विचार


ह्वाइट हाउस नटेक्दै ट्रम्पले अमेरिकाको प्रतिष्ठा पारिसके बरबाद

ह्वाइट हाउस नटेक्दै ट्रम्पले अमेरिकाको प्रतिष्ठा पारिसके बरबाद

गिडियन राकमन
माघ ६, २०८१ आइतबार २१:९,

‘मलाई लाग्छ, राष्ट्रपति मजाक गर्दै हुनुहुन्छ।’ डोनाल्ड ट्रम्पले क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउने बताउँदा वासिङ्टनस्थित क्यानडेली राजदूतले यसरी प्रतिक्रिया दिइन्।

यो खतरनाक ‘मजाक’ ट्रम्पलाई मनपर्ने सञ्चारको तरिकामध्ये एक हो। तर, आउँदो राष्ट्रपतिले क्यानडालाई अमेरिकामा मिसाउने आफ्नो महत्त्वाकांक्षाका बारेमा यति धेरै कुरा गरिसकेका छन्– क्यानडेली नेताहरूले त्यसलाई गम्भीरतापूर्वक लिन थालेका छन् भने सार्वजनिक रूपमै त्यसको विरोध पनि गरेका छन्।

ट्रम्पले क्यानडामा सैन्य हमलाको सम्भावनालाई नकारेका छन्, जसका कारण क्यानडेलीहरूले अलिकति राहत लिन सक्छन्। बरु ट्रम्प उनीहरूलाई ‘आर्थिक शक्ति’ले धम्क्याइरहेका छन्। तर, उनले पानामा नहर ‘फिर्ता लिन’ र स्वशासित डेनिस क्षेत्र ग्रिनल्यान्ड कब्जा गर्न सैन्य कारबाहीको सम्भावना नकारेका छैनन्।

यो पनि मजाकै हो त? जर्मनीका चान्सलर र फ्रान्सेली विदेशमन्त्रीले यसलाई गम्भीरतापूर्वक लिए र ग्रिनल्यान्ड ईयूको परस्पर रक्षा सन्तअन्तर्गत पर्ने चेतावनी दिए। अर्को शब्दमा भन्दा, कम्तीमा सैद्धान्तिक हिसाबले ग्रिनल्यान्डको विषयमा ईयू र अमेरिका आपसी युद्धमा फस्न सक्छन्।

ट्रम्पका समर्थक र चापलुसहरू यो सिंगो मामिलालाई एउटा ठूलो मजाक मानिरहेका छन्। द न्युयोर्क पोस्टले नयाँ ‘डनरो डक्ट्रिन’को घोषणा गर्‍यो, जसमा ग्रिनल्यान्डलाई ‘हाम्रो भूमि’ दाबी गरिएको थियो। रिपब्लिकन सांसद ब्रान्डन गिलले नक्कली हाँसोका साथ भने, अमेरिकी बन्न पाउने कुराले क्यानडेली, पानामेली र ग्रिनल्यान्डबासीहरूले गर्व महसुस गर्नुपर्छ।

तर, साना देशको अधिकार कुनै मजाक होइन। ठूलो र बलियो छिमेकीले बलपूर्वक सानो देशलाई कब्जा गर्नु विश्व राजनीतिमा सबैभन्दा ठूलो खतराको घण्टी हो। त्यसरी कब्जा गर्ने मुलुक दुष्ट राज्य कहलिन्छ। त्यही कारणले पश्चिमा गठबन्धनले रुसको प्रतिरोधमा युक्रेनलाई सघाउनु महत्त्वपूर्ण छ भनेको हो। सोहीकारण १९९० को दशकमा कुवेतबाट इराकलाई लखेट्न अमेरिकाले अन्तर्राष्ट्रिय गठबन्धन बनाएको थियो।

साना देशमा गरिएको हमलाले नै पहिलो र दोस्रो विश्वयुद्ध प्रारम्भ गरेको थियो। १९१४ मा जर्मनीविरुद्ध युद्धमा जाने कि नजाने भनेर बेलायती क्याबिनेटले विचार गरिरहँदा पछि प्रधानमन्त्री समेत बनेका डेविड लोइड जर्जले आफ्नी पत्नीलाई लेखेका थिए, ‘मैले शान्तिका लागि निकै संघर्ष गरेको छु। तर, म के निष्कर्षमा पुगेको छु भने जर्मनीले सानो राष्ट्र बेल्जियममाथि हमला गर्‍यो भने मेरा सारा परम्परा युद्धको पक्षमा हुने छन्।’

सन् १९३८ मा बेलायत र फ्रान्सले नाजी जर्मनीबाट चेकोस्लोभाकियालाई बचाउन अस्वीकार गरे। जुन घटना इतिहासमा कुख्यात छ। तर, एक वर्षभित्रै उनीहरूलाई आफ्नो गल्ती महसुस भयो र उनीहरूले जर्मनीको निसानामा रहेको अर्को सानो मुलुक पोल्यान्डलाई सुरक्षाको ग्यारेन्टी दिए। र, पोल्यान्डमाथिको आक्रमणले युद्ध सुरु गर्‍यो।

विगत र वर्तमानका आक्रमणकारीहरूको भाषा र ट्रम्पको अभिव्यक्तिबीच तुलना गर्दा उनका समर्थकहरू साह्रै रिसाउँछन्। तिनको तर्क छ– स्वतन्त्र विश्वलाई अझ सुदृढ बनाउन अनि चीन र रुसजस्ता निरंकुश मुलुकविरुद्ध संघर्ष गर्ने उदेश्यले ट्रम्पले यस्ता माग राखेका हुन्। राष्ट्रिय सुरक्षाको आडमा ट्रम्पले आफ्ना विस्तारवादी महत्त्वाकांक्षालाई उचित ठहर्‍याएका छन्।

अर्को तर्क छ– ट्रम्पको धम्की उनको लेनदेनको रणनीति मात्र हो। पश्चिमा गठबन्धनको हितका लागि जे आवश्यक छ, त्यही गर्न सहयोगी मुलुकहरूलाई उनले दबाब मात्र दिएको उनका समर्थकहरू कहिलेकाहीँ दाबी गर्छन्। उनीहरूको तर्क छ, आखिर ग्रिनल्यान्डका ५५ हजार बासिन्दामध्ये थुप्रै डेनमार्कबाट स्वतन्त्रता चाहिरहेका छैनन् र? देश चलाउने असक्षम ‘वोक’ सम्भ्रान्तहरूबाट क्यानडेलीहरू वाक्क भइसकेका होइनन् र?

तर यी बेकार तर्क हुन्। ट्रम्पले ग्रिनल्यान्डबासीलाई अमेरिकामा मिसिँदा उनीहरूको भलाइ हुन्छ भनेर सम्झाउन खोज्नु बरु जायज हुन्छ। तर, सैन्य अथवा आर्थिक बलप्रयोगको धम्की दिनु अन्यायपूर्ण कुरा हो। थुप्रै क्यानडेलीहरू अमेरिकामा मिसिन चाहन्छन् भन्ने उनको दाबी पनि भ्रामक छ। यस्तो विचारलाई ८२ प्रतिशत क्यानडेलीहरूले खारेज गरेको हालैको एक सर्वेक्षणले देखाएको छ।

जहाँसम्म ‘ग्रान्ड स्ट्राटेजी’ कुरा छ, यथार्थ के हो भने ग्रिनल्यान्ड, पानामा र क्यानडाप्रति ट्रम्पको धम्की रुस र चीनका लागि गतिलो उपहार हो। यदि ट्रम्पले ग्रिनल्यान्ड र पानामा नहर कब्जा गर्नु रणनीतिक आवश्यकता हो भनेर दाबी गर्न सक्छन् भने रुसले युक्रेन कब्जा गर्नु रणनीतिक आवश्यकता हो भन्ने पुटिनको दाबी कसरी अवैध भयो? यदि गिलले सीमा विस्तार गर्नु अमेरिकाको हक हो भन्न सक्छन् भने सी चिनफिङले ताइवानमा आफ्नो अधिकार कायम गर्नु चीनको हक हो भन्दा आपत्ति कसले गर्ने?

रुस र चीन दुवैले लामो समयदेखि पश्चिमा गठबन्धनलाई भताभुंग पार्ने सपना देखेका छन्। उनीहरूका लागि त्यो काम ट्रम्पले गरिरहेका छन्। ‘यसकारण अमेरिकाले क्यानडालाई जित्न सक्दैन’ शीर्षकमा हालै क्यानडाको प्रमुख न्युज म्यागेजिनले कभर स्टोरी छापेको छ। यस्तो स्टोरी छापिने कुरा केही साता अघिसम्म क्रेमलिनले सपनामा पनि सोचेका थिएन होला। युरोपेली नेताहरूले रुसविरुद्ध होइन, अमेरिकाविरुद्ध ईयूको आपसी रक्षाको सर्त उल्लेख गर्ने अवस्था पनि स्वैरकल्पनाजस्तो लाग्छ सक्छ। तर, यी नयाँ यथार्थ हुन्।

धम्कीअनुसारको काम कहिल्यै नगरे पनि ट्रम्पले अहिले नै अमेरिकाको वैश्विक प्रतिष्ठा र उसको गठबन्धन प्रणालीमा विकराल क्षति पुर्‍याइसकेका छन्। र, उनले पद समेत सम्हालिसकेका छैनन्।

ट्रम्पले ग्रिनल्यान्डमा आक्रमणको आदेश दिन्छन् जस्तो लाग्दैन। (हुन त कुनैबेला चुनावको नतिजा उल्ट्याउने कोसिस पनि गर्लानजस्तो लागेको थिएन)। क्यानडालाई आफ्नो स्वतन्त्रता त्यागेर आत्मसमर्पण गर्न बाध्य पारिने सम्भावना त झनै छैन। तर, आउँदो राष्ट्रपतिले अन्तर्राष्ट्रिय मान्यताहरूलाई धुलिसात् पार्नु नै ठूलो प्रलय हो। ट्रम्पको यस्तो ‘मजाक’मा हाँस्नु गल्ती हुन जान्छ। किनकि आज हामी जे देखिरहेका छौँ, त्यो त्रासदी हो, प्रहसन होइन।

(फाइनान्सियल टाइम्सबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad