ad ad

विचार


पश्चिमा ऋण–पासोमा परेर ढल्यो श्रीलंका

श्रीलंका सुरुवात मात्रै हो, थुप्रै मुलुक त्यही बाटोमा छन्
पश्चिमा ऋण–पासोमा परेर ढल्यो श्रीलंका

इन्द्रजित समरजिवा
भदौ २, २०७९ बिहिबार ७:४३, काठमाडौँ

एक श्रीलंकालीका रुपमा आफ्नो देशको आर्थिक र राजनीतिक पतनको अन्तर्राष्ट्रिय समाचार हेर्दा मलाई आफ्नै अन्तिम संस्कारमा सहभागी भएजस्तो अनुभूति हुन्छ। जहाँ सबैजना मेरो मृत्युको कारण अन्दाज लगाइरहेका छन्।

पश्चिमा सञ्चारमाध्यम चीनले हामीलाई ऋणको पासोमा पारेको आरोप लगाउँछ। फक्स न्युजका टकर कार्लसन वातावरणीय, सामाजिक र कर्पोरेट कार्यक्रमले हामीलाई मारेको बताउँछन्। सबैजना राजापाक्षेहरुमाथि दोष थोपर्छन्। शासन चलाइरहेको त्यो भ्रष्ट राजनीतिक वंशलाई गत महिना क्रुद्ध श्रीलंकालीहरुले विशाल प्रदर्शन गरेर गत महिना लखेटेका थिए।

तर, म जहाँ उभिएको छु, त्यहाँबाट हेर्दा मुख्य दोष पश्चिमाहरुको वर्चश्व रहेको नवउदारवादी व्यवस्थामा देख्छु। जसले मुलुकहरुलाई ऋणको भरमा चल्ने उपनिवेशमा बदल्दै छ। यो व्यवस्था नै संकटमा छ। यसको कमजोर जगलाई युक्रेन युद्ध र त्यसबाट सिर्जित खाद्यान्न तथा इन्धन संकट र महामारीको प्रभावले उदांगो बनाइदिएको छ भने कंगाली र भोकमरी आउन लागेको छ।

श्रीलंका पहिलो उदाहरण हो। हामी कुनै समय आर्थिक आशाको किरण थियौँ। शिक्षित जनसंख्याको साथमा दक्षिण एसियाको मध्य आय सबैभन्दा उच्च भएको मुलुक थियो श्रीलंका। तर त्यो एक भ्रम थियो। चार सय ५० वर्षको उपनिवेशवाद, ४० वर्षको नवउदारवाद र चार वर्षको हाम्रा राजनीतिकर्मीहरुको सम्पूर्ण असफलताले श्रीलंका र यहाँका जनतालाई कंगाल तुल्याएको छ।

पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षेले हाम्रो ऋणको समस्या गहिर्याए। तर, एकपछि अर्को सरकारको पालामा हाम्रो अर्थतन्त्र संरचनागत रुपमै खराब अवस्थामा थियो। हामी अत्यधिक आयात गर्छौँ, निर्यात एकदम कम। त्यो घाटालाई हामी ऋणले पुर्छौँ। यो नखप्ने अर्थतन्त्र कुनै न कुनै दिन ढल्ने नै थियो।

तर, हामी विश्वका लागि चेतावनी मात्र हौँ। समग्र विश्व नै यो असफल हुँदै गएको सो प्रणालीमा जोडिएको छ। त्यसैले यसले दिने पीडा सर्वव्यापी हुनेछ।

गत केही महिनाको अनुभव म यहाँ बताउँछु।

मसँग कार छ। जुन अहिले बेकार बनेको छ। लंकामा तेल छैन। त्यसैले मेरा केटाकेटीले कारभित्र खेल्न पाइन्छ भनेर सोधे। अहिले त्यो कारको उपयोग त्यत्ति नै हो। इन्धन पाउन धेरै दिनसम्म मनै टुट्नेगरी लाइनमा बस्नुपर्ने हुन्छ। जसले गर्दा मैले हार मानेँ। म बस वा साइकल चढेर बाहिर निस्किन्छु। अर्थतन्त्रका अधिकांश हिस्सा चल्नै छाडेको छ। अहिले इन्धनका लागि सीमा तोकिएको छ, त्यो पनि विवेकहीन तरिकाले। धनीमानीहरुले टन्न तेल खाने एसयूभीका लागि चाहिँदो इन्धन पाउँछन्। ट्याक्सीले पर्याप्त पाउँदैनन्। र, ट्रयाक्टर मालिकहरुले अलिकति पनि पाउँदैनन्।

श्रीलंकाली रुपैयाँले मार्चयता आफ्नो लगभग आधा मूल्य गुमाइसकेको छ। बजारमा थुप्रै माल पाइँदैनन्। जसले कठिनाइको पहिलो संकेतमै आवश्यक कदम चाल्न हामीलाई सिकाएको छ। केही महिनाअघि जब बत्ती जान थाल्यो, मेरी पत्नी र मैले रिचार्ज गर्न मिल्ने महंगो पंखा किन्यौँ। केही दिनपछि नै ती पंखा बजारमा पाइन छाडे। जब इन्धन अभाव हुनथाल्यो, हामीले तुरुन्तै साइकल किन्यौँ। भोलिपल्टै साइकलको भाउ बढ्यो। चामल, तरकारी, माछा, कुखुराजस्ता अत्यावश्यक उपभोग्य सामग्रीको भाउ आकासिएको छ।

थुप्रै श्रीलंकालीहरु दिनको एक छाक मात्र खाएर बाँच्दैछन्। केही भोकै छन्। हरेक साता बाँच्नका लागि भिखारी बन्न बाध्य मानिसहरुको नयाँ वर्ग मेरो दैलोमा देखा पर्छ।

अनलाइन लेखकका रुपमा म डलरमा कमाउँछु। त्यसैले जब रुपैयाँको अवमूल्यन भयो तब मेरो आम्दानी बढ्न पुग्यो। बत्ती बालिराख्न हामी सोलार र ब्याट्री ब्याकअप किन्न सक्छौँ। तर, अरु थुप्रै अन्धकारमा बाँचिरहेका छन्। कारखाना र कामधन्दा बन्द हुँदै गएकाले मानिसहरु काम गर्न पाइरहेका छैनन्। गर्मीका कारण केटाकेटी सुत्न सकिरहेका छैनन्। पहिलो ठूलो प्रदर्शन मार्चको यस्तै एक रातपछि सुरु भएको थियो। त्यतिबेला सिंगो देश सुत्न नसकेर क्रुद्ध भएको जस्तो लागेको थियो।

गत महिना प्रदर्शनकारीहरु राष्ट्रपतिको निवास र प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गरे। त्यसले आनन्द महसुस गरायो। अरु हजारौँ श्रीलंकालीहरुको साथमा मैले पनि पहिलो पटक ती उपनिवेशकालीन किल्लाहरुभित्रको दृश्य नियाल्न पाएँ। त्यो सहज, सुरक्षित र सम्मानजनक थियो। जोडीहरु त्यहाँ डेट गए। अभिभावक बालबच्चा लिएर गए। मानिसहरुले राष्ट्रपतिको घरमा गीत गाइरहेको, एउटी आमा बच्चासँगै नाचिरहेको, स्नान तलाउमा पौडिरहेको मैले देखेँ। मैले बेलायती उपनिवेशकारीहरुको नामपट्टी सजिएको हलमा चारैतिर डुलेर हेरेँ, ती नाम जस्ताको तस्तै हाम्रा आफ्नै राष्ट्रपतिहरुको नाममा बदलिए।

प्रधानमन्त्रीको कार्यालयमा कसैले पियानो बजायो। झण्डा बेरेर कमिज उतारेका एक व्यक्ति सोफामा सुते। चार जनाले क्यारम खेले। एउटा बच्चाले रमाउँदै आँगनमा ठेलागाडी चलाएको देखियो। एउटा सामुदायिक भान्साले भोकाहरुलाई खाना पस्कियो। पहिले सशस्त्र सुरक्षाकर्मीबाट घेरिएर सम्भ्रान्तहरुले ‘क्यानापी’ खाने ठाउँमा यो दृश्य देखिनु अत्यन्त सुन्दर थियो। आशा जागेको थियो।

तर, एकछिनका लागि साँचो लोकतन्त्रजस्तो लागेको त्यो दृश्य लामो समय टिकेन। संसदले राजापाक्षेको ठाउँमा उनकै आसेपासे रनिल विक्रमासिंगेलाई उभ्याउने काम मात्र गर्यो। ६ पटक प्रधानमन्त्री बनिसकेका भए पनि उनी २०२० को चुनावमा हारेका थिए। उनले प्रदर्शनकारीहरुविरुद्ध सेना परिचालन गरेका छन्, प्रदर्शनकारी र ट्रेड युनियन सदस्यलाई गिरफ्तार गरेका छन्। यी सबै कदम ‘संवैधानिक’ हुन्, जसले उदार लोकतान्त्रिक व्यवस्थाप्रतिको विश्वास नै भत्काउने काम गरेका छन्।

श्रीलंका ऋण तिर्न नसकेर कठिनाइ बेहोरिरहेका अरु थुप्रै मुलुकहरुझैँ एक उपनिवेशका रुपमा कायम छ। यसको प्रशासन अन्तर्राष्ट्रिय मुद्रा कोषको भरमा चलेको छ। हामी अझै पनि सस्तो श्रम र स्रोत निर्यात गर्छाैँ अनि महंगो तम्तयार सामान आयात गर्छाैँ। जुन उपनिवेशकालीन मोडल नै हो। स्थानीय सम्भ्रान्तहरुले मुलुकलाई विभाजित र विजित तुल्याएका छन्। जबकि वास्तविक आर्थिक नियन्त्रण भने विदेशीकहाँ छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले १६ पटक ऋण तिर्ने भाका सारिसकेको छ। यो काम हरेक पटक कडा सर्त राखेर भएको छ। यसले हामीलाई थप शोषण गर्न ऋणदाताहरुलाई सजिलो बनाइदिएको छ।

पश्चिमाहरु शोषणकारी चिनियाँ ऋणमाथि दोष थोपर्छन् तर श्रीलंकाको वैदेशिक ऋणको १० देखि २० प्रतिशत मात्र चीनबाट लिइएको हो। ऋणको अधिक हिस्सा अमेरिकी र युरोपेली वित्तीय संस्था वा जापानजस्ता पश्चिमा सहयोगीको हातमा छ। मुख्यगरी हामी पश्चिमा ऋणको पासोमा परेर मरेका हौँ।

अन्य मुलुक पनि त्यस्तै जोखिम सामना गरिरहेका छन्। निम्न आय भएकामध्ये ६० प्रतिशत र मध्यम आय भएकामध्ये ३० प्रतिशत मुलुक ऋणको तनावमा छन्। पाकिस्तान, बंगलादेश, ट्युनिसिया, घाना, दक्षिण अफ्रिका, ब्राजिल, अर्जेन्टिना, सुडानलगायत संकटमा रहेका मुलुकहरुको सूची तीव्र गतिमा लम्बिँदै छ। विश्वको श्रमशक्तिको करिब ६० प्रतिशत हिस्साको वास्तविक आय महामारीअघिको तुलनामा कम भएको छ। र, सम्पन्न मुलुकहरुले खास सहयोग गरेका छैनन्।

ठूला अर्थतन्त्र पनि समस्यामा छन्। युरोप उर्जा अनिश्चितताको सामना गरिरहेको छ। अमेरिकीहरु तेल भर्न सकिरहेका छैनन्, सायद अमेरिकामा मन्दी छाइसकेको छ। उसको रियल स्टेट क्षेत्र धराशायी हुने डर छ। बेलायतमा खाद्यान्नको चिन्ता बढेको छ।

यो समस्या झन् खराब हुनेवाला छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले भर्खरै विश्वव्यापी मन्दीको सम्भावना बढ्दै गएको चेतावनी दिएको छ। एकपछि अर्को मुलुकको अर्थतन्त्र धराशायी हुँदै जाँदा पश्चिमा ऋण चुक्ता हुने छैन। र, गरिब मुलुक डलर प्रणालीबाट बाहिर धकेलिने छन्। जुन प्रणालीले पश्चिमा जीवनशैलीलाई थामेको छ। त्यसपछि त अमेरिकीहरु पनि पैसा छापेर संकटबाट बाहिरिन सक्ने छैनन्। यो प्रक्रिया सुरु भइसकेको छ। श्रीलंकाले भारतीय रुपैयाँमा ऋण तिर्न थालेको छ। भारतले रुबलमा रुसी तेल किनिरहेको छ। चीनले युआनमा साउदीको तेल किन्न सक्छ।

हाम्रा नेताहरुलाई लखेट्ने श्रीलंकाली विद्रोहलाई ‘अरागाले’ नाम दिइएको छ। यसको अर्थ हो– संघर्ष। यो संघर्ष निकै लामो हुनेछ र यो विश्वभर फैलिँदैछ।

(न्युयोर्क टाइम्सबाट। इन्द्रजित समरजिवा श्रीलंकाली लेखक हुन्)
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .