ad ad

विचार


हरितालिका तीज : हिजोको ठीक कि आजको?

हरितालिका तीज : हिजोको ठीक कि आजको?

सीमा वन
भदौ १३, २०७९ सोमबार १९:२४, काठमाडौँ

हिन्दु धर्मग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गलमा गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूूरा भइसक्दासम्म पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानीसमेत नपिई निराहार व्रत बसिन्।

यसरी पार्वतीको कठोर व्रतका कारण शिवजी प्रकट भएर चिताएको कुरा पुगोस् भनी आशीर्वाद दिएपछि शिव र पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथिदेखि हिन्दु नारीहरूले उक्त दिनलाई उत्सवका रुपमा मनाउन थालेका हुन् भन्ने पौराणिक किंवदन्ती छ।

यसै खुसीयालीमा आजसम्म पनि नेपाली हिन्दु विवाहित महिलाले आफ्नो पतिको दीर्घायुको कामना गर्दै र अविवाहितहरुले सुयोग्य वरको प्राप्तिको आशा राखेर व्रत बसी मनाउँदै आएको यो एउटा महत्वपूर्ण चाड हो।

पार्वतीले तीजको ब्रत बसेको घटनामा विशुद्ध प्रेम भेटिन्छ। प्रेम हासिल गर्ने पनि आ–आफ्नै तरिका तथा सोच हुन्छ। प्रेम नभएको संसार द्वन्द्वतिर जान्छ। महादेव प्रेमका आदर्श हुन्।

तीजमा प्रयोग हुने गहना र पहिरनको आफ्नै महत्व छ। तीजका दिन महिलाले लाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ। रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने विश्वास छ। पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो। हृदय स्वच्छ भए मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वास तीजको व्रतमा अन्तरनिहीत छ।

पितृसतात्मक हाम्रो समाजमा छोरी मान्छेले विवाह पश्चात माइतीघर छोडी पराइको थर र घरलाई आफ्नो बनाई पूरै जीवन बिताउनुपर्ने हुन्छ। एउटी महिलाले आफू जन्मिएको भूमि बुबाआमा, भाइबहिनी इष्टमित्र र आफू जन्मेको, हुर्केको घर नै छोडेर विवाह गरेर पठाइएको घरमा जीवन गुजार्नुपर्छ।

यस क्रममा पारिवारिक जिम्मेवारी, नयाँ ठाउँको अनुभव, सासुको बुहार्तन र हेलाहोचो व्यवहारले उत्पन्न तनावका साथै घरपरिवारले गरेको माया ममताबाट प्राप्त खुसीसमेत माइतीसँग साट्दै माइतीको सम्झनाको खाडललाई कम गर्ने एउटा महत्वपूर्ण अवसरका रुपमा यस पर्वलाई लिने गरिन्छ। यो पर्व महिलाहरुका लागि माइती मिलनको संगम भएको महत्वपूर्ण पारिवारिक आयाम बोकेको पर्व हो।

पक्कै पनि एकखाले चालचलन, संस्कार भएको परिवारमा हुर्किएकी छोरी अर्को परिवारसँग भित्रिएर आफूलाई सोही अनुरुप ढाल्न त्यति सहज हुँदैन। तर हरेक छोरीले उक्त भुमिका निभाएकै हुन्छन्। पराई घरमा जीवन यापन गर्दैगर्दा एउटी महिलाले धेरै व्यक्तिहरुको माया स्नेह र सहयोगका साथै धेरै दुःख पीडा समस्यासँग जुध्दै आफ्ना कतिपय खुसीहरु बिर्सिएर अगाडि बढिरहेकी हुन्छिन्। विगतका धेरै दशकहरुमा नेपाली महिलाहरुले आफ्ना आमाबाबु, साथीभाइ भेट्न समेत लामो समयसम्म कुर्नुपर्ने अवस्था थियो।

बर्ष दिनमा एकपटक तीजकै अवसर पारेर आफू जन्मेको भूमिमा पाइला राख्न पाउँदा आफ्ना पीर व्यथा सबै भुलेर धक फुकाएर नाच्ने गर्थे। योबेला माइती गएर पूजाआजा, उपासना, दर र आफ्नो कथा व्यथा समेटिएका नारी वेदना र मुक्तिका गीतहरू गाएर रमाईलो गर्दै मनाउँदा केही दिनलाई भए पनि पीरको भारी बिसाएर मनलाई हलुङ्गो बनाउने गर्दथे।

सुपुमा सुपु घाँस मैले काट्दा

बरिलै दशै मुठा घटाइन।

पाँच भाइ छोरा यही घरमा अटाउँदा

बरिलै म छोरी अटाइन

हो नि बरिलै म छोरी अटाइन।।

माइतीको आँगनीमा आमा दिदी बहिनीहरू जम्मा भएर यस्ता मन छुने यथार्थपरक र विरहका गीतहरू गाउँदा तीजको महत्व र रौनक नै फरक हुन्थ्यो। सबैले आ–आफ्ना मनका भाव गीत मार्फत प्रस्तुत गर्दा कसैका आँखा रसाउँथे। कोही गीत र मादलुको तालमा ढल्केर नाच्ने गर्थे। त्यतिबेला समाजमा तीजको महत्व र चेलीबेटी र माइती बीचको प्रगाढ सम्बन्धको महसुस नै फरक हुन्थ्यो।

समयसँगै महिलाहरु शिक्षित र सशक्त हुँदै अगाडि बढेर मान सम्मान पदक प्रतिष्ठाको भागिदार हुन पुगेका छन्। हिजोका महिलाका दुःख, पीडा, रोदन चित्कार समेटिएका तीजका बेदनाहरू आज महिला सशक्तीकरण, महिला अधिकार र महिला विकास जस्ता कुराहरुमा पुगिसकेका छन्। हिजोको तीजको मौलिकता आज सूचना र प्रविधिको विकासले गर्दा परिवर्तित अवस्थामा पुगेको छ।

आधुनिकताका नाममा तीजका कतिपय गीतहरू र तिनमा गरिने नृत्यहरु परिवारसँगै बसेर हेर्न नसकिने समेत भइसकेका छन्। पछिल्लो समय तीजमा देखिएको गीत संगीत, सामाजिक सञ्जालमा प्रस्तुत हुने विषयहरु र महिनौं अगाडिदेखि देखिने खानपान र तडकभडक जस्ता विकृतिले यो पर्वको गरिमामा धब्बा लगाइदिएको छ।

तीज आउनु भन्दा २÷३ महिना अघिदेखि बजारमा आउने उत्ताउलाखाले तीज गीतलाई कुनै अर्थमा पनि तीजका गीत मान्न सकिँदैन। आजभोलि तीजको अवसरमा गाइएका यस्ता गीतहरू रत्यौली हुन् कि झ्याउरे हुन्, छुट्याउन कठिन भइसकेको छ। तीजका गीत भनेको पर्व, भाका, शैली र संस्कृतिसँग जोडिएको हुनुपर्छ। सर्जकहरूले पनि यसलाई निकै ख्याल गर्न आवश्यक छ।

तीजको सौन्दर्य समेटिएका गीतहरू नबनेका भने होइनन्। तर, न्यून संख्याका त्यस्ता गीतहरू भन्दा कलाहीन उटपट्याङ गीतहरूले बर्चस्व जमाउन थालेका छन्। तीज गीत हाम्रो मौलिक सांस्कृतिक धरोहर हो। यसको जगेर्ना हुनुपर्दछ।

गाईजात्रे पारामा पुरुषहरूले साडी चोली लगाउने, महिलाले छोटो ब्लाउजसँग जिन्स पाइन्ट लगाएर नाच्ने, दर खाने निहुँमा रक्सी खाएर उत्ताउला छाडा गीत, संगीत सहितका सामाजिक सञ्जालमा गरिएका पोष्टहरुले तीजको मौलिकता गुमेको प्रष्ट हुन्छ।

हुँदा खानेले हुनेखानेको देखासिकी गर्दै ऋण खोजेरै भए पनि कपडा र गरगहना किनेर तीज पर्व मनाउने गरेको उदाहरण पनि समाजमा व्याप्त देखिन्छ। यसरी देखासिकीको रुपले विकृति निम्त्यायो भने गरीब महिलाहरुले यो पर्व मनाउने भन्दा पनि कसरी छल्ने भन्नेतर्फ चिन्तित बन्ने देखिन्छ।

तीज श्रमिक महिलाको चाड नभई सम्पन्न महिलाले प्रदर्शन गर्ने महँगा लुगा र गहनाको प्रतिस्पर्धात्मक पर्वजस्तो देखिँदै गएको छ। संस्कृतितिर होइन, विकृतितिर ढल्किएको जस्तो भान हुन्छ। यस्ता तडक–भडकले गर्दा गाउँमा बसेर घाँस दाउरा, डोको नाम्लो मेलापात गर्ने तथा न्यून आम्दानीको भरमा दैनिक गुजारा गर्ने नारीको मौलिक तीज ओझेलमा परेको देखिन्छ।

हिजोका दिनमा तीज गीतले महिलाहरुका मनभित्रका तिनै कुण्ठा, पीर, वेदना आदि बोलेको पाइन्थ्यो। एक दिन भए पनि आफूभित्र गुम्सिएर रहेका मनभित्रका कथा व्यथाले भरिएको बेदनाको पोको तीज गीतका रुपमा फुकाउन पाउँदा उनीहरु स्वतन्त्र, खुल्ला र खुशी महसुस गर्न पाउँथे।

पछिल्लो समय तीज महिला स्वतन्त्रता तथा सशक्तीकरणको आवाज उठाउने पर्वका रुपमा पनि परिणत हुँदै गएको छ। वर्षमा एकपटक आउने पर्व उल्लास पूर्वक मनाउनुपर्नेमा दुई मत छैन। अहिलेको समाज परिवर्तनशील छ। तर, समाज परिवर्तनसँगै चाडपर्व र त्यसको महत्व भने कदापि फेरिँदैन।

संस्कृतिको आफ्नै महत्व छ। आधुनिकताका नाममा संस्कृतिलाई आफू अनुकुल परिभाषा गर्नाले अहिले चाडपर्वको महत्वमाथि नै प्रश्न उठ्न थालेको छ। समाज बाहिर र समाजको नियम विपरीत भएर हामी रहन सक्दैनौं। तथापि समाजभित्र रहेको विकृतिलाई हटाउन वा कमी गर्न सक्छौं।

अझै पनि समाजले नारीको पहिचान र अस्तित्व उसको सौन्दर्यसँग जोडेको देखिन्छ, यसलाई चिर्न जरुरी छ। स्वतन्त्रता र पहिचानका लागि हरेक महिलाले संस्कृति र सभ्यतालाई आत्मसात गर्दै ऐनाले देखाउने सुन्दरता मात्रै होइन, हरेक पक्षमा सवल अनि हरेक क्षेत्रमा सकारात्मक प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गर्नु अपरिहार्य छ।

त्यसैले, तीजमा मनोरञ्जन मात्रै होइन, महंगो गहना मात्रै पनि होइन, मौलिक संस्कृतिसँगै आफ्नो अमूल्य अस्तित्वको जगेर्ना गरौं। तीजपर्वको गरिमालाई अझ उचो बनाउँदै भावी पुस्तालाई सही सन्देश प्रवाह गरौं।

सबैमा तीजको शुभकामना।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .