नेपाल असंलग्न परराष्ट्र नीति अंगालेको र सबै देशसँग असल सम्बन्ध राख्न चाहेको मुलुक हो। एसियाका दुई ठूला शक्तिराष्ट्र भारत र चीनको बीचमा हामी अवस्थित छौँ। हाम्रो यी दुवै छिमेकी राष्ट्रसँग राम्रो सम्बन्ध छ।
रुसको भारतसँग अत्यन्त निकट सम्बन्ध छ भने चीनसँग रणनीतिक सम्बन्ध स्थापित छ। रुसले चीन र भारत दुवैसँग निकट रहेर काम गरिरहेको छ। नेपाल पनि चीन र भारतसँग मिलेरै जानुपर्छ। चीन र भारतसँगको सम्बन्धलाई सन्तुलनमा नराखी हामी जानै सक्दैनौँ। हाम्रा लागि रुससँगको सम्बन्ध उत्तिकै महत्वपूर्ण छ।
पुरानो द्विपक्षीय सम्बन्ध हुनुका नाताले मात्रै नभएर रुससँगको सम्बन्धलाई हामीले रणनीतिक रुपमा पनि हेर्नुपर्छ। वैज्ञानिक अन्वेषण तथा सैन्य शक्तिका मामिलामा सोभियतकालीन युगमा पनि उक्त मुलुकले उल्लेख्य प्रगति गरेको थियो। भ्लादिमिर पुटिनको उदयपछि रुसले आर्थिक प्रगति र राजनीतिक स्थिरता हासिल गर्दै आएको देखिन्छ। रुससँग वैदेशिक मुद्रा सञ्चिति राम्रो देखिन्छ।
अन्तर्राष्ट्रिय राजनीतिमा रुसले आफूलाई बलियो शक्तिका रुपमा प्रस्तुत गरेको छ। रुस समेतको पहलमा स्थापित क्षेत्रीय संगठन सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) मा हामी अहिले डायलग साझेदार छौँ। त्यसैले रुससँगको सम्बन्ध हाम्रा लागि निकै महत्वपूर्ण छ।
कोभिड महामारी सुरु हुनुभन्दा ठीकअघि सन् २०१९ को नोभेम्बरमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रुस गएर राजनीतिक सम्बन्ध विस्तारबारे कुराकानी गर्नुभएको थियो। त्यसबेला रुसका राष्ट्रपतिलाई उहाँले नेपाल भ्रमणको निम्तो पनि दिनुभएको थियो। अहिले पनि हामीले रुससँग राम्रो राजनीतिक सम्बन्ध राम्रो कायम हुनुपर्छ भन्ने लाग्छ। म राजदूत भएर गएपछि उच्चस्तरीय भ्रमण आदानप्रदान बढाएर राजनीतिक सम्बन्ध बिस्तारका लागि काम गर्नेछु।
नेपालले रुससँग पर्यटन क्षेत्रमा सहकार्य बढाउन सके त्यसबाट विशेष फाइदा हुने सम्भावना देखेको छु। रुसबाट नेपालमा पर्यटक भित्र्याउने ठूलो सम्भावना छ। अहिले रुसबाट नगन्य मात्रामा नेपालमा पर्यटक आउने गरेका छन्। गत एक वर्षमा मात्रै रुसबाट ७० लाख पर्यटक टर्की गएका छन् भने २५ लाख थाइल्यान्डमा गएका रहेछन्। चीनमा २३ लाख रुसी पर्यटक जान्छन्। भारतमा पनि वर्षेनि पाँचसात लाख रुसी पर्यटक जाने रहेछन्। तर नेपालमा मुस्किलले वर्षेनि ५ हजार रुसी पर्यटक आउने रहनेछन्, हाम्रो पर्यटन विभागको तथ्यांक हेर्दा। यसमा परिवर्तन ल्याउन जरुरी छ। विश्वमा पर्यटक धेरै पठाउने मुलुकको सूचीमा रुस छैटौँ नम्बरमा पर्छ।
विश्वको पर्यटनमा यत्रो योगदान दिइरहेको रुसबाट हामीले किन पर्यटक नभित्र्याउने? वर्षेनि रुसमा ट्राभल मार्ट हुने गरेको छ। त्यहाँका विभिन्न सरकारी र गैरसरकारी संस्थागत सम्बन्ध राखेर नेपालको पर्यटन प्रबर्धनमा के सहकार्य गर्न सकिन्छ म सम्भावनाको खोजी गर्नेछु।
पर्वतारोहण र पदयात्रामा रुसका पर्यटक भित्र्याउन सकियो भने नेपाललाई निकै फाइदा हुनेछ। रुसीहरुमा बन्जी जम्पिङ, र्याफ्टिङ जस्ता एडभेन्चर टुरिजममा विशेष अभिरुचि देखिन्छ। रुसमा विभिन्न अल्पाइन क्लब छन्। रुसी नागरिकहरु युरोप र अन्य क्षेत्रमा पर्वतारोहण र एडभेन्चर टुरिजमका लागि जाने गरेका छन्। विश्वको अग्लो शिखर सगरमाथा हाम्रो नेपालमा छ। हालै पनि रुसका पर्यटकले सगरमाथा आरोहण गरेका थिए।
वर्षेनि रुसी नागरिक आउँछन्, तर सानो सानो संख्यामा। साहसिक पर्यटनका लागि रुसी पर्यटक भित्र्याउन हामीले प्रयास गर्न सक्छौँ। नेपालमा हिमाल चढेर फर्किसकेका रुसका नागरिकको ठूलो जमात रहेको सुनेको छु। रुस गएपछि उनीहरुसँग पनि सम्पर्क स्थापित गर्ने कोसिस गर्नेछु। किनकि, नेपाल भ्रमण गरेर फर्केका रुसका नागरिकले पनि नेपालको पर्यटन प्रबर्धनमा राम्रो भूमिका खेल्न सक्छन्।
अर्को कुरा, हामीले बौद्ध धर्मका माध्यमबाट पनि रुसमा हाम्रो मित्रता बढाउन सक्छौँ। रुसी महासंघमा २२ गणराज्य छन्। तीमध्ये तीनवटा गणराज्यमा बौद्ध धर्मावलम्बीको संख्या उल्लेख्य छ। रुसमा बौद्ध धर्मप्रतिको आकर्षण बढ्दै गएको देखिन्छ। नेपाल बुद्ध जन्मेको देश, म आफैँ बौद्ध धर्मावलम्बी हुँ। मैले त्यहाँका बौद्ध संघसंगठनसँग सम्पर्क बढाएर लुम्बिनीको अलावा हाम्रा बौद्धनाथ र स्वयम्भूको प्रचारका लागि काम गर्नेछु। हाम्रा हिमाली पहाडी क्षेत्रमा थुप्रै बुद्ध गुम्बा छन्। रुसी बौद्धमार्गी र लुम्बिनी क्षेत्रबीच सम्बन्ध बढाउन सकिए हाम्रो पर्यटन विस्तारमा महत्वपूर्ण टेवा पुग्नेछ। नेपाल ध्यान र योगका लागि केन्द्र हो भनेर रुसका बौद्ध धर्मावलम्बीलाई अवगत गराउन सकियो भने उनीहरुको यहाँ आकर्षण बढ्न सक्छ। यसबाट द्विपक्षीय सांस्कृतिक सम्बन्ध पनि विस्तार हुनेछ।
नेपाल र रुसबीचको व्यापारिक सम्बन्धबारे चर्चा गर्न चाहन्छु। नेपाल र रुसबीचको व्यापारिक सम्बन्ध कोरोनापछि समस्यामा परेको छ। कोरोना महामारीअघि पनि हाम्रो बीचमा ठूलो व्यापार चाहिँ थिएन। नेपालले थोरै मात्रामा कार्पेट र चिनी निर्यात गर्ने गरेको थियो। अहिले वैदेशिक मुद्रा सञ्चितीको अभावका कारण आर्थिक संकट भोगिरहेको यो बेलामा हामीले निर्यात बढाउन आवश्यक छ।
रुसको राजधानी मस्कोमा वर्षको दुई पटक ट्रेड फेयर हुने गरेको रहेछ, फेब्रुअरी र सेप्टेम्बरमा। ती ट्रेड फेयरहरुमा नेपालका व्यापारीलाई भाग लिन लगाउने र नेपाली उत्पादन प्रबर्धन गर्न लगाउने गर्न सकिन्छ। कृषिजन्य उपजहरु जस्तै चिया र अदुवा पर्याप्त मात्रामा विदेश निर्यात सकिएको छैन। यसखालका हाम्रा उत्पादन कसरी रुसमा निर्यात गर्न सकिन्छ। त्यसैगरी हस्तकलाको निर्यात बढाउन सकिन्छ। म सबै किसिमका निर्यात बढाउने संभावनाको खोजी गर्नेछु।
नेपाललाई वैदेशिक लगानीको निकै खाँचो छ। रुसबाट कसरी लगानी भित्र्याउन सकिन्छ त्यसका सम्भावना म खोजी गर्नेछु। रुस विश्वको धनी मुलुकमध्ये पर्छ। अन्य मुलुकमा पनि उनीहरुको लगानी छ। म त्यहाँबाट नेपालमा कसरी लगानी बढाउन सकिन्छ त्यसबारे पहल गर्नेछु। खासगरी नेपालमा रुसस्थित गैरआवासीय नेपालीहरुको ठूलो लगानी छ। उनीहरुको लगानी अझ बढी यहाँ ल्याउने मेरो योजना छ।
नेपाल ठूलो सौर्य शक्ति भएको देश होइन। तर हामीसँग सौम्य शक्ति अथाह छ। जस्तो, हामी संस्कृति, कला साहित्य र संगीतमा बलिया छौँ। त्यसैले हाम्रो सौम्य शक्तिलाई अझ बढी रुसमा प्रबद्र्धन गरेर रुसमा नेपालको राम्रो छाप छोड्ने प्रयास गर्नेछु। त्यसबाट राष्ट्रिय अर्थतन्त्रमा थोरै भए पनि टेवा पुर्याउने मेरो प्रयास हुनेछ।
इतिहासको एक कालखण्डमा नेपाल र रुसका राजनीतिक दलबीच सम्बन्ध थियो। खासगरी कम्युनिस्टबीच भावनात्मक सम्बन्ध थियो। धेरै नेपालका नेता रुसमा अध्ययन गरेका थिए। त्यहाँको राजनीतिक वृत्तसँग सम्पर्क र राम्रो सम्बन्ध थियो। विश्व राजनीतिमा धेरै परिवर्तन भयो। अहिलेको रुसी महासंघ धेरै फरक छ।
माननीयज्यूहरुले दिनुभएको सुझाव अनुसार म त्यहाँको सत्ता संरचनामा आफ्नो सम्बन्ध बढाउने पहल गर्नेछु। रुसको कर्मचारी प्रशासन ठूलो छ। त्यहाँको राजनीतिक र कर्मचारीतन्त्रमा पहुँच बढाएर मैले नेपालको राष्ट्रिय हितका लागि के गर्न सकिन्छ, सबै सम्भावनाको खोजी गर्नेछु। अहिले रुस र युक्रेनबीच द्वन्द्व छ। आशा गरौं अब विस्तारै द्वन्द्व समाधान हुनेछ। त्यसपछि हामीलाई रुससँग काम गर्न अझै सहज हुनेछ। रुससँग विगतमा हाम्रो जुन निकट र भावनात्मक सम्बन्ध थियो, म राजदूत भएर गएपछि त्यसलाई फेरि ब्युँत्याउने प्रयत्न गर्नेछु।
(रुसका लागि प्रस्तावित नेपाली राजदूत मिलनराज तुलाधरले संसदीय सुनुवाइ समितिमा नेपाल-रुस सम्बन्धबारे राखेका विचारको सम्पादित अंश)
Shares
प्रतिक्रिया