विचार


देउवाले राजीनामा नदिए धनराज–गगन–विश्वप्रकाशले घेराबन्दी गर्नुपर्छ

देउवाले राजीनामा नदिए धनराज–गगन–विश्वप्रकाशले घेराबन्दी गर्नुपर्छ

तस्बिर : सराेज बैजु/नेपालखबर


शंकर तिवारी
पुस ३० , काठमाडौँ

नेपाली कांग्रेस यतिबेला ऐतिहासिक संकटमा छ। एक्लै पहिलो दल बन्ने हैसियत बिर्सेर गठबन्धनको बैसाखीमा आम चुनावमा पहिलो दल बनेको यो पार्टी प्रतिपक्षमा पुगेको छ। पहिलो दल हुनुको लाभ लिनबाट वञ्चित भएपछि र मुखमा आएको सत्ताबाट अनपेक्षित रुपमा विमुख हुनुपर्दा तलदेखि माथिसम्म कांग्रेसको पंक्तिमा निराशा छाएको छ। संसदीय दलको चुनावमा दुई तिहाइ मत पाएका सभापति शेरबहादुर देउवाको रणनीतिक गल्तीका कारण कांग्रेस जुन अवस्थामा पुगेको छ, त्यसबाट आम कार्यकर्ता र मतदाता निराश हुनु स्वाभाविक हो। कार्यकर्ताहरु अचानक सपनाबाट ब्युँझेजस्तो विस्मित, चकित, हतप्रभ भएका छन्।

त्यसमाथि कांग्रेसलाई धोका दिएर गएका प्रचण्डलाई विश्वासको मत दिएपछि कार्यकर्ताको मनोबल गिरेको छ। कार्यकर्ता र आम जनतालाई संसदीय व्यवस्था मान्ने पार्टीले ढुलमुले चरित्र देखाएको पटक्कै चित्त बुझेको छैन। रवाफ र सानपूर्वक प्रतिपक्षी हैसियत प्रयोग गर्नुपर्नेमा विश्वासको मत दिएपछि अलमल देखा परेको छ। आशा छ, पहिलो पटक संसद् प्रवेश गरेका विश्वप्रकाश शर्मा, प्रदीप पौडेलहरुले गगन थापासँगै सदनमा प्रतिपक्षी आवाज मुखर गर्नेछन्। किनभने सदनमा प्रतिपक्षी नेताका रूपमा देउवाको गर्विलो उपस्थिति कहिल्यै रहेन। 

यतिखेर सत्ताबाट बहिर्गमन मात्र कांग्रेसको चिन्ताको विषय होइन। समानुपातिकतर्फ अघिल्लो चुनावमा ३२.७७ प्रतिशत मत पाएको कांग्रेस यसपटक २५.७१ प्रतिशतमा खुम्चेको छ। अर्थात् कांग्रेसको मतमा ७ प्रतिशत क्षय भएको छ। यो सानो क्षति होइन। कांग्रेसले गुमाएको मतको हिस्सा नयाँ प्रियतावादी शक्तिहरुको भागमा खसेको छ। 

नेपाली राजनीतिमा प्रियतावादी शक्ति यति धेरै लोकप्रिय भएको पहिलो पटक हो। त्यसले कांग्रेसको परम्परागत भोट बैंकमा प्रहार गरेको छ। कांग्रेसको उदारवादी जमातलाई प्रहार गरेको छ। त्यसलाई कसरी रोक्ने? कांग्रेसको मत किन खिइएको हो? त्यसको लेखाजोखा गर्ने बेला यही हो। 

सांसदको टिकट बाँड्दा र समानुपातिक उम्मेदवार चयन गर्दा देउवाले गिरिजाको पालामा भन्दा अझ बढी पेलेर, वर्चश्ववादी तरिका अपनाउनुभएको थियो। देउवाले जे गर्नुभयो, त्यस्तो बीपीले समेत गर्नुभएको थिएन। त्यही भएर संसदीय दलको चुनावमा उहाँले भारी मत पाउनुभयो। तर, देउवाले पाएको ६४ मतको इमान एक हप्ता पनि कायम राख्न सक्नुभएन, त्यो बुमर्याङ भयो, उलार खायो। देउवाले आफूलाई मत दिने सांसदहरुलाई लज्जित तुल्याउनुभयो। 

र, देउवाबाट भएको यो पहिलो गल्ती होइन। अघिल्लो निर्वाचनका बेला पनि देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँकै देखादेखी प्रचण्ड कांग्रेसको साथ छाडेर एमालेसँग गठबन्धन गर्न पुग्नुभएको थियो। त्यतिबेला पनि देउवाले कमजोरी स्विकार्नु भएन। अहिले पनि कमजोरी स्विकार्नुभएको छैन। यो जिम्मेवारी नलिने प्रवृत्तिले जसरी निरन्तरता पाउँदैछ, त्यसले पार्टीपंक्तिलाई निराश बनाएको छ। यसले नयाँ मतदातालाई त रोक्छ नै, पार्टीमा नयाँ नेतृत्वको आगमनलाई पनि झनझन् पछि धकेल्छ। 

तर, कांग्रेसको यो असफलताको जिम्मेवारी लिने कोही देखिएको छैन। कांग्रेसको संकटको नैतिक जिम्मेवार को हो? यसमा माफी कसले माग्ने हो? दण्डित को हुने हो? स्वाभाविक रुपमा त्यसको जिम्मेवारी सभापति देउवाले लिएर राजीनामा दिनुपर्ने हो।

अहिले कुनै पनि आधुनिक राजनीतिक दलको अडिने आधार भनेको पारदर्शिता, जवाफदेही र नैतिकता नै हो। लोकतान्त्रिक र खुला राजनीति गरिरहेको दललाई नैतिकताच्युत नेतृत्वले हाँक्न सक्दैन। गल्ती गरेपछि, सही गरेँ भन्ने लाग्दालाग्दै पनि चुनावमा जनताले दण्डित गरेपछि नेतृत्वले सबक सिकेर नयाँलाई मौका दिनुपर्छ। त्यस्तो मौका हिजो गिरिजाप्रसाद कोइरालाले दिएको भएरै २०५१ सालमा देउवा संसदीय दलको नेता बन्नुभएको थियो। कोइरालाले अल्पमतमा परेर देउवालाई मौका दिएको होइन। बहुमत हुँदाहुँदै दिएको हो। किन त? किनभने उहाँले आफूले गरेको गल्ती स्विकार्नुभएको थियो। त्यसले उहाँको व्यक्तित्व ह्रास भएन। 

त्यसअघि ०१४ सालमा विशेष अधिवेशन मार्फत सुवर्ण शमशेरले सहजतापूर्वक बीपी कोइरालालाई नेतृत्व छाडिदिनुभयो। बीपीले पनि आफूभन्दा पहिले सुवर्णलाई प्रधानमन्त्री बन्ने माहोल बनाउनुभयो। त्यसपछि मात्र २०१५ सालको चुनाव भयो। कांग्रेसमा यस्तो अभ्यास भइसकेको छ। यो समृद्ध इतिहासबाट देउवाले किन नसिक्ने? एक पटक त्यस्तै त्याग गरेर फलानो नेता नेतृत्वमा पुगे भनेर इतिहासमा नाम लेखाउनुपर्दैन देउवाले? 

बेलायतमा टोनी ब्लेयरदेखि डेविड क्यामरुनसम्मले अल्पमतमा परेर होइन, आफ्नो नीति असफल भएपछि राजीनामा दिएका थिए। बेलायतमै पढेर आएका, सोसलिस्ट इन्टरनेसनलको उपाध्यक्ष भइसकेका देउवालाई यसको ज्ञान छ। यत्तिका पटक प्रधानमन्त्री भएको नेतालाई हामीले यो पाठ सिकाउने अवस्था आउनु हाम्रो दुर्भाग्य हो।

देउवापछि उहाँभन्दा वृद्ध कोही छ भने पनि बरु ऊ आओस्। तर, नैतिकता देखाउनुपर्यो। आफूले गल्ती गरेपछि, असफल भएपछि लोकतान्त्रिक नेताले जिम्मेवारी लिनुपर्छ। प्रश्न देउवा, उहाँको पुस्ता र उहाँको आचरणप्रति हो। एउटा व्यक्तिको हठले पार्टीलाई कतिन्जेल बन्धक बनाउन पाउँछ? उहाँबाहेक ज्ञानेन्द्र कार्की, विमलेन्द्र निधि, प्रकाशशरण महत, जो आए पनि हुन्छ, शशांक कोइरालालाई दिए पनि हुन्छ। तर, विकल्प दिनुपर्यो। 

आजको कांग्रेस केन्द्रीय कार्य समिति माओवादी, एमालेभन्दा जवान छ, युवा छ। मतदाता र कार्यकर्ता पुरानो नेतृत्व जतिसक्दो चाँडो विस्थापित भएको देख्न चाहन्छन्। त्यसैले देउवाले आफूखुसी राजीनामा नदिए राजीनामासम्म पुर्याउन घेराबन्दी गर्नुपर्छ। कांग्रेसका प्रभावशाली भनिएका उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जोडदार धक्का दिनुपर्ने हुन्छ। त्यो भनेको विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशन नै हो। तुरुन्तै ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर संकलन गरेर विशेष महाधिवेशन डाक्नुपर्छ। 

नेतृत्व त्याग्न मुस्किल हुन्छ। त्यही समस्या समाधान गर्न बेलायतको लेबर पार्टीको विधानमा लेखियो– यदि पार्टी निर्वाचनलगत्तै सरकारमा सहभागी भएन भने दलको नेताले त्यसको जिम्मेवारी लिनुपर्छ। कांग्रेसको विधानमा पनि यस्तै व्यवस्था गर्नुपर्छ। देउवाले फेरि पनि अनुमोदित हुन्छु भन्ने हो भने अधिवेशन डाकेर ५० प्रतिशत मत जुटाउनुपर्यो। त्यो कुरा विधानमा लिपिबद्ध गर्न पनि एक पटक वार कि पारको लडाइँ लड्न जरुरी छ। त्यो विशेष अधिवेशन बोलाएर गर्नुपर्छ। नीति अधिवेशनको बहानामा देउवालाई छुट दिनुहुँदैन। यो आँट कांग्रेसका युवा नेताहरुले गर्नुपर्छ। 

हो, सत्ता गठबन्धन ढल्न सक्छ, देउवा फेरि प्रधानमन्त्री बन्न सक्नुहुन्छ। तर, अघिल्लो डेढ वर्षमा पनि देउवाले जनतामा आशाको किरण फैलाउनु भएन। तदर्थवादी शैलीले सरकार चलाउनुभयो। देउवाले थप एउटा अवसर पाउँदा कांग्रेसको थप क्षयीकरण मात्र हुनेछ। 

कांग्रेसमा नेतृत्वप्रतिको विश्वास कसरी फर्काउने? मतमा भइरहेको क्षयीकरण कसरी रोक्ने? घटेका ७ प्रतिशत मतदाता कसरी फिर्ता ल्याउने? यो काम देउवाबाट पार लाग्दैन भन्ने कुरा उहाँका वरिपरिकालाई थाहा छ। देउवा स्वयंलाई राम्रोसँग थाहा छ। तर, अझै नेतृत्व छाड्नु हुँदैन भनेर देउवावरिपरिका नेताहरुले उहाँको दुरुपयोग गर्दैछन्। उहाँ त्यसको सिकार बन्दै हुनुहुन्छ। यो दुरुपयोग जति बढ्दै जान्छ, त्यति कांग्रेसको बेहाल हुन्छ। 

पछिल्लो संकटको एउटा मुख्य कारण देउवाको आफ्नै टिममा देखिएको अन्तर्संघर्ष पनि हो। कांग्रेसको अल्पमत पक्ष त विभाजित नै थियो। पहिलो पटक बहुमत पक्ष पनि विभाजित भयो। बाहिरबाट हेर्दा आरजु राणा, ज्ञानेन्द्रबहादुर कार्की र प्रकाशशरण महत मात्रै देउवाको भित्रिया भए, अरु सबै बाहिरिया। जसका कारण बहुमत पक्ष अनेक चिरा भयो र उनीहरुले मिलेर काम गरेनन्। त्यँहा दीपकुमार उपाध्याय, प्रदीप गिरीको अभाव खट्किएको छ। 

यहीँनेर युवा नेताहरुको हस्तक्षेप अपेक्षित छ। अबको पार्टीको रोडम्याप के हो, कार्ययोजना के हो? त्यो उहाँहरुले देखाउनुपर्छ। र, जबसम्म पार्टीको मूल नेतृत्व फेरिँदैन, तबसम्म संसदीय दलको नेता फेरिँदो रहेनछ भन्ने उहाँहरुले बुझिसक्नुभएको छ। कांग्रेसलाई बदल्छु भनेर चर्को आवाज निकाल्नेहरु त्यसतर्फ अघि बढ्नुपर्छ। 

कार्यकर्तामा एउटा चिन्ता देखिन्छ, नेतृत्व परिवर्तनको प्रयासलाई पार्टीका बुढाखाडा मिलेर रोक्छन् कि! त्यस्तो भएको पनि छ। तर, इतिहासमा जहिले पनि असम्भव भएका कुराहरु आँटे पछि मात्रै सम्भव हुन्छन्। कोसिस त गर्नुपर्यो नि। प्रयास नगर्ने कुरा गगन थापा, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलहरुलाई सुहाउँदैन। कार्यकर्ताभन्दा जनताप्रतिको जिम्मेवारी ठूलो हो। त्यसैले उहाँहरुले सरल शब्दमा देउवालाई नेतृत्व छाड्नुपर्ने आवश्यकता बुझाउन नसक्ने हो भने अझ ठूलो विद्रोह गरेर तुरुन्तै विशेष महाधिवेशन डाक्नुपर्छ। कांग्रेसमा करिब ४५ सय हाराहारी महाधिवेशन प्रतिनिधि छन्। उनीहरुको स्वाभिमान र इमानमाथि प्रश्न गर्नु अशोभनीय हुन जान्छ। तसर्थ विशेष अधिवेशन डाकेर छलफल गर्ने वातावरण महामन्त्रीहरुले तयार गर्नुपर्छ। कांग्रेसमा एउटा नजिर स्थापित गर्नुपर्छ– जवाफदेही, नैतिकता र पारदर्शिताबिनाको राजनीतिले एक्काइसौँ शताब्दीमा दल हाँक्न सकिन्न। 

देउवा सैद्धान्तिक, नीतिगत लडाइँ लडेर आएको नेता होइन। उहाँ विशुद्ध भागबण्डाको राजनीति गरेर आएको मान्छे हो। बनिबनाउ गुटमा प्रवेश गरेर त्यसको नेता भएर आएको हो। नयाँ पुस्ताले विचारको पनि लडाइँ गरिरहेका छौँ भन्दैछ, त्यसैले नयाँ पुस्ताका नेताहरुले देखाउने मौका हो यो। हामी विचारको राजनीति गर्छौं भन्ने महामन्त्रीहरुले देखाउने बेला हो। 

पाँच वर्षअघि गगन–विश्वप्रकाशहरुले विज्ञप्ति निकाल्नुभएको थियो, कांग्रेस एक्लैले बहुमत ल्याउन सक्ने शक्ति बन्छ भनेर। उहाँहरु महामन्त्री भएको एक वर्ष भइसक्यो। त्यो काम अझै सुरु भएको छैन। पदमा नपुग्दैको प्रतिबद्धतालाई सम्झेर उहाँहरुले काम गर्न आवश्यक भइसकेको छ। पार्टी सुधारको लागि र कांग्रेसलाई परिवर्तन गर्न एउटा सान्दर्भिक र जोडदार झट्का दिने बेला आएको छ।

(नेपाली कांग्रेसका नेता शंकर तिवारीसँग खगेन्द्र गिरीले गरेको वार्तामा आधारित। तिवारीका ‘कसले सुधार्छ कांग्रेस?’, ‘सरलतामा दृढता सुशील कोइराला’ लगायत पुस्तक प्रकाशित छन्)

पुस ३०, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.