विचार


चुनावमा तीन दल मिले के होला एमालेको हालत?

चुनावमा तीन दल मिले के होला एमालेको हालत?

११ फागुन (२०७७), सरकारी निवास (बालुवाटर) मा आफ्नो ७०औं जन्मदिन मनाउँदै थिए, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली।विश्वासपात्रहरूसँग ओलीले जन्मोत्सवको खुसी बाँड्दै गर्दा सर्वाेच्च अदालतले भने उनले पहिलोपटक (पुस ५) गरेको प्रतिनिधि सभा विघटन बदरको अप्रिय फैसला गर्दै थियो। 

यस्तै ९ भदौ (०७८) मा ओली आफ्नै निवास (बालकोट) मा पत्नी राधिका शाक्यको ६३औं जन्मदिनको खुसियाली मनाउँदै थिए, ‘म त कति भाग्यमानी’ बोलको गीतमा नाच्दै। संयोग कस्तो भने त्यही बेला निर्वाचन आयोग भने ओली नेतृत्वको एमालेबाट अलग भई बनेको नेकपा (एकीकृत समाजवादी) लाई दल दर्ताको प्रमाणपत्र दिने तयारी गर्दै थियो।

अहिले एमाले औपचारिक रूपमा विभाजन भइसकेको छ। केन्द्रीय कमिटीका २७ प्रतिशतभन्दा बढी सदस्यको समर्थनसहित एमालेका संस्थापकमध्येका एक माधव नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन्। पार्टीको ठूलो पंक्ति भने अध्यक्ष केपी शर्मा ओली (एमाले) सँगै छ। 

दुवै खेमाका नेता–कार्यकर्ताले आ–आफ्ना दलको भविष्यको लेखाजोखा गर्न थालिसकेका छन्। ओलीको गलत कार्यशैलीबाट आजित भएर भविष्यमा एमालेका धेरै नेता–कार्यकर्ता एकीकृत समाजवादीमै आउने र आफ्नो पार्टी एमालेभन्दा ठूलो बन्ने दाबी र आशा नेपाल नेतृत्वको पार्टीका नेता–कार्यकर्तामा देखिन्छ।  

उता एमालेका नेता–कार्यकर्ता भने एकीकृत समाजवादीको हालत २०५४ मा एमालेबाट फुटेर बनेको साहना प्रधान–वामदेव गौतम नेतृत्वको नेकपा (माले) को जस्तै हुने दाबी गरिरहेका छन्। यस सम्बन्धमा उनीहरूले विभाजनबाट बनेका कुनै पनि पार्टी टिक्न नसकेको ‘ऐतिहासिक दृष्टान्त’ पनि पेस गरिरहेका छन्।

तर यो आलेख ओली नेतृत्वको एमाले वा यसबाट छुट्टिएर गठन गरिएको ‘एकीकृत समाजवादी’मध्ये कुन दल भविष्यमा मूलप्रवाह बन्ला भन्ने लेखाजोखा गर्न होइन, बरु ऐतिहासिक तथ्यका आधारमा ‘विभाजन भई बनेका दलको भविष्य हुँदैन’ भन्ने जुन भाष्य निर्माण गरिएको छ, त्यसको तथ्य परीक्षण (फ्याक्ट चेक) गर्न लेखिएको हो। 

केस स्टडी : एमाले र माओवादी 
नेपालका समकालीन ३ प्रमुख राजनीतिक दल हुन्– नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र। यीमध्ये एमाले २०५४ मा फुटेर नेकपा (माले) र २०५९ मा कांग्रेस विभाजन भएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) बने। तर ४ वर्ष नपुग्दै यी दुवै दल कमजोर भए र अन्ततः पुनः मूल पार्टीमै मिसिए। मूल माओवादीबाट विभाजित समूहहरू पनि यतिबेला घिसेपिटे अवस्थामा छन्।

यी त भए हाम्रा आँखैअगाडिका तथ्य। तर एमाले, कांग्रेस र माओवादीबाट विभाजन भई जानेहरूले कुनै तरक्की गर्न सकेनन्/सकेका छैनन् भन्ने आधारमा ‘विभाजित समूहको भविष्य नै हुँदैन, इतिहासले यसै भन्छ’ भनेर कुनै दलका नेता–कार्यकर्ताले भन्छन् भने त्यो आफ्नै दलको इतिहासविरुद्ध प्रहार गर्नु हो।     

यस्तो तर्क नेपाली कांग्रेसका हकमा केही हदसम्म गर्न सकिएला, तर नेपाली कम्युनिस्ट र अन्य कतिपय गैरकम्युनिस्ट दलका सन्दर्भमा यो कुरा लागू हुँदैन। किनभने अहिलेका एमाले र माओवादी केन्द्र पनि पुष्पलालकालीन ‘नेकपा’बाट विभाजन भई बनेका दल हुन् र विभाजनपछि नै ‘तरक्की’ गर्दै यहाँसम्म आइपुगेका हुन्।

एमालेको जग २०२८–२९ को झापा विद्रोह हो। जुन विद्रोह संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ नेतृत्वको नेकपाको पूर्वी क्षेत्र हेर्ने पूर्वकोसी प्रान्तीय कमिटीबाट विभाजित झापा जिल्ला कमिटीले गरेको थियो। त्यसपछि पनि पुष्पलाल समूहबाट विभिन्न समूह चोइटिइरहे। तिनै चोइटाहरूबीच २०३५ मा एकता भई एमाले (तत्कालीन माले) बनेको हो। 

अहिलेको माओवादीको २०४१–४८ कालीन रूप नेकपा (मशाल) थियो, जुन मोहनविक्रम सिंह नेतृत्वको मूल पार्टी ‘मसाल’ विभाजन भई बनेको थियो। विभिन्न कम्युनिस्ट घटकबीच एकता भई बनेको ‘एकता केन्द्र’ अहिलेको माओवादी केन्द्रको २०४८–०५१ कालीन रूप हो। 

तर २०५२ फागुनदेखि जनयुद्ध गर्ने निर्णय जब पुष्पकमल दाहाल (प्रचण्ड), मोहन वैद्य (किरण), डा. बाबुराम भट्टराईलगायतका नेताले गरे, तब उनीहरूले ‘मूल पार्टी’ भन्दै ‘एकता केन्द्र’ बोकेर हिँडेनन्; त्यसको जिम्मा निर्मल लामालगायतका नेताहरूलाई लगाए। र, अलग भई नेकपा (माओवादी) गठन गरे। 

मूल पार्टी एकता केन्द्र नै निर्मल लामाहरूलाई जिम्मा लगाएर बनेको माओवादी फरक–फरक विचार बोकेका कम्युनिस्ट दलहरूको मूलप्रवाह बन्न पुगेको छ, अहिलेसम्मका लागि। यो तथ्यले विभाजन भएर जानेहरूको भविष्य हुँदैन भनेर निर्माण गरिएको भाष्यलाई चुनौती दिन्छ, खण्डन गर्छ।  

नेकपामा भएको पहिलो विभाजनकै कुरा गरौं। १ पुस २०१७ मा राजा महेन्द्रको ‘फौजी कु’पछि नेकपा विभाजन भयो। रोचक तथ्य के हो भने विभाजनका बेला संस्थापक महासचिव पुष्पलाल अल्पमतमा थिए। मूल पार्टी डा. केशरजंग रायमाझीले नेतृत्व गरेको नेकपा नै भयो। केन्द्रीय कमिटीको बहुमत डा. रायमाझीकै साथमा थियो। 

अहिले नेपालमा जे जति कम्युनिस्ट पार्टी छन्, ती सबैको उद्गम पुष्पलालले विभाजन गरी बनाएको ‘नेकपा’ हो, रायमाझीले कब्जा गरेको ‘नेकपा’ होइन। विभाजन भई बनेका दलको भविष्य हुँदैन भन्ने भाष्यमा विश्वास गर्नेले भन्न सक्नुपर्यो– ‘एमाले र माओवादी केन्द्र पुष्पलालको पार्टीको होइन, डा.रायमाझीका उत्तराधिकारी हुन्।’

२०४७–०७० : केही विचारणीय तथ्य
हो, झण्डै आधाआधी शक्ति लिएर नेकपा (माले) बनाएका वामदेव गौतम एमालेमै फर्किन बाध्य भए। ‘माले’लाई अहिले सीपी मैनालीले निरन्तरता दिएका छन्। तर उनको स्थिति यस्तो छ कि विभाजित पार्टीको हविगत देखाउने उदाहरण उनै बनिरहेका छन्। माओवादीबाट विभाजित मोहन वैद्य, नेत्रविक्रम चन्द (विप्लव), गोपाल किराँती नेतृत्वका दल पनि जसोतसो चलिरहेका छन्। 

मैनाली नेतृत्वको माले, माओवादीबाट विभाजित ससाना समूह, वामदेव गौतम नेतृत्वको माले एमालेमै र देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिक नेपाली कांग्रेसमै विलय आदिका कारण ‘मूल पार्टी’वालाहरूलाई ‘विभाजन भएर जानेको भविष्य हुँदैन’ भन्ने भाष्य विस्तार गर्न सहज भएको छ। 

तर विभाजित घटकको हालत मात्रै यस्तो ‘दीनहीन’ हुन्छ भन्ने होइन। नेपालको पहिलो राजनीतिक दल ‘नेपाल प्रजा परिषद्’कै कुरा गरौं। टंकप्रसाद आचार्य नेतृत्वको त्यो दल अहिले कहाँ छ? चीन प्रवासबाट फर्केपछि डा. केआई सिंहले निर्माण गर्दा ठूलै तहल्का मच्चाएको संयुक्त प्रजा पार्टीको अस्तित्व इतिहासमा बाहेक अन्त कतै भेटिन्छ? 

विभाजन भएपछि मूल घटकले मात्रै ‘तरक्की’ गर्न सक्छ भन्ने हो भने टंकप्रसाद आचार्यको प्रजा परिषद् र डा. सिंहको पार्टी पनि अस्तित्वमा रहन्थे होलान्। 

आचार्य नेतृत्वको प्रजा परिषद् र डा. सिंह नेतृत्वको संयुक्त प्रजा पार्टी त दसकौंअघिका उदाहरण भए। २०४६ को परिवर्तनपछिका केही चर्चित दल पनि नेपाली जनताको स्मरणबाट हराउन लागिसके। २०४७ मा गजेन्द्रनारायण सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टी (नेसपा) दलले केही सिट जित्थ्यो। तर त्यो दल हेर्दाहेर्दै इतिहासको विषय बन्न लागिसक्यो।  

२०६३–०६४ को मधेस आन्दोलनताका उपेन्द्र यादवको नेतृत्वमा गठित पार्टीको नाम मधेसी जनअधिकार फोरम (मजफो) र महन्थ ठाकुरको नेतृत्वमा बनेको दलको नाम तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) थिए भनेर सम्झन पनि गाह्रो हुन थालिसक्यो। 

विभाजन भएर जाने पक्षको मात्रै अस्तित्व धरापमा पर्ने भए राप्रपाभित्र कमल थापा अहिलेको हैसियतमा हुने थिएनन्। २०६३ को परिवर्तनपछि राप्रपाबाट विभाजन भई  थापाले ‘राप्रपा नेपाल’ गठन गरे। फुटेर बनेको त्यही ‘राप्रपा नेपाल’ले दोस्रो संविधान सभा निर्वाचन (०७०) मा २५ सिट जितेर सबैलाई चकित बनायो। सूर्यबहादुर थापा र पशुपतिशमशेर राणा नेतृत्वको मूल राप्रपा अस्तित्व रक्षाको स्थितिमा पुग्यो।

अहिले फेरि राप्रपा एक भएको छ। तर मूल पार्टीबाट विभाजन भई ‘राप्रपा नेपाल’ गठन गरिएपछि कमल थापा पार्टीभित्र जुन हैसियत र शक्तिमा छन्, त्यसले ‘मूल पार्टीबाट विभाजन हुनेहरूको भविष्य हुँदैन’ भन्ने भाष्यलाई चुनौती दिन्छ।   

विभाजित समूहलाई मूल पार्टीमा विलय गराउँदासमेत ठूला दलहरूको हविगत कति टिठलाग्दो हुँदोरहेछ भन्ने उदाहरण पहिलो संविधान सभा (२०६४) को निर्वाचन हो। ०५६ को चुनावको असफलतापछि वामदेव गौतमले ‘माले’लाई एमालेमै विलय गराए, एमाले फेरि एकीकृत भयो। २०५९ मा विभाजित शेरबहादुर देउवा नेतृत्वको नेका (प्रजातान्त्रिक) पनि ०६४ मा त्यसैगरी मूल पार्टी (नेपाली कांग्रेस) मै मिसियो।

निश्चय पनि नयाँ पार्टीको भविष्य नदेखेपछि गौतमले ‘माले’ र देउवाले नेका (प्रजातान्त्रिक) लाई मूल पार्टीमै विलिन गराएका हुन्। तर एकीकृत हुँदाहुँदै पनि पहिलो संविधान सभाको चुनावमा यी दुवै दल माओवादीसँग नराम्रोसँग हारे। 

प्रत्यक्षतर्फका २ सय ४० सिटमध्ये माओवादी १ सय २१ (जनमोर्चाको एक सिटसमेत) स्थानमा विजयी हुँदा कांग्रेसले जम्मा ३७ सिट जित्यो; एमाले ३३ सिटमा सीमित भयो। धन्न! समानुपातिक निर्वाचन प्रणालीका कारण उनीहरूको इज्जत जोगियो। 

त्यसैले, ‘विभाजन भई जानेहरूको भविष्य नै हुँदैन, मूल दलको मात्र भविष्य हुन्छ’ भन्ने तर्क गलत साबित हुन्छ। बरु तथ्य भन्छन्– सबै मूल पार्टी ‘मूल प्रवाह’ बन्न सक्दा रहेनछन्; विभाजनका बेला सानो देखिएका समूह पनि समयक्रममा मूल दलभन्दा शक्तिशाली बन्न सक्दा रहेछन्, विभाजनका कारण कमजोर भयौं भनेर एकजुट भएका दलहरू पनि निर्वाचनमा नराम्रोसँग हार्न पुग्दारहेछन्।  

निर्धारक : समानुपातिक निर्वाचन प्रणाली
‘फुटेर जानेको भविष्य हुँदैन’– नेपाली राजनीतिमा यो ‘अर्धसत्य तथ्य’को चर्चा हुनासाथ वामदेव गौतम र नेकपा (माले) को नाम आइहाल्छ। 

गौतम नेतृत्वको मालेले २०५६ को निर्वाचनमा ६ लाख मत प्राप्त गर्यो, तर प्रतिनिधि सभामा एक सिट पनि जित्न सकेन। मालेको त्यही परिणामपछि नै हो– गौतमले वैकल्पिक निर्वाचन प्रणालीको माग गरेको र समानुपातिक निर्वाचन प्रणाली चर्चामा आएको। तर समानुपातिक निर्वाचन प्रणालीको मागको सुनुवाइ नभएपछि हतास गौतम, ‘माले’लाई एमालेमै विलय गराउन बाध्य भए।

अलिक सानो दल भएर मात्र जनताले अहिले बिर्सेका हुन्, राप्रपा फुटाएर छुट्टाछुट्टै दल बनाएका लोकेन्द्रबहादुर चन्द र राजेश्वर देवकोटाको हविगत पनि यस्तै भएको थियो। समानुपातिक निर्वाचन प्रणाली हुँदो हो त सम्भवतः गौतम र चन्द–देवकोटाले पार्टी विलय गराउन हतारो गर्ने थिएनन्।  

तर २०६२–०६३ को परिवर्तनपछि मिश्रित निर्वाचन प्रणालीको सुरुवात भएको छ, जहाँ प्रत्यक्ष र समानुपातिक दुवै क्षेत्रबाट दलका उम्मेदवार निर्वाचित भई संसदमा पुग्न सक्छन्। प्रत्यक्षतर्फ ३३ सिटमा खुम्चे पनि पहिलो संविधान सभामा एमालेले १ सय ३ र नेपाली कांग्रेसले १ सय ७ सिट समानुपातिक निर्वाचन प्रणालीकै कारण प्राप्त गर्न सम्भव भएको हो।

यस्तो निर्वाचन प्रणालीका कारण संसदमा एक सिट जित्नेको समेत राजनीतिक भविष्य हुँदोरहेछ। यसको उदाहरण पूर्वघटक दलहरूले राष्ट्रिय जनता पार्टी (राजपा) मा प्राप्त गरेको हैसियत र स्थान हो। 

दोस्रो संविधान सभामा प्रतिनिधित्व गर्ने राजपा ६ वटा मधेसवादी दल मिलेर बनेको थियो। राजपाको अध्यक्ष मण्डलमा महन्थ ठाकुर (तमलोपा) र राजेन्द्र महतो (सद्भावना पार्टी) जस्ता अलिक ठूला पार्टीका अध्यक्ष मात्र थिएनन्, एक–एक सिटमा सीमित अनिलकुमार झा (नेपाल सद्भावना पार्टी) र राजकिशोर यादव (फोरम गणतान्त्रिक) पनि थिए। 

समानुपातिक निर्वाचन प्रणालीका कारण मधेशवादी दलहरूको मत नछिरलियोस् भनेरै एक–एक सिट रहेका झा र यादवलाई पनि ठाकुर–महतोकै हैसियत हुनेगरी राजपाको अध्यक्ष मण्डलमा राखिएको थियो। ०७४ को निर्वाचन नतिजाले देखायो– राजपाले अपनाएको यो उपाय कामयाबी नै भयो।

अहिले माधव नेपाल नेतृत्वको ‘एकीकृत समाजवादी’को तुलनामा ओली नेतृत्वकै एमाले शक्तिशाली देखिएको छ। तर यी दुईको शक्तिको मापन आगामी निर्वाचनमा हुनेछ। 

यति हुँदाहुँदै पनि के पक्का छ भने आगामी निर्वाचनमा नेपाल नेतृत्वको ‘एकीकृत समाजवादी’ भन्दा ओली नेतृत्वकै एमालेले बढी मत प्राप्त गर्नेछ।

तर गौतम नेतृत्वको मालेको ०५६ को निर्वाचन परिणाम प्रस्तुत गरेर ‘माधव नेपाल नेतृत्वको दलको भविष्य छैन’ भनेर ठोकुवा गर्नु तथ्यसंगत हुँदैन। किनकि समानुपातिक निर्वाचन प्रणालीका कारण एकीकृत समाजवादीले पनि संसदमा केही सिट पक्कै हासिल गर्नेछ। 

समानुपातिक निर्वाचन प्रणालीका कारण अब पनि प्रतिनिधि सभामा कुनै दलको बहुमत रहने छैन। त्यसैले ०७४ मा जस्तै अबको निर्वाचनमा पनि निर्णायक विजयको आधार मजबुत दलहरूबीचको गठबन्धन नै हुनेछ। 

२०७४ को निर्वाचन परिणाम हेरौं– थोरै मतान्तरले मात्र कांग्रेस दोस्रो ठूलो दल बन्न पुग्यो भने एमाले पहिलो। तर तेस्रो ठूलो दल माओवादी केन्द्रले प्रत्यक्षतर्फ ३६ सिट जित्दा कांग्रेस २३ सिटमा खुम्चियो।

अनुमान गरौं– आगामी निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन बन्यो भने प्रत्यक्षतर्फ एमालेको हालत के होला? त्यसबेला जीवन संगिनी राधिकाको ‘बर्थ डे’मा जस्तै ओली र उनका कार्यकर्ता ‘म त कति भाग्यमानी’ भनेर नाच्न सक्लान्?

भदौ १३, २०७८, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .