ad ad

विचार


ताइवानमाथिको युद्ध हार्नसक्छ अमेरिका

ताइवानमाथिको युद्ध हार्नसक्छ अमेरिका

ग्राहम एलिसन
कात्तिक १५, २०७८ सोमबार २१:४७, काठमाडौँ

चीनले आक्रमण गरे के अमेरिकाले ताइवानको रक्षा गर्ला? अघिल्लो साता यो प्रश्नको जवाफ दिँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेः ‘गर्छ।’ 

बाइडेनको अभिव्यक्तिको प्रतिक्रियामा चिनियाँ विदेश मन्त्रालयले स्पष्ट शब्दमा भन्यो– ताइवानलाई गुम्न नदिन बेइजिङ युद्धमा जान तयार छ। यदि चीनले ताइवानमा आक्रमण गर्यो र ताइवानको रक्षामा अमेरिकाले सेना पठायो भने यो युद्धमा के अमेरिका चीनसँग हार्ला?

वर्तमान उपरक्षामन्त्री क्याथलिन हिक्स र नेसनल डिफेन्स स्ट्राटेजी रिभ्यु कमिसनका उनका सहकर्मीहरुले २०१८ मा यस प्रश्नमाथि अध्ययन गरेका थिए। उनीहरुको निष्कर्ष थियो– सायद अमेरिका हार्नेछ। उनीहरुकै शब्दमा भन्नुपर्दा ‘अमेरिकालाई जित्न कठिन हुनेछ। सायद चीनविरुद्धको युद्ध हार्न पनि सक्नेछ।’

उनीहरुका अनुसार ताइवानले गरेको उत्तेजक गतिविधिको जवाफमा चीनले पुरै टापु कब्जा गर्ने उदेश्यले आक्रमण गर्यो भने अमेरिकाले ताइवानको रक्षाका लागि चाहिने हतियार र सेना परिचालन गर्न नपाउँदै बेइजिङले ताइवान कब्जा गर्न सक्नेछ। किनभने मुख्यभूमिबाट ताइवान एकदमै नजिक छ।

गतवर्ष ज्वाइन्ट चिफ्स अफ स्टाफका पूर्व उपाध्यक्ष एड्मिरल जेम्स विनफेल्ड र सीआईएका कार्यवाहक निर्देशक माइकल मोरेलले पनि लेखेका थिए– वासिङ्टनले कसरी जवाफ दिने भनेर निर्णय लिनुभन्दा अगावै ताइवानलाई कब्जामा लिइसक्ने क्षमता चीनसँग छ। 

तीन जना मन्त्रीको कार्यकालमा सेवा गरेर २०१७ मा अवकाश लिएका पूर्व उपरक्षामन्त्री बब वर्कले त यसबारे अझ स्पष्ट अभिव्यक्ति दिएका छन्। उनले सार्वजनिक रुपमै दिएको अभिव्यक्तिअनुसार पेन्टागनले ताइवान युद्धबारे विकास गरेको सबैभन्दा यथार्थवादी ‘वार गेम’ मा अमेरिका १८–० को अन्तरले पराजित भएको थियो।

अंकको यो अन्तर देख्दा ती अमेरिकीहरु आश्चर्यचकित हुन सक्छन्, जसलाई १९९५–९६ को ताइवान जलसन्धि संकट अझै याद छ। त्यतिबेला चीनले ताइवानलाई घेरेर क्षेप्यास्त्र परीक्षण गरेको थियो। तर, अमेरिकाले आफ्नो श्रेष्ठता प्रदर्शन गर्दै ताइवाननजिकको जलक्षेत्रमा दुई वटा विमानवाहक युद्धपोत पठायो। जसका कारण बाध्य भएर चीन पछि हट्यो। 

तर, आज त्यो विकल्प अमेरिकासँग छैन। ज्वाइन्ट चिफ्स अफ स्टाफका अध्यक्ष मार्क मिलीले राष्ट्रपति बाइडेनसामु राख्ने विकल्पहरुको सूचीमा समेत त्यो अटाउँदैन।

यति चाँडै यत्रो परिवर्तन कसरी आयो त?

हावर्ड विश्वविद्यालयको चाइना वर्किङ ग्रुपले अमेरिका चीन सैन्य प्रतिद्वन्द्विताका विषयमा एक रिपोर्ट प्रकाशित गर्दैछ। गएको दशकमा अमेरिका र चीनबीचको सैन्य प्रतिस्पर्धामा के के भयो र अहिले यी दुई प्रतिद्वन्द्वी कुन स्थानमा उभिएका छन् भन्ने विषयमा सो रिपोर्ट केन्द्रित छ।

पहिलो, अमेरिकी सैन्य प्रभुत्वको युग समाप्त भयो। २०१८ को राष्ट्रिय रक्षा नीतिमा रक्षामन्त्री जिम म्याटिसले स्पष्ट रुपमा लेखेका छन्, ‘दशकौँसम्म अमेरिकाले हरेक क्षेत्रमा प्रतिस्पर्धाविहीन अथवा प्रभुत्वशाली श्रेष्ठताको फाइदा उठायो। हामी जब चाह्यो तब आफ्नो सेना तैनाथ गर्न सक्थ्यौँ, जहाँ चाह्यो त्यहीँ तिनलाई जम्मा गर्न सक्थ्यौँ र जसरी चाह्यो त्यसरी परिचालन गर्न सक्थ्यौँ। तर, आज आकास, जमिन, समुद्र, अन्तरिक्ष होस् वा साइबरस्पेस, हरेक क्षेत्रमा प्रतिस्पर्धा छ।’

दोस्रो, सन् २००० मा एन्टी एक्सेस/एरिया डिनायल (एटू/एडी) प्रणाली चीनसँग थिएन। यो प्रणालीले अमेरिकी सेनालाई आफ्नो इच्छाअनुसार परिचालन गर्न रोक्छ। तर, आज चीनको एटू/एडी प्रणालीको पहुँच ताइवान र जापानको र्‍युकु टापुसहित ‘फर्स्ट आइल्यान्ड चेन’ सम्म छ। फलस्वरुप ओबामा कार्यकालका रक्षा सहसचिव मिसेल फ्लावरनोयले भनेकी थिइन्, ‘यो क्षेत्रमा अब अमेरिकाले हवाई, अन्तरिक्ष वा नौसैनिक श्रेष्ठता तुरुन्त प्राप्त गर्न सक्दैन।’

अहिले अमेरिकाको राजनीतिले चीनसँगको बढ्दो शत्रुतालाई थप चर्काइरहेको छ। यस्तो परिस्थितिमा सैन्य यथार्थलाई पहिचान गर्न जोड दिनु खासै फलदायी नहुन सक्छ। तर, पूर्व उपरक्षामन्त्री बब वर्कले भनेझैँ यो यथार्थबारे अमेरिकी राजनीतिक वर्ग र नीति निर्माताभन्दा चिनियाँ नेतृत्व बढी सचेत छ।  

तीतो यथार्थको सामना गर्नुपर्छ भन्नुको कारण पराजय स्वीकार गर्नुपर्छ भन्ने होइन। त्यसविपरीत, यी तथ्यहरुलाई बदल्न तुरुन्त कदम चाल्न आह्वान गर्नु हो। ताइवानले सजिलै विजित हुन नदिन थुप्रै काम गर्न सक्छ। त्यसका लागि स्मार्ट बारुदी सुरुङको अवरोध तयार गर्न सक्छ। थुप्रै त्यस्ता प्रणालीहरु छन्, जसलाई अमेरिकी सेनाले तैनाथ गर्न सक्छ, जसले ताइवानमाथिको आक्रमणमा चीनको जोखिम र खर्च दुवै बढाउँछ। 

त्यसभन्दा पनि दीर्घकालीन र अझ प्रभावकारी पहलकदमी अमेरिकाले लिन सक्छ। जसमा कूटनीतिक, सूचना, सैन्य र आर्थिक हतियार प्रयोग गरेर अमेरिकाले चिनियाँ नेताहरुको चिन्ता बढाउन सक्छ। यसबाट तिनलाई लाग्न सक्छ, ताइवानमाथि आक्रमणको फाइदाभन्दा बढी बेफाइदा छन्।

दुर्भाग्यवश, स्पष्ट दृष्टिकोणले हेर्दा ताइवान र अमेरिका दुवैसामु एक दशकअघि उस्तै अवसर थियो। त्यो गुमिसकेको छ। तर, विगतका असफलता भविष्यको गतिविधिको मानक बन्छ भन्ने केही छैन। 

ताइवानको सैन्य सन्तुलन नाटकीय रुपमा चीनको पक्षमा गएको छ। तर, यसको अर्थ अमेरिका ताइवानको रक्षामा आउँदैन भन्ने होइन। 

चिनियाँ रणनीतिकारहरुलाई १९५० अझै याद छ। त्यसबेला ट्रुम्यान प्रशासनले स्पष्टसँग कोरिया अमेरिकाको रक्षा परिधिभन्दा बाहिर पर्छ भनेर घोषणा गरेको थियो। त्यो घोषणाका बाबजुद चीनको सहयोगी उत्तर कोरियाले दक्षिण कोरियामाथि आक्रमण गरेलगत्तै अमेरिका दक्षिण कोरियाको रक्षामा उत्रियो। चाँडै नै चीन र अमेरिका एकअर्काविरुद्ध युद्धमा थिए। 

कोरिया युद्धअघिसम्म अमेरिकाले ताइवानबारे कुनै अडान लिएको थिएन। कोरिया युद्धको समयमा अमेरिकाको ७ औँ बेडा चीन र ताइवानबीचको जलसन्धिमा आएर बस्यो। जसले ताइवानलाई अमेरिकी सुरक्षा छाताभित्र पार्यो। चिनियाँहरुमा एक पुस्ताका लागि ताइवान गुम्यो भन्ने चिरकालीन भाष्यको सुरुवात त्यहीँबाट भएको थियो। 

अन्त्यमा, ताइवानको ताजा इतिहासको सबैभन्दा ठूलो पाठ के हो भने सबै पक्षलाई आफ्नो स्वार्थ रक्षा गर्ने र युद्ध पनि टार्ने अझ गतिलो मौका सिर्जनात्मक कूटनीतिले नै दिन्छ।

राष्ट्रपति रिचर्ड निक्सन र जिम्मी कार्टरको कार्यकालमा अमेरिका र चीनले औपचारिक सम्बन्ध स्थापना गरे। त्यसबेला उनीहरुले के स्वीकार गरेका थिए भने ताइवानको मुद्दा समाधान गर्न असम्भव छ तर यो व्यवस्थापन गर्नै नसकिने मुद्दा भने होइन।  

त्यसका लागि उनीहरुले एउटा कूटनीतिक ढाँचा निर्माण गरे। सो ढाँचाले कट्टर मतभेदहरुलाई रणनीतिक अस्पष्टताभित्र लुकायो। सोही रणनीतिक अस्पष्टताले पाँच दशक लामो शान्ति सुनिश्चित गर्यो। र, त्यो अवधिमा जलसन्धिका दुवैतर्फका व्यक्तिहरुले आफ्नो जीवनस्तरमा ठूलो वृद्धि भएको देखे। 

यी दशकहरुमा चीन, ताइवान र अमेरिकामा थुप्रै परिवर्तन भइसकेका छन्। अहिलेको नयाँ विश्वमा राष्ट्रपति बाइडेन र उनको टोलीका लागि सबैभन्दा महत्वपूर्ण अन्तर्राष्ट्रिय चुनौती भनेको त्यो शान्तिलाई थप आधा शताब्दीसम्म लम्ब्याउने तरिका खोजी गर्नु नै हो। 

(नेसनल इन्ट्रेस्टबाट। ग्राहम टी एलिसन हावर्ड केनेडी स्कुलका प्राध्यापक हुन्। उनी डेस्टिन्ड फर वारः क्यान अमेरिका एन्ड चाइना एस्केप थुसाइडिडस् ट्रयाप? पुस्तकका लेखक हुन्)
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .