ad ad

विचार


किन कमजोर छ चीनको नरम शक्ति?

किन कमजोर छ चीनको नरम शक्ति?

डा. बुद्धिप्रसाद शर्मा
साउन १७, २०७९ मंगलबार ११:५४, काठमाडौँ

सन् २०१६ को मध्यतिर विद्यावारिधिका लागि चीनको बेइजिङ पुगेको थिएँ। त्यहाँ पुगेको दुई महिनापछि विश्वविद्यालयले हामीसहित विभिन्न मुलुकका विद्यार्थीलाई बेइजिङको एक सम्मेलनमा सहभागी हुन आग्रह गर्यो। 

कार्यक्रम समापनपछिको दिवाभोज समयमा राजनीतिशास्त्रका एक चिनियाँ प्राध्यापकले प्रश्न गरे, ‘तपाईंहरु अध्ययनका लागि भर्खर चीन आउनु भएको छ। आफ्नो मुलुकमा एउटा हैसियत बनाउनु भएको रहेछ, यसको म सम्मान गर्दछु। कृपया तपाईंहरु चिनियाँ कलाकार, लेखक, गीत, गायक/गायिका, फिल्म एवं परिकारको एक मात्र भए पनि नाम भन्न सक्नुहुन्छ?’ 

चीनका छिमेक तथा विश्वका विभिन्न मुलुकहरुबाट बेइजिङ पुगेका हामी कसैले पनि तीमध्ये केहीको नाम भन्न सकेनौँ। त्यसपछि चिनियाँ प्राध्यापकले चिन्ताग्रस्त मुस्कानका साथ भने, ‘चीनले शीघ्र आर्थिक समृद्धि हासिल गरे पनि अझै बाँकी विश्वले हामीलाई विशेष रुपमा चिन्न सकेको छैन। हाम्रो नरम शक्ति विश्वका धेरै साना र कमजोर मुलुकहरुको भन्दा पनि कमजोर छ। यसमा चिनियाँ सरकार गम्भीर हुनु जरुरी छ।’ 

सन् २०१२ को एक सम्बोधनमा तत्कालीन चिनियाँ राष्ट्रपति हु चिन्थाओले पश्चिमा विश्व नरम शक्तिमा निकै बलियो भएको तर चीन चाहिँ धेरै नै कमजोर भएको बताएका थिए। साथै, उनले चिनियाँ समाजमा पश्चिमा नरम शक्तिको प्रभाव बढ्दै जानु चिन्ताको विषय भएको उल्लेख गरेका थिए। 

चीन बसाइको अनुभवका आधारमा यस पंक्तिकारको निष्कर्ष के छ भने, ‘कडा शक्ति’ को विकासमा जति मेहनत गर्यो, त्यसको तुलनामा नरम शक्तिलाई विश्वमाझ परिचित गराउन चीनले आवश्यक समय, सामथ्र्य र लगानी गर्न सकेन। 

अहिले पनि बोली–व्यवहारबाट अरुलाई प्रभाव पार्ने क्षमता चिनियाँहरुमा निकै नै कम छ। चिनियाँहरु आफ्नो परिवारबाहेककालाई कमै विश्वास गर्छन्। यो प्रवृत्ति मित्रवत् सम्बन्ध र विश्वास निर्माणमा भयानक अवरोधक मानिन्छ। 

पंक्तिकारले केही समय काम गरेको एक चिनियाँ ‘थिङ्क ट्याङ्क’ मा आउने विदेशी पाहुनाहरुलाई कोअर्डिनेटरले असम्बन्धित पात्रहरुलाई डाइरेक्टर, इन्चार्जको रुपमा परिचय गराउँदा हामी विदेशीहरु मुसुमुसु हास्थ्यौँ। लाग्थ्यो, यदि हामी यहाँ पाहुनाको रुपमा मात्र आएको भए उक्त विश्वविद्यालय र गतिविधिका बारेमा दिइएको धेरै जानकारीहरु झुटा हुने रहेछन्। 

चीनले नरम शक्तिका लागि लगानी कम गरेको पनि पुरै सत्य होइन। नरम शक्तिको बढोत्तरीका लागि सन् २००६ यता लगानी र प्रयत्न भइरहेको छ। तैपनि चिनियाँ प्राध्यापकहरुकै भनाइ सापटी लिने हो भने चिनियाँ लगानी बालुवामा पानी खन्याएजस्तै भएको छ। कतिपय चिनियाँ विज्ञहरु चीन अन्य मुलुकहरुका लागि संकटको भरपर्दो मित्र हो भन्ने सन्देश नजाँदासम्म नरम शक्तिको प्रभाव कमै हुने टिप्पणी गर्दछन्। 

दोस्रो, आर्थिक शक्ति भइकन अन्तर्राष्ट्रिय मानवीय सहायता, शिक्षा, स्वास्थ्य, नागरिक समाज लगायतमा चीनको सहकार्य र सहयोग अझै नगण्य छ। चीन आर्थिक उद्देश्यमा मात्र बढी केन्द्रित हुन्छ भन्ने गम्भीर आरोप सर्वत्र देखिन्छ। 

बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई चीनले दमदार तरिकाले कडा तथा नरम दुवै शक्तिको रुपमा विश्वमाझ प्रस्तुत गरेको थियो। तर कोभिड हुँदै यहाँसम्म आइपुग्दा बीआरआईप्रति चिनियाँ अपेक्षा समेत कम हुँदै गएको देखिन्छ। 

यो पंक्तिकार सन् २०१८ को अक्टोबरताका सांघाइमा आयोजित एक फोरममा सहभागी थियो। रात्रीभोजका क्रममा हुनान प्रान्तबाट आएका एक चिनियाँ प्राध्यापकले गम्भीर हुँदै भनेका थिए, ‘चीनले बीआरआई अगाडि नबढाएको भए हुन्थ्यो, यो निकै महङ्गो साबित हुनेछ।’ 

हुन पनि धेरै मुलुकहरुमा बीआरआईका नाममा भएका बृहत् लगानीहरुले विभिन्न संकट उत्पन्न गरिरहेको मात्र होइन, चीनको छविसमेत धुमिल भइरहेको छ।   

नरम शक्तिका अध्येता प्राध्यापक जोसेफ नेका भनाइमा पुरानो सभ्यता र इतिहास भए पनि चीनले यसैको आडमा मात्र नरम शक्तिको प्रवद्र्धन गर्न असम्भव छ। उनको सुझाव छ, ‘पहिले घरभित्रैका प्रतिभाहरुलाई प्रस्फुटित गरी नागरिक समाजलाई अग्रपङ्तिमा ल्याउन सके मात्र नरम शक्तिमा गरिएको लगानीले काम गर्न सक्छ।’ 

तर चीनका लागि व्यावहारिक रुपमा यी दुवै सुझावको कार्यान्वयन सहज छैन। विश्वका सबै मुलुकका नागरिकहरुले आफ्नो मुलुक, इतिहास र संस्कृतिलाई महान, समृद्ध र उत्तम सम्झन्छन्। यस्तो सन्दर्भमा आफ्ना प्रयत्नबाट अरुको मन–मुटु जित्नु सामान्य कुरा होइन। 

चिनियाँहरु आफ्नो सभ्यता निकै पुरानो भएको दाबी त गर्दछन्। तर उनीहरुले यसप्रति आकर्षण प्रस्तुत गर्न सकिरहेका छैनन्। चुरो कुरा यहीँनेर छ।

पश्चिमाहरु नरम शक्तिका दृष्टिले बलियो हुनुको कारण उनीहरुले बाँकी विश्वलाई आकर्षित गर्न सफलता प्राप्त गर्नु हो। पश्चिमाहरुको नरम शक्तिलाई विश्व समुदायले थोरबहुत देख्न, बुझ्न र महसुस गर्न सकेको छ। 

विभिन्न अध्ययनहरुले पनि चीनको नरम शक्तिमा भएको लगानी र प्रयत्न न्यूनतम रुपमा समेत सन्तोषजनक नभएको देखाएका छन्। ‘पोर्टल्यान्ड कम्युनिकेसन’ र ‘यूएससी सेन्टर अन पब्लिक डिप्लोमेसी’ ले सन् २०१८ र २०१९ मा गरेको ३० राष्ट्रहरुको अध्ययनमा चीन २७ औँ स्थानमा थियो। ती अध्ययनका क्रममा संस्कृति, शिक्षा, सहकार्य, सरकार, डिजिटल, इन्टरप्राइजेज र जनमत लगायतलाई आधार बनाइएको थियो।  

कोभिड महामारीलाई लिएर पश्चिमा प्रोपोगान्डाको प्रतिकार गर्न नसक्दा चीनको अन्तर्राष्ट्रिय प्रतिष्ठामा धक्का पुगेको विश्लेषण गरिन्छ। डोनाल्ड ट्रम्प प्रशासनले आफ्ना कमजोरी लुकाउनकै लागि चीनप्रति कडा आक्षेपहरु लगाइरह्यो। पश्चिमा मिडिया एवं विश्लेषकहरुले त्यसलाई विश्वव्यापी बनाइदिए। ट्रम्पप्रति आलोचक मानिएका मिडियाले पनि चीनप्रति ट्रम्पको हुंकारमा भने खुलेरै साथ दिन्थे। 

वर्तमान जो बाइडेन प्रशासनले चिनियाँ नीतिमा ट्रम्पकै पाइला पछ्याइदिँदा चीनविरोधी प्रचारबाजी थप बढेर गयो र यो अझै जारी छ। सरकारी निकायहरुको अग्रसरता नै बढ्ता हुने भएकाले चीनमा नागरिक समाज कमजोर छ र चीनविरोधी प्रचारबाजीको जवाफ दिन जति सामथ्र्य नागरिक समाजसँग हुन्थ्यो, त्यो प्रयोग हुन पाएको छैन। 

चिनियाँ सामाजिक सञ्जालहरुमा चिनियाँ भाषामै चीनविरोधी पश्चिमा प्रचारबाजीको कडा आलोचना हुने गरेतापनि त्यसको प्रवाह बाँकी विश्वमा हुन नसक्ने भएकाले कोठामै चिच्चाएर बसेजस्तो मात्र भएको छ। कोभिड महामारी सुरु भएयता पश्चिमा मुलुकका सञ्चारमाध्यम, विज्ञ, प्राध्यापक एवं अनुसन्धानकर्ताहरुले विश्वमा विस्तारै प्रवाह हुँदै गरेको चिनियाँ नरम शक्तिलाई थप कमजोर बनाइदिएका छन्। 

चिनियाँ राजनीतिक प्रणाली वा दर्शनप्रति पनि विश्व समुदायमा खासै आकर्षण छैन। यो यथार्थलाई बुझेर नै चिनियाँ नेताहरुले चलाखीपूर्वक भन्दै आएका छन्, ‘हामीले अपनाउँदै आएको राजनीतिक मोडल अन्यत्र निर्यात गर्ने चीनको कुनै योजना छैन, हामी पश्चिमाहरुले जसरी राजनीतिक मोडल अन्य मुलुकमा थोपर्दैनौँ।’ 

अर्कोतर्फ विश्व समुदायलाई जोड्ने हेतुले ‘कमन डेस्टिनी’ को अवधारणा चीनले अगाडि सारे पनि ‘अ सेन्चुरी अफ ह्युमिलियसन’ को नाराले मुख्यगरी आर्थिक साझेदार मुलुकहरुलाई चिढ्याउने हुुँदा ‘कमन डेस्टिनी’ को अवधारणा विरोधाभासपूर्ण हुनपुगेको आलोचकहरुको भनाइ छ। ‘वुल्फ वारियर डिप्लोमेसी’ ले पनि चीनप्रति थप नकरात्मक मनोविज्ञान बढाएको स्वयं चीनका राजनीतिक अध्येताहरुले स्वीकारेका छन्।  

चीनले वर्षेनि विश्वभरबाट हजारौँ विद्यार्थीहरुलाई छात्रवृत्तिमार्फत् आफ्ना विभिन्न विश्वविद्यालयहरुमा अध्ययनको अवसर उपलब्ध गराउँदै आएको छ। चीनमा अध्ययन गर्नेमध्ये धेरैजसो विद्यार्थीले अंग्रेजी माध्यममै अध्ययन गर्ने गर्छन्। चिनियाँ भाषाका कक्षाहरु आवश्यक मात्रामा उपलब्ध पनि हुँदैनन्। यसले गर्दा २ देखि ६ वर्ष चीनमा अध्ययन गरेर स्वदेश फर्कंदासमेत अधिकांश विद्यार्थीहरु चिनियाँ भाषा बोल्न पोख्त हुँदैनन्। चिनियाँ अक्षर पढ्नु त परको कुरा।

अर्कोतर्फ, चीनबाट अध्ययन पुरा गरेकाहरुलाई चीनभित्रै जागिर लगायतका अवसर खासै नहुने र स्वदेश फर्किएपछि नयाँ ढंगबाट संघर्ष गर्नुपर्ने भएकोले चीनप्रतिको लगाव टुट्दै गएको देखिन्छ। चीनले नरम शक्तिको प्रबद्र्धनमा चीनमै अध्ययन गरेका विदेशी विद्यार्थीहरुको साथ नपाउनुको एउटा कारण विद्यार्थीहरुले ‘चिनियाँसँगको सहकार्यबाट ठोस लाभ हुँदैन’ भन्ने निष्कर्ष निकाल्नु पनि हो। 

नेपालमा पनि वर्षेनि दर्जनौँ विद्यार्थी चीनमा अध्ययन गरेर फर्किन्छन्। तर, उनीहरु चीनका सन्दर्भमा खुलारुपमा प्रस्तुत हुन खोजेका देखिँदैनन्। यसमा पनि आफूलाई ‘सकभर चिनियाँ ट्याग नलागोस्’ भन्ने सोचले काम गरेको छ। 

अर्काेतर्फ, नेपालस्थित अन्य मुलुकका दूतावासहरुले आफ्नो मुलुकमा अध्ययन गरी फर्केका नेपाली विद्यार्थीहरुलाई जसरी समेट्ने गरेका छन्, चिनियाँ राजदूतावासले आफ्नो मुलुकमा अध्ययन गरी फर्केका नेपाली विद्यार्थीहरुलाई त्यसरी समेट्न सकेको देखिँदैन। भारत तथा पश्चिमा मुलुकहरुले जसरी चीनले आफ्नो ‘पब्लिक डिप्लोमेसी’ लाई सबलरुपमा अगाडि बढाउन सकेको छैन।

यसमा चीनको आत्मकेन्द्रित र नाफा–घाटाको हिसाबमा चल्ने प्रवृत्ति नै प्रमुख कारक रहेको अन्तर्राष्ट्रिय राजनीतिका जानकारहरु बताउँछन्।

चीनको नरम शक्तिबारे छलफल हुँदा पंक्तिकारसँगको कुराकानीमा एक पाकिस्तानी प्राध्यापकले बेइजिङमा भनेका थिए, ‘चीनले अन्य राष्ट्रहरुसँग व्यवहार गर्दा हामी चिनियाँ हौँ भन्ने मनोविज्ञानमा सीमित नरही हामी तपाईंहरुको व्यावहारिक, विश्वासिलो र निकटतम मित्र हौँ भन्ने भावका साथ प्रस्तुत भए मात्र चीनको नरम शक्तिले आफ्नो ओज प्रवाह गर्न थाल्नेछ।’

दक्षिण एसियामा चिनियाँ नरम शक्तिको प्रभाव अझै कमजोर छ। पछिल्लो पटक ‘कन्फ्युसियस इन्स्टिच्युट’ लगायत निजीस्तरमा भाषा तालिम केन्द्र, चिनियाँ रेस्टुरेन्टहरु खुलेका त छन्। तर, यीप्रतिको आकर्षण खासै देखिएको छैन। 

अधिकांश दक्षिण एसियालीहरुमा मुख्यभूमि चीनको भन्दा बरु थोरै भएपनि चीनको स्वशासित क्षेत्र तिब्बतबारे जानकारी छ। मुख्यभूमि चीनको समाज, मानिसहरुको रहनसहन एवं प्रवृत्तिबारे उनीहरुमा निकै कम जानकारी रहेको देखिन्छ। 

दक्षिणपूर्वी एसियाली मुलुकहरुमा त चीनको भन्दा जापान र दक्षिण कोरियाकै प्रभाव बढी देखिछ। गीत–संगीत, फिल्म, खाना, व्यायाम, जीवन पद्धति लगायतका विषयमा चीनको तुलना जापान र दक्षिण कोरियासँग हुँदैन। चिनियाँ युवा–युवतीमाझ दक्षिण कोरियाली गीत–संगीत र रहनसहनको प्रभाव आगोझैँ फैलँदै गएको देख्न सकिन्छ। यसलाई चिनियाँ राष्ट्रवादले समेत रोक्न सकेको छैन। 

राजनीतिक विश्लेषक फरिद जकारिया भन्छन्, ‘चीन विश्वको पहिलो अर्थतन्त्र बन्यो भने पनि विश्वव्यापी प्रभाव र वर्चश्वको हिसाबले आउँदा कयौँ दशकसम्म अमेरिका नै अगाडि हुनेछ।’ 

‘चार्म अफेन्सिभः हाउ चाइनाज् सफ्ट पावर इज ट्रान्सफर्मिङ द वल्र्ड’ पुस्तकका लेखक तथा पत्रकार जोसुआ कुर्लान्जिकले चीनले अमेरिकाको नीतिगत कमजोरीहरुबाट धेरै कुरा सिके पनि आफूलाई विश्वमाझ प्रबलताका साथ प्रस्तुत गर्न अझै धेरै मेहनत गर्नुपर्ने बताएका छन्। अन्य मुलुकको हितका खातिर चीनले उदार रुपमा योगदान दिनुपर्ने उनको सुझाव छ। 

चीन मामिलाका अर्का जानकार प्राध्यापक डेभिड सामवाग भने ‘चीनले आर्थिक समृद्धिको अधिकतम प्रयोग गरेर नरम शक्तिलाई प्रबल गराउनु पर्ने’ सुझाव दिन्छन्। 

कोभिड प्रभावित विश्वलाई सहयोग गर्ने भन्दै चीनले ‘मास्क डिप्लोमेसी’ अगाडि बढाए पनि त्यसको सकारात्मक परिणाम देखिएन। यसको खास कारण कोभिड नियन्त्रणमा चीनले उपलब्ध गराएका उपकरण र अन्य वस्तुहरुभन्दा पश्चिमा मुलुकका उपकरण र वस्तुहरु बढी गुणस्तरीय एवं विश्वासिलो हुनु हो। नेपालमा पनि चिनियाँ खोपभन्दा अन्य देशहरुले उपलब्ध गराएका खोप नै लगाउन पाए हुन्थ्यो भन्ने जनमत बढी देखिन्थ्यो। 

‘चिनियाँ निकायहरुले विश्वका अन्य मुलुकका विश्वविद्यालय, अध्ययन केन्द्र, सामाजिक संस्थाहरु, थिङ्क ट्याङ्क लगायतका निकायहरुसँग व्यापक मात्रामा समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गर्ने भए पनि जब सहयोग आदानप्रदानको कुरा आउँछ, चिनियाँ निकायहरु कहीँकतै देखिँदैनन्। तर जब उनीहरुलाई आवश्यक पर्छ, तब मात्र सम्पर्क गर्छन्’ भन्ने गुनासो पनि छ। यो स्थितिले विश्वासको संकट पैदा गर्छ। साथसाथै एकअर्काप्रति भय र अविश्वासको स्थिति रहँदासम्म ठोस सहकार्यको वातावरण पनि बन्दैन।

जानकारहरुका भनाइमा डोनाल्ड ट्रम्पको ‘अमेरिका फर्स्ट’ को नाराले सारा विश्व चिन्तित भएको अवस्थामा चीनसँग विश्व सहकार्यलाई नयाँ शिराबाट अगाडि बढाउने अवसर थियो र चिनियाँ राष्ट्रपति सी चिनफिङको सन् २०१७ मा डाभोसमा आयोजित ‘वल्र्ड इकोनोमिक फोरम’ को प्रवचनले विश्वलाई उत्साहित पनि बनाएको थियो। तर त्यो अवसरलाई पनि चीनले सदुपयोग गर्न सकेन। बरु चीन झन्–झन् आत्मकेन्द्रित र आन्तरिक मामिलामा बढी रुमल्लिन थाल्यो। 

सन् २००८ को आर्थिक मन्दी समाधानमा चीनको सकारात्मक भूमिका र प्रयासले चीनको छवि विश्वमा नयाँ उचाइमा पुगेको थियो। त्यसबाट सिर्जित सकारात्मक छविलाई सदुपयोग गर्दै चीनले मित्र राष्ट्रहरुको विश्वास जितेर सन् २०१६ मा एसियाली पूर्वाधार विकास बैंकको स्थापनामा महत्वपूर्ण भूमिका खेलेको थियो।  

चीनको नरम शक्ति प्रबद्र्धनमा चिनियाँ सरकारी मिडियाको प्रभावकारिता पनि त्यति सकारात्मक देखिन्न। एक त चीनबाहेक बाँकी विश्वमा चिनियाँ मिडियाको प्रभाव एकदमै नगण्य छ। चीनको ‘गोइङ ग्लोबल’ रणनीति अनुसार मुख्यगरी सन् २००४ यता चिनियाँ सरकारले मिडिया लगायतका संयन्त्रहरुको व्यापक प्रयोग गरेको छ। तर, यो प्रयास पनि त्यति प्रभावकारी हुन सकेको देखिँदैन। 

यसको पछाडिको कारण बुझ्न समग्रमा ‘चिनियाँ ‘पब्लिक डिप्लोमेसी’ किन कमजोर बनिरहेको छ’ भन्ने विषयमा ध्यान दिनुपर्ने हुन्छ। तर सरोकारवाला चिनियाँ निकायहरुले असफलताबाट खास पाठ सिकेजस्तो लाग्दैन। 

निष्कर्षमा भन्नुपर्दा विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको नरम शक्तिको ओज अझै निकै कमजोर छ। यो स्थितिले चीनप्रतिको अविश्वास र आशंकालाई कायमै राख्नेछ। छिमेकी मुलुकहरुमा समेत चिनियाँ नरम शक्तिको प्रभाव अत्यन्त नगण्य हुनुले चीनको आजसम्मको प्रयत्न, लगानी र तरिकाले व्यावहारिक रुपमा नतिजा निकाल्न सकेको छैन। 

त्यसमाथि आफूलाई संकट आइपर्दा चीन आफ्नो नजिक छ भन्ने महसुस विश्व समुदायमाझ हुन पुग्यो भने मात्र विश्व समुदायमा चीनको ओज बढ्नेछ। अर्कोतर्फ जनस्तरको सम्बन्ध र आदान–प्रदानको प्रभावकारितामा पनि चिनियाँ प्रयास लगभग असफल छ। यस्तो यथार्थबाट पाठ सिकेर चीनले नयाँ शिराबाट विश्व समुदायलाई विश्वस्त पार्न सके मात्र चीनको नरम शक्तिले नयाँ उचाइ लिनेछ। 

कडा शक्तिको बढोत्तरीले मात्र कुनै पनि मुलुकको विश्वव्यापी आयतन र प्रभाव बढ्दैन, त्यसको लागि नरम शक्तिकै ओज बढाउनु पर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .