ad ad

विचार


गगनले हार्नै पर्ने थियो, हारे, अचम्म लागेन

गगनले हार्नै पर्ने थियो, हारे, अचम्म लागेन

चेतन पाण्डे
पुस ६, २०७९ बुधबार २१:४, काठमाडौँ

हुन त युवाले नेतृत्व गरेकै भरमा यो देशको भाग्य परिवर्तन हुन्छ भन्ने तर्कको हिमायती होइन म। तर, निराशाको अन्धकारमा कहीँ–कतै देखिने आशामा झिल्काले राँकोको रूप लिनुपर्छ भन्ने विश्वासको पक्षपाती भने हुँ। 

नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा गगन थापा हारे। कुनै अचम्म लागेन। किनकि उनले हार्नु थियो, हारे पनि। पार्टीको टिकट वितरणदेखि नै गुटगत स्वार्थ हाबी भएको कांग्रेसमा योभन्दा अर्को नतिजाको आशा गर्नु बेकार थियो। त्यसमाथि स्वार्थका हजारौँ दाह्रा तिखारेर बसेका कांग्रेसीहरूले अहिले नै रूपान्तरणलाई आत्मसात गर्न सक्दैनन् भन्ने सबैलाई थाहै थियो।

पार्टी र सत्तामा बसेर त्यसको स्वाद चाखेकाहरूका लागि गगन अहिले नेतृत्वका लागि सही पात्र हुनै सक्दैन थिए। भएनन् पनि। आफ्नाले समेत पत्याएनन्। विरोधीले पत्याउने त कुरै थिएन। 

संसदीय दलको नेता बनेको भए गगन प्रधानमन्त्रीको स्वाभाविक दाबेदार बन्थे। जसले शेरबहादुर देउवा मात्र हैन, सयौँ–हजारौँ कांग्रेसीको राजनीतिक भविष्य पनि धरापमा पर्थ्यो नै। नत्र कुनै बेला कांग्रेसमा गिरिजादेखि देउवासम्मको विकल्प मानिएका रामचन्द्र पौडेलको मनोभाव यसरी खिइँदै जाँदैन थियो होला। सधैँ विरोधी मानेका देउवालाई फेरि एकपटक आफ्नो सपनाको पद अर्थात् प्रधानमन्त्री बनाउन प्रस्तावकको किनारामा सहीछाप ठोक्दैन थिए होलान्। उमेरमा छोरा सरहका व्यक्तिलाई आफ्नो नेता मान्न उनको अहमले कहाँ दिन्थ्यो र? स्वाभिमानलाई लिलामी गर्नु परे आफ्ना बाँकी रहेका केही अभिष्टलाई पुरा गरिदिनसक्ने व्यक्तिलाई नै उनले नेताका रूपमा स्वीकार गरे।

गगनको हारको पछाडि केही नेताको यस्तो मनोभावले पनि राम्रै काम गरेको छ। अनि त आफूले विरासतमा कांग्रेस भनाउने मौका पाएको बताउने केही नेताहरू पनि देउवाको समर्थनमा पौडेलकै पछाडि पंक्तिबद्ध बने। 

सके राष्ट्रपति नसके उपप्रधानमन्त्री वा सो सरहकै राजनीतिक लाभ लिएर भए पनि चित्त बुझाउने मन बनाइसकेका पौडेलको लोभलाई पुरा गर्न गगन उपयुक्त पात्र हुनै सक्दैन थिए। महाधिवेशनका बेला शेखरलाई स्विकार्न नसकेका पौडेलले संसदीय दलको नेतामा कसरी गगनलाई स्विकार्न सक्थे र?

त्यसमाथि चुनावअघि आफैँ प्रधानमन्त्री बन्ने गफ ठोक्दै हिँडेका पौडेल, प्रकाशमान र शशांक जस्तो प्रवृत्तिका कांग्रेसीजनले कदापि गगनलाई आफ्नो नेता मान्न सक्दैन थिए। जुन कुरा उनीहरूले प्रमाणित नै गरिदिएका छन्।

राजनीतिको उत्तरार्द्धमा पुगिसकेका पौडेल मात्र नभएर प्रकाशमान र शशांकजस्ता नेता समेत अहिले मन्त्री बन्ने चक्करमा लागेका छन्। सबैलाई थाहा छ, उनीहरूको सत्ताको यो मोहलाई देउवाले मात्रै पुरा गर्न सक्छन्। कदंकदाचित गगन प्रधानमन्त्री बनेका भए त्यो क्याबिनेटमा आफ्नो स्थान रहँदैन वा बस्न सकिँदैन भन्ने उनीहरूले नबुझेका पनि होइनन्। अनि कसरी जीवनभर आफूले संगालेको सपना एकै झट्कामा गगनको हातमा थमाउन सक्थे र यी पात्रहरूले?

एक महिनाअघि मात्रै बालिग मताधिकारको प्रयोग गरेकाहरूको सोचसँग कांग्रेस फेरि पनि हिँड्न सकेन। प्रयोगमा आइसकेका रछ्यानहरुलाई फेरि नसमेट्ने कि भन्ने सन्देश दिएको थियो, आम निर्वाचनले। तर, मतदाताको भावनालाई फेरि एक पटक तिलाञ्जलि दिने काम भएको छ। यो पक्का हो। जहिलेसम्म सत्ता र शक्ति नै कांग्रेसी नेताको पहिलो रोजाइ बन्छ, तबसम्म त्यो दल मात्र नभएर देशको भविष्य समेत थाती रहिरहन्छ। हुनसक्छ, यस्ता कारणले नै अर्को निर्वाचनसम्म कांग्रेसको आकार अहिलेभन्दा खुम्चिन के बेर?

सन् २०१४ सम्म लगातार १० वर्ष सत्तामा रहेको भारतीय राष्ट्रिय कांग्रेसलाई अहिले त्यो देशको राजनीतिमा दूरबिन लिएर खोज्नु पर्ने अवस्था छ। भारत स्वतन्त्र भएयता भारतीय राष्ट्रिय कांग्रेसले नै धेरै समय सत्ताभोग गरेको थियो। तर, अब बिस्तारै त्यो पार्टी भारतको राजनीतिबाटै हराउने खतरा बढ्दो छ।

सन् १९९० को दशक भारतीय राजनीतिका लागि अस्थिरताको समय रह्यो। त्यो अवधिमा त्यहाँ प्रधानमन्त्री बन्ने र हट्ने कुनै तिथि निश्चित हुँदैन थिए। त्यही कालखण्डको आसपासदेखि नेपालको राजनीति पनि पनि कहिल्यै स्थिर हुन सकेन। राजनीतिक अस्थिरताबाट आजित भारतका जनताले एक दशकपछि अटलबिहारी बाजपेयीलाई पुरा समय प्रधानमन्त्री बन्ने म्यान्डेट दिए। अनि अर्को १० वर्ष कांग्रेसकै मनमोहन सिंहलाई पनि त्यो मौका दिए।

भारतीय राष्ट्रिय कांग्रेसमा सधैँ गान्धी परिवार हाबी हुँदा त्यो दल पतनको मार्गमा हिँड्न बाध्य भयो। जसको फाइदा भाजपासँगै केही क्षेत्रीय दलले लिन पाए। कांग्रेसप्रतिको मोह भंग भएकै कारण मतदाताले आम आदमी पार्टीलाई विकल्पको रूपमा स्विकार्न थाले। अहिले कांग्रेस त्यही आम आदमी पार्टीको सहयोगीको भूमिकामा राजनीतिमा पाइला टिकाउन खोजिरहेको छ। वास्तवमा भारतीय राष्ट्रिय कांग्रेसको पतनको कारण र नेपाली कांग्रेसमा हाबी भइरहेको स्वार्थ निकै हदसम्म एउटै छ।

गान्धी परिवारलाई भगवान मानेर सत्ता र शक्तिको नजिक बसेकाहरू नै त्यो दलको पतनको कारण बने। अहिले न पार्टी छ, न त ती सत्ताका स्वार्थीहरूको नाम नै भारतीय राजनीतिमा लिइने गरिन्छ। बुढापाका हाबी हुँदा आशालाग्दा युवा नेताहरू दल बदलको बाटो रोज्दै छन्। युवालाई पन्छाउने प्रवृत्तिले नै कुनैबेला भारतभर एक्लो राज गर्ने पार्टी अहिले आफ्नो गढ मानिएका राज्यहरूबाट समेत बढारिँदै छ।

आशालाग्दा युवाहरूको जोसको वेगलार्ई व्यक्तिगत स्वार्थका लागि रोक लगाउनु सही हुँदैन भन्ने गतिलो उदाहरण भारतीय राष्ट्रिय कांग्रेस बनेको छ। अहिले नेपाली कांग्रेसभित्र यही प्रवृत्ति मौलाउँदै छ।

कुनैबेला कोइराला परिवारको छत्रछायामा रहेका नेताहरू अहिले निहित स्वार्थका लागि देउवाका विश्वासपात्र बनेका छन्। रामचन्द्र पौडेल मात्र होइन बीपी र गिरिजाका छोरा–छोरी समेत अहिले राजनीतिमा जम्न देउवा कै शरणमा छन्। एउटा विरासतको अन्त्य हुँदा अर्को विरासतलाई मलजल गर्दै छन्। सधैँ विरासतको राजनीतिमा विश्वास गर्नेहरू यता पनि छन्, सीमापारि पनि छन्। यही प्रवृत्तिले भारतीय झैँ नेपाली कांग्रेसलाई पनि पतनको दिशामा अग्रसर नगराउला भन्न सकिँदैन। 

यो लेख गगनको समर्थनमा लेखिएको होइन। यो प्रस्ट पार्न चाहन्छु। गगनका पनि अनेकौँ दोष छन्। उनी पनि निस्वार्थी नेता होइनन्। चिन्नेले चिनेकै छन्। तर, कांग्रेसलाई नेपाली राजनीतिमा जोगाइराख्न परिवर्तनको आवश्यकता भने छ। तत्कालका लागि त्यो व्यक्तिका रूपमा गगन देखा परेका भने पक्का हो। 

पहिलो पटक प्रधानमन्त्री हुँदा देउवाले पनि अहिलेका गगनभन्दा केही बढी मात्रै भोटो फटाएका थिए। ५० वर्ष समेत नपुगेको बेला देउवाले यो देशको कार्यकारी बन्ने मौका पाए। तर, कुनैबेलाका त्यही युवा नेता २७ वर्षदेखि यो देशको सत्ताको केन्द्रमा छन्। बालुवाटार र बुढानीलकण्ठ उनका लागि पानी–पँधेरा जस्ता बनेका छन्। अनि यही अवधिमा देशले ठूलाठूला संकटको सामना पनि गर्नु परेको छ। देउवाका काम हेरेरै ठोकुवा गर्न सकिन्छ, युवाको हातमा दिँदा देश बन्छ भनेर। 

गगन संसदीय दलको नेता बनेका भए कांग्रेसमा फेरि पनि कोटरीको राजनीति हुँदैन थियो भन्न पनि सकिँदैन थियो। तर, यसले राजनीतिबाट वाक्क–दिक्क बनेका जनताको मनमा केही दिन भएपनि उमंग भने आउन सक्थ्यो कि? समृद्धिका कल्पनामा केही दिन भए पनि उडान भर्न सकिन्थ्यो कि? परिवर्तनको झिल्को देख्न सकिन्थ्यो कि? आखिर आशा नै त हो, पुरा हुन्छ भन्ने ग्यारेन्टी कहाँ हुन्छ र!

२७ वर्षदेखि असक्षमको बिल्ला भिरेर बालुवाटार र बुढानीलकण्ठ गरिरहेका देउवालाई फेरि एक पटक कांग्रेसी सांसदहरूले आफ्नो नेता मान्नुको पछाडि व्यक्तिगत स्वार्थ र कुण्ठाबाहेक केही देखिँदैन। अनि यो चयनले कांग्रेस र मुलुकको भविष्यलाई दिशाहीन बनाउने छ भन्ने दाबी मुठ्ठी कसेर, चिच्याएर गर्न सकिन्छ।

दिनदिनै बढ्दै गएका नयाँ मतदाताको आशय बुझ्न नसक्नु कांग्रेसका लागि कुनै समय पश्चातापको विषय बन्न सक्ला। अनि गगनका लागि हिजो रातिसम्म मत मागेर आज देउवालाई मत दिने सांसदहरू देख्दा कांग्रेसमा सत्ता र शक्तिका अनुयायीको कति बलियो उपस्थिति छ भन्ने स्पष्ट हुन्छ। यस्तो मानसिकताबाट ग्रसितहरूले नेतृत्व गर्ने यो देशको भविष्य त सपनामा पनि सुनौलो देख्न सकिँदैन।

भविष्यमा के हुनसक्थ्यो, अहिले नै आंकलन नगरौँ। तर, गगन संसदीय दलको नेता बनुन् र यो देश चलाउन् भन्ने जनताको मनसाय थियो। जुन कुरा सामाजिक सञ्जालमा निकै पोखिएका थिए। तर, कांग्रेसबाट निर्वाचित सांसदहरूले यो बुझ्न सकेनन्। 

चाउरिएका अनुहार लिएर भोट हाल्न संसदीय दलको कार्यालय पुगेका नेताहरूले गगनलाई स्विकार्दैनन् भन्ने सबैलाई थाहा थियो। तर, युवा सांसदले नेतालाई भन्दा पनि पार्टी र देशको भविष्यलाई प्राथमिकता दिन्छन् कि भन्ने झिनो आशामा रहेका कांग्रेसी कार्यकर्ताले फेरि एक पटक नराम्रो थप्पड खाएका छन्।

परिवर्तनले पार्टीको रक्तसञ्चारमा केही न केही सकारात्मक नतिजा दिन्छ भन्ने उनीहरूले बुझेका छन्। यसको ज्वलन्त उदाहरण राप्रपा नै छ। चाउरिएका अनुहारले राजनीतिबाट बिदा लिनुपर्छ भन्ने चेतना नो–नट–अगेन अभियानले सुरु गरेको थियो। त्यसको फाइदा रास्वपा, राप्रपा र केही स्वतन्त्र उम्मेदवारले पाए नै। यस्ता झिल्काको रूप लिइसकेका विद्रोहका भाकालाई कांग्रेसी सांसदले बुझ्न सकेनन्। भोलि घर नै डढ्यो भने पक्कै बुझ्ने छन्।

जनताको परिवर्तनको चाहनालाई बुझ्न नसकेको नेपाली कांग्रेसलाई भोलिका दिनमा दूरबिन लिएर खोज्न नपरोस्! अहिलेलाई यही शुभकामना!

(चेतन पाण्डे पत्रकार हुन्) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .