विचार


के अफगानिस्तानले अमेरिकी शताब्दी अन्त्यको संकेत गर्दैछ?

के अफगानिस्तानले अमेरिकी शताब्दी अन्त्यको संकेत गर्दैछ?

अफगानिस्तानमा अमेरिकी सेना (तस्बिरः रोयटर्स)


जलान खान
भदौ १४

तालिबानले काबुल कब्जामा लिएयता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान निरन्तर रुपमा अफगानिस्तानमाथि केन्द्रित छ। यससँगै मानिसहरुले अफगानिस्तानका प्रचलित उपमा पनि ब्युँताउन थालेका छन्। विश्लेषण र टिप्पणीहरुमा सबैभन्दा बढी प्रयोग भएको उपमा हो– ‘साम्राज्यहरुको चिहान।’ मानौँ, अरु ठाउँजस्तै अफगानिस्तान पनि विदेशी शक्तिद्वारा अनेक पटक पराजित र शासित नभएको होस्।

यति भएपछि अफगानहरु सभ्य समाजमा बस्न ‘योग्य’ छन् त भन्ने प्रश्न र आशंका उब्जिनु स्वभाविक हो। मानौँ सभ्य समाज चाहिँ पश्चिमा मुलुकहरुका लागि मात्र संरक्षित छ। 

पश्चिमाहरुको भाष्य अफगान नागरिक र तिनको कथित ‘असफलता’ मा केन्द्रित भइरहँदा थोरैले मात्र अफगानिस्तानको घटनाले अमेरिकाबारे के भन्छ भनेर विमर्श गरेका छन्। उसै पनि अस्ताउँदो महाशक्ति अमेरिका विश्वव्यापी मुद्दा तय गर्न झन्झन् अक्षम हुँदै गएको छ। 

काबुल तालिबानको कब्जामा परेको हेरिरहँदा मलाई अमेरिकाका पूर्व विदेशमन्त्री हेनरी किसिन्जरको एउटा भनाइ याद आयो– ‘अमेरिकाको शत्रु बन्नु खतरनाक हुनसक्छ, तर अमेरिकाको मित्र बन्नु घातक हुन्छ।’

दुनियाँको सबैभन्दा धनी र सबैभन्दा शक्तिशाली सेना भएको मुलुकले अफगानिस्तानमाथि २००१ मा आक्रमण गरेयता दुई ट्रिलियन डलर खर्च ग¥यो। करिब सात लाख ७५ हजार सैनिक खटायो। दुई दशकसम्म अफगान सुरक्षा फौजलाई तालिम, हतियार दियो, राष्ट्र निर्माणको प्रयास ग¥यो। र, जब अमेरिकाले फिर्ता हुने निर्णय लियो, तब उसका अफगान सहयोगीहरुले एक साताभित्रै आत्मसमर्पण गरे। 

के अफगानिस्तानले अमेरिकी शताब्दी अन्त्यको संकेत गर्दैछ? अथवा, विश्वभर अमेरिकाको प्रभुत्वमा यो सानो र क्षणिक उलटफेर मात्र हो?

इतिहासमा अमेरिकाको कमजोरी प्रदर्शन भएको यस्तै घटना पक्कै अरु पनि छन्। १९४१ मा जापानले पर्ल हार्बरमा आक्रमण गरेर अमेरिकाको सिंगो प्यासिफिक बेडा नष्ट गरिदिएको थियो। त्यसलगत्तै जापानी फौजको आक्रमणमा अमेरिकाले फिलिपिन्स गुमाएको थियो। तर, त्यसपछि अमेरिकाले आफ्नो नौसेना पुननिर्माण ग¥यो र तीन वर्षभित्रै जापानलाई घुँडा टेकायो। 

१९७३ मा पनि सोभियत संघको समर्थन पाएको इजिप्ट र सिरियाका सेनाले इजरायलले कब्जा गरेको भूमिमाथि अचानक आक्रमण गरे। अमेरिकाले इजरायललाई समर्थन गर्दै विमानबाट हतियार पु¥याउन थाल्यो। त्यसको जवाफमा अरबका तेल उत्पादक मुलुकहरुले अमेरिकालाई तेल बेच्न अस्वीकार गरे। यसले अमेरिकी अर्थतन्त्रलाई नराम्ररी असर ग¥यो। तर, दस वर्षपछि अमेरिकाले त्यो क्षेत्रमै सोभियत संघको प्रभावलाई कमजोर पारिसकेको थियो भने इजिप्ट र अरब राष्ट्रवादीहरुको गठबन्धनलाई पनि टुक्र्याइदिएको थियो। 

सायद अहिले अमेरिकाको पतनको घोषणा गर्नु निकै हतार हुनेछ। तर, बितेका दुई दशकले विश्वको भूराजनीतिक सन्तुलनमा निकै महत्वपूर्ण परिवर्तन ल्याइसकेको छ। भारतीय मूलका अमेरिकी राजनीतिक टिप्पणीकार फरिद जकारियाले २००८ मा प्रकाशित ‘द पोस्ट अमेरिकन वर्ल्ड’ पुस्तकमा तर्क गरेझैँ, ‘अमेरिकापछिको विश्वको यथार्थ के हो भने नयाँ शक्तिहरुले आफ्नो स्वार्थलाई अझ दृढतापूर्वक अघि सार्दैछन्।’

तर, उनले अनिश्चयपूर्वक के तर्क गरेका थिए भने अन्य शक्तिले अमेरिकी नीति र विचार अवलम्बन गरेका कारण बाँकी विश्वको उदय सम्भव भएको थियो।

पछाडि फर्केर हेर्दा विश्वमञ्चमा अमेरिकाको पदार्पण पनि अत्यन्त नाटकीय र युगान्तकारी थियो। १९१३ सम्ममा अमेरिका विश्वको प्रमुख आर्थिक शक्ति बनिसकेको थियो। तर, विश्व मामिलामा उसलाई खासै चासो थिएन। तर, पहिलो विश्व युद्धमा मित्र राष्ट्रका तर्फबाट हस्तक्षेप गरिसकेपछि अमेरिका परिवर्तन भयो। दोस्रो विश्वयुद्ध सकिँदासम्म संसारकै प्रभुत्वशाली मुलुकका रुपमा अमेरिकाले बेलायती साम्राज्यलाई विस्थापित गर्ने स्पष्ट भइसकेको थियो। र, त्यसको ५० वर्षभन्दा कम समयमा पूर्वी ब्लक र सोभियत युनियन विघटन हुँदा वासिङ्टन विजेताका रुपमा उभिएको थियो। 

जसै अमेरिका विश्वमा हावी हुँदै गयो, आफ्नो प्रभुत्व विस्तार गर्नु र लोकतन्त्र तथा पुँजीवाद फैलाउनु आफ्नो ‘नियति’ हो भनेर ऊ विश्वस्त हुँदै गयो। अर्कोतिर अमेरिकी डलरको शक्तिले पनि उसलाई सहयोग पुग्यो। किनभने मुद्रा सञ्चितिको माध्यम डलर बनेको थियो। जसले अमेरिका र उसका निकटतम प्रतिद्वन्द्वीको आर्थिक शक्तिबीच निकै ठूलो अन्तर कायम राख्न सहयोग ग¥यो। त्यसमाथि हवाई मार्ग र इन्धन आपूर्ति मार्गमा समेत उसको नियन्त्रण थियो।  

तर, यो विश्व व्यवस्था अहिले भत्किएको छ, मुख्यगरी अमेरिकाकै हातबाट। यो विश्व व्यवस्थाको नैतिक आयाम अमेरिकाले २००३ मा इराकमाथि आक्रमण गरेदेखि नै टुट्न थालेको थियो। संयुक्त राष्ट्रसंघको अवहेलना गरेर मात्रै होइन, सद्दाम हुसेनसँग आम नरसंहारकारी हतियार छ भन्ने झुटको सहारा लिएर समेत अमेरिकाले सो आक्रमण गरेको थियो। 

त्यसपछि २००८ को मन्दीमा अमेरिकाको आर्थिक व्यवस्थाको विश्वसनीयता क्षतिग्रस्त भयो। त्यसबेला अमेरिकी वित्तीय संस्थाहरु एकपछि अर्को गर्दै ढले। 

यो सबै त्यही बेलामा भइरहेको थियो, जुन बेला रुसको पुनरोत्थान भएको थियो भने चीन विश्वको आर्थिक महाशक्ति बनेर उदाइरहेको थियो। अमेरिका जस्तो आन्तरिक सामाजिक–राजनीतिक संकटबाट गुज्रिरहेको थियो, २०१० को दशकमा त्यसको संकेत पनि देखिन थाल्यो। जसको अभिव्यक्तिस्वरुप ट्रम्पवादको उदय भयो, बढ्दो नश्लीय अन्यायले ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलनलाई गति दियो र कोभिड–१९ महामारीमा स्वास्थ्य प्रणाली झण्डै धराशायी भयो।  

अफगानिस्तानबाट अमेरिकाको अपमानजन फिर्तीलाई यो समग्र सन्दर्भमा हेर्ने हो भने अमेरिकी प्रभुत्वको शताब्दी अन्त्य हुँदैछ भन्न सकिन्छ। 

यसको अर्थ अमेरिका अब असान्दर्भिक नै बनिसक्यो भन्ने पक्कै होइन। ऐतिहासिक रुपमा हेर्ने हो भने पतनोन्मुख साम्राज्यहरुसँग पनि साम्राज्यकै शक्ति हुने गर्छ। र, त्यस्ता मुलुक विश्वघटनाहरुमा हावी हुने गरेको पनि देखिन्छ। उदाहरणका लागि १९ औँ शताब्दीको ओट्टोमन साम्राज्य र २० औँ शताब्दी अन्त्यतिरको रुसी साम्राज्यलाई लिन सकिन्छ। 

अझै पनि अमेरिका विश्वको सबैभन्दा ठूलो सैन्य शक्ति हो। उसको अर्थतन्त्रको आकार र प्रभाव भयंकर छ। तर, एउटा कुरा भने बदलिएको छ। त्यो हो– शक्ति कायम राख्न प्रत्यक्ष र अप्रत्यक्ष द्वन्द्वमा भाग लिने उसको जोस। अफगानिस्तान र अन्यत्रका उसका सहयोगीले सबैभन्दा पहिले विश्वव्यापी प्रभुत्वप्रति अमेरिकाको यो बढ्दो वितृष्णा महसुस गरेका छन्। 

(अल जजिराबाट। जलन खान ‘किस्सा कहानी’ नामक सामाजिक सञ्जाल मञ्चका संस्थापक हुन्। उनी पाकिस्तानको द न्युज नामक अंग्रेजी दैनिकका स्तम्भकार पनि हुन्)
 

भदौ १४, २०७८, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .