विचार


आधुनिक इतिहासकै खुनी द्वन्द्वमा दरिँदैछ युक्रेन युद्ध

आधुनिक इतिहासकै खुनी द्वन्द्वमा दरिँदैछ युक्रेन युद्ध

पौल पोस्ट
असार १४ , काठमाडौँ

युक्रेनमाथि रुसको आक्रमण पाँचौँ महिनामा प्रवेश गर्दैछ। र, युद्ध रोकिने कुनै संकेत देखिँदैन। भीषण लडाइँ पूर्वी भागमा सरेको छ। लुहान्स्क क्षेत्रमा रुसको प्रगतिलाई ‘धीमा’ भनेर चित्रित गरिँदैछ। तथापि, पूर्वी क्षेत्रका सहरहरु रुसले कब्जा गर्दैछ। अर्कोतिर, पश्चिमा हतियारले सुसज्जित युक्रेनीहरु दक्षिणी सहर खेर्सन कब्जा गर्ने कुरा गरिरहेका छन्। जुन सहर युद्धको सुरुमा रुसले कब्जा गरेको थियो। 

अमेरिकाको ध्यान भने सो युद्धबाट हटेर आन्तरिक मामिलामा केन्द्रित भएको छ। त्यसैले युक्रेन युद्धलाई नजरअन्दाज गर्न सजिलो हुनसक्छ। तर, युक्रेनको युद्ध गत दुई सय वर्षका सबैभन्दा रक्तपातपूर्ण युद्धमध्ये एक बन्दैछ। त्यस्तै, यो युद्ध दुई महाशक्तिबीचको भिडन्त होइन, ‘मात्र’ छद्म युद्ध हो भन्ने दृष्टिकोणले पनि यो यसको नतिजालाई कम आँक्न सक्छ। तर, जुन दरले सैनिकहरु मारिइरहेका छन्, त्यो आधुनिक युगका युद्धहरुको दरभन्दा निकै उच्च छ। त्यसमाथि दुवै पक्ष जोसिएर युद्धमा होमिइरहेका छन्। यसको अर्थ के हो भने यो युद्ध सबैभन्दा धेरै रक्तपात भएका संग्रामहरुको सूचीमा माथि चढ्दै जानेछ।

२० औँ शताब्दीका दुई विश्वयुद्धका सामुन्ने युक्रेन युद्ध अत्यन्त सानो देखिन सक्छ। विश्वयुद्धमा करोडौँ सैनिक र गैरसैनिक मारिए। तर, ती यस्ता विकराल घटना थिए, जसले अन्तर्राष्ट्रिय द्वन्द्वसम्बन्धी हाम्रो बुझाइलाई नै बंग्याइदिएका थिए। सन् १८१६ देखिका युद्धसम्बन्धी तथ्यांकहरु अध्ययन गर्दै आएको द कोरिलेट्स अफ वार प्रोजेक्ट नामक प्राज्ञिक संस्थाले अझ बृहत् तस्बिर देखाउँछ। यो प्रोजेक्टले दुई अलग राज्यका सशस्त्र बलबीच १२ महिनाको अवधिमा एक हजार जनाको ज्यान जानेगरी भएको लडाइँलाई युद्ध भनेर परिभाषित गरेको छ। सो प्रोजेक्टअनुसार औसत युद्धमा दैनिक ५० सैनिकको मृत्यु हुने गरेको छ भने त्यस्तो युद्ध औसतमा एक सय दिनमा अन्त्य हुने गरेका छन्।

तथ्यांकअनुसार ठूला २५ प्रतिशत युद्धहरुमा दैनिक दुई सय सैनिकको ज्यान जाने गरेको छ। रुस–युक्रेन युद्धले सो थ्रेसहोल्ड पार गरिसकेको छ। 

मे महिनाको अन्तिममा बेलायती गुप्तचर निकायका अधिकारीहरुले रुसले १५ हजार सैनिक गुमाएको अनुमान गरेका थिए। त्यस हिसाबले दैनिक डेढ सय रुसी सैनिक मारिएका हुनसक्छन्। यद्यपि वास्तविक संख्या पत्ता लगाउन कठिन छ। अर्कोतिर युक्रेनको सरकारले दैनिक दुई सय सैनिक गुमाएको स्वीकारेको छ। युक्रेनी सैनिकको क्षतिलाई गणना गर्दा मात्रै पनि यो युद्ध ठूला रणसंग्रामहरुको सूचीमा चढ्छ। 

रुस–युक्रेन युद्धले १८१६ यताको औसत युद्धको लम्बाइ (एक सय दिन) पनि पार गरिसकेको छ। र, युद्ध अन्त्यको कुनै संकेत देखिनुको साटो हरेक लक्षणले शत्रुता बढिरहेको देखाउँछन्। रुस सैन्य उपलब्धिका लागि ठूलो क्षति बेहोर्न इच्छुक देखिन्छ। रुसको युद्ध लड्ने इतिहासदेखिको तरिकासँग यो मिल्दोजुल्दो छ। 

सैनिक र हतियारको संख्यामा युक्रेन कमजोर छ। जसले युद्धलाई छोट्याउन मद्दत गर्थ्यो। तर, युक्रेनले बाहिरबाट, खासगरी नेटोबाट निरन्तर हतियार प्राप्त गरिरहेको छ। यी दुवै पक्षको मेलजोलले प्रतिद्वन्द्वीलाई कमजोर तुल्याएर युद्ध जित्ने रणनीति अपनाइने संघर्षण युद्ध (वार अफ एट्रिसन) लाई जन्म दिएको छ। जसमा लामो दुरीबाट बमवर्षा र भीषण आक्रमण हुने गर्छ। यस्तो युद्ध लामो समयसम्म चल्ने गर्छ।

सुरुको लक्ष्य जेसुकै भए पनि रुसले अहिले युक्रेनको दक्षिणी र पूर्वी भूमिमा पकड कायम गर्दैछ। तर, युक्रेनले भने आफ्नो सम्पूर्ण भूमिबाट रुसलाई लखेट्ने योजना घोषणा गरेको छ। कब्जा गरेको क्षेत्रबाट रुसी सेनालाई हटाउनु युक्रेनका लागि निकै कठिन काम हो। त्यसले प्रत्याक्रमण गर्ने पक्षलाई भारी क्षति हुनसक्छ। यसको अर्थ युक्रेनले आफ्नो लक्ष्य फेर्नुपर्छ भनेको होइन। त्यो युक्रेनले निर्णय गर्ने कुरा हो। न त रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्नो इज्जत जोगाउन दिनुपर्छ भन्ने तर्क नै हो यो। बरु  युक्रेन युद्धलाई नियालिरहेका हरेकका लागि यो लामो र रक्तपातयुक्त युद्धका लागि तयार रहन दिइएको चेतावनी हो।  

वार प्रोजेक्टको तथ्यांकअनुसार ठूला २५ प्रतिशत युद्ध १३ महिना वा त्योभन्दा बढी लम्बिन्छन्। सैन्य विश्लेषकहरु युक्रेन युद्ध त्यति नै लामो हुने आकलन गरिरहेका छन्। दुवै पक्ष पूर्वी युक्रेनमा २०१५ देखि नै छिपछिपे द्वन्द्वमा सहभागी थिए। त्यसैले पनि यो युद्ध तीन वर्ष लम्बिन सक्छ भन्ने आकलन गर्न कठिन छैन। दुई सय वर्षमा लडिएका युद्धमध्ये १० प्रतिशतले मात्र तीन वर्ष पुरा गरेका छन्।

युद्धमा जम्मा कतिको ज्यान जान्छ भन्ने कुरा स्वाभाविक रुपमा दैनिक कति मारिन्छन् र युद्ध कति लम्बिन्छ भन्नेमा निर्भर हुन्छ। अन्तर्राष्ट्रिय युद्धहरुमा ज्यान गुमाउनेहरुको बीचको संख्या (मध्यिका) ८ हजार हुन आउँछ। ठूला २५ प्रतिशत युद्धमा भने कम्तीमा २८ हजार सैनिक मारिएका छन्। त्यसहिसाबले मे अन्तिमदेखि नै युक्रेन युद्ध ठूला २५ प्रतिशत युद्धमा प्रवेश गरिसकेको छ। यही गतिमा जाने हो भने एक वर्षभित्रमा एक लाख २५ हजार सैनिकको मृत्यु हुनेछ। त्यो भनेको ८० प्रतिशत युद्धभन्दा माथि हो।

मेक्सिको र अमेरिकाबीचको युद्धमा १९ हजार मारिएका थिए। जबकि त्यो युद्ध दुई वर्षसम्म चलेको थियो। युक्रेन युद्धले मृत्युको हिसाबमा १९१३ को बाल्कन युद्धलाई भेट्न लागेको छ। पहिलो विश्वयुद्धअघि भएको सो युद्धमा ६० हजारको ज्यान गएको थियो। 

यदि युक्रेन युद्ध २०२३ को सुरुवातसम्म जारी रह्यो भने यसले मृतक संख्यामा इथियोपिया–एरिटेरा युद्धलाई उछिन्न सक्छ। १९९० को दशकको अन्त्यमा सुरु भएको त्यो युद्ध दुई वर्ष चलेको थियो। जसमा एक लाख २० हजारको ज्यान गएको थियो। 

त्यस्तै यो युद्ध दोस्रो वर्षसम्म जारी रह्यो र मृतक संख्या दुई लाख नाघ्यो भने गएको दुई सय वर्षमा भएका युद्धमध्ये सबैभन्दा ठूला १० प्रतिशत युद्धमा यो प्रवेश गर्नेछ। ती १० प्रतिशतमा फ्रान्स–प्रसिया युद्ध (दुई लाख ४ हजार मृत्यु) र १९ औँ शताब्दीको क्रिमिया युद्ध (दुई लाख ६० हजार मृत्यु) छन्। क्रिमिया युद्ध नेपोलियनको युद्ध र पहिलो विश्वयुद्धको बीचमा युरोपमा लडिएको सबैभन्दा ठूलो युद्ध थियो।

नेटो र रुस प्रत्यक्ष द्वन्द्वबाट बच्न सफल भए भने पनि युक्रेन युद्ध गएको दुई सय वर्षका सबैभन्दा घातक युद्धमध्येमा पर्नेछ। नेटो र रुस आमनेसामने भएसानै भए पनि आणविक हतियार प्रयोग हुने खतरा छ। हालसम्म दुवै पक्षले प्रत्यक्ष द्वन्द्वको छाप पर्न नदिन होसियारी देखाएका छन्। तर, त्यो कायम रहला? राजनीतिशास्त्री र तथ्यांकशास्त्री बियर ब्राउमूलर र माइकल लोपेटले लेखेझैँ युक्रेनी सेनालाई नेटोको सहयोग बढाउनुपर्छ भनेर तर्क गर्नेहरुले ‘युद्धले कति सजिलै र कति चाँडै चकित पारिदिने खालको घातक रुप लिन सक्छ भन्ने बुझ्न जरुरी छ।’ 

पक्कै पनि ऐतिहासिक मापदण्डअनुसार युक्रेन युद्धको क्षति अहिले नै उल्लेखनीय भइसकेको छ।

(वासिङ्टन पोस्टबाट। पौल पोस्ट युनिभर्सिटी अफ सिकागोका राजनीतिशास्त्र विषयका उपप्राध्यापक हुन्)
 

असार १३, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:n[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.