ad ad

विचार


प्रतिगमन पूरै सच्याए, माधव नेपालले परिचय उल्ट्याए

प्रतिगमन पूरै सच्याए, माधव नेपालले परिचय उल्ट्याए

रूपबहादुर विश्वकर्मा
साउन ७, २०७८ बिहिबार ११:१३,

राजा वीरेन्द्रको वंशै नास हुनेगरी गरिएको दरबार हत्याकाण्डपछि राजगद्दीमा उनका भाइ ज्ञानेन्द्र शाह आसिन भए। त्यसको एक वर्ष बित्दा नबित्दै ज्ञानेन्द्रमा दाइ वीरेन्द्रजस्तो ‘निष्क्रिय’ होइन, पिता महेन्द्रजस्तै ‘सक्रिय’ राजा बन्ने ‘महत्वाकांक्षा’ जाग्यो। जतिबेला अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा नै सरकारको नेतृत्वमा थिए। तत्कालीन राजा ज्ञानेन्द्रले निर्वाचित प्रधानमन्त्री देउवालाई बर्खास्त गर्दै २०५९ असोज १८ गते प्रतिनिधि सभा विघटन गरे। र, प्रधानमन्त्री ‘भर्ना’ प्रक्रिया थाले।

यसविरुद्ध नेपाली कांग्रेससहित एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र सदभावना पार्टी (पाँच दल) आन्दोलनमा होमिए। तर राजा ज्ञानेन्द्रले पुनः शेरबहादुर देउवालाई नै प्रधानमन्त्री नियुक्ति गरे। जसले गर्दा कांग्रेस फुट्यो, देउवाले आफ्नो नेतृत्वमा कांग्रेस (प्रजातान्त्रिक) गठन गरे। जतिबेला मूल कांग्रेसको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरेका थिए। देउवा प्रधानमन्त्री बनेपछि माधवकुमार नेपालको नेतृत्वमा रहेको नेकपा एमाले पनि ‘प्रतिगमन आधा सच्चियो’ भन्दै सरकारमा सामेल भयो। 

हो, त्यही घटना– माधव नेपालको आलोचना गर्ने स्थायी बिम्ब बनेको थियो/छ। यति मात्र होइन, उनका अन्य कतिपय निर्णय पनि स्थिर नहुने भएकाले उनलाई ‘ढुलमुले नेता’ को आरोप पनि लाग्ने गरेको छ। 

तर आज उनै एमाले नेता माधव नेपालले आफ्नो परिचय उल्ट्याएका छन्; इतिहासमा नयाँ पहिचान स्थापना गरेका छन्। अर्थात् यसपटक उनले प्रतिगमन पूरै सच्याएका छन्, ‘चट्टानी अडान’ देखाएका छन्। सम्भवतः अबदेखि लोकले भन्नेछ– नेताको अडान त माधव नेपालको जस्तो पो हुनुपर्छ। प्रतिगमनविरुद्ध लड्न उनको जस्तो आँट पो चाहिन्छ त! 

यसपालि पनि झन्डै आधा मात्रै सच्याएका! 
माधव नेपाललाई प्रतिगमन पूरै सच्याउने सुवर्ण अवसर गत वैशाखमै प्राप्त भएको थियो। तर उनी त्यसबेला अलि ‘ढुलमुल’ नै भए। उसो त उनी आफैं ढुलमुले प्रवृत्तिका हुन् कि उनका वरिपरिकाले उनलाई त्यस्तो बन्न बाध्य बनाउँदारहेछन् भन्ने वास्तविकता यही साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बेला देखियो। 

ज्ञानेन्द्रको शासनकालको प्रसंगमा कुनै बेला एउटा सञ्चारमाध्यमसँग कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले भनेका छन्, ‘उहाँलाई रोक्न हामीले सक्दो प्रयास गर्‍यौं, तर एमालेलाई सरकारमा जानबाट रोक्न सक्ने स्थितिमा माधवजी हुनुहुन्नथ्यो। त्यसबेला माधवजीले भन्नुभएको थियो– सरकारमा जानबाट मैले मेरा साथीहरूलाई रोक्न सक्ने अवस्थै छैन। मन्त्री नै तयार भइसके। उहाँको भनाइमै त्यो गल्ती हो भन्ने रियलाइजेसन झल्किन्थ्यो।’

सम्भवतः यसपटक पनि वरिष्ठ नेता नेपाललाई यस्तै बाध्यता पो आइलागेको थियो कि? 

पहिलोपटक (गत पुस ५ गते) गरिएको प्रतिनिधि सभाको विघटन सर्वाेच्च अदालतले (फागुन ११ गते) बदर गरेपछि तत्कालीन प्रधानमन्त्री ओलीले (वैशाख २७ गते) प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वान गराए र विश्वासको मत मागे। तर आफ्नै पार्टी (एमाले) का २८ सांसद (माधव नेपाल पक्षका) ले मतदानै बहिष्कार गरे; मत दिएनन्। जसले गर्दा यसअघि झन्डै दुईतिहाइ बहुमत प्राप्त ओलीका पक्षमा जम्मा ९३ मत मात्र परे; लज्जास्पद पराजय बेहोरे। त्यसपछि संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार गठनका लागि आह्वान गरिन्।

त्यसबेला पनि दोस्रोपटकको प्रयासमा अहिले प्रधानमन्त्री बन्न सफल शेरबहादुर देउवाले नै माओवादी केन्द्र, जसपा (उपेन्द्र यादव पक्ष) सँग मिलेर सरकार दाबी गर्ने प्रयास गरिरहेका थिए। त्यतिबेला पनि एमालेको माधव नेपाल पक्ष नै निर्णायक थियो। तर अहिलेको धारा ७६ (५) अनुसार कसैलाई समर्थन गर्न सांसद स्वतन्त्र थिएनन्; संसदीय दलकै समर्थन चाहिने। यसैले एमाले संसदीय दलका नेता ओलीको अनुमतिबेगर नेपाल पक्षका सांसदले अहिलेजस्तो देउवालाई समर्थन गर्न सक्ने अवस्था थिएन।

र, पनि वरिष्ठ नेता नेपालले एउटा उपाय सोचेका थिए– आफ्ना पक्षका सांसदले सामूहिक राजीनामा दिने। यसो गर्दा संसदको कूल सदस्य संख्या २७१ बाट २४३ मा झर्थ्यो, १३६ को ठाउँमा १२२ मत ल्याउँदा नै देउवालाई बहुमत पुग्थ्यो र ओली सरकार ढल्थ्यो। तर सरकार गठनका लागि दिइएको समयको अन्तिम दिन वैशाख ३० गते बिहानै कसोकसो ओली माधव नेपाललाई ‘ढुलमुल’ पार्न सफल भए। त्यही दिन केन्द्रीय कमिटीको बैठक राखीवरी नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि साधारण सदस्यबाट समेत निलम्बनको कारबाही फिर्ता गर्दै ‘सामूहिक राजीनामा’ रोक्न सफल भए। र, वैकल्पिक सरकार बनाउने समयसीमाकाे अन्तिम क्षणमा माधव नेपालले भने, ‘२/४ दिनलाई राजीनामा टर्यो!’ 

देउवा र प्रचण्डहरू छाँगाबाट खसेजस्तै भए।

अन्ततः राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गते राति नै पुनः ओलीलाई प्रधानमन्त्री घोषणा गरिन्– धारा ७६ को उपधारा ३ अनुसार संसदमा सबैभन्दा ठूलो (सांसद धेरै भएको) दलको नेता (संसदीय) को हैसियतमा। यसरी हिजोका दिनमा आफैंले ‘प्रतिगमनकारी’ भनेका ओलीलाई पुनः सत्तामा उक्लिन सहयोग गरेर माधव नेपाल फेरि एकपटक प्रतिगमनको मतियार बने। जसले गर्दा धेरैले ठाने– वास्तवमा माधव नेपाल ‘ढुलमुले’ नै हुन्; प्रतिगमन आधा मात्रै सच्याउने नेता हुन्।

तर दोस्रोपटक प्रतिनिधि सभा पुनःस्थापना हुँदासम्म उनले प्रतिगमन पूरै सच्याएका छन्। अहिले नेपाली राजनीतिमा जुन ‘चमत्कार’ भएको छ, त्यो एमालेका वरिष्ठ नेता माधव नेपालको सानो संघर्ष र त्यागले सम्भव भएको होइन। यत्ति भन्न कोही हिच्किचाउन पर्दैन। यसपालि उनले आफ्नो दल (एमाले) मात्र होइन, राजनीतिक जीवन नै दाउमा राखे, तर प्रतिगमन परास्त नभएसम्म पछि हटेनन्।

यसबीच माधव नेपालको समूहका भनिएका कतिपय ‘क्रान्तिकारी’ नेता आफ्नो ‘राजनीतिक भविष्य’ सुरक्षित पार्न यसअघि आफैंले प्रतिगमनकारी भनेर सत्तोसराप गरेका अध्यक्ष केपी शर्मा ओलीको पाउमा लम्पसार परे र लाजै नमानी उतैको गीत गाउन थाले। तर पनि नेपाल निराश भएनन्। आफ्नै समूहमा रहेका ‘अब्बल’ र ‘युवा नेता’ भनिएकाहरूको भूमिका पनि ‘एमाले एकता’का नाममा बिस्तारै ‘ढुलमुले’ हुन थाल्यो। र, पनि माधव नेपाल प्रतिगमनविरुद्धको आफ्नो अडानमा टसको मस भएनन्। आफ्नो समूहका ‘होनहार’ नेताहरू लोकलाजका कारण भौतिक रूपमा आफूसँगै रहे पनि मानसिक रूपमा ओली समूहमा गइसकेका थिए। तिनकै दबाबले मन नहुँदानुहँदै पनि नेपाल ओलीसँग पटकपटक ‘वार्ता’ गर्न बाध्य भए। तर पनि उनले आफ्नो अडान छाडेनन्, अन्तिम क्षणसम्म; प्रतिगमन बालुवाटारबाट बिदा नहुँदासम्म।

बरु भने, ‘प्रधानमन्त्री देउवालाई म एक्लै भए पनि विश्वासको मत दिन्छु।’

यो उनको नैतिकता र इमानको उच्च प्रदर्शन थियो। जति नैतिकता र इमान उनको समूहमा रहेका नाम चलेका नेताहरूमा रहेनछ! त्यसैले त आफ्नै हस्ताक्षरको बलमा दोस्रोपटक पुनःस्थापित प्रतिनिधि सभाको बैठकअघि नै कसैले राजीनामा दिए त कति ‘पुच्छर लुकाउँदै’ संसद् भवनबाटै बाहिरिए। त्यत्रो वर्षदेखि तिनले जुन मुकुन्डो लगाएका थिए, त्यस दिन नराम्रोसँग उत्रियो; जनताले तिनका ‘क्रान्तिकारिता’ राम्रोसँग थाहा पाए। 

यसरी आफ्नै समूहका ‘सशक्त’ नेताहरूले राजीनामा दिँदै तथा संसद् भवनबाट कुलेलम ठोक्दै गर्दा यस्तै सुविधा नेता नेपाललाई पनि नभएको होइन। किनकि आफ्नो समूहले सर्लक्कै विश्वासको मत नदिँदा पनि प्रधानमन्त्री देउवाका लागि बहुमत पुग्ने निश्चित भइसकेको थियो; लेखक खगेन्द्र संग्रौलाका शब्दमा ‘पीपलपाते चरित्र’को महन्थ ठाकुर पक्ष (जसपा) ले पनि देउवालाई विश्वासको मत दिने भइसकेको थियो। तर पनि माधव नेपालले आफ्नो अडान/इमान छाड्नु उचित ठानेनन् र एक ‘मुक्का’ भए पनि प्रतिगमनविरुद्ध आफ्नै हातले ‘हान्ने’ निर्णय गरे। बरु उनलाई अन्त्यमा त्यस्ता १३ नेताले साथ दिए, जसलाई एकाधबाहेक जनताले खासै चिन्दैनन्। यति मात्र होइन, नेता नेपालको नैतिकताको शक्तिले ओली समूहका समेत ८ सांसद उनीतिर तानिए; देउवाका पक्षमा मत हाले। वरिष्ठ नेता नेपालले व्यक्तिगत राजनीतिको नाफा-घाटाको हिसाबकिताब गर्दा हुन् त भीम रावलले प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिँदैखेरि उनका खुट्टाले टेक्न छाड्थे। तर उनमा प्रतिगमन परास्त गर्नेबाहेक कुनै स्वार्थ/लोभ नभएकै कारण त्यो आँट आयो र अन्ततः सत्यको जित भयो।  

यसरी माधव नेपालले आफ्नो ‘राजनीतिक भविष्य’ अन्योल बनाएर भए पनि लोकतन्त्रको भविष्य सुनिश्चित गरे। अन्यथा दुई–दुईपटक हत्या प्रयास गरिएको प्रतिनिधि सभाले आफ्नो पूरै आयु पाउने सम्भावनै थिएन। 

साँच्चै भन्ने हो भने अहिले प्रधानमन्त्री बन्ने ‘सौभाग्य’ पाएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अन्तरआत्माले पनि प्रतिनिधि सभा पुनःस्थापना चाहेको थिएन। यस प्रतिनिधि सभालाई ओली–भण्डारीद्वारा पहिलोपटक गत पुस ५ गते विघटन गरिँदा देउवाले देखाएको ‘ढुलमुलेपन’ले यो कुराको पुष्टि गर्छ। 

यसअघि चारपटक प्रधानमन्त्री बनिसकेका देउवाका कुनै कार्यकाल स्मरणयोग्य छैनन्। यसकारण यसपटक पनि उनले प्रतिगमन परास्त गर्ने भन्दा पनि आफू प्रधानमन्त्री बन्ने ‘सुनिश्चितता’ मात्र खोजिरहेका थिए। यसैले त पहिलोपटकको विघटनमा प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्छ भनेर उनी प्रस्टसँग बोलेनन्; कम्युनिस्ट फुटेका बेला चुनावमै जाँदा आफ्नो पार्टीले जित्ने र आफू प्रधानमन्त्री बन्ने ‘दाउ’ मात्र हेरिरहे। तर त्यतिबेला पनि माधव नेपालको एउटै अडान थियो– असंवैधानिक रूपमा विघटन गरिएको प्रतिनिधि सभा पुनःस्थापना हुनैपर्छ। विधिको शासन कायम गरिनैपर्छ। चाहे आफू सडकमा किन नपुगियोस्; तत्कालीन पार्टी (नेकपा) अध्यक्ष प्रचण्डसँगै उनी माइतीघर मण्डलाछेउको तातो रोडमै बसे पनि। 

अन्ततः सर्वाेच्च अदालतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सेटिङ’विपरीत प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गर्यो। तर ओलीमा अहिलेजस्तो ‘हतास’ मनस्थिति देखिएन। किनकि दुईतिहाइ बहुमत खुस्केर अल्पमतमै झर्न किन नपरोस्, फेरि पनि आफैं प्रधानमन्त्री हुनेमा उनी ढुक्क थिए अथवा लगत्तै सर्वाेच्च अदालतले नेकपा विघटनको फैसला सुनाउँछ भन्ने थाहा थियो। मुलुकको संविधान कुल्चेर (सर्वाेच्च अदालतले प्रमाणित गरिसकेको छ) प्रतिनिधि सभा विघटन गराएका उनले पार्टीको विधान कुल्चिन थालेको त धेरै भइसकेको थियो। त्यसैले उनलाई प्रचण्ड–नेपाल पक्षले साधारण सदस्यसमेत नरहने गरी नेकपाबाट निष्कासन गरिसकेको थियो। 

तर फागुन २३ गते जब अदालतले नेकपा खारेज गर्दै यसमा मिसिएका पुरानै पार्टी (एमाले र माओवादी केन्द्र) ब्युँताइदियो, तब एकाएक ओली फेरि कम्तीमा संसदमा सबैभन्दा ठूलो दलका प्रमुख (एमालेको अध्यक्ष) बने, माधव नेपाल एक्लिए अर्थात् प्रचण्डसँग उनको बिछोड भयो। अहिले प्रधानमन्त्री नै तोकेर मागदाबीभन्दा बढी फैसला गरेको भन्दै ‘अदालतको भण्डाफोर’ अभियान घोषणा गरेको ओली पक्ष त्यतिबेला त्यही सर्वाेच्च अदालतले ऋषिराम कट्टेलले पार्टी नामको मात्रै आधिकारिता मागदाबी गरेर हालेको मुद्दामा नेकपाको एकतै भंग गरी पुरानै पार्टी अस्तित्वमा आएको निर्णय सुनाउँदा भने फुरुङ्ग परेको थियो। त्यतिबेलासम्म सर्वाेच्च अदालत एकदम ठीक थियो, संविधान/कानुनको व्याख्या सही गरेको थियो; ‘बढी बोलेको’ थिएन। 

यसपछि ओलीलाई सुवर्ण अवसर आयो– माधव नेपालसँग बदला लिने। नभन्दै उनले नेता नेपाललाई किस्ताकिस्तामा कारबाही गरे र अन्त्यमा एमालेको साधारण सदस्यबाटै निकाले। र, पनि माधव नेपाल विचलित भएनन्; संविधान र विधानप्रतिको विश्वासमा अडिग रहे। उता आफ्नै अहंकारलाई ‘इथिक्स’, आफ्नै ‘बुद्धि’लाई ‘विधान’ तथा ‘सोच’लाई  ‘संविधान’को नाम दिएका ओलीले अदालतको आदेशलाई एकातिर मिल्काएर आफूखुसी पार्टीको संरचना र जिम्मेवारी व्यापक फेरबदल गरे। त्यतिबेलासम्म माधव नेपाल पक्षका कुन कुन नेताले के कति ‘क्रान्तिकारी’ भाषण छाँटे, लोक जानकारै छ। धमाधम कारबाही गर्दै एमालेको १०औं महाधिवेशन आयोजक कमिटी घोषणासम्म आइपुग्दा तिनको ‘क्रान्तिकारिता’को धार कसरी भुत्ते हुँदै गइरहेको थियो, यसबारे पनि आम नागरिक अनभिज्ञ छैन। 

यसबीच ‘एक्ला’ माधव नेपालले कति उतारचढाव भोगे, सबैलाई थाहा भएकै कुरा हो। देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्च अदालतमा दर्ता रिट निवेदनबाट सांसदका हस्ताक्षर फिर्ता गराउन ओलीले के के गरेनन्, पदको लोभ देखाएपछि लर्याकलुरुक परिहाल्छन् भनेर यसबीच उनले नेता नेपाललाई प्रधानमन्त्री नै बनाउने आश्वासन पनि दिए (माधव नेपालको दाबी), भलै, ओलीले त्यस्तो प्रस्ताव गर्न ‘मलाई बहुला कुकुरले टोकेको छ र!’ भनेर किन नभनुन्। तर नेता नेपाल आफ्नो राजनीतिक जीवन तिलाञ्जली दिन तयार भए, आफ्नै समूहका नेताको तीव्र दबाबका बाबजुद ओलीतन्त्र अर्थात् प्रतिगमनसँग आत्मसमर्पण गर्न कदापि राजी भएनन्। अन्ततः प्रतिगमनलाई चाहिँ घुँडा टेकाएरै छाडे। ओली अहंकार र अराजकतालाई बालुवाटारबाट गलहत्याएर बालकोट लखेट्ने ऐतिहासिक दिन देखाउन सफल माधव नेपालको ‘अडान’ सम्भवतः ओलीले पनि जीवनमा पहिलोपटक थाहा पाए। 

अहिले सुनिँदै छ– ‘पार्टी एकता’का लागि ओली वरिष्ठ नेता नेपाललाई ‘दोस्रो अध्यक्ष’ बनाउन पनि तयार भइसके। तर नेता नेपाल अझै ओलीप्रति ‘नरम’ देखिएका छैनन्। अझै अडान बाँकी नै हो कि?

यो पनिमदन भण्डारीले नेतृत्व गरेको त्यो एमाले, माधव नेपालको यो निर्णय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .