‘विश्वयुद्धतर्फको पहिलो कदम हो।’
रुस–युक्रेन युद्धको अग्रमोर्चामा उत्तर कोरियाली सैनिकहरूको प्रत्याशित आगमनलाई युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले यसरी व्याख्या गरे।
पश्चिमा सुरक्षा अधिकारीहरूले महिनौँदेखि ‘शत्रु धुरी’ भन्दै रुस, उत्तर कोरिया, इरान र चीनबीचको बढ्दो सहकार्यबारे चेतावनी दिँदै आएका छन्। यो धुरी सक्रिय रहेको अहिलेसम्मको सबैभन्दा नाटकीय प्रमाण हो– रुसलाई उत्तर कोरियाको सहयोग।
पश्चिमका चार शत्रुमध्ये उसको सबैभन्दा कम ध्यान उत्तर कोरियाले पाएको छ। २०१९ मा डोनाल्ड ट्रम्प र किम जोङ उनबीच सम्झौताको कोसिस विफल भएपछि यो मुलुक समाचार शीर्षकबाट गायब भयो।
तथापि, उत्तर कोरियाबारे जानकारहरूले महिनौँदेखि खतराको घण्टी बजाइरहेका छन्। जनवरीमा उत्तर कोरिया नियालिरहेका दुई प्रमुख विश्लेषकहरू रोबर्ट कोलिन र सिगफ्राइड हेकरले चेतावनी दिएका थिए– ‘किम जोङ उनले युद्धमा जाने रणनीतिक निर्णय लिएका छन्।’
कोलिनले दशकौँसम्म अमेरिकी विदेश मन्त्रालयमा उत्तर कोरिया हेर्ने टोलीको नेतृत्व गरेका थिए। हेकर भने लस अलमस ल्याबरोटरीका पूर्वप्रमुख हुन्। दुवैले अनेकौँ पटक उत्तर कोरिया भ्रमण गरेका छन्। उनीहरूले संयुक्त लेखमा किमले अमेरिकासँग सम्बन्ध सुधारको प्रयास छाडेको र दक्षिण कोरिया र अमेरिकासँग द्वन्द्वको नीति अख्तियार गरेको बताएका थिए।
उनीहरूको निष्कर्ष निराशाजनक छ, ‘उत्तर कोरियासँग आणविक हतियारको ठूलो भण्डार छ। सम्भवतः ५० वा ६० वारहेड। किमको पछिल्ला वचन र कर्म दुवैले त्यही हतियार उपयोग गरेर सैन्य समाधान खोज्ने सम्भावनातर्फ इंगित गर्छन्।’
कयौँ वर्षयता उत्तर कोरियाको नीतिमा कट्टरताको संकेत तीव्र हुँदै गएको छ। गत जुनमा रुस र उत्तर कोरियाले आपसी रक्षा सन्धिमा हस्ताक्षर गरेका थिए। उत्तर कोरियाले दक्षिणसँग पुनर्मिलनको लक्ष्य औपचारिक रूपमै त्याग गरेको छ। त्यसको सट्टा दक्षिण कोरियालाई उसले शत्रु देशका रूपमा चिन्हित गरेको छ। हालैका साताहरूमा प्योङयाङले दुई कोरियालाई जोड्ने सडक समेत बमले उडाइदिएको छ।
सी चिनफिङ र भ्लादिमिर पुटिन जस्तै किम जोङ उन पनि अमेरिका दीर्घकालीन पतनतर्फ लम्केकोमा विश्वस्त देखिन्छन्। यसलाई उनले आफ्ना शत्रुमाथि विजय प्राप्त गर्ने एक ऐतिहासिक अवसर ठानेका हुन सक्छन्। जुन उनको नजरमा एक विश्वव्यापी पुनर्संरचनाको एउटा हिस्सा हुनसक्छ, जसलाई सीले ‘एक शताब्दीमा नदेखिएको महान परिवर्तन’ भनेर प्रशंसा गरेका छन्।
रुस र उत्तर कोरियाबीच बढेको निकटताले चीन असहज भएको बताइन्छ। जसले दुवै मुलुकमाथि बेइजिङको प्रभाव घटाउँछ। तथापि, चीन उत्तर कोरियाको सन्धि–सहयोगी हो। चीन उत्तर कोरियालाई एसियामा अमेरिकाविरुद्धको महत्त्वपूर्ण बफर मान्दछ।
कोरियाली प्रायःद्वीपमा बढ्दो तनावले अमेरिकालाई ताइवानको रक्षा गर्न मुस्किल हुन सक्छ– यो कुरा पनि चिनियाँहरूलाई थाहा छ। ताइवान र दक्षिण कोरिया दुवैको रक्षाका लागि अमेरिकाले आफ्नो एउटै सैन्य स्रोतसाधन छुट्याएको छ। वास्तवमा वासिङ्टनका कतिपय विश्लेषकहरूले यसअघि नै कोरियाली प्रायःद्वीप र ताइवान जलसन्धिमा एकैपटक द्वन्द्व चर्किने सम्भावना रहेको अड्कल काटिरहेका छन्।
पश्चिममा एउटा दुर्भाग्यपूर्ण प्रवृत्ति छ– उनीहरू उत्तर कोरियालाई मजाक ठान्छन्। छाँट नमिलेको सुट लगाउने र बेढंगी कपाल काट्नेहरूको ठाउँको रूपमा यसलाई लिइन्छ, जसले आणविक हतियारभन्दा मिम प्रक्षेपण गर्ने सम्भावना ज्यादा छ। उत्तर कोरियाली जनताको पीडालाई कम ठान्नुका साथै किमको शासनको शक्तिलाई मजाक मान्ने प्रवृत्तिले उसको क्षमतालाई कम आँक्ने गल्ती हुन पुग्छ। उत्तर कोरियामा गरिबी छ भन्नुको अर्थ सो मुलुक हरेक क्षेत्रमा पिछडिएको छ भन्ने होइन।
बरु यो आम जनताको कल्याणलाई किम पूरै उपेक्षा गर्छन् र सैन्य विकासमा लागेका छन् भन्ने कुराको प्रमाण हो। विश्वबाट एक्लिँदा पनि उनको शासन परमाणु हतियार निर्माण गर्न सफल भयो। जुन काममा उत्तर कोरियाभन्दा धनी र अन्य मुलुकसँग राम्रो सम्बन्ध भएका इरान तथा सिरिया जस्ता मुलुक असफल भएका छन्। उत्तर कोरियालीहरूले ब्यालिस्टिक क्षेप्यास्त्र र निकै आक्रामक साइबर क्षमता पनि विकास गरेका छन्।
किमले यसअघि नै रुसलाई दसौँ लाख तोपका गोला पठाइसकेका छन्। जसका कारण युक्रेनविरुद्धको युद्धमा पुटिनको हात माथिबाट पार्न सहयोग पुग्यो। अब उत्तर कोरियाली सैनिक युद्धमा प्रवेश गर्ने तयारीमा देखिन्छन्। पश्चिमाहरूको सुरुवाती अड्कल के छ भने पहिले ती सैनिकलाई रुसभित्रै खटाइने छ। सायद, कुर्स्क क्षेत्र कब्जा गरेका युक्रेनी सैनिकहरूविरुद्ध सहयोगी भूमिकामा।
तर, पश्चिमा विश्लेषकहरूले पुटिन र किम दुवैको कट्टरता र आक्रमकतालाई निरन्तर कम आँक्ने गरेका छन्। त्यसकारण युक्रेनविरुद्धको आक्रमणमा उत्तर कोरियाली सेना सहभागी हुँदैन भन्ने कुनै ग्यारेन्टी छैन।
६ लाखभन्दा बढी रुसी सेना मारिएको वा घाइते भएको युद्धमा १० हजार उत्तर कोरियाली सैनिकको आगमानले लडाइँको सन्तुलन खल्बल्याउने सम्भावना छैन। तर, उत्तर कोरियासँग १३ लाख सक्रिय सैनिक छन्। जुन विश्वकै चौथो ठूलो सेना हो। त्यसमध्ये अधिकांशले राम्रो तालिम पाएका छैनन्, उनीहरूसँग राम्रो सैन्य सामग्री पनि छैन। तर, पुटिनले तिनलाई तोपको चारोको रूपमा प्रयोग गर्न सक्छन्।
यसबाट किमलाई के फाइदा छ त? अहिलेको आकलनअनुसार रुसबाट उत्तर कोरियाले प्रविधि हस्तान्तरण र पैसा प्राप्त गर्ने देखिन्छ। तर, किमको नजर भविष्यमा कोरियाली प्रायःद्वीपमा हुने युद्धमा हुनसक्छ। युरोपको युद्धमा उनले रुसलाई सघाए एसियाको युद्धमा कुनै दिन रुसले पैँचो तिर्ला?
यी सबै कुराले अमेरिका, युरोपेली संघ र दक्षिण कोरियाका लागि निकै कठिन सवाल उत्पन्न गर्छन्। तिनले युक्रेन र कोरियाली प्रायःद्वीप दुवैमा तनाव बढ्न नदिने कोसिस गरिरहेकै छन्। तर, चाँडै तिनले कुनै एक विकल्प रोज्नुपर्ने हुनसक्छ। रुसलाई उत्तर कोरियाको सहयोगमा युक्रेन हराउन दिने अनि युरोप र एसिया दुवैतिर बदलिएको सुरक्षास्थितिमाथि विचार गर्ने। अथवा, युक्रेनलाई सहयोग अनि जोखिम मोलेर शत्रु धुरीलाई टक्कर दिने आफ्नो इच्छा दुवैलाई ह्वात्तै बढाउने।
(फाइनान्सियल टाइम्सबाट)
Shares

प्रतिक्रिया