ad ad

विचार


यस्तो छ रुस–युक्रेन युद्धमा अमेरिकी भूराजनीतिक उदेश्य

यस्तो छ रुस–युक्रेन युद्धमा अमेरिकी भूराजनीतिक उदेश्य

युक्रेनमा युद्धरत महिला सैनिक (युरोन्यूज)


योर्गेन ओर्स्ट्रोम मुलर
जेठ १७, २०७९ मंगलबार २३:३, काठमाडौँ

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीका पछिल्ला अभिव्यक्तिका आधारमा भन्ने हो भने उनी युक्रेनमा जारी युद्ध अन्त्यका लागि संवादको प्रयास गरिरहेका छन्। तर, यो युद्धमा अमेरिकाले खेलेको महत्वपूर्ण भूमिकालाई ख्याल गर्दा युक्रेन कहिले र कसरी शान्ति वार्तामा प्रवेश गर्छ भन्ने तय गर्ने शक्ति भने अमेरिकासँग छ। तर, यो द्वन्द्वमा वासिङ्टनको उदेश्य के हो, एकदम अस्पष्ट छ।

सुरुमा धेरैजसोले ठानेका थिए– अमेरिकाले युक्रेनको रक्षा गर्न, रुसलाई युक्रेनबाट बाहिर धकेल्न र रुसको जित हुन नदिन सैन्य सहायता उपलब्ध गराएको हो। तर, अहिले अमेरिकाको चाहना त्यस्तो देखिँदैन। २५ अप्रिल २०२२ मा राष्ट्रपति जेलेन्स्कीसँगको भेटमा अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले युुक्रेनमा रुस पराजित भए त्यसले अन्यत्र पनि त्यस्तै आक्रमण दोहोर्याउनबाट रुसी नेताहरुलाई रोक्ने आशा व्यक्त गरे। तसर्थ, अमेरिकाले रुसी आक्रमणलाई आफ्नो भूराजनीतिक उदेश्य पुरा गर्ने अवसरका रुपमा लिएको देखिन्छ। अमेरिकाको त्यो उदेश्य हो– रुसलाई पुरै कमजोर तुल्याउने।

यो पूर्ण रुपमा अलग उदेश्य हो। यसबारे युक्रेनीहरुको सोच के छ, स्पष्ट छैन। अमेरिकाको यस्तो उदेश्य पुरा गर्नका लागि ठूलो क्षति हुने कठिन युद्ध आवश्यक पर्छ। र, त्यस्तो क्षति युक्रेनीहरुले बेहोर्नेछन्, नकि अमेरिकीहरुले। 

अस्टिनको अभिव्यक्तिले युद्ध अन्त्य र संवादलाई सहयोग गर्दैन। बरु, यसलाई राष्ट्रपति भ्लादिमिर पुटिनले असन्तुष्ट सेना र सुरक्षा फौजको विरोधलाई दबाउने मौकामा रुपमा प्रयोग गर्न सक्छन्। उदाहरणका लागि सायद केही रुसी सम्भ्रान्तहरु युद्धको तौरतरिका बदल्न वा पुटिनकै विरोध गर्न पनि चाहन्छन्– हामीलाई स्पष्ट थाहा छैन– तर, त्यसो गर्दा आफ्नो मातृभूमि झन् कमजोर हुने हो भने उनीहरुले किन पुटिनको विरोध गर्ने? विरोधका हरेक आवाजलाई राष्ट्रघाती भनिनेछ। 

बरु, अमेरिकाले रुस युक्रेनबाट फिर्ता हुनै पर्छ र युद्धको अन्त्य हुनु भनेको मस्को अन्तर्राष्ट्रिय समुदायसँग पुनः जोडिने अवसर पनि हो भन्नु बुद्धिमानी हुन्थ्यो। कतिपय रुसीहरुले नबिर्सिएको हुनुपर्छ– अहिलेको जी७ समूह १९९७ देखि २०१४ सम्म जी८ थियो। किनभने रुस त्यसको सदस्य थियो। उनीहरुलाई के स्मरण गराउनु आवश्यक छ भने रुसको कारणले होइन, रुसको अहिलेको नीतिको कारण ऊ एक्लिएको हो। 

यसका लागि इतिहासका दुई उदाहरण हेरौँ। अमेरिकी राष्ट्रपति फ्रयांकिलन डिलानो रुजबेल्टले १९४३ मा घोषणा गरे– मित्रराष्ट्रले युद्ध लड्नुको उदेश्य नाजी जर्मनी, फासीवादी इटली र साम्राज्यवादी जापानलाई निसर्त आत्मसमर्पणका लागि बाध्य तुल्याउनु हो। नाजीवाद कति दुष्ट थियो भन्ने थाहा हुँदा यो लक्ष्यप्राप्तिका लागि अघि बढ्नु उचित थियो। तर, त्यसले पुरै जर्मन राष्ट्रलाई आफ्नो वरिपरि गोलबद्ध गर्न एडोल्फ हिटलरलाई सहयोग गर्यो। मित्रराष्ट्रको दयामा निर्भर हुनुपर्ने भए जर्मनहरुले युद्ध अन्त्यका लागि किन प्रयास गर्ने? जापानीहरुका लागि सम्राटको भूमिका एकदमै महत्वपूर्ण थियो। त्यसैले दुई आणविक बम खसाइसकेपछि पनि यदि अमेरिकीहरुले सम्राटलाई कायम राख्ने प्रस्ताव अस्वीकार गरेको भए के हुन्थ्यो, अहिले अनुमान गर्न सकिन्न। त्यसैले नै जापानको हकमा बुद्धिमानीपूर्वक निसर्त आत्मसर्मण लागू गरिएन। 

१९९१ को कुवेत मुक्ति अभियानमा राष्ट्रपति जर्ज एच बुसले राजनेताको भूमिका निर्वाह गरे। उनले संयुक्त राष्ट्रसंघको फ्रेमवर्कभित्रैबाट इराकी आक्रमणबाट कुवेतलाई मुक्त गर्ने उदेश्यसहित गठबन्धन निर्माण गरे। जब त्यो उदेश्य पुरा भयो, तब इराकमा जसरी हुन्छ, सत्ता पल्टाउनुपर्छ भन्ने सबैखाले सल्लाह र विचारहरुलाई बुसले अस्वीकार गरे। वास्तविक राजकौशल भनेको कहिले र कहाँ रोकिने भन्ने जान्नु हो। यो कुरा युक्रेनको हकमा पनि बिर्सिइनु हुन्न।

२४ मे २०२२ मा हेनरी किसिन्जरले डाभोसमा दिएको अभिव्यक्ति उत्तिकै गलत छ। ‘यथास्थितिमा फर्किनु सबैभन्दा राम्रो’ भन्ने उनको भनाइले २४ फेब्रुअरी २०२२ अघिकै अवस्थामा दोनबास रुसको हातमा छाड्नुपर्ने सुझाउँछ।

दुई पक्ष वार्ताको टेबलमा बस्नुअघि नै एक पक्षले ठूलो त्याग गर्नुपर्ने अवस्थामा कुनै पनि वार्ता सफल भएका छैनन्। युद्धअघि नै त्यति ठूलो क्षेत्र रुसले कब्जा गरिसकेको थियो। अब वार्तामा बस्दा रुस र पुटिनले थप भूमि माग्नेछन्। सायद काला सागरको किनारमा रहेको दक्षिणी युक्रेनको हिस्साका साथै क्रिमियामाथि रुसको अधिकारलाई मान्यता दिनुपर्ने माग उनीहरुले राख्न सक्छन्। 

यस्तो परिदृश्यमा बाइडेन प्रशासनले युक्रेनको ठूलो हिस्सा रुसलाई उपहार दिइसकेको कुरा जेलेन्स्कीलाई थाहा हुनेछ, यदि अमेरिकाले किसिन्जरको सल्लाह मान्ने हो भने। उसोभए आफ्ना जनताले मन पराउने नतिजा जेलेन्स्कीले वार्ताबाट कसरी निकाल्न सक्छन् त? त्याग त्यतिखेर मात्रै गर्नुपर्छ, जतिबेला त्यसले स्वीकार्य नतिजासहित द्वन्द्व अन्त्य गर्ने सम्भावना हुन्छ। तसर्थ, क्रिमियासहित रुसको सम्पूर्ण भूभाग फिर्ता गर्ने जेलेन्स्कीको अभिव्यक्ति सही छ।

यस्तो अडानले मात्रै संवाद बराबरीको हैसियतमा सुरु हुन्छ। वार्ता युक्रेनले आफ्नो भूमि गुमाएर पनि टुंगिन सक्छ। तर, त्यो कुरा युक्रेनीहरुले के महसुस गर्छन् र उनीहरुले केमा सहमति जनाउँछन् भन्नेमा निर्भर हुन्छ। वार्ताको मुख्य कुरा यही हो। वार्ताको टेबलमा हुने लेनदेनमा रुसले पनि युक्रेनले जति नै त्याग गर्नुपर्छ। त्यसो भएन भने वार्ता एकतर्फी हुन्छ।

त्यस्तो वार्ता लागि दुई प्रकारको स्थिति हुनुपर्छ– युद्धमा सहभागी कुनै एक पक्षले हार स्वीकार गरेको हुनुपर्छ वा दुवै पक्ष एकदमै थकित भएर युद्ध जारी राख्नुभन्दा जस्तोसुकै सम्झौता गरेर भए पनि यसलाई टुंग्याउन ठिक हुन्छ भन्ने स्थितिमा पुगेको हुनुपर्छ। 

युक्रेनमा अहिले यी दुवै अवस्था देखिँदैनन्। यसको अर्थ युद्ध सम्भवतः अझै लामो समय चल्न सक्छ। तसर्थ, रुसको आक्रमणका अघिल्तिर युक्रेन बलियोगरी खडा हुन सकोस् भनेर अमेरिका र युरोपले सहयोग गर्नैपर्छ। अन्यथा, रुसको मनोमानी चल्नेगरी एकपक्षीय वार्ता हुनेछ। 

र, युक्रेन र उसको संप्रभुतासम्बन्धी यो युद्धलाई अमेरिकाले आफ्नो उदेश्य पुरा गर्ने भूराजनीतिक खेलमा बदल्ने प्रयास गर्नु हुँदैन। युक्रेनको द्वन्द्व युक्रेनको भलाइमा केन्द्रित हुनुपर्छ नकि अमेरिकाको।

युक्रेनी राष्ट्रपति, नेताहरु र जनताको मुख्य उदेश्य निश्चय नै आफ्नो मुलुकबाट रुसलाई लखेट्नु हो। तर, सिंगो देश नै तहसनहस पार्ने युद्धबाट उनीहरु जोगिनै पर्छ। युक्रेनको पूर्वाधार जस्ताको तस्तै रहनुपर्छ, बस्तीमा जनसंख्या कायम रहनुपर्छ, खेतमा बालीनाली हुनुपर्छ, सहरहरु खण्डहरमा परिणत हुनुहुँदैन। जे बचाउन युद्ध लडिएको हो, त्यही नजोगिने हो भने जितको के अर्थ? 

यो कुरा जेलेन्स्कीले बुझेका छन्। त्यसैले निरन्तर युद्ध अघि बढाइराख्नुको सट्टा उनले वार्ताको आह्वान गरिरहेका छन्। वार्ताको प्रयाससँगसँगै युद्धका लागि जनतालाई आफ्नो पछाडि उभ्याउने कठिन काम उनी गरिरहेका छन्। उनका सामु विकल्पहरुलाई जीवित राख्न अमेरिका र युरोपले सकेसम्म सबैथोक गर्नुपर्छ। अमेरिका वा युरोप के चाहन्छन्, त्योसँग सम्बन्धित छैन यो युद्ध। यो युक्रेनको भविष्यसँग सम्बन्धित छ। असल वा खराब जे भए पनि, पुटिन रहे पनि नरहे पनि रुस युक्रेनको छिमेकी रहनेछ।

(नेसनल इन्ट्रेस्टबाट। योर्गेन ओर्स्ट्रोम मुलर डेनमार्कका पूर्वकूटनीतिज्ञ हुन्। उनको एसियाज् ट्रान्सफर्मेसनः फ्रम इकोनोमिक ग्लोबलाइजेसन टु रिजनलाइजेसन पुस्तक प्रकाशित छ)
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .