विचार


​आफ्नो पतन ढाकछोप गर्ने अमेरिकी रणनीति : बलियोसामु झुक, कमजोरलाई लात हान

​आफ्नो पतन ढाकछोप गर्ने अमेरिकी रणनीति : बलियोसामु झुक, कमजोरलाई लात हान

माइकल लिन्ड
असार २३, २०७९ बिहिबार ७:६, काठमाडौँ

अमेरिकाको विजयोन्माद फर्केर आएको छ। युक्रेनमा आक्रमण गर्दा भ्लादिमिर पुटिनले सामना गर्नुपरेको कठिनाइलाई प्रयोग गरेर अमेरिकी नेतृत्व, विश्वव्यापी लोकतन्त्रको संघर्ष र पश्चिमा एकतासम्बन्धी शीतयुद्धकालीन भाष्य ब्युँताइँदैछ। स्वतन्त्र विश्वको नेताका रुपमा अमेरिका एक पटक फेरि काठीमा सवार भएको छ!

दुर्भाग्यवश, युक्रेन युद्ध पुटिनले हार्छन् नै भन्ने अझै निश्चित भइसकेको छैन। शान्ति सम्झौता वा दीर्घकालीन गतिरोधको नतिजास्वरुप युक्रेनको ठूलो हिस्सा रुसको नियन्त्रणमा रह्यो भने जतिसुकै मूल्य चुकाउनु परे पनि पुटिन भूमि कब्जा गर्ने उदेश्यमा सफल ठहरिने छन्। यसअघि नै उनले क्रिमिया टुक्र्याएर लिइसकेका छन् भने जर्जियालाई नेटोबाहिर राख्न सफलतापूर्वक युद्ध पनि लडिसकेका छन्। फिनल्यान्ड र स्विडेन नेटोमा सहभागी हुने सम्भावना छ। त्यो मस्कोका लागि प्रतीकात्मक बेइज्जती हुनेछ। तर, यसै पनि यी कुनै पनि मुलुकसँग रुस युद्धमा होमिन गइरहेको थिएन।

विश्वस्तरमा युक्रेनमा आक्रमण गरेवापत रुसलाई सजाय दिने उदेश्यले नाकाबन्दी लगाउन अन्य मुलुकहरुलाई एकै ठाउँ ल्याउने अमेरिकी अभियान असफल भएको छ। जजसले रुसमाथि प्रतिबन्ध लगाए, ती मुलुकहरुमा अमेरिका र क्यानडा, युरोप, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र न्युजिल्यान्ड छन्। भारत, मेक्सिको र ब्राजिलसहित बाँकी विश्वले साथ दिन अस्वीकार गर्यो। एसिया, ल्याटिन अमेरिका, मध्यपूर्व र अफ्रिकाका धेरैजसो मुलुक यसमा सहभागी भएनन्। शीतयुद्धको यो दोस्रो संस्करणमा असंलग्न गठबन्धन फेरि देखा परेको छ।

युक्रेनमा चलिरहेको छद्म युद्धमा रुसको रगत ज्यादा बगाउन अमेरिकी संसदले हतियार आपूर्ति बढाउने अनुमति दिएको छ। तर, अन्यत्र विश्वका जुनसुकै स्थानमा अमेरिका एकपछि अर्को अपमानजनक रणनीतिक पराजयको शृंखला बेहोरिरहेको छ। 

दुई दशकको युद्धपछि वासिङ्टनले अचानक अफगानिस्तान तालिबानको जिम्मामा छाडिदियो। अफगानिस्तानको बहिर्गमन दक्षिण भियतनामको पतनभन्दा पनि भद्रगोल र लज्जाजनक थियो। सद्दाम हुसेनको अन्त्यपछिको इराकमा अमेरिकाको उपस्थितिको थुप्रै इराकीले विरोध गरिरहेका छन्। इराकी संसदले हालै इजरायलसँग सम्बन्ध राख्नेलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय दिने कानुन पारित गरेको छ। 

सिरियामा वासिङ्टनले बसर अल असदलाई पदच्यूत गर्न युद्ध छेडेको थियो। त्यसका बाबजुद उनी सत्तामा कायम छन्। अमेरिका र नेटोले मुअम्मर गद्दाफीलाई सत्ताच्यूत त गर्यो। तर, त्यसले लिबियामा भद्रगोल र खण्डीकरण पैदा गर्यो। तहरिर चोक सम्झना छ? इजिप्टमा सेना सत्तामा फर्केको छ। यही हो जर्ज डब्ल्यू बुसको विश्वव्यापी लोकतान्त्रिक क्रान्ति र बाराक ओबामाको अरब क्रान्तिको नतिजा।

अमेरिकाको प्रमुख महाशक्ति शत्रु चीन हो। बेइजिङका कतिपयले अमेरिकालाई कागजी बाघ ठान्ने गरेका छन्। अभावका कारण अमेरिकाले युक्रेनलाई ज्याभलिन र स्टिंगर क्षेप्यास्त्र थप आपूर्ति गर्न सकिरहेको छैन भन्ने समाचारले उनीहरुको यो विश्वासलाई पुष्टि गरेको हुनसक्छ।

रुसको जस्तै चीनको पनि भूमि कब्जा गर्ने प्रयास सफल भइरहेको छ। चीनले दक्षिण चीन सागरका टापुहरु कहिल्यै छाड्ने छैन। जहाँ उसले सफलतापूर्वक किल्लाबन्दी गरेको छ। भलै अमेरिकी नौसेनाले जतिसुकै पटक स्वतन्त्र समुद्री यात्राको अभ्यास किन नगरोस्। न त उसले उइगुरहरुमाथिको जबर्जस्ती चिनियाँकरण नै बन्द गर्नेछ।

क्वाडद्वारा चीन नियन्त्रित हुने कुरा हामीले पत्याइदिनु पर्नेछ। जहाँ अमेरिका, जापान, अस्ट्रेलिया र भारत सदस्य छन्। तर, चीन–भारत सीमामा भारतीय सैनिकलाई कुटपिट गरी ज्यान लिँदा समेत चीनले कुनै गम्भीर परिणाम बेहोर्नुपरेन। र, अस्ट्रेलिया तथा जापान दुवैको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीन नै हो। एकातिर चीनसँगको समन्वय गहिर्याउने, अर्कोतिर अमेरिकासँग मिलेर चीनविरोधी सैन्य योजनामा सामेल हुने काम गर्दा पनि अमेरिकाका सहयोगी मुलुकहरु यसमा कुनै विरोधाभाष देख्दैनन्। कुनै न कुनै विन्दुमा उनीहरुविरुद्ध चीनले कोर्रा झड्कार्नेछ।

उसो त अमेरिकाले पनि सबैभन्दा धेरै आयात चीनबाट गर्छ। र, पछिल्ला केही वर्षहरुमा चीनसँगको अमेरिकाको व्यापार घाटा बढ्दै गएको छ। 

पहिलो शीतयुद्धमा अमेरिका र उसका सहयोगी मुलुकहरुले सोभियत संघमाथि सबैथोक ठप्प हुने गरी प्रतिबन्ध लगाएका थिए। तर, अमेरिकी व्यवसाय र बैंकिङ क्षेत्रका अगुवाहरु चीन र पश्चिमको अर्थतन्त्रलाई अलग गर्ने पक्षमा छैनन्। अमेरिकाका सहयोगी मुलुकहरुको हाल पनि यही छ। चीनविरोधी आर्थिक युद्धमा अपनाइएको उपायहरुमा ट्रम्पले गरेको करवृद्धि र अमेरिकामै चिप निर्माण गर्ने कानुन पनि छन्। तर, ती उपायले मात्रै अमेरिका र उसका सहयोगीहरुको चिनियाँ उत्पादनमाथिको निर्भरता घटाउन सक्दैनन्। र, अमेरिकामा उत्पादन बढाउने यस्तै प्रभावहीन प्रयास पनि वाल स्ट्रिट, सिलिकन भ्याली र अमेरिकी च्याम्बर अफ कमर्सको लबिइङमा त्यागिने सम्भावना छ।

अर्कोतिर, चीन अमेरिका र उसका सहयोगी मुलुकलाई एकपछि अर्को गर्दै विश्व बजारबाट बाहिर धकेलिरहेको छ। २०१० मा अमेरिकालाई उछिनेर चीन विश्वको सबैभन्दा ठूलो उत्पादक बन्यो। २०२१ मा दक्षिण कोरियालाई उछिनेर चीन विश्वको सबैभन्दा ठूलो पानीजहाज निर्माता बन्यो। विश्वमा उत्पादन हुने गैरसैनिक ड्रोनमध्ये ७० प्रतिशत चीनको एउटै कम्पनी डीजेआईले बनाउँछ। विश्वभरको औद्योगिक क्षेत्रमा प्रयोग हुने रोबोटमध्ये एक तिहाई चीनमा बन्दछन्। यसको सबैभन्दा ठूलो बजार पनि चीन नै हो। सम्भवतः केही समयपछि चीनले हवाई र अटोमोबाइलको क्षेत्रमा पनि अमेरिका, युरोप र जापानलाई चुनौती दिन सक्छ।

हामी जता हेरौँ, त्यतै अमेरिका पछि हटिरहेको, पराजित भइरहेको वा गतिरोधमा फसेको देख्न सक्छौँ। त्यो सैन्य क्षेत्रमा होस् वा व्यापार तथा औद्योगिक उत्पादनको क्षेत्रमा। साइगन पतनपछि इराक र लिबियाको सैन्य विजयबाहेक अमेरिका र उसका सहयोगीले दीर्घकालीन सैन्य र भूराजनीतिक विजय हात पारेको युरोपमा मात्रै हो। त्यसमध्ये एक विजय लालसेनाको कब्जाबाट बिनारक्तपात पूर्वी युरोपको मुक्ति थियो। त्यसरी मुक्त भएका धेरैजसो मुलुक नेटोमा सहभागी भए। अर्को थियो, युगोस्लाभ युद्धमा सर्बियाको पराजय। 

धाकधम्की र सम्झौताका माध्यमबाट विपक्षीलाई कमजोर तुल्याएर जित हात पार्ने चिनियाँ तरिकाको दक्षिण चीन सागरमा अमेरिकाले प्रतिरोध गर्न सकेन। त्यस्तै मध्यपूर्व र उत्तर अफ्रिकामा हात पारेको क्षणिक सैन्य विजयलाई दीर्घकालीन कूटनीतिक विजयमा बदल्न सकेन। त्यसकारण अमेरिकी विदेश नीतिले युरोपमा मात्रै सफलता पायो।

कार्यालयको तहगत प्रणालीमा काम गर्ने विषयमा जर्मनहरुमाझ एउटा उखान प्रचलित छः ‘अगाडि झुक, पछाडि लात हान।’ आफ्नो तीव्र पतनलाई ढाकछोप गर्न अमेरिकाले अपनाएको वास्तविक विश्व रणनीतिको राम्रो व्याख्या हो यो उखान। अमेरिकाले शक्तिशाली र उदाउँदो चीनलाई व्यवहारतः थुम्थुम्याउने र सर्बिया, इराक, सिरिया, लिबिया र अहिले निकै खुम्चेको रुसजस्ता कमजोर मुलुकसँग लड्ने तरिका अपनाएको छ। 

विश्वको व्यापार र कूटनीतिमा अमेरिका पतनोन्मुख शक्ति हो। तर, आफ्नो उत्तर अमेरिकी र युरोपेली प्रभावक्षेत्रमा अमेरिकाले अझै प्रभुत्व अभ्यास गर्न सक्छ र अतीतको गौरवमा फेरि बाँच्न सक्छ।

(नेसनल इन्ट्रेस्टबाट। माइकल लिन्ड लिन्डन बी जोनसन स्कुल अफ पब्लिक अफेयर्सका प्राध्यापक हुन्। उनी ‘द न्यु क्लास वार’ पुस्तकका लेखक पनि हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .