जोशिला-फूर्तिला ८० वर्षे मोडल

देसुङले बुढ्यौलीको परिभाषा फेरिदिएका छन्



भनिन्छ, चीनमा मानिस छिटै बुढो हुने गर्छन्। बलको काम गर्ने महिलाहरुको अवकाशको कानुनी उमेर ५० र कार्यालयका काम गर्ने महिलाको ५५ रहँदा धेरैजसो पुरुषहरु ६० वर्षको उमेरमा अवकाश प्राप्त गर्छन्। बहुसंख्यक चिनियाँहरु अवकाशपछिको समय, अर्थात् बुढ्यौली नातिनातिनाको रेखदेख गरेर वा पार्कमा चेस खेलेर बिताउँछन्। तर चीनमा एक ८० वर्षीय मोडेलले बुढ्यौलीलाई हेर्ने दृष्टिकोणमै परिवर्तन गरिदिएका छन्।

८० वर्षीय वाङ देसुङ मूलतः अभिनेता हुन्। सन् २०१५ मा ७९ वर्षको उमेरमा खँदिलो शरीर लिएर देसुङ ‘चाइना फेसन विक’को र्‍याम्पमा ओर्लिए। त्यसपछि उनको परिचय नै बदलियो। उमेरको बन्धनलाई तोड्ने उनको प्रयासको सबैले प्रशंसा गरे। चीनका ‘नेटिजेन्स’ले उनलाई ‘हटेस्ट हजुरबा’को उपाधि दिए।

चीनको शेनयाङमा सन् १९३६ जन्मिएका देसुङका पिता घरैमा बसेर आफ्ना ८ बालबच्चाको हेरचाह गर्थे। १४ वर्षको उमेरमा देसुङले कन्डक्टरको रुपमा काम सुरु गरे।

देसुङले २४ वर्षको उमेरमा नाटकमा अभिनय गर्न थालेका थिए। उनी लामो समय अभिनयमा रहे। ४९ वर्षको उमेरमा उनले ‘माइम पर्फमेन्स’ (शब्दबाट नभई हाउभाउका कथा भन्ने तरिका) लाई पेशाका रुपमा अपनाए। ५७ वर्षको उमेरमा उनले ‘लिभिङ स्ट्याचु’ को पेशा पनि थाले। उनले ९० को दशकमा फ्रान्स र जर्मनीजस्ता देशमा पुगेर समेत माइम प्रदर्शन गरे। उनले फिल्ममा पनि अभिनय गरेका छन्।

तर उनलाई प्रसिद्धि चाहिँ मोडेलको रुपमा मिल्यो, त्यो पनि ७९ वर्षको उमेरमा। उनको शरीर, स्वास्थ्य र स्फूर्तिको मात्र होइन, जीवनलाई हेर्ने दृष्टिकोणको समेत प्रशंसा हुन थालेको छ। ‘प्रकृतिले उमेर निर्धारण गर्छ तर दिमागी अवस्था तपाईं आफैँ निर्धारण गर्नुहुन्छ,’ उनी भन्छन्।

देसुङको वर्तमानका दिनहरु व्यस्ततामा बित्ने गरेको छ। उनी अभिनय गर्छन्, दैनिक एकदेखि दुई घण्टा जिम धाउँछन् र फेसन म्यागजिनहरुका लागि फोटो खिचाउँछन्। ‘बिहान मेरो सिक्ने समय हो,’ उनी भन्छन्, ‘म समाचार तथा पुस्तक पढ्छु। दिउँसो ३ देखि साँझ ६ बजेसम्म घरनजिकैको जिममा गएर कसरत गर्छु।’

व्यस्त जीवनका बावजूद उनी चिनियाँ माइक्रो ब्लगिङ साइटमा पोस्ट गरिएको टुकुटुकु हिँड्न थालेकी आफ्नी नातिनीको फोटोमा ‘मिस यु’ लेख्न भुल्दैनन्।

तर यी सब सफलता उनलाई पूर्ण लाग्दैनन्। ‘म अझै पनि जीवनमा धेरैथोक चाहन्छु, त्यसैले अहिलेको जीवनलाई सफल मान्दिनँ,’ उनी भन्छन्।

जे होस्, उनले बुढ्यौलीको परिभाषा फेरिदिएका छन्। चाँडै बुढो हुने चिनियाँहरुका लागि त यो कुरा झनै महत्वपूर्ण होला।

एजेन्सीहरुको सहयोगमा

प्रकाशित २६ कार्तिक २०७३, शुक्रबार | 2016-11-11 12:39:58

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • यस्तो देखियो पत्रकारलाई चुनाव लागेपछि

    पत्रकार महासंघ महाधिवेशनबाट नयाँ नेतृत्व चुन्ने चटारोमा छ। काठमाडौं कमलादीको प्रज्ञा भवनमा चहपहल बाक्लिदो छ। हेरौं त्यहाँ देखिएका केही दृश्यः

  • २०६९ चैत २४ गते एमाओवादी प्रवेश गरेका झालाई स्वागत गर्दै बाबुराम भट्टराई (फाइल फोटो)

    दोस्रो र तेस्रो पटक माओवादीमा प्रवेश गरे रामद्वय

    रामद्वय अर्थात् रामचन्द्र झा र रामकुमार शर्मा पहिलो पटक होइन, क्रमश दोस्रो र तेस्रो पटक माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। पार्टी प्रवेशका...

  • किन पक्राउ पर्दैनन् गिरोह-नाइके मनोज पुन?

    ‘उसको सहयोगीको प्रारम्भिक बयानले मनोज पुनले यो बेल्टमा कसरी टेरर क्रिएट गरेको रहेछ भन्ने स्पष्ट पारेको छ’ अपराधिक समूहका नाइके पुनका एक सहयोगी...

  • खिम गन्धर्व

    उहिल्यै सारंगी लिएर चीनसम्म

    उनी पास भएर राज्यभिषेकमा सारंगी बजाउन दरबार त पुगे। तर खिमबहादुर गन्धर्व उसैगरी जिन्दगीका परीक्षाहरुमा सजिलै पास भएनन्। जीवनका थुप्रै परीक्षामा...