर्जले रक्षा र पूर्वाधार क्षेत्रमा थप ट्रिलियन युरो खर्च गर्ने घोषणा गरेका छन्। यसका अलावा युक्रेनप्रति पनि युरोपेली मुलुकहरूको सहयोग र समर्थनमा कुनै कमी आउने संकेत देखिएको छैन। बरु उनीहरू सहयोग बढाइरहेका छन्। 

त्यसैकारण सायद जेलेन्स्कीलाई एक्लै अघि बढ्न सकिन्छ भन्ने भरोसा छ। अथवा कम्तीमा युरोपले साथ दिउन्जेल अमेरिकी समर्थनबिना पनि टिक्न सकिन्छ भन्ने उनलाई लागेको हुनुपर्छ। यस सन्दर्भमा भने ट्रम्पले आफ्नै खुट्टामा बन्चरो हानेका छन्। युरोपलाई सहायता बढाउने दबाब दिएर उनले युक्रेनमाथिको पकड कमजोर पारेका छन्। सम्भवतः आफ्नो चेतावनीलाई उनीहरूले नसुन्ने ट्रम्पलाई लागेको हुनुपर्छ। 

एट्लान्टिक काउन्सिलकी मेलिन्डा हेअरिङका अनुसार ‘सबैको नजर युरोपमा छ। के युरोपले युक्रेनलाई २०२५ को अन्त्यसम्मका लागि पर्याप्त हतियार र सुरक्षा ग्यारेन्टी प्रदान गर्न सक्छ? यो कुरा केबल समयले नै बताउनेछ।’

कटु सत्य के हो भने विश्वभर अमेरिकी प्रभाव कमजोर हुँदै गइरहेको छ। ट्रम्पलाई लागेको हुन सक्छ, सारा पत्ती उनकै हातमा छ। तर, युरोप, रुस र चीन यसलाई अलग नजरले हेर्छन्। युक्रेन सायद त्यस्तो पहिलो उदाहरण मात्र हुनेछ, जहाँ ट्रम्प प्रशासन आफैँले तय गरेको लक्ष्य प्राप्त गर्न असफल भएको छ।

(नेसनल इन्ट्रेस्टबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad