विचार


यस्तो छ शीतयुद्ध २.० को परिदृश्य

यस्तो छ शीतयुद्ध २.० को परिदृश्य

एडवार्ड लुस
असोज १०

नयाँ शीतयुद्धको चर्चा चलिरहेको छ। र, सबैभन्दा चिन्ताजनक विषय के छ भने यो चर्चाबाट थुप्रै खुसी भएका देखिन्छन्। पहिलो शीतयुद्ध सोभियत संघले हार मानेपछि १९९१ मा शान्तिपूर्वक अन्त्य भएको थियो। 

अमेरिका र सोभियत संघबीचको विचारधारात्मक प्रतिस्पर्धा हेर्दा के देखिन्थ्यो भने कुनै एक पक्षले जित्नका लागि अर्को पक्षको व्यवस्था असफल हुनुपर्थ्यो। भयो पनि त्यस्तै। तर, शीतयुद्ध २.० को परिदृश्य अर्कै देखिन्छ। विश्वका सबैभन्दा ठूला दुई शक्तिबीच भूराजनीतिक दुश्मनी बढ्दैछ। र, यसबाट निस्किने बाटो कतै देखिँदैन। 

यसैसाता अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राष्ट्रसंघमा ‘अथक कूटनीति’ सुरु गर्ने बाचा गरे। चीनसँग कूटनीतिले काम गर्ने सम्भावना छ। तर, बाइडेनले झनझन् उन्मत्त हुँदै गएको चीनसँग अहिलेसम्म एक पटक पनि अर्थपूर्ण संवाद गर्न सकेका छैनन्। 

बरु, बाइडेनले यसको उल्टो दिशामा तीव्र प्रगति गरिरहेका छन्। उनले चिनविरोधी गठबन्धनहरु बनाइरहेका छन्। जसले चीनको ‘उल्फ वारिअर’ प्रवृत्ति झनै उग्र बनाउने छ। गतसाता बाइडेनले अस्ट्रेलिया र बेलायतसँग त्रिदेशीय ‘अकस’ सम्झौता गरे। लगत्तै शुक्रबार अस्ट्रेलिया, भारत र जापानसँग क्वाड शिखर बैठक भएको छ। चीनको बढ्दो सैन्य शक्तिमा अंकुश लगाउने उदेश्यले यी गठबन्धन गरिएका हु्न्।

विश्वव्यापी तापक्रम वृद्धिविरुद्धको लडाइँ र अर्को महामारीलाई रोक्नेलगायत आपसी स्वार्थ मिल्ने विषयमा बाइडेन चीनसँग सहकार्य गर्ने पक्षमा छन्। र, मानव अधिकार, ताइवान, जलयात्राको अधिकार तथा प्रविधिसम्बन्धी प्रतिस्पर्धालगायत स्वार्थ बाझिने क्षेत्रहरुमा उनी चीनसँग टक्कर लिन चाहन्छन्। तर, सहकार्य भन्दा द्वन्द्वको पल्ला भारी देखिन्छ। खासगरी दुइटा लक्षणले त्यसको संकेत गर्छ।

पहिलो– चीनप्रति उग्र रुपमा प्रस्तुत हुनुपर्छ भन्नेमा अमेरिकामा सबै एकमत हुनु।

अफगानिस्तानलगायतका मुलुकमा युद्ध सुरु गर्नु कति बुद्धिमानी थियो भन्ने विषयमा अमेरिकाको विदेश नीतिमा दखल राख्ने समूह वर्षौँदेखि विभाजित रहँदै आएको छ। तर, चीनको मामिलामा वासिङ्टन एकमत छ। त्यसलाई त्यागेर बाइडेनले कुनै तक्मा जित्ने छैनन्। सेप्टेम्बर ११ पछि अमेरिकाको दुस्साहसपूर्ण सैन्य अभियानमा असहमति जनाउने हस्तीहरुले समेत गत साता भएको अकस सन्धिलाई ताली पिटेर स्वागत गरे। 

दोस्रो– व्यापार र लगानी सम्झौताप्रति अमेरिकाको अरुचि।

अकस घोषणा भएलगत्तै चीनले गत साता ‘कम्प्रिहेन्सिभ एन्ड प्रोग्रेसिभ एग्रिमेन्ट फर ट्रान्स–प्यासिफिक पार्टनरसिप’ (सीपीटीटीपी) मा आबद्ध हुन आवेदन दिएको छ। सुरुमा अमेरिकाद्वारा प्रस्तावित यो विश्वकै सबैभन्दा ठूलो व्यापारिक सम्झौतामध्ये एक हो। यद्यपि अमेरिका यसमा छैन। अमेरिका नभए पनि चीनले यसमा तत्काल प्रवेश पाउने सम्भावना छैन। जापान वा अस्ट्रेलियाजस्ता यसका कुनै एक सदस्यले मात्रै पनि चीनको प्रवेशलाई रोक्न सक्छ। 

आफ्नो छिमेकी मुलुकलाई सजाय दिने या पुरस्कृत गर्ने भन्ने आर्थिक क्षमता अमेरिकाको तुलनामा चीनको बढी छ। किनभने तिनले चीनसँग गर्ने व्यापारको आकार ठूलो छ। सीपीटीटीपीमा प्रवेश गरेर अमेरिकाले त्यसलाई टक्कर दिन सक्छ। अथवा तथ्यांकसम्बन्धी मापदण्ड वा डिजिटल सेवासम्बन्धी सम्झौताबारे अमेरिकाले वार्ता सुरु गर्न सक्छ। दुर्भाग्यवश, अमेरिकी राजनीति, खासगरी डेमोक्रेटिक पार्टीको वामपन्थी हिस्सा डिजिटल सम्झौताको विपक्षमा छ। 

दोस्रो विश्वयुद्धपछिका दशकमा विश्वलाई एकछत्र बनाउने अभियानको नेतृत्व लिने भोक अमेरिकामा जति थियो, त्यो अहिले छैन। पहिलो र दोस्रो शीतयुद्धबीचको अर्को फरक हो यो। सैन्य शक्तिका भरमा अरुलाई तह लगाउने मामिलामा वासिङ्टन अहिले पनि अगाडि नै छ। तर, व्यापारिक औजारहरुलाई भने उसले मिल्काइदिएको छ। यसले पनि अमेरिका–चीन द्वन्द्वलाई शत्रुतापूर्ण दिशामा धकेलिरहेको छ।

बेल्ट एन्ड रोड परियोजनामा चीनले जति नै गल्ती गरे पनि बेइजिङले अन्य मुलुकका पूर्वाधारमा गरेको खर्चलाई चुनौती दिने इच्छा न अमेरिकामा छ न उसका कुनै सहयोगी मुलुकसँग। बरु ती मुलुकले आजको शीतयुद्धको एउटै सकारात्मक पक्ष– अमेरिकी र चिनियाँ अर्थतन्त्रबीचको अन्योन्याश्रित सम्बन्ध– लाई कमजोर बनाउन भूमिका खेलिरहेका छन्। उतिबेला सोभियत र अमेरिकीहरुको छुट्टाछुट्टै व्यापारिक ब्लक थियो। आज अमेरिका चीनबाट अलग हुन चाहन्छ।

बाइडेनले चीनसँग युद्धको जोखिम उठाउन चाहेको कसैगरी देखिँदैन। उनको प्राथमिकता स्वदेश मात्रै हो। त्यसमाथि, अमेरिकी विचारधारा जहिले पनि विजयी बन्नेछ भन्नेमा उनको गहिरो विश्वास देखिन्छ। अकस पनि अस्ट्रेलियाको आग्रहमा जन्मिएको हो। जसलाई ब्रेक्जिटपछिको बेलायतले पनि साथ दियो। बाइडेन फ्रान्सलाई पनि अपमानित गर्न चाहन्थेनन्। उनले फ्रान्ससँग सम्बन्ध सुधारको प्रयास गर्नेछन्, यसमा कुनै सन्देह छैन। तर, यी कुरा अन्तत्वगत्वा सहायक विषय हुन्। मुख्य मुद्दा अमेरिका–चीन दुश्मनी कतातिर जान्छ भन्ने नै हो। हाम्रो भविष्यलाई निर्धारण गर्ने सबैभन्दा ठूलो विषय यही नै हो।

पहिलो शीतयुद्धमा यस्ता मौका थुप्रै पटक आए– जतिबेला विश्व निकै मुस्किलले अर्को महायुद्धबाट जोगिएको थियो।। ती अनुभवबाट अमेरिकाले के सिक्यो भने सोभियत पक्षको मनको कुरा बुझ्नु र तिनको दृष्टिबाट सोच्नु बुद्धिमानी हुन्छ। तर, आज वासिङ्टनमा चीनबारे त्यो हदको ज्ञान छैन। त्यतिधेरै चीन विज्ञ पनि छैनन्। बेइजिङ र वासिङ्टनबीच हटलाइन स्थापना गर्ने प्रयास समेत सफल हुन सकेको छैन। 

त्यसैले गल्ती गर्ने छुट अलिकति पनि छैन। दुर्घटना वा अज्ञानताका कारण जतिबेला पनि द्वन्द्व सुरु हुनसक्छ। यो सम्भावनालाई बाइडेनले जति स्वीकार गर्छन्, त्यति नै उनले यसको जोखिम कम गर्न सक्छन्। 

(फाइनान्सियल टाइम्सबाट। एडवार्ड लुस फाइनान्सियल टाइम्सका एसोसियट एडिटर हुन्)

असोज ९, २०७८, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .