विचार


युक्रेन मात्र होइन, ताइवानमा पनि संकट ल्याइदिए बाइडेनले

युक्रेन मात्र होइन, ताइवानमा पनि संकट ल्याइदिए बाइडेनले

आइरा स्ट्रस
साउन २५ , काठमाडौँ

थियोडोर रुजबेल्टले शान्तिको उपाय सुझाएका थिए– ‘नरम बोल, मोटो लाठी बोक।’ राष्ट्रपति जो बाइडेनको रुस नीति भने यसको ठिक उल्टो रहँदै आएको छ। बाइडेनले भ्लादिमिर पुटिनमाथि व्यक्तिगत आक्रमण गर्नुका साथै रुसमा सत्ता परिवर्तनको आह्वान पनि गरे। बाइडेनको बोलीको अर्थ त्यो होइन भनेर अधिकारीहरुले अविश्वसनीय तरिकाले स्पष्टीकरण दिए। यसले रुसविरुद्ध अमेरिकाको निवारक क्षमता कम भएको देखायो।

पुटिनको जस्तो चरित्र भएको व्यक्तिले वास्तविकताबारे बाइडेनलाई पाठ सिकाउने चाहना राख्छन् भन्ने अपेक्षित नै थियो। जसको नतिजा हामीले युक्रेनमा देखिसकेका छौँ र त्यसको चर्को मूल्य पनि तिरिरहेका छौँ।

चीनको हकमा पनि बाइडेनले धेरै हदसम्म त्यही व्यवहार दोहोर्याइरहेका छन्। तसर्थ, उनले ताइवानमाथि पनि युक्रेनकै जस्तो नतिजा निम्त्याउन सक्छन्।

बाइडेनले पुटिनलाई युक्रेनमा कसरी निम्त्याए, पहिले त्यसबारे स्पष्ट होऔँ। यसको सुरुवात त्यतिबेला भयो, जतिबेला अफगानिस्तानमा रहेका थोरै अमेरिकी सैनिकलाई बाइडेनले फिर्ता लिने निर्णय लिए। त्यतिबेलैदेखि रुस र चीनले सार्वजनिक रुपमै युक्रेन र ताइवानमाथि र्याल काढ्न थाले। परेको बेला अमेरिकाले साथ नदेला कि भनेर अमेरिकाका सबै सहयोगीहरु व्यग्र हुन थाले। त्यसैले बाइडेनले सहयोगी मुलुकहरुलाई यसरी आश्वस्त तुल्याए, जसले समस्या झन् चर्कायो। उनले भने– नेटो सन्धिको धारा ५ अनुसारका सहयोगीहरुको मात्र हामी रक्षा गर्नेछौँ। सार्वजनिक आलोचनापछि उनले थपे– ताइवानको पनि रक्षा गर्नेछौँ। त्यसबाहेक अरु कसैको रक्षा गर्न सक्दैनौँ। यो युक्रेनमा आक्रमण गर भन्नु बराबर थियो।

मैले विदेश नीति अध्ययन गर्दाताका हामीलाई ‘डिन एचेसनको गल्ती’का बारेमा पढाइन्थ्यो। तत्कालीन अमेरिकी विदेशमन्त्री एचेसनले १९५० मा एउटा भाषणमा अमेरिकाको रक्षा परिधिमा दक्षिण कोरियालाई समावेश गरेका थिएनन्। त्यसरी उनले दक्षिण कोरियामाथिको आक्रमण निम्त्याएका थिए। त्यो गल्तीको मूल्य हामी अझै पनि तिररहेका छन्। तर, त्यो गल्तीबाट बाइडेनले कहिल्यै पाठ सिकेको देखिएन।

अरु थुप्रै कामकार्वाहीबाट बाइडेनले रुसलाई युक्रेनमा निम्त्याए। डोनाल्ड ट्रम्पले चार वर्षदेखि चुपचाप युक्रेन पठाइरहेको हतियार उनले रोकिदिए। उसो त ट्रम्प पुटिनसँग व्यक्तिगत रुपमा नम्र तरिकाले प्रस्तुत हुन्थे। युक्रेनमा हतियार पठाए संकट आइपर्छ भन्ने बाराक ओबामा प्रशासनका अधिकारीहरुको तर्क थियो। त्यस्तो संकट ननिम्त्याई ट्रम्पले हतियार पठाइरहेका थिए। त्यस्तै, बाइडेनले नर्ड स्ट्रिम २ पाइपलाइनका विषयमा एन्जेला मर्केलसँग आत्मसमर्पण गरे। यसलाई रुसीहरुले युक्रेनमाथि आक्रमणका लागि हरियो झण्डा माने। जब पुटिनले युक्रेनी सीमामा सेना थुपारे, तब बाइडेनले केही गरेनन्। उनले यति मात्र भने– आक्रमण गर्नु पुटिनका लागि मूर्खता हुनेछ र उनलाई आर्थिक नाकाबन्दी लगाइनेछ। तर, त्यहीबेला युक्रेनमाथि रुसले आक्रमण गरे अमेरिकाले रक्षा नगर्ने घोषणा गरेर पुटिनलाई आश्वस्त तुल्याउने काम पनि गरे।

त्यसपछि अन्तिम समयमा बाइडेनले सानोसानो परिमाणमा हतियार पठाए। हामी सबैलाई सम्झना छ, रुसले युक्रेन हप्तादिनमा कब्जा गर्छ र त्यसपछि प्रतिरोध सुरु हुनसक्छ भन्ने बाइडेन प्रशासनको आकलन थियो। तर, कुनै कारणवश अन्तिममा बाइडेनले युक्रेनलाई हतियार दिनु ठिक हुन्छ भन्ने ठाने। वासिङ्टनले आक्रामक र उत्तेजनात्मक कुनै गतिविधि गरेको छैन भन्न सकियोस् भनेरै बाइडेनले यी निर्णय गरेको प्रतीत हुन्छ।  

नतिजा अपेक्षाअनुरुप नै थियो। पुटिनले युक्रेनमा आक्रमण गरे। आफ्नो कमजोरीको कारकका रुपमा बाइडेनले उठाएको आणविक युद्धको खतरा उनी कमजोर भएकै कारणले झन् वास्तविक देखियो। एकपछि अर्को कदम गर्दै बाइडेन द्वन्द्वमा भासिँदै गए। हरेक पटक पहिलेभन्दा बढी हतियार दिएकोमा सार्वजनिक रुपमा बेइज्जती भयो। जबकि त्यो निकै ढिला र निकै थोरै थियो। हरेक पटक उनले हतियार पठाउने निर्णयविरुद्ध सार्वजनिक तर्क थिए। युक्रेनलाई हतियार दिँदा पुटिन उत्तेजित हुने उनको भनाइ थियो। तर, बाइडेन र उनका निकटस्थहरुले भाषणबाजीका माध्यमबाट पुटिनलाई उत्तेजित तुल्याए। उनीहरुको अभिव्यक्ति उनीहरुले चाल्न डराएका कुनै पनि कदमभन्दा ज्यादा टकराव निम्त्याउने खालका थिए। तर, तिनले आँखा चिम्लेर आफूहरुले नउक्साएको भन्दै आफ्नै प्रशंसा गरिरहे। उनीहरुले अमेरिका भासिँदै गएको संकटमा अमेरिका दोषी नभएको बताए।

वास्तविक उत्प्रेरणामा घोषित असल उदेश्य मात्र होइन, सम्भावित परिणामहरु पनि समावेश हुन्छन्। आफ्नो असल उदेश्यको प्रचार गरेर मात्र यस्ता सम्भाव्यतालाई ढाकछोप गर्न सकिँदैन। मेकियाभेलीदेखि वेबरसम्म र पारेतोदेखि बर्नहमसम्मका यथार्थवादी सिद्धान्तहरुको पाठ यही हो। 

आफ्नो कमजोरी प्रदर्शन र अरुको उपहास गरेर युद्ध निम्त्याउनुभन्दा अनैतिक काम कुनै छैन। त्यस्तै, जित्ने कोसिस नगरी र हारलाई पनि स्वीकार नगरी युद्धलाई अनन्तसम्म लम्ब्याउनु पनि उत्तिकै अनैतिक कार्य हो। जब कोही यस्तो काम गर्छ, अनि आक्रमकता र स्वार्थ नभएकोमा आफूलाई असल भनेर प्रशंसा गर्छ भने त्यहाँभन्दा नैतिक पतन केही हुँदैन।

सिरियामा ओबामाको व्यवहार होस् या युक्रेनमा बाइडेनको, अमेरिकाको तरिका उही छ। अमेरिकाको यस्तो व्यवहारले विदेशी विश्लेषकहरु भ्रान्त हुन सक्छन्। उदाहरणका लागि थुप्रै रुसी लेखक तथा विश्लेषकले रुसलाई अन्त्यहीन युद्धमा फसाउने षड्यन्त्रका रुपमा यसलाई व्याख्या गर्ने कोसिस गरेका छन्। कतिपयले भने यो ‘नियन्त्रित भद्रगोल’ सिर्जना गर्ने अमेरिकी सिद्धान्त भएको तर्क गरेका छन्। त्यस्तो अव्यवस्थामा अन्ततः सबैले हात झिक्छन् र सर्वव्यापी, सर्वशक्तिमान अमेरिका बिनाकुनै जोडबल विजयी हुन्छ। 

दुःखको कुरा, यी ज्यादा तार्किक व्याख्या भए। कुनै बेतुकको नीतिलाई सही साबित गर्न अलि बुद्धु अमेरिकी कर्मचारीले दिने तर्कजस्तो। यसको मनोवैज्ञानिक व्याख्या बढी उपयुक्त छ।

युक्रेनलाई आत्मरक्षाका लागि पर्याप्त हतियार दिन नमान्ने पश्चिमा नेताहरुको हातमा हजारौँ युक्रेनीको रगत लागेको छ भनेर युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले भन्दा उनी सही थिए। किभले लज्जित तुल्याएर बाइडेन प्रशासनलाई थप हतियार दिन बाध्य बनायो। तर, युक्रेनले जित्नु खतरनाक हुन्छ भन्ने बाइडेन प्रशासनको दृष्टिकोण भने बदलिएन। यसले हरेक चरणमा हतियार किन कम र ढिला आयो भन्ने स्पष्ट पार्छ। 

यो युद्धमा बाइडेनभन्दा बढी दोषी व्यक्ति पुटिन मात्रै हुन्।

यो नीतिले युक्रेनमाथि पहिलो पटक आक्रमण निम्त्याएको होइन। यसअघि ओबामा प्रशासनले २०१४ मा पनि युक्रेनलाई आत्मरक्षाका लागि घातक हतियार नदिएर त्यस्तै काम गरेको थियो। उही तर्क र उही वक्तव्यबाजीले अमेरिकाले चाल्नसक्ने जुनसुकै कदमबाट उत्तेजित हुने विशेषाधिकार रुसलाई प्रदान गर्यो। उही विदेश नीति टोलीले अहिले त्यही तर्क दोहोर्याइरहेको छ। नतिजाः रुसले फेरि आक्रमण गर्यो।

भाग्यवश चीनको हकमा नीति उस्तै छैन। संसद् र प्रेसले बाइडेनलाई ताइवानप्रतिको रणनीतिक अस्पष्टतामा दृढ रहन बाध्य बनाए। तर दुर्भाग्यवश, तरिका उस्तै छः कडा बयानबाजी र कमजोर व्यवहार। 

केही प्रतिबन्ध हटाउने। ट्रम्पले लगाएका कर हटाउने कुरा गर्ने। हाम्रो व्यवहारले सी चिनफिङ उत्तेजित हुनु स्वाभाविक रहेको सार्वजनिक रुपले बताउने। त्यसो गर्न सीलाई उक्साउने। हामीले यो वा त्यो गर्दा उक्साएको दोष हामीलाई आउने कुरा सार्वजनिक रुपले बताउने।

अर्कोतिर साँच्चै उत्तेजक गतिविधि गर्नेः जथाभावी लोकतन्त्रको कुरा गरेर चीनको बेइज्जत गर्ने। ‘समिट फर डेमोक्रेसी’ मा ताइवानलाई निम्त्याउने। जसले बाइडेनको व्यक्तिगत अहं तुष्टि गर्नेबाहेक कुनै उदेश्य पुरा गर्दैन। जहाँ उनी मित्रहरुको प्रशंसा गर्छन्, शत्रुहरुको बेइज्जती। लोकतान्त्रिक मूल्य वृद्धि गर्ने बाचासहित चुनावी अभियान चलाउने। त्यसको जस सञ्चारमाध्यमबाट लिने। विश्वभर लोकतन्त्र र तानाशाहीबीच अन्तिमसम्म संघर्षको कुरा गर्ने। जसका कारण वास्तविक मित्र गुमाउने। र शत्रुलाई धम्की दिने तर केही नगर्ने।

खतरनाक प्रतिक्रिया चाहनेले यहाँभन्दा अचूक काम केही गर्नुपर्दैन। 

तपाईं शान्ति चाहनुहुन्छ र आत्मसमर्पण गर्न इच्छुक हुनुहुन्न भने युद्ध निम्त्याउन छाड्नुहोस्। आक्रमणलाई निरोध गर्नुहोस्। आफ्नो बोलीबचन नियन्त्रण गर्नुहोस्। शीतयुद्धमा दशकौँसम्म हामीले जे गर्यौँ, त्यही गर्नुहोस्– युद्धका लागि तयारी गर्नुहोस्, आक्रमण भए उत्तिकै वा त्योभन्दा बढी शक्तिका साथ जवाफ दिनसक्ने गरी पर्याप्त हतियार राख्नुहोस्। शत्रुले धम्क्यायो भने उसलाई पनि उत्तिकै मात्रामा धम्क्याउनुहोस्। अनावश्यक वक्तव्यबाजी गरेर धम्की नदिनुहोस्। सभ्य र शान्त तरिकाले लोकतान्त्रिक मूल्यको प्रबद्र्धन गर्नुहोस्। थुप्रै मुलुकहरुको यथार्थ सीमालाई बुझ्नुहोस्। 

निरोध रमाइलो काम होइन। यो हामीले सोचेजस्तो सुरक्षित छँदै छैन। तर, निष्क्रिय भएर युद्ध निम्त्याउनुभन्दा निरोधको उपाय खोज्नु बढी सुरक्षित र नैतिक हुन्छ। यसमा झुटो निर्दोषिता हुँदैन। हाम्रो स्वार्थ लाद्नु र जिम्मेवारी लिनुको दोष यसले स्वीकार गर्छ। यो हाम्रो अनन्त लक्ष्य होइन। बरु, आज संसार जस्तो छ, त्यसमा रहन यो आवश्यक छ।

(नेसनल इन्ट्रेस्टबाट। आइरा स्ट्रस सेन्टर फर वार÷पिस स्टडिजका प्रमुख हुन्)

साउन २५, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad