ad ad

विचार


मनसुन ढिलो आयो, कमजोर आयो

मनसुन ढिलो आयो, कमजोर आयो

मदनलाल श्रेष्ठ
असार १२, २०७६ बिहिबार १४:२९,

यो वर्ष औसत समयभन्दा ढिलो गरी मनसुन नेपाल प्रवेश गरेको छ। एक–दुई दिन ढिलो चाँडो गरी औसतमा जुन १० (जेठ २७) मा मनसुन नेपाल प्रवेश गर्ने गरेको थियो। यसपटक भने दश दिन ढिलो भयो। २० जुन अर्थात ५ असारभित्रमात्रै मनसुन नेपाल प्रवेश गर्यो, जसको प्रभाव जुन महिना भरि हुने वर्षाको परिणामले देखाइसकेको छ।

काठमाडौँमा जुन महिनामा औसत २ सय ४३ मिलिमिटर वर्षा हुने गरेको छ। तर यसपटक मंगलबार (१० असार) भित्र १ सय १० मिलिलिटर मात्रै पानी परेको छ। यो परिणाम आधाभन्दा पनि कम हो। दुई चार दिन फाटफुट वर्षा भएपनि घनघोर वर्षाको संभावना जुन (असार १५) महिनामा देखिँदैन। पूर्वी धनकुटामा जुन महिनाभित्र पर्नुपर्ने पानी १ सय ६१ मिलिमिटर हो। तर मंगलबारसम्म ४३ मिलिमिटर वर्षा भयो। यो औसतको एक तिहाइ मात्रै हो।

वीरेन्द्रनगरमा औसत २ सय ५२ मिलिमिटर हो। तर अहिले १ सय ८२ मिलिमिटर मात्रै परेको छ। अबको तीन चार दिनमा एक सय मिलिमिटर पानी पर्ने संभावना कहीँकतै छैन।

यो वर्षको मनसुन कस्तो हुन्छ भनेर दुई महिनाअघि पूर्वानुमान गर्ने क्षमता नेपालसँग छैन। क्षमता नभएपनि विश्व मौसम संगठनले संसारभरका १९ वटा ‘क्लाइमेट आउटलुक फोरम’ भनेर गठन गरेको छ। हाम्रोमा दक्षिण एशियाली फोरम छ, जसलाई ‘सासकप’ भनिन्छ। बैशाख ५–१० सम्म काठमाडौँमा यसको सम्मेलन भएको थियो।

यस्तो बैठकमा आफ्नो के क्षमता छ, आफूले विगतमा गरेका पूर्वानुमानहरु त्यहाँ ल्याएर छलफल गरिन्छ। त्यसक्रममा यसपटक नेपालमा मनसुन प्रभाव कमजोर हुने निष्कर्ष निकालिएको छ। अहिले नेपालमा क्षमता भनेको तीन दिनको मौसम भविष्यवाणी मात्रै रहेको छ। यसअघि नेपालले २४ घण्टाका मात्रै पूर्वानुमान गर्न सक्थ्यो। मौसम सम्बन्धी पूर्वानुमानहरु अधिकांश मिल्न थालेपछि यस संस्थाप्रति विश्वासनीयता बढेको छ। तर, पुरै सिजनको भविष्यवाणी गर्नसक्ने क्षमताको विकास अझै भइसकेको छैन।

pani

मनसुन किन कमजोर?
अरेवियन समुद्रमा आएको ‘वायु’ नामको समुद्री आँधीको कारण यसपटक मनसुन प्रभावित बन्यो। भारतको पश्चिमी तटीय क्षेत्रलाई यो समुद्री आँधीले प्रभावित गरेको थियो। भूमध्य रेखाभन्दा पनि पर हिन्द महासागरमा उत्पन्न हुने मनसुन भारतमा प्रवेश गर्दा अरेवियन सागर हुँदै पश्चिम वा दक्षिण–पश्चिम दिशाबाट प्रवेश गर्छ, जुन बंगलाको खाडीमा पुगेपछि आफ्नो दिशा परिवर्तन पर्छ र उत्तर वा उत्तर पश्चिम क्षेत्रतर्फ बहन थाल्छ। त्यसको कारण नेपालमा मनसुन दक्षिण वा दक्षिण पूर्वी दिशाबाट प्रवेश गर्छ।

दक्षिण गोलार्धबाट उत्पत्ति हुँदा उत्तर–पश्चिम दिशामा बहने मनसुन उत्तरी गोलाद्र्धमा प्रवेश गरेपछि उत्तर–पूर्वमा बहन थाल्छ। तर त्यो बंगालको खाडीमा पुगेपछि फेरि दिशा परिवर्तन गर्छ। थर्मल (तापको अवस्था) को कारण त्यस्तो भएपछि बंगालको खाडीमा पुगेपछि हुने परिवर्तनलाई ‘मेकानिकल’ मानिन्छ। यस्तो किन हुन्छ भन्ने अध्ययनकै विषय रहेको छ। यसमा हिमाल र तिब्बती पठारको कारण आउने अवरोध प्रमुख कारक मानिन्छ।

मनसुनले वर्षा गराउँछ, तर खासमा यो वायु प्रवाह हो। यसले महासागर वा समुद्रमाथिबाट बहँदा एयर भ्यापर (वास) पनि लिएर जान्छ। यो पहाडको कारण माथितर्फ जाँदा चिसो भएर वर्षा (पानी) को रुपमा पृथ्वीमा खस्छ। यसपटक ‘एल निनो’ ले केही प्रभाव पार्ने अनुमान गरिए पनि त्यसको प्रभाव देखिएको छैन। एल निनो प्रशान्त महासागर तातिएको अवस्था हो, जसले हिन्द महासागरको मौसमी अवस्थालाई समेत प्रभावित गर्ने गरेको छ। अर्को कारण, हिमाली क्षेत्रमा व्यापक हिमपात भएको समयमा पनि कम वर्षा हुने गरेको छ। यसपटक हाम्रा हिमालमा मात्रै होइन, पुरै युरोप–एशिया क्षेत्रमा व्यापक मात्रामा हिमपात भएको छ।

पहिले–पहिले पनि धेरै हिउँ परेको वर्ष कम वर्षा हुने गरेको थियो। तापको कारण तातो हावा माथितर्फ जाने, त्यसको स्थान मनसुनले लिने गर्छ। व्यापक रुपमा हिमपात भएको वर्ष हावा तातिनै पाउँदैन र यही कारण मनसुन पर्याप्त मात्रामा आउन पनि सक्दैन।

के हो मनसुन?
शाब्दिक रुपमा भन्दा मनसुन भनेको वायुको दिशा परिवर्तन हो। यो अरवी भाषाबाट आएको हो। मौसम भनेको वायुको बहाव हो, तर वायुको बहावले मनसुनको मान्यता पाउन त्यसले वर्षा पनि गराउनै पर्छ। अधिकांश समय नेपालमा हावा पश्चिमबाट पूर्वतर्फ बहन्छ। नेपालको पश्चिमतर्फ भारतका राजस्थान र दिल्ली जस्ता सुख्खा क्षेत्र छन्। त्यहाँबाट आउने वायुमा वर्षा ल्याउन सक्ने क्षमता हुँदैन। हिउँदमा पश्चिमी वायुको प्रभावको कारण वर्षा हुने गरेको छ। तर त्यो हावा भारतबाट होइन, युरोपबाट आउने गरेको छ। त्यो हावा युरोप र ‘मेडिटोरियन सी’ बाट आउने हो।

युरोप र हाम्रोमा पानी पर्ने प्रकृति भने फरक प्रकारको छ। उनीहरुका भूभाग मध्य अक्षांशमा पर्छ, ३० देखि ६० डिग्री अक्षांशमा। उनीहरुको ध्रुबबाट आउने चिसो हावा र भूमध्यतर्फबाट जाने न्यानो हावा मिलेपछि वर्षा हुने गर्छ, जसलाई ‘फ्रन्टल सिष्टम’ भनिन्छ। ‘फ्रन्टल सिष्टम’ भनेको हाम्रो मनसुन भनेको जस्तै हो, त्यसले वर्षा गराउँछ। हामी जहाँ बसेका छौँ, त्यसमा तातो र चिसो हावा भनेर छुट्याउन सकिँदैन। यहाँ आउने सबै हावा न्यानो हावा नै हुन्।

हाम्रोमा बर्षा ‘कन्भेक्टिक’ प्रणालीअनुसार हुन्छ। यो भनेको जमिनको पानी तातेर वाफ आकाशमा गई बादल बनेर पानी पर्ने प्रक्रिया हो। जमिन तात्तिएपछि पानीसहितको हावा माथि जान्छ। त्यो बादल बन्छ र पानी पार्छ।

नेपालमा मनसुनका बेला दक्षिण र दक्षिण पूर्वबाट हावा बहन्छ। दक्षिण वा दक्षिण पूर्वबाट हावा आउने भनेको बंगालको खाडीबाट हो। समुद्रमाथि आउने हावाले आफूसँगै ‘वाटर भेपर’ पनि लिएर आउँछ। हाम्रा पहाडहरुमा आएपछि ती अझ माथि जान्छन् र चिसिन्छन्। चिसिएपछि पानी पर्छ। पहाडहरुले पानी पार्न महत्वपूर्ण भूमिका खेल्छन्। भारतको समथर भूभागमा भन्दा नेपालमा धेरै पानी पर्नुको कारण यही हो।

नेपालका अन्य ठाउँमा भन्दा अक्सर तीनस्थानमा बढी पानी पर्छ, पोखरा, अरुण उपत्यकाको माथिल्लो भाग र ताप्लेजुङमा। त्यो क्षेत्रको भूस्थितिका कारण यस्तो भएको हो।

कमजोर मनसुनको प्रभाव
मनसुनको प्रभाव निकै ठूलो हुन्छ। तर, त्यसलाई गम्भीरताका साथ हामीले अध्ययन गरेको छैनौँ। अध्ययनका हिसावले हामी शुन्यमा नै छौँ भनेपनि हुन्छ। नेपालले सन् २०११ मा सार्वजनिक गरिएको जलवायु नीतिमा मौसमको अनुसन्धान गर्ने संस्था एक वर्षभित्र स्थापना गर्ने विषय समेटिएको थियो। तर, ८ वर्ष भइसक्यो, संस्था बन्न सकेको छैन। सरकारले ल्याउन लागेको जलवायु परिवर्तन सम्बन्धी नीतिमा अध्ययन संस्था स्थापना गर्ने विषयलाई हटाइएको छ। भारतले पुनामा ‘इन्डियन इन्स्टिच्युट अफ ट्रोपिकल मेटिओरलोजी’ भन्ने संस्था खोलेको छ।

मनसुनले सबैभन्दा बढी प्रभावित गर्ने विषय कृषि हो। हाम्रो कुल ग्राहस्थ उत्पादनमा यसको महत्वपूर्ण अंश रहेको छ। किनभने, हाम्रो जनसंख्याको ठूलो हिस्साको मुख्य पेशा कृषि हो। त्यसैले, यसपटक पानी पर्ने वा नपर्ने विषयले धेरै असर गर्छ। हामीकहाँ कृषि–सिचाईंको मुख्य स्रोत नै आकासे पानी हो। खडेरी लाग्दा उत्पन्न अवस्थाले कृषकमात्र होइन, सबैलाई पिरोल्छ।

मनसुन आयो, खेति राम्रो हुन्छ, मनसुन बिग्रियो भने खेति बिग्रिन्छ। पानी कम पर्दा विद्युत उत्पादनपनि कम हुन्छ। विद्युतको कम उत्पादनले उद्योगहरु प्रभावित हुन्छन्। त्यसैले, मनसुन हाम्रो जीवनको आधार हो।

(मदनलाल श्रेष्ठ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशन हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .