ad ad

विचार


प्रचण्डको अभिव्यक्तिले सेयरबजार धकेलिदियो, अब माथि नै जान्छ

प्रचण्डको अभिव्यक्तिले सेयरबजार धकेलिदियो, अब माथि नै जान्छ

सेयरबजार विश्लेषक अनलराज भट्टराई


अनलराज भट्टराई
मंसिर २८, २०७८ मंगलबार २१:२८, काठमाडौँ

नेपालको सेयरबजारलाई लिएर अहिले विभिन्न टीकाटिप्पणीहरु भइरहेका छन्। नीतिगत कुराहरु नहेरी अहिले आइरहेका समाचार वा कसैको भनाइ नै घट्दो सेयरबजारको मुख्य कारणजसरी व्याख्या विवेचना भइरहेको छ। त्यसरी निष्कर्षमा पुग्नु ठीक होइन।

हो, सेयरबजारमा उतारचढाव आइरहेको छ। सूचक–परिसूचक रातो र हरियो हुनेक्रम जारी छ। तर दुई दिन घट्दा आत्तिहाल्नुपर्ने अहिलेको अवस्था होइन। बजार घट्दैमा कसैलाई आक्षेपित गरिहाल्नुपर्ने देखिँदैन। बजारमा मुख्य उतारचढाव ल्याउने त आर्थिक अवस्था, सरकार र राष्ट्र बैंकको नीतिगत पक्षले हो। 

नेपालमा न हिजो ‘इकोनोमिक कन्डिसन’ केही फरक थियो, न आज। हिजो र आजमा केही पनि फरक छैन। यत्तिकैमा वाणिज्य बैंकहरुले पुस महिनामा ब्याजदर नबढाउने भनी एउटा सकारात्मक निर्णय गरेका छन्। त्यो राम्रो कुरा हो। त्यस्तै सरकारले पनि विस्तारै खर्चहरु बढाउँदै जान्छौँ भनेको छ। यसले लिक्विडिटी (तरलता)मा केही सहजता ल्याउने देखिन्छ। सेयरबजारका लागि यी दुवै सुखद समाचार हुन्। 

अहिले यसकारण बजारमा उतारचढाव 
हो अहिले सेयरबजारमा अस्थिरता देखिएको छ। तर यसलाई यसरी पनि हेर्नुपर्छ– ०७६ चैतबाट जब हामीले कोभिडको कारण लकडाउन गर्यौँ, त्यो बेलादेखि विभिन्न किसिमले राष्ट्र बैंकले सहयोगी नीतिहरु ल्यायो। सेयरबजार तथा अन्य बजार व्यवसाय सञ्चालन गर्न, त्यसलाई जीवन्तता दिनको लागि आवश्यक नीति निर्माण गर्दै गइरहेको थियो। 

‘क्वालिटेटिभ लिडिङ’ (सहयोगी नेतृत्वदायी भूमिका) गर्नेदेखि लिएर ‘अनकन्भेन्सनल मनिटरी पोलिसी’ (अपरम्परागत मौद्रिक नीति) पनि प्रयोग गर्ने भनिएको थियो। यी सबैले गर्दा त्यो बेलामा हामी सबैसँग यथेष्ट तरलता थियो तर यता डिमान्ड साइड (माग पक्ष) बलियो थिएन। कर्जा चाहियो भन्ने थिएनन्। अन्य आर्थिक गतिविधि पनि केही थिएन। कोरोनाको प्रभाव थियो। यस्तो अवस्थामा मान्छे कहाँ जाने त? सेयरबजार र रियलस्टेटबाहेक उनीहरुलाई अन्य विकल्प नै भएन। नेपालमा मात्र होइन संसारकै अवस्था त्यही थियो। 

त्यस्तो बेलामा दुईवटा चिजको मूल्य बढ्यो अर्थात् सेयर र घरजग्गाको मूल्य बढ्यो। हामीले देख्यौँ नि– सेयरबजार आकाशिएको र रियलस्टेट कारोबार फस्टाएको। संसारभरि नै देखिएको ट्रेन्ड थियो त्यो। किनभने मान्छेको हातमा पैसा थियो, आइडिया थियो तर लगाउने ठाउँ थिएन। 

पैसा लगाउन सजिलो चिज नै स्टक मार्केट (सेयरबजार) भयो। त्यही बेला नेपालको सेयरबजार अनलाइन प्रणालीमा समेत गयो। पहिला यस्तो थिएन। त्यसले गर्दा लगानीकर्ता पनि झुम्मिए। लगानी गर्ने र चर्चा गर्ने विषय नै सेयरबजार भयो। किनभने त्यो बेलामा राजनीतिक कुराहरु पनि केही थिएनन्, एउटा किसिमको स्टेबल गभर्नमेन्ट (स्थायी सरकार) थियो। सोही हिसाबले चलिरहेको थियो। त्यस्तो केही पनि थिएन। यो सबै हुँदा ‘पोजिटिभ’ भावनामा सेयरबजार दौडिरहेको थियो। 

यति हुँदै गर्दा कोरोना प्रभाव कम हुँदै गयो, आर्थिक गतिविधि पनि बढ्नथाले। कोरोना प्रभाव घटेपछि केन्द्रीय बैंकले कोरोना प्रभाव रोक्न ल्याएका नीतिगत कुरा बदलिनेतर्फ उन्मुख भए। यो हुनु स्वाभाविकै पनि थियो। किनभने केन्द्रीय बैंकले आफ्ना नीतिहरुलाई सधैँ खुकुलो पारिराख्न सक्दैन। कुनै पनि नीति सामान्यीकरण गर्दै लैजानुपर्छ। 

भन्न खोजेको के हो भने राष्ट्र बैंकले कर्जा तिर्ने मान्छेलाई कर्जा नतिरिराख, सस्तोमा दिइराख्छु, तिमी नतिरिराख भन्न मिल्दैन। किनभने त्यसले कर्जा जति घुमिराख्छ, त्यति नयाँ ठाउँ सिर्जना भइराख्छ। त्यसले गर्दा कर्जा ‘रोटेसन’ गराउन पनि कोभिड महामारीको समयमा ब्याज तिर्नुपर्दैन, सावाँ नतिर, अन्य सुविधा पनि दिन्छौँ भनिएको थियो। यसो गर्दा पैसा चलायमान हुने ठाउँ मिलिरह्यो। 

अबचाहिँ केन्द्रीय बैंकले तपाईंहरुले पैसा तिर्नु पर्छ, हामी पनि अलिकति कडा हुन्छौँ भनेको हो। यो स्वाभाविक नै हो। नभएदेखि निक्षेपकर्ताको निक्षेप जोखिममा पर्छ। यतिमात्र होइन वित्तीय क्षेत्रको स्थायित्व कायम गर्नुपर्छ भन्ने हिसाबले पनि केन्द्रीय बैंकबाट नीतिगत पक्ष परिवर्तन हुन्छन्। अहिले भएको यही हो। पहिले नीति खुकुलो हुँदा बजार पनि एकैचोटि खुकुलो भएको थियो, अब भने नीति पनि कसिलोतिर गएको छ। जस्तो कि ४/१२ को नीति आयो, सीसीडी रेसियोलाई सीडी रेसियोमा ल्याइयो। यो सबै चिजहरु गर्दै जाँदा केन्द्रीय बैंकले अझै कडा नीतिहरु ल्याउँदै जाने हुनसक्छ भन्ने मलाई लाग्छ। 

यसले बजार केही तलमाथि हुनु स्वाभाविकै थियो। यी सबै चिजका बाबजुद सेयरबजार २८ सय विन्दुमै बसिरहेको थियो। लामो समय २८ सयमा बसिरहेको अवस्था थियो। अहिलेको अवस्थामा २८ सयबाट तल आउनुपर्ने कारण थिएन। किनभने २८ सयमा एउटा ‘लेभल मेन्टेन्ड’ भएर बसिरहेको थियो। तल आइहाल्नुपर्ने अवस्था थिएन। त्यसकारण यसलाई विभिन्नखाले बजारलक्षित समाचार र विभिन्न व्यक्तिका अभिव्यक्तिमा आधारित मान्नुपर्ने हुन्छ। कसैले केही बोले भने त्यसलाई बजारमा बिकाउने काम भइहाल्छ। अहिले यही भएको हो, त्यस्तोचाहिँ हुनुहुँदैन।

राष्ट्रपतिको स्वास्थ्य बिग्रियो भने पनि सेयरबजार तलमाथि हुन्छ 
यद्यपि संसारभरि नै स्टक मार्केटले समाचारलाई प्रतिक्रिया जनाउँछ भन्ने नै छ। तर हामीकहाँचाहिँ यसै पनि सेयरबजार सबै चिजबाट संकुचित हुँदै आइरहेको थियो, त्यसमै एक जना नेताको अभिव्यक्ति आयो। यो त स्वाभाविकै हो, ओरालो लागिरहेकै थियो, त्यो अभिव्यक्तिले बजारलाई थप धकेलिदियो। तर त्यो चिज पनि सत्य होइन रहेछ भन्नेचाहिँ हिजो र आज (सोमबार र मंगलबार) देखियो। अघिल्लो दिन घटेको थियो, आज (मंगलबार) फेरि बढेको छ। यसै पनि हामीकहाँ ३० अर्बको कारोबार हुनेमा घटेर अहिले २/३ अर्बमा भइरहेको छ। 

त्यो हिसाबले कहिलेकाहीँ बजारले ‘रिफ्लेक्सन’ गर्छ भन्ने संसारमै देखिन्छ। सानो सानो कुराले पनि यसो गर्छ। उदाहरणकै लागि राष्ट्रपतिको स्वास्थ्य बिग्रियो भने पनि वा अन्य केही भयो भने पनि बजार तलमाथि हुने, करेन्सी मार्केट (मुद्रा बजार) तलमाथि हुने गर्छ। योचाहिँ साधारण कुरा हो। हामीकहाँ मात्र होइन, सबैतिर यसो हुन्छ तर इन्भेस्टर (लगानीकर्ता) आफैँ सक्षम हुनुपर्छ जस्तो लाग्छ। ‘कागले कान लग्यो’ भनेर हल्लैहल्लामा कान समाउने कि कागको पछाडि दौडिने भन्ने हेर्नुपर्छ।  ​

प्रचण्डको अभिव्यक्ति परिबन्ध–कथाजस्तै 
प्रचण्डको अभिव्यक्तिपछि लगातार दुई दिन सेयरबजार ओरालो लागेको भनियो। यसलाई हामीले सुनेको वा पढेको ‘परिबन्ध’ कथाका रुपमा लिँदा हुन्छ। त्यस्तै भएको हो। दुई दिन बजार ठूलो अंकमा घट्नुमा उहाँको अभिव्यक्ति जोडिन्छ। एउटा कुनै चिज घट्नको लागि वा घटाउनको लागि केही चिजको प्रयास भइरहेको बेलामा एउटा कुनै त्यस्तो कुरा आइदिनाले दोष थोपरिन्छ नै। नभए तात्विक भिन्नता शुक्रबारबाट मंगलबारमा आउँदा हाम्रो देशमा के भिन्नता प्राप्त भयो र बजार सयमा जानुपर्ने वा सयमा घट्नुपर्ने भयो त? भिन्नता के छ र? केही पनि छैन । 

त्यसकारण मेरो हिसाबले ती चिजहरुलाई हामीले ध्यान दिइराख्नुपर्छ जस्तो लाग्दैन। अब आगामी दिनमा राष्ट्र बैंकको नीति कस्तो रहन्छ, जस्तो मौद्रिक नीति कस्तो रहन्छ, तरलता व्यवस्थापनमा कस्तो हुन्छ भन्ने नै मुख्य कुरा हो। अहिले केन्द्रीय बैंकले २३ खर्ब रुपैयाँ बैंकहरुलाई तरलता व्यवस्थापन गर्न दिएको छ। यसको मतलब राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न प्रचुर सहयोग वित्तीय क्षेत्रलाई गरिरहेको छ। यो निरन्तर भइरहन्छ र सरकारले पनि खर्चलाई बढाउँदै जान्छ। यी सबै प्रक्रियाले जाँदा चैतपछि त बजारले यसै पनि आफ्नो लय लिन्छ। माथि नै जान्छ भन्ने मेरो अनुमान हो। नेपालको बजार ट्रेन्ड हेर्ने हो भने जहिले पनि आर्थिक वर्षको अन्तिम त्रैमासिकपछि सेयरबजार बढ्ने र कुनै पनि आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म माथि नै गइरहने देखिन्छ। 

यसको अर्थ अहिलेको यो समय सेयरबजारमा ‘करेक्सन’ आउने समय हो। त्यसकारण आत्तिनुपर्ने अवस्था होइन। कसैलाई गाली गरिहाल्नु ठीक होइन। अहिले पनि घट्ने र बढ्ने गर्दा लगानीकर्ताले कमाएकै छन्। नेपाली सेयरबजारको लागि जहिले पनि यो ‘करेक्सन पिरियड’ नै हो। त्यसपछि फेरि बजारले ‘पिकअप’ लिँदै जान्छ। त्यसकारण यो लयमै रहन्छ। 

अहिले यसरी घट्नुपर्दैनथ्यो। स्टक मार्केटमा अब त लगानीकर्ता पनि धेरै भइसके। त्यो हुनाले यसरी घट्ने र बढाउनेमा चाहिँ अझै पनि त्यो कारोबारसम्बन्धी नीतिनियम लगायत अन्य ‘टुल्स’हरु प्रयोग हुनुपर्छ। साधारण कुरा अहिलेचाहिँ उतारचढावकै समय हो। 

घाटा सहने शक्ति चाहिन्छ
कुनै पनि कारोबार गर्नेबित्तिकै सुरुमै नाफा हुन्छ भन्ने हो भने नेपालमा मात्र नभई संसारभरि कोही पनि घाटामा जाँदैनथ्यो। प्रकृतिको नियम पनि जन्मिन्छ, हुर्किन्छ बढ्छ अनि मर्छ, बिहान भएपछि बेलुका हुन्छ। सधैँ एकनास रहँदैन। त्यो हिसाबले हेर्दा मैले आज व्यापार सुरु गरेँ, मैले आजै नाफा कमाउनुपर्छ, अरुको त मलाई थाहा छैन भन्ने भावना त कहीँबाट पनि हुँदैन। 

अझ के हिसाबले हेर्नुपर्छ भने लगानी गर्ने भनेको जोखिम लिने हो, जोखिम लिँदा कति लिइरहेको छु, मसँग सय रुपैयाँ छ भने मैले सय रुपैयाँ नै जोखिममा लगाएँ भने डुब्ने सम्भावना हुन्छ भन्नेतिर पनि ध्यान दिनुपर्छ। मैले सय रुपैयाँलाई विभिन्न ठाउँमा लगाएँ भने अलिकति तलमाथि हुँदा फरक पर्दैन भन्ने बुझ्नुपर्छ। 

स्टकमार्केट अलिकति डाउन भएको थियो, समाचार आयो– १२ खर्ब गुम्यो भनेर। गुम्यो भन्ने बुझाइलाई यसरी पनि मनन गर्नुपर्छ। जस्तो कि आफ्नो घरको मूल्य अघिल्लो दिन म चार अर्ब तोक्छु, भोलिपल्ट म २ अर्ब तोक्छु र बेच्छु भने मलाई २ अर्ब एक दिनमा घाटा लाग्छ। तर किन्ने मान्छे त चाहियो नि? बिक्री पनि हुनुपर्यो।  

मेरो घरलाई म एक दिनमा २ अर्ब भनुँला, फेरि भोलिपल्ट १ अर्ब भनुँला अनि मेरो घरको मूल्य १ अर्बमा झर्यो भनुँला। अब मलाई १ अर्ब घाटा भएको हो त? नाफा र घाटा हुन त कारोबार हुनुपर्छ। एक व्यक्तिले आफैँले आफैँमा नाफा गर्न सक्दैन। नाफा र घाटालाई २ व्यक्तिको सम्बन्ध हुनुपर्छ। भनेपछि त्यो सम्बन्ध नहुन्जेलसम्म त तपाईंले स्टक मार्केटमा भ्यालु कतिसम्म रहन्छ त भने तपाईंले परल मूल्यमा तल आयो भनेचाहिँ घाटा हुने सम्भावना हुन्छ। जस्तो परल मूल्यचाहिँ सय रुपैयाँ छ, अब स्टक मार्केटमा त्यो ९० भ्यालुएसन भयो भने तपाईंलाई घाटा भयो। तपाईंको परल मूल्य सय छ, १२० भइरहेको थियो अब ११५ भयो भने तपाईंलाई ५ रुपैयाँ घाटा भयो त भन्न मिल्दैन नि! 

पोर्टफोलियोमा त कस्तो हुन्छ भने एउटाबाट नाफा होला, अर्कोबाट घाटा होला। औसत पोर्टफोलियो हेर्ने भनेकै त्यही हो। सबै स्टकमा नाफै हुन्छ भन्ने छैन। त्यसकारण कुनै मन्त्री आउँदा बढ्ने, अर्को आउँदा घट्ने जस्तो देखिन्छ तर त्योचाहिँ समयअनुसार हुन्छ। 

१ वर्षअघि लगानी गरे, अहिले झिक्दैछन्  
कुनै बेलामा कोभिड भएर लगानीकर्ता पनि थपिनु, लगानीकर्तालाई दिउँसो ११ देखि ३ बजेसम्म गर्ने काम नै सेयरबजार हेर्नु, ४० लाख मानिस आउनु, यी कुराले डिमान्ड बढेर माथि जानु एउटा कुरा हो। डिमान्ड बढ्दै गएपछि त्यतिखेर कारोबार गर्नेहरुले पनि पैसा झिक्नुपर्छ नि स्टक मार्केटबाट। जस्तो १ वर्षअघि त केही कारोबार थिएन। त्यो बेलामा लगानी गरे। अब अहिले लगानी भएको पैसा विभिन्न काम गर्नुपर्यो। त्यसका लागि त त्यहाँबाट झिक्नुपर्छ नि। 

भनेपछि बिक्रीको ‘प्रेसर’ त आउँछ आउँछ नि। ४० लाख कारोबार गर्न आएपछि उनीहरुलाई वर्षभरि पैसा चाहिँदैन भन्ने त हुन्न। त्यो अवस्थामा उनीहरुले पनि पैसा झिक्ने त आफैँले हो नि। न त्यहाँ मन्त्रीको कुरा हो, न त्यहाँ कसैको कुरा हो। विगत ३/४ वर्षदेखिको स्टकमार्केटसम्बन्धी नीतिमा प्रक्रियाको हिसाबमा हामीले धेरै सुधार गर्यौँ, नीतिगत धेरैचाहिँ सुधार भएको छैन। जस्तोको त्यस्तै छ। भनेपछि त्यसमा हामीले कोही व्यक्ति वा कसैलाई जोड्नैपर्दैन। 

त्यो परिस्थिति नै त्यही थियो त्यतिखेर– कोभिडको कारण संसारभरि त्यही नै थियो।  

२० प्रतिशत माथि जानेबित्तिकै नाफा  
अन्त्यमा, लगानी गर्नेलाई जहिले पनि मौका हुन्छ। चाहे त्यो बढिरहेको बजार होस् वा घटिरहेको। बढिरहेको बजारमा अझ बढी मौका हुन्छ। त्यसो त घटिरहेको बजारमा पनि मौका हुन्छ। त्यो हिसाबले के हेर्नुपर्छ भने घटिरहेको बजारमा कुन सामग्री किन्दा यो पछि तुरुन्त बढ्न सक्छ भन्ने हिसाबले हेर्नुपर्छ। कतिसम्म घट्दाखेरि घाटालाई म बढ्न दिन्न र कतिसम्म बढ्दा योभन्दा बढी नाफा लिन्न भन्ने हिसाबमा अगाडि बढ्नुपर्छ। 

नाफाचाहिँ असीमित होस्, घाटाचाहिँ एक रुपैयाँ पनि नहोस् भन्ने अवधारणा छ भने त्यो स्टकमार्केटमा प्रवेश गर्दा उसले जोखिम बढी वहन गर्नुपर्ने हुन्छ। त्यो जोखिम बढी लिने मान्छेले के गर्नुपर्छ भने यस्तो सानोतिनो चिजलाई म वास्ता गर्दिनँ। मेरो बाटोमा म हिँड्छु भन्ने हो। हात्ती लम्किँदै गर्छ, भ्यागुताहरु कराउँदै गर्छन् भन्ने भनाइलाई फलो गर्ने हो। म नाफा खोजिरहेको छु भने कुनै समय म घाटा पनि खान सक्छु भन्ने बुझ्नुपर्छ। 

मेरो घाटालाई भविष्यले परिपूर्ति गर्छ भन्नेजति सक्षम आफू हुनुपर्छ। त्यो नभए योभन्दा बढी घाटा पनि व्यहोर्दिन, नाफा पनि लिन्न भनेर नाफा २० प्रतिशत, घाटा ५ प्रतिशतभन्दा कम हुनेबित्तिकै म बेच्छु भन्ने हो। नाफा २० प्रतिशत माथि जानेबित्तिकै बेच्छु भन्यो भने हुन्छ। होइन नाफाचाहिँ असीमित चाहिन्छ, घाटाचाहिँ १ रुपैयाँ नि हुनुहुन्न भन्यो भने त जुनसुकै चिजमा पनि नाफाघाटा हुनसक्छ। 

(सेयरबजार विश्लेषक अनलराज भट्टराईसँग नेपालखबरका दीपक भट्टले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .