ad ad

विचार


गठबन्धनप्रति को कति इमान्दार?

गठबन्धनप्रति को कति इमान्दार?

डा. शोभाकर पराजुली
जेठ १३, २०७९ शुक्रबार ८:१,

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि गठबन्धन रोज्यो। यो रोजाइ कांग्रेसले लिएको उदार तथा कठोर नीतिको परिणाम थियो।

उदार यस अर्थमा कि सत्ता गठबन्धनको साझेदार दलहरूलाई चुनावी स्पेस दिन उसले आफ्ना ठाउँहरु सहयोगी दलका लागि छोड्यो। कांग्रेसले आफ्नो दलीय जीवनमा पहिलोपटक यस्तो प्रयोगलाई स्वीकार गरेको थियो।

आज पनि नेपाली काँग्रेस यस्तो दल हो, जो नेपालको ७७ वटै जिल्लाको प्रत्येक वडामा फैलिएको छ। उसका सांगठनिक संरचना नेपालका प्रत्येक कुना, प्रत्येक वर्ग र समुदायभित्र छ। कैयौं दशकको अभ्यासले पनि स्थापित गरिसकेको छ कि नेपाली कांग्रेसको प्रत्येक ठाउँमा पहुँच र प्रभाव छ। यसो हुन सक्नुका आफ्नै कारण छन्। अहिले ती विषयमा प्रवेश नगरौं।

आफूले प्रभावमा राखेको स्पेस अरूका लागि छोड्नु कम साहसिक र कम अप्ठ्यारो काम होइन। तर, त्यो आँट सभापति शेरबहादुर देउवाले देखाउनुभयो। नेतृत्व भनेकै त्यस्तो क्षमता हो, जहाँ लक्ष्यलाई वास्तविकतामा परिणत गर्ने क्षमता हुन्छ। प्रतिस्पर्धाको राजनीतिमा आफ्नो क्षेत्र अरूका लागि छाड्नु अपवाद हो। नेपालको राजनीतिक ‘इको सिस्टम’ मा देउवाले त्यो गरेर देखाउनुभयो।

नेपाली कांग्रेसले गठबन्धनको निर्णय लिनु तातो फलाम चपाउनुसरह थियो। कहीँ पार्टी कार्यालयमा तालाबन्दी भयो, कतै जिल्लाबाट केन्द्रमा दबाव दिन प्रतिनिधि मण्डल आयो, कतै विद्रोही उम्मेदवार उठे। यी सबका बाबजुद कांग्रेस आफ्नो निर्णयमा डटिरह्यो।

सरकार बनाउन कांग्रेसले गठबन्धन गरेको छ तर त्यसबेलाको अवस्थामा पनि कांग्रेसले अरु आफ्ना साझेदार दललाई धोका दिएको छैन। जहाँ–जहाँ गठबन्धन भयो, त्यहाँ नेपाली कांग्रेस आफ्नो अधिकतम उर्जाका साथ त्यसलाई कार्यान्वयन गराउन लागिपर्यो।

हो, प्राविधिक रुपमा कतिपय प्राविधिक समस्याहरु देखिए। दशकौंदेखि रुख चिन्हमा मत दिएका कार्यकर्तालाई अन्य चिन्हमा मत दिन उत्प्रेरित गर्नु असाधारण कुरा थियो। कार्यकर्ताहरूलाई कन्भिन्स गराउन नै गाह्रो। सामान्य मतदातालाई एकैपटक कैयौं चुनाव चिन्हमा छाप लगाउन पनि कम झन्झटिलो थिएन। कतिपय ठाउँमा प्रमुख, उपप्रमुखमा तालमेल मिले पनि वडामा मित्रवत प्रतिस्पर्धा थियो।

अब हेर्नुस्, वडामा मित्रवत प्रतिस्पर्धा गर्ने र, प्रमुख वा उपप्रमुखमा प्रतिस्पर्धी दललाई नै सहयोग गर्न उसको चुनाव चिन्हमा छाप लगाइदिनुपर्ने। मतदान आफैंमा एउटा प्राविधिक प्रकृया हो। यस्तोमा पनि गठबन्धनको सुवास सर्वत्र रहिरहनु नेपाली काँग्रेसका प्रत्येक पंक्तिका कार्यकर्ताहरूमा विद्यमान धैर्य, सहिष्णुता र दूरदर्शिताको परिणाम हो।

गठबन्धनका सबै प्रत्यासी जित्छन् नै भन्ने पनि छैन। संघीय राजधानी काठमाडाैं महानगरपालिकामा नै हेरौं, यहाँ गठबन्धन प्रभावहीन देखियो। विस्तृत नजरले हेर्दा नेपाली कांग्रेसका प्रत्यासीले जे जति मत प्राप्त गरेका छन्, त्यो उसको आफ्नो आर्जन हो। नेपाली कांग्रेस गम्भीर जिम्मेवारी भएको पार्टी हो। उसले गठबन्धनको भूमिकालाई लागु गराउन आफ्नो कर्तव्य र जिम्मेबारी ठान्यो। कतिपय ठाउँमा गठबन्धनकै कारण संगठन छिन्नभिन्न भयो।

काठमाडौंको चुनाव परिणामले देखायो कि यहाँ गठबन्धनका सहयोगी दलहरु असहयोगी रहे। कांग्रेसको किल्लाका रुपमा रहेको बीरगञ्ज महानगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टीले जित्नु भनेको कांग्रेसले बलियो काँध दिनुको परिणाम हो। कतिपय ठाउँमा कांग्रेसले सघाउ पुर्याउँदा पु¥याउँदै पनि गठबन्धनका उम्मेदवार हारे। यस्तो किन भयो त? यसको राजनीतिक रुपमा तथ्यगत विश्लेषण नगरिकन सोझै कुनै निर्क्यौलमा पुग्यौं भने त्यसले भ्रमको गुफामा नै पुर्याउँछ।

अहिले गठबन्धनका दलहरुका जो प्रत्यासी हारे, तिनले कांग्रेसतर्फ औंला देखाउँदैछन्। यो कदापि मनासिव छैन। विराटनगर महानगरपालिकामा उपेन्द्र यादवले जसपाबाट उपप्रमुखमा आफ्ना छोरा अमरेन्द्र यादवलाई उठाए। त्यहाँका विवेकी जनताले बंशवादलाई अनुमोदन गरेनन्। विराटनगर जस्तो ऐतिहासिक रुपमा क्रान्तिकारीहरुको शहरको चेतनालाई ठम्याउन नसक्नु नेता उपेन्द्र यादवको दृष्टिदोष हो। उनले दोषी चश्मा लगाएर नेपाली कांग्रेसमाथि भन्नु भनाउनु उपयुक्त हुँदैन। आफूले दिएको उम्मेदवारको गुण–दोष नहेर्ने तर मुख्य साझेदार नेपाली कांग्रेसलाई दोष देखाउने राजनीतिक संस्कारभित्र पर्दैन।

जनकपुर उपमहानगरपालिकामा जसपाले गठबन्धनबाट प्राप्त अवसरको दुरुपयोग गर्दै अलोकप्रिय एवं विवादित छविका लालकिशोर साहलाई नै दोस्रो कार्यकालका लागि उम्मेदवार बनाउँदा उनको पराजय निश्चित थियो। गठबन्धनको चुनावी राजनीतिको रथमा सवार हुन पुगेका उपेन्द्र यादवलाई के लाग्यो भने उनी खल्तीबाट जसको नाम झिक्छन् त्यसलाई मतदाताले अनुमोदन गर्दिन्छन्। उनले जसलाई अघि सारे, कांग्रेससहितका दलले पत्याए। कांग्रेसको प्रष्ट अडान थियो, जो जसले जहाँ हिस्सा पाएको छ, उसले त्यहाँ निःशर्त आफ्नो उम्मेदवार उठाओस्। विराटनगर र जनकपुरको मामिलामा जसपाको निर्णय त्रुटीपूर्ण देखियो।

नेपाली कांग्रेसका कारणले सम्मानजनक राजनीतिक हैसियत पाएका नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेता माधवकुमार नेपालको आत्ममुग्धता कम रोचक छैन। खड्गप्रसाद शर्मा ओलीबाट हेपिएका र अझै अहम् कारणले चोइटिएका माधवकुमार नेपालमा देखापर्ने बर्बराहट गठबन्धनको धर्म विपरीत हो।

वीरगञ्ज महानगरपालिकामा फराकिलो मतले जितेका राजेशमान सिंहलाई नै जसपाले सोधे हुन्छ– त्यहाँ रहेका नेकपा एकीकृत समाजवादीबाट कत्तिको सहयोग पाइएको थियो? स्थिति कस्तो छ भने अनुहारमा दाग लागेको छ, तर ऐनालाई साबुनले पखाल्न खोज्दैछौं।

नेपाली काँग्रेसले तत्काल बैठक बसेर गठबन्धनबाट प्राप्त लाभहानीको समीक्षा गर्नुपर्छ। गठबन्धनप्रति के कति दल कत्तिको इमान्दार रहे, त्यसको जिल्लागत रिपोर्ट मगाउनुपर्छ। गठबन्धनको बैठकमा साझेदार दलहरुमा देखिएको विरोधाभाषलाई प्रष्ट तरिकाले उजागर गरिदिनुपर्छ।

साझेदार दलहरुमा देखापरेको भ्रम भञ्जन गर्ने जिम्मेवारी पनि नेपाली कांग्रेसको हो। साझेदारहरुमा केही दृष्टिदोष आफ्नै कारणले उत्पन्न भएको हो भने केही चाहिँ गठबन्धनतिरका दलको उक्साहटमा भएको हो।

उपेन्द्र यादव त्यति भरोसाका मान्छे होइनन्। उनी गंगा गए गंगादास र जमुना गए जमुनादास चरित्रका हुन्। उनले कहिले खड्गप्रसाद शर्मा ओलीसँग ह्वीस्की खाए त कहिले अहिलेको गठबन्धनमा आएर वाइन पिउन थाले।

यसका साथै नेपाली कांग्रेसले यो पनि समीक्षा गर्नुपर्छ कि गठबन्धनको राजनीतिले आफ्नो सांगठनिक रुपमा कहाँ, के, कति क्षति पुर्यायो? पार्टीसँग बरालिएकाहरुलाई फेरि आफ्नो घर कसरी फर्काउने? जो जहाँ जितेका छन्, तिनीहरुलाई कसरी निगरानीमा राख्ने? र, पार्टीले ती पदाधिकारीहरुको कार्य मूल्यांकन कसरी गर्ने? अरु दलको भन्दा पृथक कांग्रेसका निर्वाचित पदाधिकारीको कार्यशैलीको भिन्नता कसरी देखिने? यी सवालहरुका बारेमा जति फराकिलो र उन्नत छलफल हुन्छ, त्यति नै त्यसले नेपाली कांग्रेसलाई सञ्जीवनीको काम गर्छ।

यसैगरी कतिपय ठाउँमा संसदीय समितिका कुनै प्रभावशाली नेता विशेषको अनुचित दबावका कारण लहडमा टिकट दिँदा अनुकुल परिस्थितिमा पनि नेपाली कांग्रेस हार्नुको जिम्मेवारी ती नेता विशेषले लिने कि नलिने? स्थानीय तहमा विकसित मनोविज्ञानमाथि बलात्कार गर्दै नेता विशेषको खल्तीबाट टिकट बाँडिदा पार्टीमा सांगठनिक क्षति पुगेको छ। यी सवालहरुलाई बेवास्ता गर्न मिल्दैन।

नेपाली कांग्रेसको चुनावपछिको अवस्थाको मूल्यांकन र भावी कार्यदिशाबारे सुझाव संकलनका लागि केन्द्रीय समितिद्वारा प्रत्येक प्रदेशमा एउटा समिति बनाइनुपर्छ, जसको निश्चित समयावधिभित्र पार्टीमा रिपोर्ट आउनुपर्छ।

यो निर्वाचनको बर्ष हो। संघीय संसदका लागि चुनावमा होमिनुपूर्व नेपाली कांग्रेसले आफ्ना खिया लागेका पाङ्ग्राहरुलाई मर्मत गर्नुपर्छ।

नेपाली कांग्रेसका छायाँ सभापति डा. शेखर कोइराला के सोच्दै हुनुहुन्छ? उहाँले आफ्नो गृहमहानगर विराटनगरमा नेपाली कांग्रेसलाई प्रमुखमा जिताउन अहोरात्र मेहनत गर्नुभएको छ। यसको कोशी पूर्वका जिल्लाहरुमा असाध्यै सकारात्मक सन्देश गएको छ।

नेपाली कांग्रेस यथास्थितिमा बस्न मिल्दैन, बस्नु पनि हुँदैन। पार्टीको आगामी कार्यदिशा निर्माणमा छायाँ सभापति डा.कोइरालाको भूमिकालाई जति स्वीकार गरिन्छ, त्यसको सन्देश देशभरिका कांग्रेसजनमा जान्छ।

अर्को विचारणीय पक्ष हो, कांग्रेसको प्रचार केन्दीय प्रसार समितिले के गर्यो? गठबन्धनका साझेदार दलहरुबाट उठाइएका कतिपय नकारात्मक टिप्पणीबारे त्यो समितिले कसरी वस्तुस्थितिलाई तथ्यपरक ढंगले उजागर गर्दैछ? यसका बारेमा पनि नेपाली कांग्रेस केन्द्रीय समितिले फिडब्याक लेओस्।

यसो गरियो भने गठबन्धनको चुनावी राजनीतिलाई भावी दिनमा समेत निरन्तरता दिन र साझेदारहरुलाई जिम्मेवार बन्न नैतिक दबाव नेपाली कांग्रेसका तर्फबाट दिइनेछ।

गठबन्धनको राजनीति किन रोजियो? कहाँ जान हिँडिएको थियो, कुन बिसौनीसम्म पुगियो? अहिले एउटा बिसौनीमा नपुग्दै भांैतारिएको अवस्था छ। यसबारे नेपाली कांग्रेस पंक्ति प्रष्ट हुन जरुरी छ। साझेदार कुनै दललाई बढी हतार छ भने उ एक्लै हिँड्न स्वतन्त्र छ।

नेपाली कांग्रेसले जानेको के हो भने लोकतन्त्र जोगाउन अझै लामो यात्रा गर्नुछ र त्यसका लागि हातेमालो गर्नु अपरिहार्य छ। लोकतन्त्रका लागि अहिलेको गठबन्धन संस्कृति अनिवार्य पक्ष नै मान्नुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .