ad ad

विचार


बाराको विकास र राजनीति : विमानस्थलदेखि जंगलसम्म

राणाकालीन मौजा, गणतन्त्रकालीन उपेक्षा
बाराको विकास र राजनीति : विमानस्थलदेखि जंगलसम्म

डा. शोभाकर पराजुली
जेठ ३०, २०७९ सोमबार ७:४०, काठमाडौँ

बारा जिल्ला नेपालका उद्योगहरुको राजधानी हो। यो जिल्लाले यस्तो पहिचान लिने हैसियत राखे पनि लामो समयसम्म यो जिल्ला लघुताभाषमा बाँच्यो। वीरगञ्जको ऐतिहासिक अग्लोपनले बाराको मुक्त छविलाई ओझेलमा पारिरह्यो।

आज पनि अन्तर्राष्ट्रिय विमानस्थल लगायत बारा जिल्लासँग जोडिएका केही ठूला आयोजनाहरुले राष्ट्रिय स्तरको चर्चा पाए पनि आम मान्छेको जीवनस्तरमा यो जिल्ला नेपालका बहुसंख्यक जिल्लाभन्दा पछाडि नै छ।

एकातर्फ उद्योगहरुको राजधानी, अर्कोतिर यहाँका बासिन्दाको ठूलो हिस्सा निम्नस्तरमा बाँच्न बाध्य छ। यो विरोधाभाषको अवस्था किन भयो? रिक्तता कहाँनिर छ? जानुपर्ने कहाँ थियो? कहाँ अल्मलियो? बाराली जनताको उन्नतिका तगाराहरु के हुन्? यो जिल्लाले विकास सूचकांकहरुमा कसरी फड्को मार्न सक्छ? यहाँका निर्वाचित जनप्रतिनिधिहरुले यस्ता सरोकारका विषयलाई सम्बन्धित निकायमा कति गुरुत्वपूर्ण ढङ्गले उठाउँदै आए? यस्ता अनेकौँ प्रश्नहरु छन्, जो यहाँका नागरिकको मनमा छ।

बारा जिल्लाको भौगोलिक अवस्थिति गज्जबको छ। नेपालको आर्थिक राजधानी वीरगञ्जलाई आजपर्यन्त बाँकी नेपालसँग जोड्ने प्रवेशद्वार हो बारा। यो जिल्ला भएर नै वीरगञ्ज पूर्व–पश्चिम राजमार्गसँग जोडिन्छ। वीरगञ्जको हवाईमार्ग बाराको सिमरा नै हो। ‘वीरगञ्ज क्षेत्र’ भनेर दाबी गरिएका औद्योगिक करिडोरका बहुसंख्यक उद्योगहरु बारा जिल्लामै छन्।

बहुराष्ट्रिय कम्पनी, राष्ट्रिय कम्पनी वा साना उद्योगहरु सबै यहाँ छन्। नेपालमा औद्योगिकीकरणको प्रारम्भ र खुला उदार प्रतिस्पर्धात्मक नीति आत्मसात् गरेपछि फड्को मार्दै आएको उद्योग विकासक्रमको केन्द्रविन्दु बारा नै बन्यो।

बारा जिल्लामा यत्रा उद्योगहरु हुदाँहुँदै उद्योग र समुदायका बीचमा दुरी छ। समुदायले हेर्छ–उसको खेत खलिहानमा हेर्दाहेर्दै उद्योग ठडियो। तर, त्यो उद्योगले अपेक्षित आर्थिक रुपान्तरण यहाँको सामाजिक जीवनमा ल्याउन सकेन। कतिपय ठाउँमा उद्योगहरु पर्यावरणमैत्री छैनन् भन्ने गुनासो छ।

यता उद्योगीहरुसँग पनि समुदायका नाममा अनाहक किचलो थप्ने बिचौलियाहरु फस्टाउनु र उद्योगमैत्री वातावरण निर्माण हुन नदिने जस्तादुखेसो छन्। यहाँ असल औद्योगिक सम्बन्धको खाँचो छ। न त उद्योगहरु मरुन् न त समुदाय नै सुक्दै जाउन्। यस्तो सन्तुलित दृष्टिको खाँचो छ। यहाँ मजदुरलाई उचालेर उद्योगीहरुलाई तर्साउने वा उद्योगका मतियार बनेर समुदायलाई कजाउने नेताहरु नै बढी भए।

राणाकालदेखि नै बारा जिल्ला मौजाको रुपमा रह्यो। काठमाडौँका शासकका लागि अन्न र कर उठाउने ठाउँ रह्यो। जब वीरगञ्जदेखि अमलेखगञ्जसम्म रेल चल्यो, त्यसको ठूलो हिस्सा बारा जिल्लामै थियो।

अमलेखगञ्ज तराई भएर काठमाडौँ जाने बाटोको एउटा मुख्य बजार थियो। यो ठाउँ कम गुलजार थिएन। मकवानपुरका पुरानो बजार भीमफेदीसम्म नजिकको दुरीमा रहेको अमलेखगञ्ज प्रसिद्ध चुरियामाईको मन्दिर भएको क्षेत्र हो।

अमलेखगञ्जले विकासका अनेकौँ सम्भावनाहरु बोकेको छ। तर यसबारे कहिल्यै पनि खुला बहस भएन। जीतपुर, सिमरा र अमलेखगञ्ज छोटो दुरीमा रहेका बजार हुन्। यी तीन वटै ठाउँका अलग विशेषता छन्। जीतपुरको प्रमुख सामर्थ्य भनेको व्यवसाय हो। सिमराको विशेषता भनेको पर्यटन र होटल व्यवसाय हो। उसो त परवानीपुरदेखि त्रिभुवन राजपथवरिपरि उद्योगहरुको लामो श्रृङ्खला नै छ।

सिमरामा सात दशकपहिला विमानस्थल बन्यो। तर, अझै यो विमानस्थललाई बढी सुविधायुक्त र ठूला जहाजहरु अवतरणको अनुकूल बनाउन सकिन्छ। कम समय र कम खर्चमा सिमरा आन्तरिक उडानको क्षेत्रमा उच्चस्तरको विमानस्थल बन्न सक्छ। यसका लागि जति प्रयत्न हुनुपर्ने हो, त्यो भइरहेको छैन। सिमरा विमानस्थलको विस्तारको मागलाई कसको राजनीतिले छेकेको छ? कुहिरोले कहाँनिर ढाकेको छ? सिमरा विमानस्थलको पूर्वाधार विकासको कुरा गर्न किन कोही तर्सिन्छ?

सबै सहर वा क्षेत्रका आ–आफ्नै विशेषता हुन्छन्। हरेकले आफ्ना सामर्थ्यका अनुकूल सम्भावनाहरुको खोजी गर्न पाउनुपर्छ। आज सिमरा विमानस्थल विस्तार भयो भने यसले नेपालको आन्तरिक उडानमा क्रान्ति नै ल्याउनेछ। सिमराबाट अन्य सम्भावनाका ठाउँहरुसँग घरेलु उडान गराउन सकिन्छ।

विकासका लागि पहिला सपना देख्नुपर्यो। सपनाका लागि सम्भावना बुझेको नेतृत्व चाहिन्छ। जुन नेतृत्वले आफ्नो क्षेत्रको मौलिकता, विशेषता र उर्वरतालाई बुझ्न सक्दैन, उसले गतिलो सपना पनि देख्न सक्दैन। बारा जिल्लाको कुनै एउटा क्षेत्रको विकास अर्को क्षेत्रको विकाससँग जोडिएको छ। सिमराको विकास सिमरौनगढसम्म जोडिएको छ। प्रसौनीको विकास जीतपुरसँग जोडिएको छ। परवानीपुरको विकास कोल्हवी, गञ्जभवानीपुरसँग जोडिएको छ। यो कसरी जोडिएको छ वा कसरी जोड्न सकिन्छ? यो नेतृत्वले हेर्ने दृष्टि वा उसले रच्ने सपनाको सृष्टिमा भर पर्छ।

यहाँ कहिले कलैयाविरुद्ध सिमराको राजनीति गरियो। कहिले सिम्रौनगढ र निजगढबीच प्रतिस्पर्धाको तुस छरियो। अबको समयमा एउटा सहरसँग अर्को सहरलाई जुधाएर सहरहरुको विकास हुन सक्दैन। समतामूलक विकासको पहिलो सर्त हो– आपसी समन्वय, आन्तरिक समझदारी।

कुनै बखत बारा जिल्लालाई तराईको हुम्ला भनेर कोही नेताविशेषले आफ्नो राजनीति चम्काए। तर, बाराको विकासमा लागि आधारभूत रुपमा के, कहाँ, कसरी गर्नुपर्ने हो, त्यो गर्न सकेनन्। कहिले उत्तर–दक्षिणको राजनीतिको कुरा गरियो। यसरी एक–अर्काे क्षेत्रसँग दुरी वा निषेध राखेर पनि दिगो विकास हुन सक्दैन।

यहाँ कोही वन फडाँनी गरेर विकासको सूर्य उदाओस् भन्ने चाहन्छन्। त्यो पनि भएन। चारकोसे झाडीको थोरै अंश बारा जिल्लामा मात्रै बाँचेको छ। बाराको वन मासियो भने यहाँका उर्वर खेतहरु बालुवाकरण हुन्छ। पानीको संकट गहिरिँदै जान्छ। त्यसैले वातावरणमैत्री विकास चाहिएको छ। चुरे वा जंगलको दोहन नगरेर पनि वैकल्पिक विकास के हुन सक्छ? त्यसका लागि सोच्नुपर्ने बेला आएको छ।

बारा जिल्लाको ठूलो विशेषता भनेको यहाँको बसोबासमा विविधता हो। विविधतायुक्त समाजले आफैँमा ठूलो आर्थिक सामर्थ्य राख्छ। जनशक्तिको अपार सम्पदालाई आर्थिक–सामाजिक रुपान्तरणमा कसरी फेर्ने? अब त्यसको राजनीति हुनुपर्छ। घृणा वा निषेधको राजनीतिक प्रवृत्तिलाई त्याग गर्नुपर्छ।

बारा जिल्लाको कुनै त्यस्तो भूभाग छैन, जहाँ कुनै जात वा वर्गको मात्र उपस्थिति होस्। बारा जिल्लाको जनसांख्यिक बनोटले पनि विभिन्न समुदायहरुका बीच परस्पर निर्भरतालाई प्रष्ट्याउँछ। यहाँको सद्भावले हाम्रो विकासको गतिलाई टेवा दिन्छ।

परवानीपुरमा फराकिलो क्षेत्रफल ओगटेको सरकारी कृषि फर्म छ। त्यहाँ दुई दशकभन्दा बढी समयदेखि मैले कृषि विश्वविद्यालय स्थापनाको लागि जनमत निर्माण गर्ने प्रयास गर्दै आएको हुँ।

हामीकहाँ कुनै अवधारणा ल्यायो भने त्यसको सम्मति वा विमतिमा तर्क राख्नुभन्दा उसलाई खुच्चिङ गर्ने प्रवृत्ति छ। यसले गर्दा कोही परिकल्पनाकारको तेजोवध हुनुभन्दा पनि सम्बन्धित योजनाको प्रक्रिया पछाडि पर्न जान्छ। अझै समय छ। तमाम सम्भावना बोकेको परवानीपुरमा कृषि विश्वविद्यालय स्थापना गरियोस्।

त्यसैगरी डुमरवाना र सिमरामा औद्योगिक करिडोरको आवश्यकता अनुकूलको प्राविधिक शिक्षालय बनाइयोस्। अमलेखगञ्जमा रेल्वे संग्रहालय, जो नेपालको पहिलो हुनेछ, त्यो बनाउन सकिन्छ।

छेवैमा पर्सा राष्ट्रिय निकुञ्जको आकर्षण छँदैछ। सिम्रौनगढ र गढीमाई जोडेर बृहत्तर सिम्रौनगढ क्षेत्र विकास समितिको अवधारणाअन्तर्गत संस्थागत विकासलाई अगाडि ल्याउन सकिन्छ।

यहाँको तरकारी उत्पादन, माछा उत्पादन, जडिबुटी उत्पादन, नगदे बालीमा विविधीकरणका प्रयत्नहरुमा एउटा खास निगरानीको आवश्यकता छ, जहाँ यस्ता प्रयत्नहरुको लाभ मुठ्ठीभर मान्छेहरुभन्दा पनि बहुसंख्यक मानिसले पाउन सकून्। रोजगारीका लागि पलायन हुने स्थिति रोकियोस्।

आफ्नै छेउछाउमा रोजगारी पाउने अवसर दिन सक्ने ताकत बारामा छ। लोकतन्त्र स्थापनाको आन्दोलनमा यो जिल्लाको आफ्नै पहिचान छ। सामाजिक न्यायका लागि भएको मधेश आन्दोलनको पहिचान बोकेको जिल्ला हो यो। अब यो जिल्ला आम मानिसको अनुहारमा उज्यालो छर्ने राजनीतिको जिल्ला हुनुपर्छ। यसका लागि एकीकृत विकासको बहस हुनुपर्छ। साझा दृष्टिकोणप्रति सबैको हातेमालो हुनुपर्छ। सबैको पहिचान र गरिमालाई सम्मान गर्दै आफ्नै बीचबाट उन्नतिका सूत्रहरु खोज्नुपर्छ।

हामीले अहिलेसम्म कुनै नेताविशेषलाई जिताउने राजनीति गर्यौँ। अब बाराली जनता जिताउने राजनीति हुनुपर्छ। बारा जिल्लाले समृद्धिका तमाम आधारहरु आफूमाझ राख्दाराख्दै किन समृद्धि पाउन सकेन ? यो प्रश्नको खोजी गर्ने राजनीति हुनुपर्छ। एक अर्काबीच तनाव छर्ने होइन, बरु जोड्ने, सपार्ने र ब्युँझाउने राजनीति हुनुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .