ad ad

विचार


गिरिजाको ल्याङ्फ्याङ् तरिका देखेपछि भेट्न आवश्यक ठानिनँ

गिरिजाको ल्याङ्फ्याङ् तरिका देखेपछि भेट्न आवश्यक ठानिनँ

नरहरि आचार्य
मंसिर २३, २०७८ बिहिबार १३:५७, काठमाडौँ

२०३६ सालसम्म म प्राध्यापक सङ्घमा सक्रिय भइसकेको थिइनँ। 

२०३६ साल जेठ १० गते जनमतसङ्ग्रहको घोषणा भैसकेपछि चाहिँ साथीहरूसँग भीसीकहाँ डेलिगेसन गएको थिएँ। जगतमोहन अधिकारी भीसी थिए। उनी मनमोहन अधिकारीका भाइ थिए। 

हामीले भीसीलाई भन्यौँ– ‘प्राध्यापकले पढाउने काम सकिएपछि जनमतसङ्ग्रहको बारेमा प्रचारप्रसार गर्न पाउनुपर्छ। विश्वविद्यालयका नियममा जेजस्तो व्यवस्था भए पनि जनमतसङ्ग्रहका दुई पक्षमध्ये आफूलाई मन लागेको पक्षमा लेख्न बोल्न उसलाई छुट हुनुपर्छ।’

उनले त्यो कुरालाई इन्कार गर्न सकेनन्। किनभने जेठ १६ गते राजदरबारले निकालेको विज्ञप्तिमा दुवै पक्षले प्रचारप्रसार गर्न पाउने भनिएको थियो। 

जगतमोहनको पारिवारिक पृष्ठभूमिका कारण पनि उनी हामीलाई रोक्न चाहँदैनथे होला भन्ने मलाई लागेको थियो।

प्राध्यापकहरूबीच यसरी स–साना काममा सहभागिता जनाउँदा जनाउँदै क्रमशः म प्राध्यापक सङ्घका राजनीतिक क्रियाकलापमा पनि संलग्न हुँदै थिएँ। 

त्यतिखेर प्राध्यापक सङ्घको अध्यक्ष र महासचिव दुई प्रतिस्पर्धी समूहबाट आएका भए पनि मिलेरै काम गरिरहेका थिए। त्यो पछिसम्म प्राध्यापक सङ्घको परम्पराजस्तै बन्यो।

दोस्रोपल्ट २०३९ सालमा प्रजातान्त्रिक पक्षबाट नीलकण्ठलाल श्रेष्ठ अध्यक्ष र कौशलराज रेग्मी महासचिवमा उठे। नीलकण्ठलाल सय भोटले प्रगतिशील पक्षका डा मङ्गलसिद्धि मानन्धरसँग हारे। कौशलराज रेग्मी भने महासचिवमा विजयी भए। अध्यक्षमा हारे पनि बहुमत प्रजातान्त्रिक पक्षकै थियो। 

यस चुनावमा चाहिँ म खुलेरै प्रचारमा जुटेँ। कतिसम्म भने ठूली छोरी ऋचा (अनामिका) लाई बोकेरै म प्रचारमा गएँ। शारदा स्कूल पढाउन जाने हुँदा छोरीको हेरविचार गर्न घरमा कोही हुँदैनथ्यो। मसँग जाँदा ऊ दिनभरी साथीहरूकै काखमा हुन्थी। 

त्यसबेला प्राध्यापक सङ्घमा हामी आफैँले उम्मेदवार चयन गर्थ्यौं। यद्यपि काङ्ग्रेसको सङ्गठन देशभरी र अपेक्षाकृत बलियो भएकाले पार्टी नेताहरूसँग पनि सहयोग माग्थ्यौं। काङ्ग्रेस निकट प्राध्यापकहरूको भोट नेताहरूले हाम्रा पक्षमा मागिदिऊन् भन्ने आग्रह हुन्थ्यो। उनीहरू सहयोग पनि गर्थे।

त्यसैले चुनाव सकिएपछि त्यसको परिणामबारे विस्तारमा जानकारी गराउन हामी गिरिजाप्रसाद कोइरालाकहाँ जाँदै थियौँ। त्यहाँ जानुअघि हाम्रो समूहले, महाराजगन्जमा हाम्रो बन्दै गरेको घरको माथिल्लो तलामा बसेर चुनावको प्रतिवेदनलाई अन्तिम रूप दियो। 

गिरिजाप्रसादसँग पहिलो भेट
गिरिजाप्रसादलाई पहिलोपल्ट मैले २०३७ साल वैशाख १७ गते काठमाडौँको सानो गौचरनमा भएको आमसभामा भाषण गरेको देखेको हुँ। ल्याङ्फ्याङ् तरिकाले साधारण कमिज र पाइन्ट लगाएको, दाँत उछिट्टिएको, दुब्लो, तालुखुइले मान्छे– उनको व्यक्तित्व सर्सरी हेर्दा प्रभावशाली थिएन। बोल्न पनि त्यति राम्रो बोलेनन्। उनी ठूला क्रान्तिकारी हुन्, पार्टी र सङ्गठनको काम सबै उनैले हेर्छन् भन्थे। बीपी कोइरालाको दाहिने हात भन्ने पनि सुनेको थिएँ। त्यो भाषण सुनेपछि उनी मैले सुनेजस्तो मान्छे त होइन जस्तो लाग्यो। भेट्न आवश्यक जस्तो पनि ठानिनँ। 

गिरिजाप्रसाद कोइराला त्यतिखेर जयवागेश्वरीस्थित तारिणीप्रसाद कोइरालाको घरमा बस्थे। प्राध्यापक सङ्घको चुनावको प्रतिवेदन लिएर हामी त्यहीँ गयौँ। २०३९ सालमा, देहावसान हुनुअघिसम्म बीपी कोइरालाको निवास पनि त्यही थियो। 

गिरिजाप्रसाद कोइरालासँगको भेटपछि उनले मलाई ‘तपाईंसँग म फेरि भेट्छु है’ भने। मैले दुई–चार दिनपछि भेट्ने होला भन्ने सोचेको थिएँ। तर कोही मान्छेलाई विशेष भन्नुपर्दा त्यसै भन्ने चलन रहेछ उनको। त्यसपछि छ–सात महिना नै उनीसँग मेरो भेट भएन। महाराजगन्जमा आफ्नी भाउजू सुशीला कोइरालाको घरमा सरेपछि मात्रै गिरिजाप्रसादलाई मैले भेटेँ। 

‘अब सङ्गठित रूपले पार्टीमा काम गर्नुपर्छ है’ भनेका थिए उनले।

गिरिजाप्रसादलाई मैले आफ्नो परिचय दिँदा चुँदी–रम्घा घर भएको बताएको थिएँ। काठमाडौँमा बसेको ठाउँमा अलिकति जमिन पनि छ भनेको थिएँ। पछि कहिले हो, ठट्टा गर्दै साथीहरूको बीचमा, ‘ए... उहाँ त काठमाडौँको जमिनदार हो नि’ भनिदिएका थिए मलाई। पछि २०४८ सालको चुनावताका गिरिजाप्रसादले महाराजगन्ज चक्रपथमा पार्टीको काम गर्न सानो कार्यालय नै खोले। प्रधानमन्त्री भएपछि चाहिँ बाँसबारीमा घरै लिएर सम्पर्क कार्यालय समेत खुल्यो।

गिरिजाप्रसादको निवास र सम्पर्क कार्यालय, हाम्रो घर नजिकै भएकाले पनि मलाई आउजाउ गर्न सजिलो थियो। त्यसपछि भने हाम्रो भेटघाट बाक्लिँदै गयो। आवश्यक ठान्दा मसँग सरसल्लाह पनि लिन्थे उनले।
***
नेपाल प्राध्यापक सङ्घ २०१९ सालमा स्थापना भएको हो। पञ्चायतको सुरुवातका दिन भएकाले राजा महेन्द्रले त्यसमा निकै रुचि राखेका थिए। महेन्द्रको देहावसानपछि २०२९ सालदेखि त्यो संस्था निष्क्रियजस्तै थियो। जनमतसङ्ग्रहलगत्तै २०३६ सालपछि यसलाई सक्रिय बनाउने कुरा भयो। प्राध्यापक सङ्घलाई सक्रिय बनाउनमा प्रजातन्त्रवादी र प्रगतिशील प्राध्यापकहरू नै लागे। 

२०३६ सालमा प्राध्यापक सङ्घको पुनर्गठनका निमित्त एउटा तदर्थ समिति बन्यो। यसका अध्यक्ष डा. चन्द्रप्रसाद गोर्खाली र महासचिव चूडाराज उप्रेती थिए। यो समितिले वर्षदिनभित्र प्राध्यापक सङ्घको नयाँ विधान बनायो। नयाँ चुनाव पद्धतिलाई अङ्गीकार गरेर प्राध्यापक सङ्घलाई परिवर्तित रूप दियो। एक व्यक्ति एक भोटको परम्परा सुरु भयो। २०३७ साल फागुन १० गते यस प्रणालीबाट पहिलोपटक चुनाव घोषणा गरियो। 

पहिलो चुनावमा प्रजातान्त्रवादी समूहबाट बीसी मल्ल अध्यक्ष र सौभाग्यजङ्ग कार्की महासचिवमा उठे। बीसी मल्ल जिते पनि सौभाग्यले महासचिव जित्न सकेनन्। प्रगतिशील पक्षका बालमुकुन्द खरेल महासचिव बने। उनी पहिला त्रिभुवन विश्वविद्यालय विद्यार्थी युनियनमा पनि सचिव भैसकेका थिए। प्राध्यापक सङ्घका पदाधिकारीको कार्यकाल दुई वर्षको हुन्थ्यो।

२०४१ सालमा प्रजातन्त्रवादी समूहबाट ऐश्वर्यलाल प्रधानाङ्ग अध्यक्ष र कृष्ण खनाल महासचिवमा उठे र दुवै जनाले हारे। प्रगतिशील समूहका राममान श्रेष्ठ र विदुरप्रसाद उपाध्याय दुवैले जिते।

२०४३ सालमा चाहिँ प्रजातान्त्रिक समूहका डा. दुर्गाप्रसाद भण्डारी, कपिल श्रेष्ठ र सुप्रभा घिमिरे अध्यक्ष महासचिव तथा कोषाध्यक्षमा निर्वाचित भए। बहुसङ्ख्यक सदस्यहरू समेत प्रजातन्त्रवादीहरू नै बने।

२०४५ सालमा डा सूर्यलाल अमात्य अध्यक्ष र म महासचिवमा उठ्यौँ। त्यसबखत वातावरण अलि बेग्लै थियो। आन्दोलनको रौनक प्राध्यापक सङ्घमा पनि प्रवेश गरिसकेको थियो। हाम्रो समूहले घोषणापत्रको आवरण नै नीलो बनाएर बहुदलको रङ ग्रहण गरेका थियौँ। पत्रकार सम्मेलन गरेरै घोषणापत्र जारी गर्यौँ।

नयाँ कुरा के थियो भने, प्रतिस्पर्धामा दुइटा मात्र होइन, तीन वटा समूह भए। प्रगतिशील प्राध्यापकको समूह हर्षनारायण धौभडेल र मुकुन्दनारायण श्रेष्ठको थियो भने एउटा अर्को समूह पनि खडा भयो, जसमा डा चन्द्रप्रसाद गोर्खाली र हेमन्त राणा अध्यक्ष र महासचिवमा उठेका थिए। उनीहरूले आफूलाई ‘प्राज्ञिक समूह’ भने पनि अरूले उनीहरूलाई अनौपचारिक रूपमा ‘पञ्चायती समूह’ भन्थे।

त्यतिखेर म पीएचडी नसकिएको, तर सक्न लागेको अवस्थामा थिएँ। मलाई लेख्नभन्दा बोल्न छिटो र सजिलो हुने हुँदा मैले भन्ने र शारदाले लेख्ने गरेर प्रारम्भिक मस्यौदा तयार पारेका थियौँ। उनी छिटो लेख्थिन्। त्यो मस्यौदा मेरा शोध निर्देशक गुरु वासुदेव त्रिपाठीलाई हेर्न दिएको थिएँ। 

छोरीहरू साना थिए। शारदा पनि बारम्बार बिरामी भइरहन्थिन्। उम्मेदवार भएपछि प्रचारप्रसार गर्न महिना–दिनभन्दा बढी जिल्लातिर जानुपर्ने हुन्थ्यो। यिनै कारणले पनि मलाई साथीहरूले प्राध्यापक सङ्घको पदाधिकारीमा नउठाऊन् भन्ने चाहन्थे। त्यतिखेरका महासचिव कपिल श्रेष्ठलाई मैले भनेँ– ‘पछि त म सबैले भनेअनुसार जेमा भए पनि उठिहाल्छु। यसपल्ट चाहिँ मलाई उठाउने विचार नगर्नोस्। साथीहरूले उठाउन खोजेछन् भने उनीहरूलाई यही बताइदिनुहोला।’​

कपिलजीले ‘हुन्छ... हुन्छ’ त भनेका थिए, तर उनीहरू सबैले उम्मेदवार तय गर्ने अन्तिम निर्णयको जिम्मा नवीनप्रकाशजङ्ग शाह र सौभाग्यजङ्ग कार्कीलाई दिएछन्। डा सूर्यलाल अमात्यलाई अध्यक्षमा र मलाई महासचिवमा उठाउने निर्णय गरेर बेलुकै पत्रपत्रिकालाई समाचार समेत गएछ। भोलिपल्ट पत्रिकामा पढेपछि म आश्चर्यचकित बनेँ र यो कसरी भयो भनेर सोधेँ। उनीहरूले भने– ‘यसपल्टको अवस्था अलि अप्ठ्यारो छ, तपाईंलाई उठाउनै पर्ने भयो। खबर गर्न खोजेको, सम्पर्कै गर्न सकेनौँ...।’

भतिज व्रतराजको घर छेउमै थियो। प्राध्यापक सङ्घमा पनि ऊ सक्रिय थियो। म उम्मेदवार बनेको थाहा पाएपछि उसले आएर भन्यो– ‘उठाउन त तपाईंलाई उठाए काका तर हार्ने बेलामा पो उठाए...।’

ऊ प्रस्ट वक्ता थियो र रणनीति बनाउन सिपालु पनि।

मलाई पछि थाहा भयो, त्यसबेला उनीहरूले प्राध्यापक वसन्त गौतमलाई पनि उठ्न अनुरोध गरेका थिए रे। उनले ‘मेरो पीएचडी सक्नुपर्छ, म अहिले उठ्दिनँ’ भनेछन्। अन्तिम बेलामा अर्को कोही उपयुक्त मान्छे नभेटिएपछि महासचिवको उम्मेदवारमा मेरो नाम पठाएका रहेछन्।

व्रतराजको कुरा सुनेपछि मलाई मनमनमा लाग्यो– ‘ठीकै छ, घोषणा भैहाल्यो। जितेँ भने जितिहालियो। राम्रै भयो। हारिएछ भने पनि के भो र? त्यसपछि मलाई पीएचडी गर्न समय हुन्छ।’

समूह–यात्राको रमाइलो
११ जनाको टोली लिएर चुनावको प्रचारप्रसार गर्न हाम्रो समूह उपत्यका बाहिर जिल्लाका क्याम्पसहरूतिर हिँड्यो। प्रचारमा जानुअघि सौभाग्यजङ्ग कार्की र नवीनप्रकाशजङ्ग शाहले कसरी आकर्षक तरिकाले भाषण गर्ने आदि विषयमा मलाई सिकाएका थिए। डा दुर्गा भण्डारी पनि हाम्रा प्रशिक्षक बनेका थिए।
समूहमा दुई जना महिला उम्मेदवार साथीहरू थिए– सहसचिवमा शिलुप्यारी कर्माचार्य र कोषाध्यक्षमा राधा शर्मा। शीलु काठमाडौँका काङ्ग्रेस नेता वीरनाथ कर्माचार्यकी पत्नी थिइन्। 

सार्वजनिक बस चढेर ठाउँ ठाउँमा रोकिँदै प्रचार गर्दै पश्चिमतर्फ हामी सबै साथै नेपालगन्जसम्म गयौँ। दार्चुलाका दिलेन्द्रप्रसाद बडू त्यतिखेर नेपालगन्ज क्याम्पसमा थिए। सदस्यमा उठेका दुई जना साथीहरू खगेन्द्रप्रसाद भट्टराई र अमरराज पन्त सुदूर पश्चिमका क्याम्पसमा प्रचार गर्न भनेर त्यतैबाट गए। उनीहरू रुपैडिहा (भारत) हुँदै सुदूर पश्चिम गएका थिए। त्यतिखेरसम्म भारतको बाटो हुँदै जानुपर्थ्यो सुदूर पश्चिम। हामीले पोखरा, पाल्पा र बुटवलमा रोकिएर प्रचार गर्यौ। भैरहवा पुग्दा भूपति ढकाल ‘कमल’ ले स्वागत गरे।

अध्यक्ष र महासचिवका उम्मेदवार सबै ठाउँमा बोल्नुपर्ने हुन्थ्यो। बेलाबेला अर्को साथीलाई पनि बोल्न दिन्थ्यौँ। हामी प्रायः केन्द्रीय सदस्यका उम्मेदवार खगेन्द्र भट्टराईलाई टोपी फुकालेर भाषण गर्न अनुरोध गर्थ्यौं। टोपी फुकाल्दा उनको व्यक्तित्व अझ बढी परिपक्व र प्रभावशाली देखिन्थ्यो। भट्टराई पछि प्राध्यापक सङ्घका अध्यक्ष र पोखरा विश्वविद्यालयका उपकुलपति पनि बने।

पूर्वतर्फ जाँदा झापा, विराटनगर, धरान, धनकुटा, राजविराज, सिराहा र धनुषामा रोकिएका थियौँ। शारदाका बुबा धनुषामै सीडीओ हुनुहुन्थ्यो। एक रात म त्यहाँ बसेँ। हाम्रो समूह पूर्वमा झापासम्म पुग्यो। त्यहाँभन्दा माथि इलाम लगायतका ठाउँमा प्रचार गर्न भने हामीले पूर्वतिरकै दुई जना प्राध्यापक साथीहरूलाई पठायौँ। 

समूहमा यात्रा गर्नु रोचक पनि हुने रहेछ। विर्तामोडमा बास बस्ता राधा शर्मा र शिलु बज्राचार्यलाई अलग्गै कोठाको व्यवस्था मिलाएका थियौँ। हामी सबै पुरुषहरू अर्को ठूलो हलजस्तो कोठामा सुतेका मात्र थियौँ, उनीहरू त्यहीँ आइपुगे। ठूलै मतभिन्नता भएछ क्यारे। एउटै कोठामा बस्न चाहेनन्। एकछिन त के गर्ने भनेर द्विविधा भयो। त्यसपछि बीचमा लाइन लागेर हामी नौ जना पुरुषहरू सुत्यौँ, कोठाको एक छेउमा राधा र अर्को छेउमा शिलुप्यारी सुते।

केन्द्रीय सदस्यमा उठेका गान्धी पण्डित र राकेश मिश्र आफ्नै सभापतिका उम्मेदवार डा सूर्यलाल अमात्यकै अघिल्तिर उनकै नक्कल गरेर भ्रमणमा रोचकता थपिरहन्थे।

पुस र माघको आधाआधी नै बाहिर बिताएर हामी १५ माघपछि काठमाडौँ आयौँ। त्यसपछि उपत्यकाका तीनै सहरका क्याम्पसहरूमा प्रचार अभियान चलायौँ।

काठमाडौँमा हामी १५ दिनसम्म प्रतिदिन दुई–तीन वटा क्याम्पस गयौँ। १० गते चुनाव थियो। फागुन ८ गतेदेखि प्रचारप्रसार बन्द भयो। प्रचारको अन्तिम दिन कीर्तिपुरको अडिटोरियममा प्रतिस्पर्धी तीनै समूह थियौँ। सबैले प्राध्यापकहरूलाई सम्बोधन गर्ने कार्यक्रम थियो। सबैले भेटेसम्म विरोधीलाई परास्त गर्न बोल्ने, विरोधीका बारेमा फेला परेका कमजोरीहरू लेखेर भित्तामा टाँस्ने काम हुन्थ्यो। चुनाव सकिएर परिणाम आइसकेपछि भने वैशाख २ गते जित्ने समूहलाई अघिल्लो प्राध्यापक समूहले कार्यभार हस्तान्तरण गर्ने चलन थियो।

प्रजातन्त्रवादी समूहमा अध्यक्ष डा सूर्यलाल अमात्यलाई भन्दा म (महासचिव) लाई तारो बनाइएको थियो। साथीहरू भन्थे– प्राध्यापकको चुनाव परिचालनको जिम्मा लिएका अञ्चलाधीशहरूले ‘अध्यक्ष जो जिते पनि क्यै छैन, तर नरहरिले चाहिँ जित्न भएन’ भनेका थिए रे। केही हाम्रा साथीहरू चाहिँ प्रचार सकिएपछि मलाई भन्दैथिए– ‘हाम्रो समूहमा जम्मा एक जनाले जित्यो भने त्यो तपाईं नै हुनुहुनेछ।’

फागुन १० गते नेपालभरीका क्याम्पसमा चुनाव भयो। मतपेटिकाहरू जिल्लाबाट सबै काठमाडौँ ल्याइपुर्याउँदा करिब करिब फागुन सकिएको थियो।

नेपाल ल क्याम्पसमा रातभरी भोट गनियो। नसिद्धिँदासम्म म त्यहीँ बसेँ। अन्ततः पञ्चायती भनिने प्राज्ञिक समूहले जित्यो। मैले पनि हारेँ। हाम्रो समूहका उपाध्यक्ष डा मनोहर गुप्ता लगायत नौ जनाले जिते। जितेका अध्यक्ष डा चन्द्रप्रसाद गोर्खाली र महासचिव हेमन्त राणालाई माला लगाइदिएर बिहानीपख म घर आएको थिएँ।

सन्जोग नै भनूँ, त्यसपछि न मैले आफ्नो पीएचडी सकेँ, न मित्र वसन्तजीले नै सके। उनी भौतिक विज्ञान पढाउँथे। पछिसम्मै हामी प्राध्यापक सङ्घमा पूरै सक्रिय रह्यौँ। तर प्राध्यापक सङ्घकै यात्रामा हामी दुवैको पीएचडी दुर्घटित भयो।

हिँड्नुपर्ने बाटो अर्कै थियो
प्राध्यापक सङ्घको चुनाव लड्दा मेरो तीन वर्षको अध्ययन बिदा सकिन लागेको थियो। हारेपछि म आफ्नो पीएचडीको काममा लागेँ। त्यसपछि पुनः थप दुई वर्षको बिदा पाइन्थ्यो। मैले दिएको प्रारम्भिक शोधकार्यमाथि शोध निर्देशक डा वासुदेव त्रिपाठीको सुझाव अझै आएको थिएन। उनको भनाइ आएपछि नै थप बिदाका निम्ति निवेदन दिउँला भन्ने सोचेको थिएँ।

तर हिँड्नुपर्ने बाटो सायद अर्कै थियो मेरो।

सबै क्याम्पस एकाइ प्राध्यापक सङ्घको चुनाव सकिएपछि कीर्तिपुर एकाइको चुनावको कुरा चल्यो। कीर्तिपुरमा प्रभावकारी र क्रियाशील कार्यसमिति बनाउनुपर्छ भन्ने हामी खासगरी प्रजातन्त्रवादी समूहको सोचाइ थियो। हुन त कीर्तिपुरमा पनि संयुक्त प्यानल नै बनाउने कुरा थियो। डा कमलकृष्ण जोशीलाई प्रगतिशील पक्षले अध्यक्षका रूपमा अघि सार्दै थियो। धेरै समयअघि विद्यार्थी हुँदा अखिलका तर्फबाट विद्यार्थी युनियनमा पनि कमलकृष्णजी अध्यक्ष भएका रहेछन्। उनले विश्वविद्यालयमा जागिर भने निकै पछि सुरु गरेछन्। 

कीर्तिपुरमा प्रजातन्त्रवादी समूहले कहिल्यै नजित्ने हुँदा हामीलाई यसपटक सचिवको कोटा प्राप्त भएको थियो। सबैलाई स्वीकार्य हुने र बलियो उम्मेदवारका रूपमा हाम्रा साथीहरूले मलाई सचिवको उम्मेदवार बन्न कर गरे। सानो एकाइमा धेरै व्यस्तता हुन्न भनेर सम्झाए उनीहरूले मलाई। यसपल्ट चाहिँ धेरै नसोचीकनै म उठेँ। मलाई अलिकति राजनीतिको चस्को पसिसकेको थियो।

केही महिनापछि प्रजातन्त्रवादी र प्रगतिशील प्राध्यापकहरू सबै क्याम्पसमा मिलेर चुनाव लड्यौँ। दुईथरी मिलेपछि कुनै क्याम्पसमा पनि हामीले हारेनौँ, संयुक्त प्यानलले नै सबै ठाउँमा जित्यो। कीर्तिपुरमा चाहिँ हामी निर्विरोध नै विजयी भयौँ। ‘प्राज्ञिक समूह’ कतै पनि आउन सकेन।

पहिलो स्पष्टीकरण
त्रिभुवन विश्वविद्यालय प्रशासनले मलाई जीवनमा पहिलो स्पष्टीकरण सोधेको थियो। 

कीर्तिपुरमा १० वर्ष पढाइसकेको शिक्षक थिएँ म। २०४४ भदौ २४ गते बीपी जयन्तीको अवसरमा कीर्तिपुर अडिटोरियममा विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक पक्षका बारेमा मैले ४० मिनेटजति बोलेको थिएँ। त्रिवि विद्यार्थी युनियनले आयोजना गरेको विचार गोष्ठी थियो। लिखित स्पष्टीकरण त्यसैका बारेमा सोधिएको थियो। 

जनमतसङ्ग्रहपछिको ‘उदार’ र ‘सुधारिएको पञ्चायत’ को समय थियो त्यो। राजाको प्रत्यक्ष शासनमा चलिरहेको पञ्चायतमा राजनीतिक स्वतन्त्रता त थिएन नै, प्राज्ञिक स्वतन्त्रताको स्थिति समेत कस्तो थियो भन्ने बुझ्न यही उदाहरण पर्याप्त छ। 

अबको बाटो सङ्घर्षको 
त्यो बेला पनि भारतले नेपालमा नाकाबन्दी गरेको थियो। 

राजीव गान्धी भारतका प्रधानमन्त्री थिए। २०४६ साल असारमा नाकाबन्दीको विरोधमा सात सय प्राध्यापकहरूले वक्तव्य जारी गरे। वक्तव्यको सुरुको एक लाइन त नाकाबन्दीको विरोधमै लेखिएको थियो। त्यसपछि भने पञ्चायती व्यवस्थाका समर्थनका कुराहरू थिए। केन्द्रीय तहमा जितेका ‘प्राज्ञिक समूह’ का प्राध्यापकहरूले सरकारकै निर्देशनमा त्यो वक्तव्य जारी गरेको थाहा पाएपछि भने हामी सतर्क भयौँ। 

हामीलाई अप्ठ्यारो थियो। भारतले नाकाबन्दी लगाइरहेकामा जे जस्तो भए पनि आफ्नै सरकारको विरोध गर्नु त्यति उचित थिएन। त्यसैले सोझै वक्तव्य निकालेर विरोध गरेनौँ।

त्यसपछि हाम्रा तर्फबाट पनि देशव्यापी रूपमा त्यस वक्तव्यको चालबाजीतर्फ प्राध्यापकहरूलाई सचेत बनाउने कार्य प्रारम्भ भयो। यसनिम्ति म विराटनगर खटिएँ। मसँग प्रगतिशील पक्षका प्राध्यापक विश्वेश्वरमान श्रेष्ठ पनि थिए। कतिपय ठाउँमा प्रजातान्त्रिक र प्रगतिशील प्राध्यापकहरू एक ठाउँमा बसेर चिया समेत नखाने जस्तो तिक्तता पनि रहेछ। हामीले सबैलाई सम्झाएर मेलमिलाप गरायौँ। पञ्चायती सरकारका विपक्षमा बिस्तारै प्राध्यापकहरू एकजुट बनाउने अभियान अघि बढिरहेको थियो। संयुक्त राजनीतिक आन्दोलन सुरु हुनु धेरै अगाडि प्राध्यापकहरूले यो अभ्यास सुरु गरिसकेका थिए।

२०४६ कात्तिक महिनामा काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्यो। त्यस बैठकले आउने माघ ५ गते काङ्ग्रेसको बृहत् सम्मेलनको घोषणा गर्‍यो र सोही सम्मेलनले आन्दोलनको कार्यक्रम तय गर्ने निर्णय पनि गर्‍यो। 

त्यहीताका अक्टोबर २ मा गान्धी जयन्तीको दिन राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा गणेशमान सिंहले भने– ‘अब आन्दोलनभन्दा अर्को विपल्प छैन। अबको बाटो सङ्घर्षको हो...।’

प्रतिबन्धित नेपाली काङ्ग्रेस पार्टीका सभापति कृष्णप्रसाद भट्टराई सुरुदेखि नै ‘५० हजारको जुलुस नारायणहिटी पुर्याएपछि राजालाई जनताका पक्षमा झुकाउन सकिन्छ’ भन्ने मान्यता राख्थे। तर जनआन्दोलन, २०४६ को आह्वान गणेशमान सिंहले गरे। खासगरी लोकतन्त्रका आधारभूत मूल्यसहित बहुदलका पक्षमा उभिने कम्युनिस्ट पार्टीलाई पनि साथमा लिने अग्रसरता २०४६ सालको आन्दोलनमा गणेशमानजीले थपेको मौलिकता थियो। 

गणेशमानको हुङ्कार 
२०४६ साल माघ ५ गते गणेशमानजीको निवास चाक्सीवारीमा नेपाली काङ्ग्रेसको राष्ट्रिय सम्मेलन सुरु भयो। सम्मेलनमा भारतका नेता चन्द्रशेखरले २० मिनेटजति जोडदार भाषण गरे। त्यहाँ शारदा र म गएका थियौँ।

त्यतिखेर शारदा परिवार नियोजन सङ्घमा सूचना अधिकृत थिइन्। जाने बखत हामी पक्रिइन पनि सक्छौं भन्ने आशङ्का लिएरै गएका थियौँ। घरमा दुइटा साना छोरी थिए। आमा पनि वृद्ध र रोगी हुनुहुन्थ्यो। तैपनि दुवै जना गयौँ र अगाडिको पङ्क्तिमै बस्यौँ।

सरकारले हस्तक्षेप गरेर कार्यक्रम गर्न दिँदैन कि भन्ने पनि हल्ला थियो। तर भारतीय नेता चन्द्रशेखर लगायत अधिकांश भारतीय प्रमुख दलहरूको प्रतिनिधिमण्डल समेत सामेल भएकाले होला, सरकारले हस्तक्षेप गरेन। तीन दिनसम्म कार्यक्रम त्यहीँ चल्यो। 

चाक्सीबारी सम्मेलनले २०४६ फागुन ७ गतेबाट आन्दोलन थाल्ने निर्णय गर्‍यो। त्यस कार्यक्रममा नेपालका कम्युनिस्ट पार्टीहरू वाम मोर्चा अन्तर्गत एकजुट भएर आएका थिए। सहाना प्रधानले वाम मोर्चाको अध्यक्षका हैसियतमा ‘काङ्ग्रेसले गर्ने आन्दोलनको समर्थन गर्छौं’ भनिन्। मनमोहन अधिकारी पनि वक्ता थिए। 

सुरुमा कतिपय कम्युनिस्टहरूले काङ्ग्रेस सम्मेलनको निर्णयलाई व्यङ्ग्य गर्दै भन्थे– ‘तिथिमिति तय गरेर पनि कहीँ राजनीतिक आन्दोलन हुन्छ?’ 

तर आन्दोलनको मोर्चामा कम्युनिस्टहरूले काङ्ग्रेससित सहकार्य गर्ने काम अघि बढ्दै गयो। यो आन्दोलनको सर्वमान्य नेता गणेशमान सिंह भए। सुरुमा काङ्ग्रेसको मात्रै आन्दोलन हुने हो कि भनिएको थियो, तर पछि वाम मोर्चामा नभएका कम्युनिस्टहरू पनि बिस्तारै आन्दोलनमा सम्मिलित हुँदै गए। 

व्यापार–पारवहन सन्धिको म्याद सकिएपछि भारतले नेपालमा नाकाबन्दी लगाएको त्यतिखेरको अवस्थामा आन्दोलन चलाउने कि नचलाउने भन्ने प्रसङ्ग पार्टीभित्र चलेको पनि हो। पञ्चहरूले बीपीको छोरो भनेर प्रकाश कोइरालालाई साथ लिएका थिए। उनी ‘आन्दोलन गर्नुहुन्न’ भन्दै विरोधमा निस्के। गिरिजाबाबु, गणेशमान र किसुनजी भने आन्दोलनमा लागे। आन्दोलन तात्दै गयो।

प्राध्यापकहरू जनआन्दोलनमा 
औपचारिक नेपाल प्राध्यापक सङ्घ ‘प्राज्ञिक समूह’ सङ्कुचित भूमिकामा सीमित भइसकेको थियो। त्यसैले हामी प्रजातन्त्रवादी र प्रगतिशील प्राध्यापकहरू मिलेर ‘एकाई समन्वय समिति’ बनायौँ। यसले नेपालभरीका प्राध्यापकहरूसँग समन्वयकारी भूमिका निर्वाह गरिरहेको थियो। त्यसको अध्यक्ष कमलकृष्ण जोशी र महासचिव म थिएँ। त्यही समितिको आयोजनामा काङ्ग्रेसको आह्वान एवम् वामपन्थीहरूको समर्थनमा हुन लागेको जनआन्दोलनमा ऐक्यबद्धता जनाउँदै फागुन १६ गते त्रिचन्द्र कलेजको सरस्वती सदनमा हामीले एउटा कार्यक्रम गर्यौँ। 

यो कार्यक्रम हाम्रा लागि धेरै महत्त्वपूर्ण थियो। पहिल्यै पक्रिन्छन् कि भनेर म सातदिनदेखि नै घरमा बसेको थिइनँ। नसमात्ने भयो भनेपछि त्यो दिन बिहानै घरमा आएर भात खाएँ। भात खाँदै थिएँ, त्यतिखेरका शिक्षामन्त्री परशुनारायण चौधरी र बाग्मती अञ्चलाधीश नरेन्द्र चौधरीको फोन आयो। उनीहरूले त्यहाँ कार्यक्रम नगरिदिन मलाई अनुरोध गरे। अञ्चलाधीशलाई मैले भनेँ– ‘हामीले सडकमा कार्यक्रम गर्ने होइनौँ, क्याम्पस हाताभित्रै गर्ने हो। फेरि यो सबैको सहमतिमा भएको निर्णय हो, मैले मात्र रोकेर रोकिँदैन।’

पहिला काङ्ग्रेस नेता रहेका परशुनारायण चौधरीलाई चाहिँ ‘आन्दोलन गर्न हामीलाई तपाईंहरूले नै सिकाएको त हो नि...’ भनेर ठट्टा गरेको थिएँ।

कार्यक्रम भव्यतापूर्वक सम्पन्न भयो। कमलकृष्ण जोशीको अध्यक्षतामा भएको थियो कार्यक्रम। एउटा वक्ता म पनि थिएँ। बीसी मल्लले पनि बोलेका थिए। पक्रिन्छ भनेर दैनिक खाने औषधि पनि खल्तीमा बोकेर आएका रहेछन् उनी। मङ्गलसिद्धि मानन्धर, आनन्ददेव भट्ट लगायतका वक्ता थिए।

मेरो भाषण पहिलोपल्ट बीबीसीमा बजेको थियो र देशभरका कतिपय प्राध्यापकहरूले मलाई फोन गरेर खुसी व्यक्त गरेका थिए।

चैत ३ गते एकेडेमीको प्राङ्गणमा साहित्यकार–कलाकारहरूले विरोध गर्ने कार्यक्रम थियो। एकेडेमीका कुलपति कवि माधवप्रसाद घिमिरे थिए। प्रहरी तैनाथ गरेर सरकारले त्यहाँ बस्न नदिने भएपछि उनीहरू तत्काल त्रिचन्द्र कलेजको प्राङ्गणमा गएर मुखमा कालोपट्टी बाँधेर बसेछन्। म कीर्तिपुरबाट आएर जमलको कफी हाउसमा छिरेँ र साथीहरूलाई भेटेँ। उनीहरूबाट कार्यक्रम त्रिचन्द्रको प्राङ्गणमा भएको जानकारी पाएपछि त्यहीँ गएँ। त्यहाँ पुग्दा कोही पनि थिएनन्। काला कपडाका ध्वजाहरू यत्रतत्र फालिएका थिए। भएको के रहेछ भने उनीहरू त्यहाँ बसेको केही बेरमै प्रहरीहरूले ट्रकमा उठाएर सबैलाई बग्गीखाना लगेछन्। शारदा पनि समातिएकी रहिछन्। म राति अबेला घर पुगेको थिएँ, उनी भर्खर बग्गीखानाबाट छुटेर आएकी थिइन्।

चैत ७ को सभापर्व 
जनकपुरको जदुकुवामा गोली चल्दा केही आन्दोलनकारीहरू मारिए। अरू ठाउँमा पनि फाट्टफुट्ट गोली चल्ने, मान्छे मर्ने भइरहेथ्यो। फागुनभरीमा आन्दोलन आफ्नो उचाइमा पुगेर फेरि तल्तिर झर्न लागेको थियो। हामीलाई आन्दोलनलाई कसरी माथि उठाउने भन्ने चिन्ता थियो। पार्टीको आन्दोलन भने पनि क्रमशः यो जनआन्दोलनमा परिणत हुँदै गएको थियो। 

चैत १० गते पेसागत समूहहरूको सहभागिता हुने भनेर आन्दोलनरत पार्टीहरूले कार्यक्रम राखेका थिए। त्यसमा कसरी सहभागिता जनाउने भन्ने विषयमा छलफल गर्न केही दिनअघि विशालनगरस्थित डा देवेन्द्रराज पाण्डेको घरमा साथी नवीनप्रकाशजङ्ग शाहसँग म गएको थिएँ। डा महेश मास्के लगायत पाँच सात जना साथीहरू थियौँ। त्यहाँ हामीले कुनै सान्दर्भिक विषय शीर्षक बनाएर त्यसमाथि एउटा बृहत् गोष्ठी गर्ने निर्णय गर्यौँ। उक्त कार्यक्रम कीर्तिपुरको अडिटोरियममा गर्ने निधो भयो। हल उपलब्ध गराइदिनका लागि कीर्तिपुरको प्राध्यापक सङ्घ एकाइका तर्फबाट मैले हातैले लेखेर डिन अफिसमा निवेदन दिएँ। हल उपलब्ध भएपछि चैत ७ गते हामीले कार्यक्रम गर्ने भयौँ।

त्यस कार्यक्रममा प्राध्यापकका अतिरिक्त नर्स, लेखक, डाक्टर, वकिल, इन्जिनियर लगायत विभिन्न पेसाका मान्छे आएका थिए। सबै पेसाका मान्छेबाट एक जना बोल्ने भन्ने थियो। हल कोचाकोच थियो। साढे सात सयजति मान्छे थिए। कार्यक्रम चल्दै थियो। म कार्यक्रम सञ्चालन गरिरहेको थिएँ। कार्यक्रमका अध्यक्ष कमलकृष्ण जोशी थिए। सबैले बोलिसकेपछि पारित गर्न एउटा प्रस्ताव तयार भैसकेको थियो। त्यत्तिकैमा हामीलाई बाहिरबाट केही साथीहरूले खाली ट्रकहरू लिएर बल्खुतिरबाट प्रहरीहरू आउँदै छन् भनेर खबर गरे।

हामीले प्रस्तावहरू प्रस्तुत गरिसकेका थिएनौँ। वक्ताहरू बोलिरहेथे। त्यही बेला अकस्मात् प्रहरी (आर्मीजस्तो पनि लाग्थ्यो) हरू बन्दुुक ताक्दै हलभित्र पसे र मछेउ आएर कार्यक्रम रोक्नोस् भन्न थाले। म एकछिन त अलमलमा परेँ, तत्काल मेरो मनमा एउटा उपाय आयो। माइक समातेर भनेँ– ‘संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र नेपालमा, राष्ट्रसङ्घको चार्टरले सुनिश्चित गरेको आ–आफ्नो विचार व्यक्त गर्न पाउने हाम्रो आधारभूत मानव अधिकार यतिखेर उल्लङ्घन भएको छ। साथीहरू सबैलाई यो हस्तक्षेपका विरोधमा दुई मिनेट मौन धारण गर्न अनुरोध गर्छु।’

सबै जर्याकजुरुक उठे, सन्नाटा छायो हलमा। प्रहरीहरू बाहिर निस्के। यो दुई मिनेटमा मैले केही सोच्न पाएँ। सबैले मौन धारण गर्दैगर्दा मैले अर्को योजना बनाएँ। दुई मिनेट सकिनासाथ भनेँ– ‘हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ। अब म यो प्रस्ताव पारित गरिदिनुहुन साथीहरूलाई अनुरोध गर्छु।’

मैले यति भनेपछि सभाका अध्यक्ष कमलकृष्ण जोशी उठेर फटाफट प्रस्तावको सुरुका केही लाइन र अन्त्यका केही लाइन पढे। तालीको गडगडाहटले हल गुञ्जियो। प्रस्ताव पारित भयो।

त्यसपछि सबैलाई धन्यवाद दिँदै मैले भनेँ– ‘साथीहरू, नआत्तिईकन, नहडबडाईकन सबै जना बिस्तारै निस्कनुहोला।’

बडो अनुशासित किसिमले लाइन लगाएर सबै ढोकाबाटै निस्के। 

जापानी लेखक कियोको ओगुराको पुस्तक जनता जागेका बेलाः जनआन्दोलन २०४६ को इतिहास, पृष्ठ ९६–९७ मा यो घटनालाई यसरी प्रस्तुत गरिएको छ– ‘तर उनीहरूले यो कुरा मञ्चमा बसेकाहरूलाई बताउनुभन्दा पहिले नै नरहरि आचार्य जुरुक्क उठे र शान्त स्वरमा बोले– ‘हामी पेसेवर र बुद्धिजीवीका नाताले सामूहिक चासोको विषयमा छलफल गर्दै थियौँ। तर पुलिसले अकस्मात् हाम्रो कार्यक्रम बिथोलेको छ। यस हस्तक्षेपलाई स्वीकार्न सक्दैनौँ। महिला तथा सज्जनवृन्द, यस अन्यायको विरोधमा सबै जना उठेर एक मिनेट मौन धारण गरौँ।’

हलका सबै मानिसहरू एकैचोटि जर्‍याकजुरुक उठे र त्यहाँ मौनता छायो। नरहरिको आह्वानले दर्शकहरूमा ठूलो मनोवैज्ञानिक असर पार्‍यो। मौनधारण सकिँदा, पुलिसहरू हलमा पस्दाखेरि उत्पन्न भएको अशान्तिको वातावरण हराइसकेको थियो। त्यसको ठाउँमा एक्यबद्धता र साहसको भावना उत्पन्न भएको थियो। आचार्यलाई त्यसै दिन पढेको महात्मा गान्धीको एउटा पुस्तकबाट यो उपाय सुझेको थियो। त्यसमा लेखिएको थियो, ‘जब निशस्त्र मानिसले विरोध गर्छ तब सबैभन्दा शक्तिशाली व्यक्तिले समेत चुप लाग्नुपर्दछ।’ सभालाई बिथोलिनबाट रोक्ने क्रममा नरहरिलाई यो वाक्यांशको सम्झना भएको थियो।

त्यसपछि कमलकृष्ण जोशीले हतारहतार पहिलो र अन्तिम वाक्यांशहरू पढेर सुनाए, जसलाई उपस्थित श्रोताहरूले ताली पिटेर अनुमोदन गरे। त्यसपछि कार्यक्रमको अन्त्य भयो। त्यहाँ उपस्थित झन्डै सात सय मानिसलाई प्रहरीले लाइनमा उभिन लगायो र ट्रकमा लगेर कोच्यो। कसैले पनि भाग्ने कोसिस गरेनन्। उनीहरूको गिरफ्तारीको त्यो दृश्य बुद्धिजीवीहरूको मर्यादा सुहाउँदो थियो।’ 

हनुमानढोका र भद्रगोलमा 
हल बाहिर प्रहरीले कोही निस्कन भाग्न नपाउने गरी घेरेर बसेको रहेछ। निस्केका जति सबैलाई ट्रकमा चढाउँदै गएछन्। १२ वटा ट्रक थिए। सबैलाई बाहिर पठाइसकेपछि हामी निस्क्यौँ र साथीहरूसँगै ट्रकमा उक्ल्यौँ। प्रहरीको ट्रक बग्गीखानातिर लाग्यो। 

बग्गीखाना पुग्दा हामीभन्दा अगाडिका ट्रकहरू लस्कर लागेका देखिए। साथीहरू ओर्लँदै थिए। हामी पनि झर्यौँ। हामीलाई भुइँतलाको भद्रकालीबाट आउने बाटो सामुन्नेको ठूलो कोठामा लग्यो। पहिल्यै लगिसकेका केही साथीहरू त्यहीँ बसिरहेका थिए। साढे पाँच बजिसकेको थियो। छ बजेतिर अँध्यारो पनि भैहाल्यो। हामी बसेर कुरा गर्दै  थियौँ, केही प्रहरीहरू भित्र आए र भने– ‘यहाँ नर्स, डाक्टरहरू को को हुनुहुन्छ, आउनुहोला। २०–२५ जना साथीहरू उठेर गए। राति दुई बजेसम्ममा धेरैजसोलाई छोडिसकेको थियो। 

ठूलो कोठामा हामी समूह–समूहका झुण्ड बनाएर गफ गरिरहेथ्यौँ। त्यहाँ डा देवेन्द्रराज पाण्डे, डा मथुरा श्रेष्ठ, कमलकृष्ण जोशी, डा दुर्गाप्रसाद भण्डारी, वासु शशी, शम्भुप्रसाद ज्ञवाली, हिसिला यमी, मीना पौडेल, विश्वकान्त मैनाली, विद्यार्थी नेता चन्द्र भण्डारी, टङ्क कार्की, फणिन्द्र भण्डारी लगायत थियौँ। बेलुका आठ बजेतिर बाँकी रहेका हामीलाई बोलाउन प्रहरी आए। प्रायः हामी सबै कार्यक्रमका आयोजक, वक्ता आदि सक्रिय मान्छे नै थियौँ। प्रहरीहरूले हामीलाई भ्याली एसपी अच्युतकृष्ण खरेल बसेको कोठामा लगे। 

हामी ढोकाबाट छिर्दै गर्दा खरेलले भने– ‘ल... आउनुस् आउनुस्... सरहरू। यहाँ त त्यति राम्रो व्यवस्था छैन। राम्रो व्यवस्था भा’ठाउँमा लैजानु पर्‍यो नि सरहरूलाई।’

डा दुर्गाप्रसाद भण्डारी सरले उनको कुरो पत्याएर बडो सरलतापूर्वक सोधे– ‘सुत्ने व्यवस्था पनि राम्रो छ, हैन?’

खरेलले भने– ‘भैहाल्छ सर, सुत्ने खाने सबै व्यवस्था हुन्छ। पुलिसले व्यवस्था गर्ने न हो सर। सकेसम्मको राम्रो व्यवस्था गरिहाल्छ नि।’

त्यहाँ बाँकी रहेका साथीहरूमध्ये पनि धेरैजसोलाई राति दुई बजेसम्म छाडिसकेको थियो।

हामीलाई चाहिँ बेलुका आठ बजेतिर प्रहरी भ्यानमा चढाएर डीएसपी कार्यालय हनुमानढोका पुर्याए।

२०२९ सालमा थुनिँदा म दक्षिणपट्टिको लङ्मा थिएँ। यसपल्ट चाहिँ हामीलाई उत्तरपट्टिको लङ्मा लगे। हामीसँगका महिला साथीहरू दक्षिणपट्टि गए। लङ्भित्र छिरेपछि देख्यौँ, बीचको ठूलो कोरिडरको दुईतिर लहरै कोठा रहेछन्। हाम्रानिम्ति छ वटा कोठा थिए। ढोका खुलै भएका, कतै छेकथुन नभएका, कोरिडोरबाट जो जता पनि जान सकिने। सुकुल मात्र देखेपछि प्रहरीलाई भण्डारी सरको प्रश्न थियो– ‘खै त ओढ्ने–ओछ्याउने?’

प्रहरीले भने– ‘यै त हो नि सर। सुकुल छँदै छ नि।’

बेलुका ओढ्ने, ओछ्याउने मगाउन सक्नेजतिले घरबाट मगाए। नसक्ने तिनै सुकुलमा लडे। कमलकृष्ण र मैले चाहिँ आज यत्तिकै काम चलाउने, मगाउन परे भोलि मगाउँला भन्ने विचार गरेका थियौँ।

सानासाना कोठा, हरेकमा चार–पाँच जना साथी थिए। म र कमलकृष्ण जोशी, दिउँसोको कार्यक्रमका मूल आयोजक नै भयौँ। हामीलाई एउटै कोठामा राखिएको थियो। कताबाट हो कमलकृष्णजीलाई एउटा स्लिपिङ् ब्याग आइपुग्यो। त्यसपछि उनले आफूले लगाइरहेको ऊनीको कोट फुकालेर मलाई दिए। म त्यसैमा लट्पटिएर सुतेँ। 

धेरै जनालाई भोलिपल्ट बेलुकासम्म छोडिसकेको थियो। हामी केहीलाई चाहिँ छोडेन। भोलिपल्ट बिहान शारदा आइपुगिन्। उनको भाइ राजीव पनि साथै थिए। भोलिपल्ट बेलुकासम्म हामीलाई पुर्जी दिइएको थिएन। 

पर्सिपल्ट २०४६ चैत ९ गते बेलुकातिर पुर्जी दियो र बेलुकै त्यहाँबाट जेल चलान गर्‍यो। भद्र बन्दीगृह (भद्रगोल जेल) चलान हुनेहरूमा विश्वकान्त मैनाली, सुरेश आचार्य, टङ्क कार्की, डा मथुराप्रसाद श्रेष्ठ, डा देवेन्द्रराज पाण्डे, डा कमलकृष्ण जोशी, चन्द्र भण्डारी, फणीन्द्र भण्डारी र म लगायत केही साथीहरू थियौँ। 

हिसिला यमी र मीना पौडेललाई महिला जेल लैजान एउटा जिपमा राखिएको थियो। हामी पुरुषजतिलाई अर्को जिपमा। हनुमानढोकाबाट हिँड्ने बेलामा हिसिला यमीले पुलिसको आँखा छलेर एउटा पोको मतिर हुत्याइदिइन्। 

‘राखिदिनुस् है? पुलिसले लुट्छ’ भन्दै। त्यो मैले जेलमा लिएर आएँ। बाबुराम भट्टराईको सम्पादनमा त्यतिखेर निस्कने ‘झिल्को’ र अरू कम्युनिस्ट पत्रिकाहरू बेचेको पैसा थियो रे त्यो। 

२०२५–२६ सालतिर काङ्ग्रेस नेता कृष्णप्रसाद भट्टराईलाई थुनेको बेला म उनलाई भेट्न भद्रगोल जेल आएको थिएँ। यसपटक आफैँ आइपुगियो। यसभन्दा अघि म जेल परेको थिइनँ, पुलिस हिरासतमा चाहिँ परेको थिएँ। 

सबैको भान्छा एउटै
डा देवेन्द्रराज पाण्डे, विश्वकान्त मैनाली, डा मथुराप्रसाद श्रेष्ठ, टङ्क कार्की, सुरेश आचार्य, म लगायत सात–आठ जनालाई एउटा कोठामा राखिएको थियो। यस पटक करिब २० दिन जति साथै थुनियौँ हामी।

एकसरो ओढ्ने–ओछ्याउने दिएको थियो सबैलाई। नयाँ बन्दी आउँदा नयाँ नै दिने चलन रहेछ। चैते दसैँ र ठूलो दसैँमा बन्दीलाई एक जोर लुगा दिने रहेछ। चैते दसैँमा सेतो खद्दरको एक जोर लुगा मैले पनि पाएँ। हामीलाई क श्रेणीको चामल दिन्थ्यो– दिनको तीन चौथाइ। तरकारी, घिउ–तेल किन्न पाँच मोहर जति दिन्थ्यो। दाउराको निम्ति पनि केही पैसा दिन्थ्यो।

एउटा सानो पुस्तकालय पनि रहेछ जेलमा।

भक्तपुरको कर्ण हेजु काण्डमा समातिएका कम्युनिस्ट नेता नारायणमान बिजुक्छे पनि त्यहीँ थिए। उनको कोठामा पनि म गएँ। 

काङ्ग्रेस कम्युनिस्टको बेग्लै भान्सा रहेछ पहिला। हामीले भन्यौँ– ‘आन्दोलन चाहिँ मिलेर गर्ने, अनि भान्सा किन अलग?’ त्यसपछि सबैको भान्सा एउटै भयो।

७० जनाको भान्सा एउटै भएपछि प्रत्येक दिन भान्साको काम गर्न चार जना बलिया खालका बन्दीहरूलाई जिम्मा दियौँ। मान्छे हामीले नै छान्यौं। उनीहरू राजनीतिकबाहेक अन्य फौज्दारी अपराधका बन्दीहरू हुन्थे। उनीहरूलाई हाम्रो भान्साबाट दुवै छाक खान दिनुपर्थ्यो। उनीहरू पनि खुसी, किनभने जेलमा अरू काम त हुँदैनथ्यो, हाम्रो भान्सामा खाएपछि उनीहरूको रासन पैसा जोगिन्थ्यो। कतिले त्यही पैसा जोगाएर घर पठाउँथे। कसैले रक्सी–मासु आदिमा खर्च गर्थे।

राजनीतिक बन्दीबाहेकका बन्दीहरूमा नाइके, भाइ नाइके, चौकीदार आदि पद हुन्थ्यो। 

लहरै चर्पी थिए। होचो पर्खालले छुट्याइएको हुँदा छेउबाट त एकअर्कालाई देखिँदैनथ्यो। तर ढोका नहुने हुनाले अगाडिबाट हेर्दा सबै देखिने।

जेलले एउटा कपडा उद्योग पनि चलाउँदो रहेछ, बन्दीहरूले कपडा बुन्थे। थोरै ज्याला पनि पाउँथे। टोपी बुन्ने स–साना तान पनि राखेका थिए कसैले व्यक्तिगत रूपमा। बन्दीहरूको आय आर्जनका स–साना माध्यम थिए ती।

जेल अग्लो पाखोमा भएकाले अग्लो पर्खाल भए पनि त्रिपुरेश्वरदेखि टेकुसम्म जाने बाटो देखिन्थ्यो। हामी एक तलामाथि बस्थ्यौँ। राजनीतिक बन्दीलाई हप्ताको एकपटक बाहिर निस्केर मेचमा बसेर परिवारलाई भेट्न दिन्थ्यो। नाइकेले तोकेको एक जना मान्छे (बन्दी नै) कलम–कापी लिएर छेउमा बस्थ्यो। त्यो दिन बिहानैदेखि बडो खुसी लाग्थ्यो। घरबाट लुगाफाटा र खानेकुरा ल्याइदिन्थे। हाम्रो लागि दसैँ नै पल्टन्थ्यो त्यो दिन। साना छोरीहरू लिएर आउँथिन् मलाई भेट्न शारदा।

अखबारमा आन्दोलनसँग सम्बन्धित समाचार छ भने जेलरले काटेर मात्र दिन्थे। घरबाट खाना ल्याउँदा कसैकसैले भने नयाँ अखबारमै जेरी पोको पारेर ल्याइदिन्थे। 

ज्यानमारामा परेकाहरू पनि कसैले हामी दोषी हौँ भन्दैनथे। भन्थे– ‘हामी निर्दोष छौँ, परिबन्दमा परेका हौँ।’ तर अर्को किसिमबाट कुरा गर्दा भने, आक्रोशमा आएर ‘हो मैले काटिदिएँ त्यसलाई’ पनि भन्थे। विश्वकान्त मैनाली ख्यातिप्राप्त वकिल भएकाले उनको निकै महत्त्व थियो। कुरा पनि मीठो गर्थे उनी। बन्दीहरू उनीसँग अनेक सरसल्लाह लिन आइरहन्थे।

(नेपाली कांग्रेस नेता तथा पूर्व कानुनमन्त्री नरहरि आचार्यको प्रकाशोन्मुख आत्मकथा ‘जीवनको पाठशालाः सम्झना र सम्बन्ध’ बाट। यो किताब सांग्रिला बुक्सले प्रकाशन गर्दैछ।)

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .