ad ad

विचार


सीको तेस्रो कार्यकाल : चीनमा अत्यधिक समर्थन हुँदाहुँदै बाहिर विरोध किन?

सीको तेस्रो कार्यकाल : चीनमा अत्यधिक समर्थन हुँदाहुँदै बाहिर विरोध किन?

चीनमा सी चिनफिङको तेस्रो कार्यकाल निश्चितप्रायः छ (सिन्ह्वा)


चाउ स्याओमिङ र तु युन
असोज ३१, २०७९ सोमबार २२:५५,

‘उनले देशमा राम्रोसँग शासन चलाएका छन्,’ बेइजिङको चोङनानहाइ पार गर्दैगर्दा ट्याक्सी चालक चेन वेन्लीले भने। चिनियाँ राष्ट्रपति सी चिनफिङको तेस्रो कार्यकाललाई आफूले समर्थन गरेको उनको भनाइ छ। कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलनमा आउने अधिकांश प्रतिनिधि पनि सायद सीबारे चेनको जस्तै सोच राख्छन्। सीको तेस्रो कार्यकाल निश्चितप्रायः छ।

हरेक राजनीतिकर्मीजस्तै सीका पनि आलोचक छन्। तर, पश्चिममा विद्यमान आम धारणाभन्दा विपरीत स्वदेशमा सीको लोकप्रियता अत्यधिक छ। क्यानडाको अन्टारियोस्थित योर्क युनिभर्सिटीको नेतृत्वमा गरिएको र २०२१ मा प्रकाशित भएको एक सर्वेक्षणमा सी नेतृत्वको सरकारलाई ९८ प्रतिशत चिनियाँ जनता विश्वास गर्छन्।

तथ्य के हो भने चिनियाँ जनताले सुरुवाती दुई कार्यकालमा सीलाई बलियो र प्रभावकारी नेताका रुपमा पाएका छन्। पार्टी सम्मेलन नजिकिँदै गर्दा उनको लोकप्रियता चुलिँदो छ। खासगरी तुलनात्मक रुपमा कम सुविधा पाएका जनतामाझ उनी बढी लोकप्रिय छन्। यी कम आय भएका थुप्रै परिवार ती १० करोड मानिसहरुमा पर्छन्, जसलाई गत दशकमा चरम गरिबीबाट माथि उकासिएको थियो। 

निश्चय नै, धेरैजसो चिनियाँहरु चीनको आकर्षक आर्थिक वृद्धिको जस सीको नेतृत्वलाई दिन्छन्। गएको दशकमा चीनको जीडीपी दोब्बरभन्दा ज्यादा बढेर १७.७ ट्रिलियन अमेरिकी डलर पुगेको छ। विश्व अर्थतन्त्रमा चीनको हिस्सा ११ प्रतिशतबाट बढेर १८ प्रतिशत पुगेको छ।

चीन बाँच्नका लागि पनि ज्यादा योग्य मुलुक बनेको छ। गएको दशकमा विश्वमा रोपिएका नयाँ रुखमध्ये एक चौथाइ चीनमा रोपिएको छ। कार्बनडाइअक्साइड उत्सर्जन जीडीपीको प्रतियुनिट ३४ प्रतिशतले कम भएको छ। पहाडहरु हरिया बनेका छन्, नदी र तालतलैया सफा भएका छन्, आकाश ज्यादा निलो देखिन थालेको छ।

बेइजिङ वर्षको ज्यादाजसो समय प्रदुषणले छोपिएको हुन्थ्यो। २०१३ मा वर्षभरिमा जम्मा १७६ दिन मात्र हावाको गुणस्तर राम्रो थियो। २०२१ मा २८८ दिन हावाको गुणस्तर राम्रो रह्यो। २०१३ मा भीषण प्रदुषणका दिन ५८ थिए। २०२१ मा त्यो ८ मा झरेको छ।

सीको भ्रष्टाचार र अपराधविरुद्धको अभियानले कम्युनिस्ट पार्टी ‘दमनकारी’ बन्यो भन्ने वासिङ्टनको दाबीलाई बल पुगेको हुनसक्छ। तर, त्यो अभियानले चीनका धेरैजसो मानिसलाई सुरक्षित महसुस गराएको छ। बेइजिङ, सांघाइ, क्वान्चौ र सेन्जेनजस्ता चिनियाँ सहरहरु विश्वकै सुरक्षित प्रमुख सहरहरुमा गनिन्छन्। 

भूराजनीतिक तनाव शिखरमा पुगेको र विश्वव्यापी आर्थिक मन्दीको डर छाएको बेला चीनलाई सत्ताको शिखरमा बलियो र भरपर्दो नेताको आवश्यकता छ। त्यसैले कुनै नयाँ र अपरीक्षित नेताको तुलनामा अनुभवी र परीक्षण भइसकेको नेताले नै ज्यादा प्राथमिकता पाउँछ।

सीलाई निरन्तरता दिने विषयमा केही सन्देह व्यक्त गरे पनि धेरैले एकस्वरले त्यसलाई समर्थन गरेका छन्। शासन सञ्चालनमा सीले कायम गरेको बलियो उदाहरणले सत्ताको बागडोर सम्हाल्ने उपयुक्त व्यक्ति उनी नै हुन् भन्ने ट्याक्सी चालक चेङजस्ता दसौँ करोड चिनियाँहरुलाई परेको छ।

चीनमा नेतृत्वको निरन्तरताको अर्थ हो, आन्तरिक नीतिको पनि निरन्तरता। यो नेतृत्वले अपनाएका नीतिहरुले अझै पनि निरन्तरता पाउने छन्। अहिलेदेखि २०३५ सम्म वार्षिक ५ प्रतिशतका दरले आर्थिक वृद्धि कायम राख्ने उपायहरु लागू गरिने अपेक्षा छ।

अर्थतन्त्र पुनर्बहालीको विश्वास र २०२३ अघि शून्य कोभिड नीतिमा परिमार्जनको आशा त छ नै, त्यसबाहेक विश्वका लागि चीनको ढोका चाँडै खुल्न सक्नेछ। बेइजिङले विदेशी लगानीकर्ताका लागि चिनियाँ अर्थतन्त्रका थप क्षेत्र खुला गर्ने तयारी गरिरहेको छ। 

सीको तेस्रो कार्यकालले चीनको विदेशनीतिलाई पनि स्थिर र अनुमेय बनाउनेछ। उनले आफ्नो विश्वदृष्टिकोणलाई अघि बढाउने अपेक्षा गरिएको छ– मानवजातिको साझा भविष्यसहितको समुदाय। उनको पछिल्ला दुई पहलहरु– ग्लोबल डेभलपमेन्ट इनिसियटिभ र ग्लोबल सेक्युरिटी इनिसियटिभका साथमा बेल्ट एन्ड रोड इनिसियटिभ पनि चीनको विदेशनीतिको प्रमुख प्राथमिकता रहने अपेक्षा गरिएको छ।

विश्वको केही हिस्सामा एकपक्षीयतावाद र भूमणडीकलरणविरोधी मतको उदय भएको छ। तथापि, चीनले भूमण्डलीकरण, बहुपक्षीयतावाद तथा खुला र समावेशी व्यापार प्रणालीको वकालत गरिरहनेछ। त्यसमाथि विश्वका लागि सरसामान पनि उपलब्ध गराइरहनेछ।

विगतमा जस्तै विकासशील मुलुकहरु चीनको भर पर्न सक्छन्। चीन ‘ग्लोबल साउथ’मा रहेका मुलुकहरुबीचको सहकार्यलाई प्रबद्र्धन गर्न इच्छुक देखिन्छ। साथै, निष्पक्ष र थप न्यायपूर्ण अन्तर्राष्ट्रिय व्यवस्थामा पनि उसले जोड दिइरहेको छ।

अर्कोतिर, चीनले पश्चिमसँग टकरावका लागि होइन, आपसी फाइदाका लागि सहकार्यको प्रयासलाई निरन्तरता दिनेछ। चीनको अमेरिका नीति स्पष्ट छ– बेइजिङ व्यापार र लगानीजस्ता मुद्दामा वासिङ्टनसँग मिलेर काम गर्न चाहन्छ र बहुपक्षीय मञ्चमा अमेरिकीहरुसँग सहकार्य गर्नेछ। साथै, चीनको उदयलाई नियन्त्रण गर्ने वासिङ्टनको प्रयासको विरोध गरिरहनेछ। तसर्थ, हङकङ, सिन्जियाङ, दक्षिण चीन सागर र खासगरी ताइवानसँग सम्बन्धित मुद्दामा अमेरिकाले चीनलाई पहिलेजस्तै सम्झौताहीन पाउनेछ।

यतिखेर सबैको आँखा सम्मेलनबाट हुने नेतृत्व परिवर्तनमा अडिएको छ। जसका कारण सीको निरन्तरताले चीनबाहिरका केही मानिसहरुलाई निराश, अझ भनौँ हताश नै तुल्याउनेछ। सीले चीनको अन्तर्राष्ट्रिय हैसियत उकासेका छन्। जसको नतिजा, वासिङ्टनले चीनलाई प्रमुख रणनीतिक खतरा मानेको छ।

आफ्नो देशको र विकासशील मुलुकहरुको स्वार्थ रक्षा गर्ने सीको अडानका कारण अमेरिकाले चीनलाई ‘आक्रामक’ घोषित गरेको छ। सीलाई बेहोर्नु परिरहँदा अमेरिका र उसका सहयोगी मुलुकहरु सुस्ताउने छाँट छैन। खासगरी उनीहरु होइन, सी झनझन् बलियो बन्दै जाँदा।

सीको तेस्रो कार्यकालको पश्चिमाहरुले तीव्र आलोचना गरेको विषयमा प्रश्न सोध्दा ट्याक्सी चालक चेङले भने, ‘उनीहरु चीन बलियो हुँदै गएको हेर्न चाहँदैनन्।’ चीनबाहिरका केहीलाई उनको दृष्टिकोण चर्को राष्ट्रवादी लाग्नसक्छ। तर, त्यसमा बहुसंख्यक चिनियाँ जनताको भावना प्रतिबिम्बित भएको छ।

(साउथ चाइना मर्निङ पोस्टबाट। चाउ स्याओमिङ जेनेभास्थिति चीनको राष्ट्रसंघीय मिसनका पूर्व उपप्रतिनिधि हुन्। तु युन सीजीटीएन रेडियोका एक वरिष्ठ रिपोर्टर तथा सम्पादक हुन्)
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .