ad ad

विचार


युक्रेन युद्ध : के पुटिन आफ्नो लक्ष्यमा सफल हुँदैछन्?

युक्रेन युद्ध : के पुटिन आफ्नो लक्ष्यमा सफल हुँदैछन्?

लियोनिड रागोजिन
जेठ १२, २०७९ बिहिबार ६:४५, काठमाडौँ

युक्रेनको बन्दरगाह सहर मारिओपोलस्थित अजोवस्टल कारखानामा घेरामा परेका अन्तिम युक्रेनी सैनिकहरुले गत शुक्रबार आत्मसमर्पण गरे। तीमध्ये कम्तीमा आधा सैनिक अजोव रेजिमेन्टका हुन्। सो रेजिमेन्ट उग्र दक्षिणपन्थी लडाकुहरुले २०१४ मा गठन गरेका थिए। रुसले आक्रमण गर्दा युक्रेनलाई ‘नाजीमुक्त’ बनाउने लक्ष्य पनि राखेको थियो। अजोव रेजिमेन्टले आत्मसमर्पण गरेपछि आफ्नो घोषित लक्ष्यप्राप्तिमा ठूलो प्रगति भएको दाबी रुसले गर्न सक्छ।

आत्मसमर्पण गरेका युक्रेनी सैनिकको शरीरमा खोपिएका नाजीसँग सम्बन्धित ट्याटु र बर्दीमा टाँसिएका चिह्नहरुलाई रुसी प्रचार संयन्त्रले अहिले उत्साहित भएर प्रचार गरिरहेका छन्। ती ट्याटु र चिह्नले ती सैनिकहरु उग्र दक्षिणपन्थी झुकाव राख्छन् भन्ने खुलासा गर्छ। युद्धबन्दीलाई गरिने व्यवहारसम्बन्धी जेनेभा सन्धिको उल्लंघन गर्दै रुसी सञ्चारमाध्यमले ती सैनिकहरुलाई नंग्याएर आफ्नो ट्याटु देखाउन बाध्य बनाएको भिडिओहरु प्रकाशित गरिरहेका छन्। उसो त युद्धबन्दीको केरकार र यातनाको भिडिओ खिच्ने काम यो युद्धमा दुवै पक्षबाट भइरहेको छ। 

रुसी अधिकारीहरु र रुसले समर्थन गरेको स्वघोषित लुहान्स्क तथा दोनेस्क गणराज्यका अधिकारीहरुले अजोव लडाकुहरुमाथि न्यायिक सुनुवाइ हुनुपर्ने बताइरहेका छन्। अजोवस्टलको घेराबन्दी सकिएलगत्तै रुसका महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतलसमक्ष अजोव रेजिमेन्टलाई आतंकवादी संगठन घोषणा गर्न आह्वान गरेको छ। यसो भए रुसले अजोव लडाकुहरुलाई आतंकवादीका रुपमा मुद्दा लगाउन सक्छ। अर्कोतिर रुसले तिनलाई दोनेस्क र लुहान्स्कमा मुद्दा चलाउन सक्छ, जहाँ मृत्युदण्डको समेत व्यवस्था छ।

उग्र दक्षिणपन्थीहरुलाई सहने युक्रेनको कमजोरीलाई नंग्याउने रुसको प्रयास त्यतिबेला विश्वसनीय हुन्थ्यो, जतिबेला रुसले पनि त्यस्ता तत्वलाई सहँदैनथ्यो। तर, रुसको आफ्नै कुख्यात वाग्नर ग्रुप नामक निजी भाडाको सेना छ। जसले अहिले दोनबासमा लडाइँ गरिरहेको छ। सो ग्रुपमा रहेको रुसिच युनिटमा सेन्ट पिटर्सवर्गका नवनाजीहरु समावेश छन्। 

तर, यस्तो तथ्य रुसी जनताले थाहा पाएका छैनन्। त्यसैले आफ्नो विशाल प्रचार संयन्त्रमार्फत क्रेमलिनले युक्रेनलाई ‘नाजीमुक्त’ बनाउने लक्ष्य प्राप्त भएको दाबी गर्न सक्छ। किनभने अजोव रेजिमेन्ट नवनाजीहरुसँग युक्रेनको विवादास्पद सम्बन्धको सबैभन्दा ज्वलन्त उदाहरण हो।

यसबाहेक अरु लक्ष्यमा पुटिन कति सफल हुँदैछन् त?

पुटिनले सम्पूर्ण युक्रेनमाथि कब्जा गर्ने लक्ष्य राखेका छन् भन्ने पश्चिमका थुप्रैको सोच देखिन्छ। तर, रुसले सैन्य कारबाहीको सुरुमा घोषणा गरेको लक्ष्य भने यति महत्वाकांक्षी थिएन। उनीहरुले पूर्वी युक्रेनको दोनेस्क र लुहान्सको सम्पूर्ण क्षेत्र कब्जा गर्ने मात्र बताएका थिए। जसको एकएक हिस्सा २०१४ मै रुससमर्थित विद्रोहीहरुले नियन्त्रणमा लिएका थिए। 

सैन्य हिसाबले यो पनि निकै ठूलो लक्ष्य हो। किनभने यो ठाउँमा युक्रेनले सबैभन्दा बलियो किल्लाबन्दी गरेको छ। यो युद्धका लागि युक्रेनले सात वर्षदेखि तयारी गरिरहेको थियो।

दोनबासमा रुसले धीमा गतिमा भए पनि निरन्तर प्रगति हासिल गरिरहेको छ। रुस लुहान्स्क क्षेत्रमा पूर्ण नियन्त्रण कायम गर्ने संघारमा छ। तर, दोनेस्क क्षेत्रलाई लिन भने रुसलाई निकै कठिन पर्ने देखिन्छ।

रुसी समाजको कट्टर राष्ट्रवादी हिस्सालाई युद्ध सफल भयो भनेर मनाउन र विजय घोषणा गर्न दोनेस्क र लुहान्स्कमाथिको विजय पर्याप्त छ। त्यसभन्दा बाहिरको जुनसुकै भूभाग जिते पनि त्यो रुसका लागि अतिरिक्त लाभ हुनेछ। 

मारिओपोलमाथि रुसी सेनाको विजय त्यस्तै एउटा अतिरिक्त लाभ हो। मारिओपोल कब्जासँगै रुस अब जमिनबाटै क्रिमियासम्म पुग्न सक्छ। जसलाई रुसले २०१४ मा कब्जा गरेको थियो। त्यसयता युक्रेनले क्रिमियामा पानी र बिजुली बन्द गरिदिएको थियो। रुसले अहिले त्यसलाई खुलाएको छ। निप्र नदीबाट क्रिमिया पुग्ने नगर अहिले रुसको हातमा छ। त्यस्तै क्रिमियाको उत्तरपट्टि रहेको आणविक उर्जा केन्द्र र दक्षिणपूर्वी युक्रेनको बिजुली ग्रिड रुसको नियन्त्रणमा छ। जसलाई अब रुसतर्फ जोड्न पनि सकिन्छ।

युक्रेनमा पुटिनको वास्तविक र सुरुवाती योजना के थियो, त्यसको विवरण वर्षौँ वा दशकौँपछि क्रेमलिनका पुराना अभिलेख हेरेर इतिहासकारहरुले मात्रै खुलासा गर्न सक्नेछन्।

अहिलेलाई भने युद्धको पहिलो चरणमा रुसले राजधानी किभ र दोस्रो ठूलो सहर खार्कोव घेर्ने प्रयास गरेको थियो। जुन असफल हुन पुग्यो। यो सिंगो युक्रेन कब्जा गर्ने योजनाको हिस्सा थियो कि क्रिमियातर्फको करिडोर स्थापना गर्दैगर्दा युक्रेनी फौजको ध्यान बाँड्न अपनाइएको तरिका थियो, स्पष्ट छैन।

अथवा यो बेलायती राजनीतिशस्त्री मार्क गेलियोटीले भनेजस्तो क्रेमलिनको ‘स्वतःस्फूर्तता’ को उदाहरण पनि हुनसक्छ। सायद मिन्स्क सम्झौता पालना नगरेकोमा युक्रेनलाई दण्ड दिने चाहनाबाहेक रुससँग अर्को कुनै योजना नहुन पनि सक्छ। सो सम्झौताले २०१४–१५ मा दोनबासको पहिलो युद्ध अन्त्य गरेको थियो। सम्झौताले दोनेस्क र लुहान्स्कले युक्रेनभित्रै रहेर स्वायत्तता प्राप्त गर्ने परिकल्पना गरेको थियो। पुटिनले युक्रेनमा आक्रमण गर्नु एक साताअघि युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले मिन्स्क सम्झौतालाई ‘नमिठो’ संज्ञा दिँदै त्यो सम्झौता युक्रेनलाई हराउन गरिएको बताएका थिए।

यस सन्दर्भमा किभमाथिको आक्रमण भूमि कब्जा गर्ने प्रयासभन्दा पनि दण्डात्मक हमला हुनसक्छ। उत्तरी युक्रेनबाट रुसी सेना फर्किसकेपछि खुलासा भएको अत्याचारका घटनाहरुले पनि के देखाउँछ भने रुसीहरु यो क्षेत्रका मानिसहरुको मन जित्न आएका थिएनन्। 

यदि यो साँचो हो भने युद्धको अन्तिममा युक्रेनलाई मिन्स्क सम्झौताभन्दा निकै अपमानपूर्ण शान्ति सम्झौतामा हस्ताक्षर गर्न बाध्य बनाउनु क्रेमलिनका लागि महत्वपूर्ण छ। यदि रुसले सम्पूर्ण लुहान्स्क र दोनेस्क नियन्त्रणमा लिएर क्रिमियासम्मको करिडोर कायम राखेर यो युद्ध अन्त्य गर्न सफल भयो भने त्यो पुटिनका लागि ठूलो विजय घोषणा गर्न पर्याप्त हुनेछ।

तर, आफ्नो जित स्थापित गर्न पुटिनले युक्रेनलाई त्यस्तो अपमानजनक सर्तमा सम्झौताका लागि मनाउनुपर्ने हुन्छ। युक्रेन त्यसका लागि तयार हुन्छ कि हुँदैन, त्यो बेग्लै कुरा हो। युक्रेन र उसका पश्चिमा सहयोगीहरु कडा नाकाबन्दीको दबाब झेलिरहेको रुसको सेना र आर्थिक शक्ति अन्ततः थकित हुन्छन् र रुसले लडाइँ हार्छ भन्ने आशामा छन्।

यो युक्रेन र युरोपका लागि मात्रै होइन, रुसका लागि पनि फाइदाजनक नतिजा हुनेछ। किनभने त्यसो भए चाँडोभन्दा चाँडो रुसले आफ्नो इतिहासको अँध्यारो अवधिलाई पछाडि छाड्नेछ। 

तर, विश्व बैंकका अनुसार यो वर्ष रुसको जीडीपी ११.२ प्रतिशतले खुम्चिने अनुमान गरिएको छ। जबकि युक्रेनको अर्थतन्त्र २०२२ को अन्त्यसम्ममा ४५ प्रतिशतले खुम्चिन सक्छ। युक्रेनी अधिकारीहरु यही वर्षको अन्त्यसम्ममा पश्चिमा सहयोगीहरुले दिएको हतियार प्रयोग गरेर रुसविरुद्ध प्रत्याक्रमण सुरु हुने ध्वाँस दिइरहेका छन्। तर, त्यसका लागि युक्रेनसँग मानवीय स्रोत छ कि छैन भन्ने स्पष्ट छैन। 

रक्षात्मक युद्धभन्दा आक्रामक युद्धमा निकै बढी मानवीय क्षति हुने गर्छ। र, एकदमै महंगा र आधुनिक पश्चिमा हतियार साथमा भए पनि युक्रेनले दुर्जेय दुश्मनको सामना गरिरहेको छ। त्यसैले पुटिनको रुसभन्दा पहिले नै युक्रेनको सहनशक्तिको सीमा भत्किने सम्भावना ज्यादा छ।

(अल जजिराबाट। लियोनिड रागोजिन लाट्भियाको रिगास्थित पत्रकार हुन्) 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .