ad ad

विचार


सिंगापुर समृद्धिको सूत्र, हेनरी किसिन्जरको नजरमा

सिंगापुर समृद्धिको सूत्र, हेनरी किसिन्जरको नजरमा

क्रिस्टोफर वसालो
साउन ३१, २०७९ मंगलबार ८:२७, काठमाडौँ

प्राय:द्वीपको टुप्पोमा अवस्थित टापु मुलुक, जनसंख्या धेरै भएका छिमेकीले घेरिएको सिंगापुर सदा असुरक्षामा रह्यो। नक्सामा हेर्दा यो मुलुक सानो, कमजोर र टाढा देखिन्छ।  

दोस्रो विश्वयुद्धमा यो सहर–राज्य जापानले कब्जा गर्यो। त्यसको २० वर्षपछि उत्तरी छिमेकी मलेसियासँग एकताको प्रयास असफल भयो। सिंगापुरका पहिलो तथा सबैभन्दा लामो समय पदमा आसीन प्रधानमन्त्री ली क्वान युले त्यसबेला आँसु चुहाउँदै फेरि सिंगापुरमा आक्रमण हुनसक्ने भय व्यक्त गरे।

तर, सिंगापुर बच्यो र यो मुलुकले प्रगति पनि गर्यो। यो खुला बजार अर्थतन्त्रको चमत्कारभन्दा पनि स्वार्थी भूराजनीतिको विजय हो। यो तथ्यलाई हेनरी किसिन्जरले आफ्नो नयाँ पुस्तक लिडरसिपः सिक्स स्टडिज इन वर्ल्ड स्ट्राटेजी मा वाक्पटुताका साथ स्पष्ट पारेका छन्। 

भूराजनीतिक असुरक्षाको माझमा यो टापु मुलुकले विस्फोटक आर्थिक वृद्धि हासिल गर्यो। महाशक्ति मुलुकको प्रतिस्पर्धाले विश्व अर्थतन्त्र सञ्चालनमा बाधा पुर्याउन थालेको यो बेला सिंगापुरको यो सफलता झनझन् सान्दर्भिक हुँदै गएको छ। 

किसिन्जरको यो १९ औँ पुस्तक हो। जसमा उनले ६ अध्यायमा ६ नेताका बारेमा चर्चा गरेका छन्। यी ९९ वर्षीय पूर्व अमेरिकी विदेशमन्त्रीले ती ६ नेतासँगको भेटका कथा पनि पुस्तकमा उल्लेख छन्। उनको ली क्वान युसम्बन्धी अध्याय पुस्तकको सबैभन्दा आकर्षक र विचारोत्तेजक छ। इतिहासकार मार्गरेट म्याकमिलनले फाइनान्सियल टाइम्समा र एड्मिरल जेम्स स्टाव्रिडिसले वाल स्ट्रिट जर्नलमा स्वतन्त्र सिंगापुरका पिता लीको जीवन्त चित्रण गरेकोमा किसिन्जरको प्रशंसा गरेका छन्। 

लीको कठोर यथार्थवाद र चर्को देशभक्तिका प्रसंगहरुसहित किसिन्जरले कोरेको उनको रेखाचित्रले सिंगापुरको चमत्कारी आर्थिक विकासको नौलो तरिकाले चित्रण गर्छ। जसले सिंगापुरको विकासका लागि खुला बजार जिम्मेवार छ भन्ने परम्परागत व्याख्याहरुको आलोचना गर्छ।

थुप्रै अर्थशास्त्रीहरुले विश्व व्यापारबाट समृद्धि हासिल गर्न लीको सरकारले कसरी आफ्नो भूगोल र अवस्थितिको फाइदा उठायो भन्ने कुरालाई निकै जोड दिएका छन्। हावर्ड बिजनेस स्कुलका प्राध्यापक माइकल पोर्टर यो भाष्यको सबैभन्दा उल्लेखनीय समर्थक हुन्। जसले सिंगापुरका नेताहरुलाई सल्लाह पनि दिएका छन्। यो कथाले सिंगापुरको अवस्थितिलाई ज्यादा जोड दिने गर्छ। 

सिंगापुर विश्व व्यापारको केन्द्रमा छ। यो स्वेज नहर हुँदै भूमध्य सागरबाट पूर्वी एसिया आउने जलमार्गमा मलाक्का जलसन्धिसँगै छ। जसका कारण ‘गोदाम’ अर्थतन्त्रमार्फत यो टापुले सकेसम्म फाइदा लिन पायो। ‘सिंगापुरले आयात र निर्यातलाई सघाउन सिपिङ, सञ्चार, ब्यांकिङ, बिमा र पूर्वाधार विकास गर्यो। साथै, सिपिङ कम्पनी र अन्य सेवा प्रदायकको आवश्यकता पुरा गर्न अन्य सेवा पनि उपलब्ध गरायो,’ हार्वर्ड बिजनेस स्कुलको एक केस स्टडीमा पोर्टरले लेखेका छन्।

ली क्वान युले आफ्नो देशको भूगोलको पोर्टरले जसरी विरलै चर्चा गरेका थिए। सिंगापुरको भूगोल कति खतरनाक र हानिकारक छ, लीले सधैँ यसैमा जोड दिए। ‘हामी मलाया सागरमा अवस्थित चिनियाँ टापु थियौँ,’ लीले एक पटक भनेका थिए, ‘यस्तो खराब वातावरणमा हामी कसरी बाँच्न सक्थ्यौँ?’

आफ्नो पुस्तकमा किसिन्जरले पोर्टरको होइन, लीको भाष्यलाई टिपेका छन्। ‘सिंगापुर आफूभन्दा निकै ठूला र निकै शक्तिशाली मुलुकहरुले घेरिएको छ, खासगरी मलेसिया र इन्डोनेसिया। ती मुलुक सिंगापुरको पानी गहिरो रहेका बन्दरगाह र समुद्री व्यापारिक मार्गसँगै रहेको रणनीतिक अवस्थितिको इर्ष्या गर्थे,’ किसिन्जर लेख्छन्। उनका अनुसार ‘विश्वको अशान्त हिस्सामा रहेको’ यो सानो टापु सिंगापुर चिनियाँ हस्तक्षेपबाट ‘आफू बच्नका लागि अमेरिकामा निर्भर रह्यो।’ लीको राष्ट्र ‘अस्तित्व र विनाशबीचको डोरीमा हिँड्यो।’

लीले सिंगापुरको छिमेकमा नियाल्दा भूराजनीतिक दुश्मनी र भौगोलिक संशोधनवादको दुनियाँ देखे। सिंगापुरको असुरक्षाले लीलाई एउटा पुँजीवादी र खुला बजार भएको समाजका लागि असामान्य मानिने काम गर्न लगायो। 

उदाहरणका लागि, सिंगापुरको राज्यले सरकारसँग सम्बन्ध भएका अनेकौँ कम्पनीहरुमा लगानी गर्यो। सिंगापुरको वित्त मन्त्रालयले स्थानीय कम्पनी र विदेशी परियोजनाहरुमा प्रत्यक्ष लगानी गर्यो। सिंगापुर सरकारको लगानी संयन्त्र तेमासेक रणनीतिक लगानी पुरा गर्ने प्राथमिक माध्यम थियो। सुरुमा यो कम्पनीले ३६ कम्पनीमा १० करोड डलर लगानी गर्यो। अहिले यो कम्पनीको पोर्टफोलियो ३८० अर्ब डलरको छ। यो विश्वमै राज्यको प्रत्यक्ष लगानी गर्ने सबैभन्दा प्रभावकारी संयन्त्रमध्ये एक बन्न पुगेको छ।

तेमासेकका माध्यमबाट सिंगापुर सरकारले सिंगापुर एयरलाइन्स, सिंगापुर टेलिकम, विश्वको सबैभन्दा ठूलो कन्टेनर बन्दरगाह सञ्चालन गर्ने पीएसए सिंगापुरजस्ता मुलुकका ठूला ब्रान्डहरुको अधिकांश सेयरको स्वामित्व लिएको छ। त्यस्तै, टीजे होल्डिङ्सजस्ता रियल स्टेट कम्पनीका माध्यमबाट सिंगापुर टापुको ९० प्रतिशत भूमि पनि सरकारको नियन्त्रणमा छ। अझ महत्वपूर्ण कुरा, तेमासेकले पेट्रोकेमिल्स, बायोफर्मास्युटिकल्सजस्ता रणनीतिक महत्वका उद्योगहरुमा लगानी गरेको छ। जसले आर्थिक नाफासँगसँगै सिंगापुरलाई भूराजनीतिक प्रभाव समेत कमाउन सहयोग गर्छ। एक विश्लेषकले सिंगापुर ‘सरकारको हिस्सेदारी अर्थतन्त्रका लागि नराम्रो हुन्छ भन्ने आर्थिक सिद्धान्तको अपवाद रहँदै आएको’ बताएका छन्।

किसिन्जरको नजरमा ‘व्यक्तिगत आर्थिक समृद्धिलाई राज्यको कल्याणसँग जोड्नु’ लीको सबैभन्दा ठूलो आर्थिक उपलब्धिमध्ये एक हो। यो काम लीले ‘अर्धराजनीतिक संस्थाहरु’ स्थापना गरेर गरे। यो पदावली सिंगापुरको नगर परिषद् र सामुदायिक केन्द्रहरुलाई जनाउन प्रयोग गरिन्थ्यो। ती संस्थाहरु नागरिकहरुको दैनिक जीवनको आर्थिक कल्याणका लागि कटिबद्ध मानिन्छन्। सिंगापुरको सार्वजनिक–निजी लगानी संयन्त्र तेमासेकलाई यस्तै अर्धराजनीतिक संस्था मान्न सकिन्छ। लीको भूराजनीतिक समझदारी गहिरो थियो। यसको अर्थ ‘विश्वमा शक्ति सन्तुलन अज्ञात शक्तिहरुको मात्र होइन, बरु जीवित राजनीतिक संस्थाहरुको उत्पादन हो र तिनलाई सहयोग र स्याहारको आवश्यकता पर्छ’ भन्ने उनले राम्ररी बुझेका थिए। 

लीलाई थाहा थियो, तिक्त भूराजनीतिक भीडन्त र सर्वस्व दाउमा लागेको प्रतिद्वन्द्वितामा हारको अर्थ हुन्थ्यो–चीनसहितका छिमेकीले सिंगापुरको समृद्धिको सर्त तय गर्नु। यही विचारका कारण लीले सिंगापुरको अर्थतन्त्रलाई युद्धस्तरमा अघि बढाए। रणनीतिक क्षेत्रमा लगानी गर्न लगाए। छिमेकीहरुसँग प्रभावकारी रुपले राज्यले मात्रै प्रतिस्पर्धा गर्न सक्थ्यो। त्यसैले उनले राज्यलाई आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्न लगाए। हामी ली क्वान युको दुनियाँ बाँचिरहेका छौँ।

(नेसनल इन्ट्रेस्टबाट। क्रिस्टोफर वसालो सेन्टर फर द नेसनल इन्ट्रेस्टको चीन तथा प्यासिफिक कार्यक्रममा अध्येता छन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .