ad ad

विचार


भारत कहिल्यै पनि अमेरिकाको सहयोगी हुने छैन

भारत कहिल्यै पनि अमेरिकाको सहयोगी हुने छैन

नोभेम्बर २०२२ मा बालीमा आयोजित जी २० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी


एडवर्ड लुस
बैशाख २७, २०८० बुधबार ८:५७, काठमाडौँ

आफ्ना चाहनाहरुलाई भारतमाथि थोपर्ने पश्चिमको बानी निकै पुरानो हो। जसलाई एडवर्ड सइदले एउटा प्रसिद्ध नाम दिए– अरियन्टलिजम। हाम्रा पूर्वजहरुलाई मोहित तुल्याएको सपेरा र रहस्यवादलाई हामीले निकै पहिले वास्ता गर्न छाडिसक्यौँ। तैपनि भारतलाई गलत तरिकाले बुझ्ने पश्चिमाहरुको खुबी अझै बाँकी छ। त्यसैले त हामी भारतले गर्नै नचाहेको कामको जिम्मा उसलाई दिइरहन्छौँ। 

यसैको पछिल्लो संस्करण हो– भारतले स्वीकार्न नचाहँदा पनि उसलाई पश्चिमको एउटा हिस्सा हो भनेर मान्नु। पश्चिमाहरु ठान्छन्– भारत गर्वका कारण औपचारिक सन्धिमार्फत अमेरिकाको सहयोगी बन्न सकेको छैन। तर, हाम्रो र नयाँ दिल्लीको विश्वदृष्टिकोण एउटै हो।

यो अति सजिलै हुने गल्ती हो। अमेरिकी सार्वजनिक जीवनमा भारतमा जन्मेका मानिसहरुको वर्चस्व हेरौँ। सुन्दर पिचाइ अमेरिकाको सबैभन्दा ठूलो कम्पनीमध्ये एक अल्फावेटको नेतृत्व गर्छन्। सत्य नाडेला माइक्रोसफ्टको प्रमुख कार्यकारी छन्। अरविन्द कृष्णा आईबीएमको नेतृत्व गर्छन्। त्यसैगरी युट्युबका निल मोहन, एडोबीका शान्तनु नारायण, फेडएक्सका राज सुब्रमन्यम, आदि। मास्टरकार्डका पूर्व कार्यकारी प्रमुख अजय बांगा विश्व ब्यांकको नयाँ अध्यक्ष बन्न लागेका छन्। 

अब चीनमा जन्मेर अमेरिकाको बहुराष्ट्रिय कम्पनीमा सीईओ भएका एक जनाको नाम लिऔँ त। वास्तवमा दुई जना छन्– जुमका एरिक युआन र डुअरड्यासका टोनी सु। तर, भारतको तुलनामा उनीहरु निकै कम छन्। भारतीय–अमेरिकीहरु अमेरिकी समाजमा जुन सहजताका साथ फस्टाउँछन्, त्यसलाई हेरेर भूराजनीतिको क्षेत्रमा पनि भारत त्यसैगरी पश्चिमसँग नजिक छ भन्ने ठान्नु सजिलो छ। तर, यो ठम्याइ गलत हो र भविष्यमा पनि गलत रहने सम्भावना ज्यादा छ।

यो कुरा स्पष्ट बुझ्न फरेन अफेयर्स म्यागेजिनमा एस्ली टेलिसको ‘अमेरिकाज् ब्याड बेट अन इन्डिया’ आलेख पढ्न जरुरी छ। भारतमै जन्मेहुर्केका टेलिस भारतको गैरसैनिक आणविक विकासलाई सघाउने अमेरिकी निर्णयको दुईमध्ये एक जना ‘आर्किटेक्ट’ हुन्। जबकि भर्खरै भारतले आणविक अप्रसार सन्धिमा हस्ताक्षर नगरिकनै आणविक हतियार बनाइसकेको थियो। अर्का ‘आर्किटेक्ट’ हुन् रोबर्ट ब्ल्याकविल। 

फाइनान्सियल टाइम्सका लागि दिल्लीमा बसेर काम गर्दा २००१ मा मैले टेलिस र ब्ल्याकविललाई चिनेको थिएँ। ब्ल्याकविल भारतका लागि अमेरिकी राजदूत थिए भने टेलिस उनका रणनीतिक सल्लाहकार। अर्को शब्दमा भन्दा टेलिस पछिल्लो २० वर्षमा अमेरिका–भारत निकट सम्बन्धका लागि जोड लगाइरहेका प्रमुख हस्ती हुन्। त्यसैले उनले जे भन्छन्, त्यो कुरा मनन् गर्नु आवश्यक छः

‘भारतप्रति वासिङ्टनको वर्तमान अपेक्षा गलत छ,’ टेलिस लेख्छन्, ‘वासिङ्टनले अन्तर्राष्ट्रिय व्यवस्थाभित्र भारतको भूमिका सुदृढ होस् भन्ने चाहेको छ। र, जब आवश्यक पर्छ तब गठबन्धनको रक्षाका लागि भारतले योगदान गरोस् भन्ने माग राखेको छ। तर, नयाँ दिल्लीले यी सबै कुरालाई फरक नजरले हेर्छ। वर्तमान उदार अन्तर्राष्ट्रिय व्यवस्थाप्रति उसको निष्ठा छैन। त्यसमाथि पारस्परिक रक्षामा सहभागी हुने विषयको त भारत पहिलेदेखि नै विरोधी हो, त्यसलाई उसले कायम राखेको छ।’

भारत पश्चिमा गठबन्धनमा सहभागी हुन नचाहनुका दुई वटा कारण छन्। पहिलो कारण हो– भारत र चीनबीच प्रत्यक्ष भिडन्तको अवस्थामा चीनले चाँडै नै भारतीय सेनालाई हराउनेछ। भारत त्यो दुर्दशाबाट बच्न चाहन्छ। यदि अमेरिका र चीन ताइवानको विषयमा युद्धमा होमिए भने भारत अलग बस्छ, बरु किनारामा बसेर अमेरिकाले जितोस् भन्ने कामना गर्छ भन्ने टेलिसको भनाइ सही छ भन्ने मलाई लाग्छ।

दोस्रो कारण हो– विश्व दुई ध्रुवीय होस् भन्ने चाहना भारतलाई छैन। वा ऊ कुनै पनि पक्षको हिस्सा बन्न चाहँदैन। भलै भारत कुनै न कुनै प्रकारको लोकतन्त्र नै हो– म चाहिँ यसलाई चुनावी निरंकुशता भन्छु। तथापि, नयाँ दिल्लीको विदेश नीति एकदम यथार्थवादी छ। अरु मुलुकमा लोकतन्त्र प्रबद्र्धन गर्नु भारतको प्राथमिकतामा पर्दैन र अधिकारबारे पाठ सिकाउनबाट पनि ऊ बच्छ। यसबारे भारतको हिन्दु बहुसंख्यकवादी र निकै कमजोर भइसकेका धर्मनिरपेक्ष विपक्षीहरुबीच एकमत छ।

भारतलाई अझै लोकतन्त्रका रुपमा गिन्ती गरिन्छ र अमेरिका र भारतलाई चीनको साझा डर छ। त्यसैले हामी पश्चिमाहरु भारतको विश्वदृष्टिकोणलाई गलत तरिकाले हेर्छौँ। विदेशमन्त्री एस जयशंकरजस्ता भारतीय कूटनीतिज्ञहरु भन्छन्, भारत बहुध्रुवीय विश्व हेर्न चाहन्छ। भारतको चाहना यही नै हो। सायद चार्ल्स दे गालदेखि इम्यानुएल म्याक्रोँसम्मका फ्रान्सेली राष्ट्रपतिहरुले मनले नचाहे पनि मुखले मात्रै बहुध्रुवीयताको वकालत गर्ने गरेको देखेर होला, पश्चिमाहरु भारतलाई पनि फ्रान्सजस्तै सोच्छन्। यो गलत तुलना हुन जान्छ।

भारत हालै चीनलाई उछिनेर विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक बनेको छ। भारत न चिनियाँ प्रभुत्व भएको विश्व चाहन्छ, न अमेरिकाको प्रभुत्व भएको। यद्यपि, अल्पकालका लागि अमेरिकाको प्रभुत्वलाई कम खराब मानेर उसले झेल्नेछ। जति चाँडो हामीले भारतको यो यथार्थलाई महसुस गर्छौँ र हामीले चाहेजसरी होइन, भारत जस्तो छ, त्यस्तै रुपमा बुझ्छौँ, त्यति चाँडै भारतको अडान (उदाहरणका लागि रुस–युक्रेन मामिलामा) प्रति हामी स्पष्ट हुन सक्छौँ।

(फाइनान्सियल टाइम्सबाट) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .