ad ad

विचार


कोरोना भाइरसको शक्ति र मान्छेको नियति

कोरोना भाइरसको शक्ति र मान्छेको नियति

नेत्र आचार्य
चैत १, २०७६ शनिबार ७:३१,

सामान्य आँखाले देख्न समेत नसकिने भाइरसको त्रासले लोक भयाक्रान्त छ यतिखेर। डाक्टर, अनुसन्धाता कोरोना नामको यो जीवाणु मार्ने औषधि बनाउन जुटेका छन्, सरकार यसलाई फैलन नदिन उपाय गर्दैछ। मुखौटो बेच्ने पसलेलाई भने अर्थोककै चासो छ– जसरी हुन्छ यही मौकामा रातारात लखपति हुन सकियोस्। यो आलेख कालो व्यापारका बारेमा भने होइन। कालो व्यापार समाजको आम चरित्र जस्तै भएको छ। बाहना पाउँदा साथ ग्याँस, पेट्रोल लगायत वस्तु गायब हुनु बजारको ‘गुणधर्म’ भएको छ।

बजार बदचलन हुनुमा अलिकति ‘बजारको नियम’ दोषी होला, अलि बढी वैश्य युगको चरित्र दोषी देखिन्छ र अझ बढी व्यक्ति स्वयं दोषी हो।

देश र काल अचेतन हुन्छन्, सचेत पक्ष व्यक्ति नै हो। व्यक्ति सचेत हुने हो भने बजार र युग रूपान्तरण गर्न सकिन्छ। तर वर्तमान समयमा व्यक्ति सचेत भइरहेको छैन। सचेत नभए पनि चलेको छ। त्यसैले सचेत हुने चेष्टा या झमेला गर्न कोही रुचाइरहेको छैन। जब सचेत नभए सर्वनाश हुने थिति आउँछ अनि बल्ल व्यक्ति सचेत हुन थाल्छ।

हरेक व्यक्ति सृष्टिको अभिन्न अङ्ग हो। सृष्टि द्वन्द्वात्मक छ। द्वन्द्वात्मक अर्थात् दुई पक्षबीच निरन्तर द्वन्द्वबाट गुज्रिरहेको स्थिति। व्यक्ति र समाजबीच द्वन्द्व छ, व्यक्ति स्वयंभित्र समेत निरन्तर द्वन्द्व चलिरहेको हुन्छ। विविधतायुक्त र गतिशील जीवनमा व्यक्तिले हरेक क्षणमा दुई या त्योभन्दा अधिक वस्तुबीच चुनाव गर्नुपर्ने हुन्छ। अधिकांश व्यक्तिको चयन ह्याविचुअल अर्थात् आदतवश हुन पुग्छ। यसैकारण दिनानुदिन समाज व्यवस्था बिथोलिंदै गइरहेको छ।

आफूलाई सर्वोत्कृष्ट प्राणी भन्न रुचाउने मानिसले विकसित गरेको समाज सुन्दर हुनु पर्ने हो। तर समाज त्यस्तो छैन। धनीलाई धनमाथि धन छ, गरीबलाई ऋणमाथि ऋण छ। गरीबलाई खाना, नाना र छाना चाहिएको छ तर सत्ता उन्मादमा उन्मत्त शासकहरू राष्ट«वाद, जातिवाद र धर्मवादका प्याकेट बाँड्छन्। छली, भ्रष्ट र अक्षम नेताजीको ढोका ढक्ढक्याउन प्राध्यापक, बुद्धिजीवी, वकील, पत्रकार, व्यवसायी र आम जनता भनिने बन्धुहरू सबै हाजिर भएका हुन्छन्। मानिसको सोचलाई के भएको हो?

उन्मादीहरू त उन्मत्त भए तर शान्त र समतायुक्त मानिसले समेत आशा लाग्दो केही गरेका छैनन्। दुष्टहरूको दुष्टताले समाज र सभ्यतालाई जति हानि पुगेको छ त्योभन्दा अधिक सज्जनहरूको निष्क्रियताले क्षति पुगेको छ। ईशापूर्व चौथो शताब्दीका पण्डित विष्णुगुप्त चाणक्यले निकम्मा सज्जनहरूको यसरी धज्जी उडाए। त्यस्ता सज्जनहरूलाई फ्रेडरिक नित्सेले ‘एग्जस्टेड चिकेन’ अर्थात् ओथारो बसेर थाकेका कुखुरा नाम दिए।

समाजमा सचेत व्यक्तिहरूभन्दा खराब तत्त्वहरू सर्वाधिक सक्रिय देखिन्छन्। कवि डब्लु बी इट्सले ‘द सेकेण्ड कमिङ’ नामको कवितामा भन्छन्– उत्कृष्ट भनिएका मानिसहरूले सबै आस्था र विश्वास गुमाइसकेका छन्, निकृष्टतम मानिसहरू तिनका मुराद पूरा गर्न जोडतोडले दत्तचित्त छन्।

अचेत मानिसले बनाएको आम चरित्रको सचेत चित्रण हो यो। मानिस अचेत किन भइरहेको छ भनेर चिन्तन, मनन र विश्लेषणहरू समेत अक्सर गलत दिशामा गएका हुन्छन्। कसैले समाज बिथोलेर जीविका चलाउँछन्, कसैले त्यो सारा उपक्रमलाई विश्लेषण गरेर। इतिहास यो दुर्दान्त गोलचक्करमा अनवरत रुमलिइरहन्छ। एक मूर्धन्य कविलाई पङ्क्तिकारले सोधेको थियो, तपाईंका कवितामा विद्रूप समाजको ऐना छर्लङ्ग देख्न पाइन्छ। यी विकृतिहरूलाई न्यून गर्न तपाईं स्वयं चाहिं कसरी योगदान गरिरहनुभएको छ? कविजीले कुटिल हाँसो हाँस्दै भने, ‘सुधारका लागि योगदान गर्ने कुरा बहसको विषय हो। मेरो काम त कविता लेख्नु हो।’

कविजी समाजसँग मतलब राख्दैनन्, कविता लेख्न केही न केही विषयवस्तु बनिरहन पर्‍यो, बस्। यो निश्चय नै उत्कृष्ट भनिएको मानिसको निकृष्ट यात्रा हो।

रजनीशले बारम्बार सुनाइरहन रुचाउने शराबीहरूको एउटा कथाले हाम्रो बेहोसी यात्रालाई उजागर गर्छ। एक रात केही शराबीहरू भट्टीमा शराब पिउँदै थिए। मध्यरातमा उनीहरू घर जान हिंडे। बाटोमा नदी तर्नुपर्थ्यो। किनारमा डुंगा थियो। उनीहरूले डुंगा तानेर नदीमा ल्याए, बहना उठाए र डुंगा खियाउन थाले। रातभर डुंगा खियाइरहे। नशामा थिए, एकोहोरो चलाइरहे डुंगा। तर रात बितिसक्दा पनि नदीको पल्लो किनार आइपुगेन। बिहानीपखको सिरेटोले नशा कम भयो। एक शराबीले भन्यो, केटा हो, उज्यालो हुन थाल्यो, कोही उठेर हेर त हामी कहाँ आइपुग्यौं? एक जना शराबी आँखा मिच्दै डुंगाबाट उठ्यो र चारैतिर हेर्दै भन्यो, ‘भाइ हो, हामीले डुंगा त रातभर खियायौं तर हामी जहाँको त्यहीं छौं। हामीले डुंगालाई किनारमा बाँधेको डोरी छुटाउनै बिर्सेछौं।’

बेहोशीमा पनि यात्रा हुन सक्छ तर कहीं पुगिंदैन। समाजमा सचेत मानिसहरू पनि छन्, असल, क्षमतावान् र गुणवान् मानिसहरू पनि छन्। तर अधिकांशको यात्रा बेहोशीमै सुरु हुन्छ र बेहोशीमै अन्त्य हुन्छ। यथास्थितिको चित्रण जति नै सुन्दर गरियोस् त्यो आफैंमा अर्थपूर्ण हुँदैन, त्यसलाई यथोचित रूपले कार्यान्वय गरिंदैन भने। उपदेशको समुद्रले प्यासीको प्यास मेटिंदैन, प्यास मेट्न पानीको घुट्को नै चाहिन्छ। महाभारत आयतनको विश्लेषण गर्नुभन्दा सिन्को आयतनको कामले थितिमा सुधार हुन सक्छ।

जागरुक, सचेत र कर्मशील मानिसहरू समाजका देवता हुन्। थोरै सही यी हाम्रै वरिपरि समेत छन्। तिनीहरूको कदर गर्नु र तिनीहरूसँग सक्दो हातेमालो गर्नु जीवनप्रतिको प्रेम प्रकट गर्नु हो। हजारौं, लाखौं वर्षको अनवरत प्रयत्नपछि मानिस जंगलबाट बस्तीमा बस्न थालेको हो, बेथितिबाट थिति बसालेको हो। एकसाथ मिलेर बस्ने, आपसमा हातेमालो गर्ने थिति मानिसले बसाएको हुँदा यसलाई दुर्घटनाबाट बचाउँदै अगाडि बढाउने पनि मानिसले नै हो। आफैं बस्ने समाज हो, यसमा थिति बसोस् भन्ने चाहना मानिसमा नहुने होइन। तर आम मनोविज्ञान अरूले गर्ला नि भनी आशा गरी बस्ने खालको हुन्छ। तर बिडम्बना, भरोसै भरोसामा भर्सेला परिसक्छ।

अँध्यारो जति नै पुरानो र घना होस् त्यसको चिन्तन र विश्लेषण गरेर हटाउन सकिंदैन। अँध्यारो भगाउन सानो दियो बाल्नु पर्याप्त हुन्छ। चिन्तन, मनन र विश्लेषण गरेर जीविका चलाउने सबैले तदनुसार थोरैतिनो कर्म पनि गर्ने हो भने समाजको स्वरूप रूपान्तरण हुन सक्छ।

राजनीति दुर्गन्धित भयो भनेर निरन्तर विचार र मन्थन गरिरहने विद्वान्‌हरूले सानोतिनो संगठित प्रयास गर्ने हो भने क्रमशः त्यसको प्रभाव विस्तार हुन सक्थ्यो। क्षमतावान् व्यक्तिहरू कामकाजी पनि हुन्थे र सत्तामा पुग्थे भने अपठित, भ्रष्ट, लम्पट र अक्षम व्यक्तिहरू सत्तामा पुग्न खुला स्पेस हुने थिएन। जसको कुल योग्यता तिकडम र खुराफात गर्नु छ उही चुनावबाट चुनिने थिति पैदा हुनु भनेको विद्वान् र क्षमतावान्‌ व्यक्तिहरूको निष्क्रियता कै उपज हो। आइरिस कवि डब्लु बी इट्सले ठिकै भनेका हुन् तर त्यो बीसौं शताब्दीको आँकलन थियो। उनले कविता लेखेको सय वर्ष पुग्न लाग्यो तर ज्ञानी र सज्जनहरू सक्रिय भएको देख्न पाइएको छैन।

कुनै कविले भनेका थिएः
संगीत सुनने से ज्ञान नहीं मिलता मन्दिर जाने से भगवान् नहीं मिलता
पत्थर तो इसलिये पूजते हैं लोग, क्यों कि विश्वास के लायक इन्सान नहीं मिलता।

विश्वास लायक व्यक्तिको खोजीमा जीवन समाप्त गर्नु मानिसको नियति बनेको छ। मानिस स्वयं सबैको विश्वासपात्र बन्ने प्रयत्न गरेको देखिंदैन। यो बिडम्बना हिजो पनि र आज पनि एक सदृश नै छ।

फेरि एक पटक चर्चित भाइरसका कुरा। वैज्ञानिकहरूका अनुसार कोरोना भाइरसको आकार कति सूक्ष्म छ भने एक मिलिमिटरको दस हजार भाग लगाउँदा एक भाग जति पनि यो छैन। यति सानो जीवाणुले अत्याधुनिक र अति विकसित देशका मानिसहरूलाई समेत त्राहि त्राहि बनाएको छ। यति सूक्ष्म जीवाणुको यति विशाल शक्ति!

कोरोना र मानिसको कुनै मानेमा तुलना हुन सक्दैन। कहाँ मानिस, कहाँ कोरोना। तर एउटा कुरा भने दुर्भाग्यपूर्ण छ– यस्ता मानिस विरलै फेला पर्छन् जसले आफूमा कति क्षमता छ भन्ने सही आँकलन गर्छन् र बलबुता अनुसारको संगठित कर्म गरेर देखाउँछन्। सभ्यताको सुरुताका मानिसको सोच विशाल थियो होला तर यहाँसम्म आइपुग्दा मानिसको सोच चाउरिएर कोरोना भाइरस जत्रै भइसकेको छ। धन र पदका लागि आत्मा बेच्न तम्सनु मानिसको नियति भएको छ– सोच फराकिलो हुँदा मानिसले ‘वसुधैव कुटुम्बकम्’ भन्थ्यो, सोच चाउरिंदा ‘धनमेव हि जीवनम्’ भन्न थालेको छ।

(नेत्र आचार्य धर्म-संस्कृति विषयका अध्येता हुन्)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .