विचार


ट्रम्पप्रति वितृष्णा छ, ट्रम्प समर्थक मेरा छिमेकीप्रति छैन

ट्रम्पप्रति वितृष्णा छ, ट्रम्प समर्थक मेरा छिमेकीप्रति छैन

राजेश मिश्र
माघ ९, २०८१ बुधबार १७:३६, सान डिएगो, क्यालिफोर्निया

संसारकै स्वप्न नगर हलिउडको सहर लस एन्जेलसमा जंगली आगोको ताण्डव जारी छ। झन्डै दुई साता भयो, यसले सहरका धनाढ्यहरूको स्वप्नमहललाई खरानी तुल्याउन थालेको। संसारभरि आगो लगाउन अभ्यस्त अमेरिका अहिले आर्थिक र प्राविधिक रूपले सर्वाधिक शक्तिसम्पन्न आफ्नै एक राज्यमा सल्केको दावानलका अगाडि निरीह देखिन्छ। नयाँनयाँ षडयन्त्रका सिद्धान्तको जन्म हुँदैछ।

यो आगो प्राकृतिक रूपमा सिर्जित हो वा मानवजन्य अपराध? क्यालिफोर्निया राजनीतिक रूपले विभाजित छ। एक साताअघि एकजना घरविहीन युवालाई स्थानीयहरूले 'नागरिक गिरफ्तारी' गरे। उसको साथमा आगो लगाउने यन्त्र भेटिएको दाबी गरियो। तर उसले आगो लगाएको पुष्टि भएन। त्यसपछि एउटा फोहोर व्यवस्थापन गर्ने कम्पनीको मालिकले आफ्नो घरजग्गा बिक्री गर्ने व्यवसायलाई मुनाफा हुने मनसायले जानीजानी आगो लगाएको हल्ला फैलियो। तर यसको पनि वास्तविक छिनोफानो भएन।

राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षपछि दोस्रोपटकको कार्यकाल सुरु गर्दैगर्दा क्यालिफोर्नियाको आगलागीको राजनीतिकरण गरे। शपथग्रहण समारोहमै भने, ‘हामी आफ्नै देशको एउटा सामान्य घटनाको समाधान गर्न सक्दैनौँ, हामीले संसारको प्रहरी किन हुनपर्‍यो?’

क्यालिफोर्निया राज्य आप्रवासनमैत्री छ। यहाँका राज्यपाल गेभिन न्युसम र ट्रम्पको सम्बन्धमा छत्तीसको समीकरण छ। डोनाल्ड ट्रम्प राष्ट्रपति भए। तर उनमा राष्ट्रिय अभिभावक हुने चरित्रको सर्वथा अभाव छ। त्यसैले क्यालिफोर्नियाको डढेलो उनका निम्ति समस्या होइन। लेनदेनको राजनीतिमा पोख्त ट्रम्पले क्यालिफोर्नियाप्रति कुनै सहानुभूति देखाएनन् भने त्यो कुनै आश्चर्य हुने छैन।

डढेलोले अहिलेसम्म २४ जनाको ज्यान लिएको निश्चित छ। सयौँ बेपत्ता छन्। बीमा कम्पनीहरूका अनुसार दुई सय पचास अर्ब डलरभन्दा बढीको क्षति भएको छ। यो क्षति सन् २००५ मा अमेरिकाको न्यु ओरलिन्स राज्यमा आएको समुद्री आँधीले गरेको क्षतिभन्दा बढी देखिएको छ।

सन् २००५ मा नेपालमा तत्कालीन राजा ज्ञानेन्द्रले सैनिक कू गर्दा यो लेखक अमेरिकामा भर्खर आएको थियो। न्युयोर्क पोस्ट नामक एक ट्याब्लोइड अखबारको एउटा सम्वाददातासँग नेपालको प्रजातन्त्र धरापमा भएको कुरा गर्दा उसले लेखकको कुरा काट्दै भनेको थियो, ‘के हो नेपाल? को हो नेपाली? मलाई नेपाल होइन, अहिले न्यु ओरलिन्सको पीडाको चासो छ।’ 

अमेरिका पहिले पनि आत्मकेन्द्रित थियो। डोनाल्ड ट्रम्प यसलाई अझ सुस्पष्ट र मुखर रूप दिने चेष्टामा छन्।

अमेरिका देखाउनका लागि मात्र ‘ग्लोबल पुलिस’ हो। उसको ‘पुलिसिङ’ आफ्नो व्यापारिक स्वार्थका लागि हुने गर्छ। उसले सन् १९४५ देखिको दुई तिहाइ शताब्दीको काल खण्डमा पचासभन्दा बढी देशमा कू मार्फत सत्ता परिवर्तन गरेको अभिलेख छ। यो निकारागुवा र ग्वाटेमालाको केरा उत्पादनमा अमेरिकी व्यापारीको स्वार्थमा होस् अथवा इरान र इराकको तेलमा। अमेरिका अमेरिका हो। प्रजातन्त्र र मानव अधिकार उसको देखाउने दाँत हो। जुन प्रजातन्त्रको परिभाषा लिबियामा लागू हुन्छ, त्यो साउदी अरबमा हुँदैन। विश्व समुदाय मूकदर्शक हो। उसको वास्तविक ऐना संयुक्त राष्ट्र संघको बैठकमा देखिन्छ।

डोनाल्ड ट्रम्पले पेरिस वातावरण सन्धिबाट अलग हुने एकतर्फी निर्णय गर्दा विश्व हत्प्रभ त भयो, तर चुप रह्यो। कोभिड महामारीका बेला ‘बाथरूम सफा गर्ने ब्लिच जस्तो रसायनको सुई लगाउँदा यो रोग ठिक हुन्छ’ भन्ने उदेकलाग्दो घोषणा गर्ने ट्रम्पले विश्व स्वास्थ्य संगठनबाट आफ्नो सदस्यता फिर्ता लिने घोषणा गरे। संसार चुप रह्यो। सबैलाई थाहा छ, अमेरिकाले दिने अनुदान बन्द गरेको अवस्थामा संयुक्त राष्ट्र संघको सामान्य प्रशासनिक खर्च समेत चल्दैन।

अमेरिकाले आफ्नो वैभव र सैन्य शक्तिको बलमा देखाउने दादागिरी अब युरोप र चीनले बेहोर्ने छन्। जसरी भारतको ठुल्दाइ पारा दक्षिण एसियाली मुलुकले भोग्दै आएका छन्।

तर, एउटा अचम्मको अनुभव छ यो लेखकको। भारत र नेपालबीच राजनीतिक वा सामरिक सम्बन्ध जतिसुकै तल झरोस्, जनता-जनताबीचको सम्बन्धमा यसको तात्विक असर पार्दैन। अमेरिकामा गोरा र आप्रवासीबीचको सम्बन्ध पनि यस्तै रहेछ।

डोनाल्ड ट्रम्पले शपथ लिएकै राति यो लेखकको घर अघिल्तिर डढेलो आयो। सेल फोनमा ‘एम्बर एलर्ट’ जारी भयो। बडो नमिठो आवाज हुन्छ त्यो बेला फोनको। कानको जाली फुट्ने टूँ टूँ टूँ ! खबर आयो, ‘तिम्रो घरबाट जम्मा ६ मिनेटको दूरीमा आगो लाग्यो। भागिहाल।’

श्रीमती जुनिता सुब्बा मिश्र ‘भ्वइस अफ नेपाल’को पारखी। नयाँ सिजन सुरु भएको रहेछ। उनी हेर्दै थिइन्। लेखक निदायो। उसलाई यस्ता रियालिटी शोको वास्ता लाग्दैन। टूँ टूँ टूँको एकोहोरो ‘अलार्म’ भने वास्ता गर्न नमिल्ने थिएन। तापनि लाग्यो, करदाताको पैसा पचाउन सरकारी निकाय यस्तो चेतावनी दिइरहन्छन्। क्यै भएको छैन होला।

श्रीमतीजीको चिन्तालाई उपेक्षा गरेर सुतेको लेखक मूल ढोकामा घन्टी बजेको र ढ्याङ्ग ढ्याङ्ग गरेको आवाजले ब्युँझियो। पलङ छेउको ‘गाउन’ ओढेर ढोका खोल्दा राति एक बजे घरअगाडि एक महिला उभिएकी थिइन्। जुत्ताचप्पलै नलाई खाली खुट्टा आएकी अमेरिकी नैसेनाकी अवकाशप्राप्त अधिकृत उनले हप्काइन्, ‘यत्रो आगो लागेको छ, के हो ताल तिमीहरूको? हामीले प्याकिङ गरिसक्यौँ। लैजानुपर्ने सामान बोक, लुगाफाटा छोडिदेऊ। जुनिता खोइ? बोलाऊ उसलाई छिट्टो।’

ढोका बाहिर हेरेको, आगो त घर आउन तयार छ ! ती महिला र उनका पति दुवैजना अमेरिका सेनाका अधिकृत थिए। डोनाल्ड ट्रम्पका 'डाइहार्ड' समर्थक। घरमा ट्रम्पको झण्डा गौरवका साथ गाडेका। उनको शपथ लिने दिन घरै निलो, रातो र सेतो बत्तीले झिलिमिली पारेका थिए। साँझको 'वाक'पछि बाटोमा भेटिएका उनीहरूले मलाई बियर खाने निम्तो पनि दिएका थिए। लेखकले फुर्ती लगाएर भनेको थियो, 'तिम्रो नेता मलाई मन पर्दैन। म तिम्रो उत्सव बहिष्कार गर्छु।'

दुवैले एक स्वरमा भनेका थिए, ‘ह्या, राज! तिमीले के पोलिटिक्सको कुरा गरेको? छिमेकी भनेको त छिमेकी हो नि, परेको बेला एक अर्काका लागि उभिने हामी नै हुनेछौँ!’ 

तर लेखक वास्ता नगरी हिँडेको थियो।  

त्यसको ६ घण्टापछि घरको ढोका झन्डै फुट्नेगरी उठाउन आउने उनीहरू नै थिए। लेखकको घरै अघिल्तिर भर्खर एउटा पाकिस्तानी जोडी घर किनेर बस्न आएको छ। त्यो घरको  छेउको घरधनी पनि कट्टर रिपब्लिकन हो। उसलाई किड रकको संगीत खुब मन पर्छ। किड रक डोनाल्ड ट्रम्पको फ्यान। तर त्यो बुढो पनि पाकिस्तानी जोडीलाई सहयोग गर्न आतुर देखियो। आगो घरतिर आउँदै थियो। जुनिता आपतकालीन सामान ‘प्याक’ गर्न व्यस्त थिइन्। लेखकलाई छिमेकीबीचको आत्मियताको सराहना गर्न फुर्सद थिएन।

छिमेकीहरू एकएक गर्दै हात हल्लाउँदै बिदा भए। तर जान कसैलाई मन थिएन। जुनिताले आफैँ गाडी चलाइन्। लेखक झ्यालबाट बाहिर हेरिरह्यो। पाँचसात माइलको यात्रापछि उनले गाडी रोकिन्। राजमार्गको छेउमा अर्को डाँडोमा पनि आगो दन्किएको थियो। जुनिता भिडिओ बनाउन लागिन्। उनका पछि आउने छिमेकीहरू पनि रोकिए। भिडिओ बनाउन थाले। लेखकको सेल फोनमा अग्नि नियन्त्रकहरूको गतिविधि र रेडियो वार्ता सुन्न मिल्ने सुविधा थियो। त्यसमा अचानक सुनियो, ‘आगो नब्बे प्रतिशत नियन्त्रित भयो।’

जुनिताले गाडी यू-टर्न गरिन्। अरु सबैले पनि गरे।

आगो निभ्ने बेला सूर्य उदायो। रात छर्लंग बित्यो। तर एउटा नयाँ अनुभव भयो।

यो संसारमा शान्ति छ। प्रकृतिलाई शान्ति छ। जनावर चराचुरुंगी सबैलाई शान्ति छ। आगोलाई शान्ति छ। पानीलाई शान्ति छ। यदि कसैलाई अशान्ति छ भने त्यो मनुष्यलाई छ। राजनीति गर्ने मनुष्यलाई झन् अशान्ति छ। यो मनुष्यले जे छुन्छ, त्यो अशान्त बनाउँछ। आगो लाग्छ, निभ्छ, भुइँचालो आउँछ, जान्छ। यो प्रकृतिको प्रकृति हो।

यदि आगो प्राकृतिक रूपले लागेको हो भने पनि मनुष्यसँग त्यो निभाउने क्षमता छ। मनुष्यले नै लगाएको आगो पनि निभाउने क्षमता अरु कसैसँग नभएर मनुष्यसँग नै छ। यो कुरा सहरका अग्निनियन्त्रक प्राविधिकहरूले निर्भयता र कुशलतापूर्वक प्रमाणित गरे। 

मनुष्यले मनुष्यको प्रकृति बुझेको दिन विश्वमा आफैँ सद्भाव हुनेछ।

ट्रम्पप्रति मेरो वितृष्णा कायम छ, ट्रम्प समर्थकप्रति छैन। 

(पूर्व पत्रकार राजेश मिश्र हाल अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा बसोबास गर्छन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad