कमजोरीको छायाँमा राष्ट्रिय खेलकुद




नवौ राष्ट्रिय खेलकुदको झण्डा ग्रहण गर्दै गण्डकी प्रदेशका पदाधिकारी
नवौ राष्ट्रिय खेलकुदको झण्डा ग्रहण गर्दै गण्डकी प्रदेशका पदाधिकारी

आठौँ राष्ट्रिय प्रतियोगिताका नेपालगञ्ज रंगशालामा चीनबाट आधुनिक प्रविधिको पोट्रेबल प्याराफिट जडान गरिएको थियो। उक्त प्याराफिटको माथिल्लो भागको दुई तह रातो रिबन लगाएर छुट्टाइएको थियो।

उक्त क्षेत्रकै माझमा राष्ट्रपति विद्यादेवी भण्डारीको आसन ग्रहणको व्यवस्था गरिएको थियो। त्यसैले, धेरैले भीआईपी एरिया भएकाले रातो रिबनको क्षेत्र भन्दामाथि नजान उद्घोषकले पटक पटक अनुरोध गरेको ठाने।

तर, कारण भने भिन्नै थियो। प्याराफिट खचाखच भरिएपछि धेरैजसो दर्शकहरुले उक्त रातो रिबनको घेरा पनि नाघे, अनि उद्घोषक आफैले कारण खोतल्दै भने, ‘हामी तपाईंहरुकै सुरक्षाका निमित्त अनुरोध गरिरहेका छौँ। कृपया रातो रिबनभन्दा माथिको क्षेत्रमा नगई दिनुहोला।’

उक्त क्षेत्रमा दर्शकहरु बस्दा प्याराफिटमा जोखिम बढ्ने डर आयोजकलाई थियो। चीनबाट चैत्र दोस्रो साता मात्रै आइपुगेको प्याराफिटका सबै नट–बोल्ट कस्ने काम नसकिदैँ ‘अन्डर कन्स्ट्रक्सन’ प्याराफिटमै आयोजकले देशकै प्रमुख व्यक्ति र हजारौँ दर्शकहरुको ज्यान जोखिममा राखेर उद्घाटन सम्पन्न गर्यो।

विश्वमा कहीँपनि ‘अन्डर कन्स्र्टक्सन’ साइटमा कुनैपनि गतिविधि हुँदैनन्। अझै खेलमा भने हजारौं दर्शकहरुको उपस्थित हुने भएकाले त्यहाँ सुरक्षालाई पहिलो प्राथमिकतामा राखिन्छ। तर, विश्वको सर्वमान्य सिद्धान्त ‘शुरुमा सुरक्षा’ लाई लत्याउँदै आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) हजारौँको ज्यान जोखिममा राख्यो।

‘हामीलाई प्राविधिकले प्याराफिटमा उद्घाटन गर्न मिल्छ भनेपछि मात्रै उद्घाटन गरेका हौँ’ राखेप सदस्यसचिव तथा मुल आयोजक समितिका अध्यक्ष केशव विष्ट भन्छन्, ‘यसपटक पूर्वाधारमा झण्डै १ अर्बभन्दामाथि खर्च गर्यौं। सबैभन्दा ठूलो समस्या बजेटको हो। अझैपनि आयोजनाको अपुग ११ करोड रुपैयाँ आइपुगेको छैन। बजेटको समस्या, निर्णय ढिलो हुने समस्या भएकाले धेरै पूर्वाधार समयमै सकिएनन्।’

निर्माणाधिन प्याराफिटमा उद्घाटन गर्नु यसै साता सम्पन्न आठौँ खेलकुदको एकमात्रै कमजोरी होइन। निर्माण भएका हरेक पूर्वाधारमा समस्या देखिए, अनि परम्परागत व्यवस्थापनको कमजोरीले आठौँ खेलकुदको उत्साहलाई छायाँमा पारिदियो।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण भौतिक पूर्वाधार, खेल तथा खेलाडी व्यवस्थापन सम्पूर्णको जिम्मेवारी राखेप स्वयंले गरेको थियो। राखेपकै काम गराई र व्यवस्थापनको छायाँमा राष्ट्रिय खेलकुद परेको हो। राखेपले पूर्वाधारमा छलाङ मारेको दावी गरेपनि निर्माणमा भएको ढिलासुस्तीका कारण दुईवर्ष अघिबाट शुरु भएको तयारीले पनि पूर्णता पाएन। कुनैपनि पूर्वाधार पूर्ण रुपमा बनि नसक्दै खेलहरु सञ्चालन भए। एकातिर खेलाडीहरु खेलिरहँदा अर्कातर्फ निर्माणको काम जारी थियो।

नेपालगञ्ज रंगशालालाई २५ करोडमा स्तरोन्नति गरेको राखेपले मैदानमा विश्वभर प्रयोग हुने बर्मुडा घाँस रोपेको थियो। तर बर्मुडा घाँसलाई आवश्यक पर्ने पानीको व्यवस्था नगर्दा मैदानमा खेल खेलाउँदा सम्म उक्त घाँस सुक्ने अवस्थामा पुगेको थियो।

रंगशालासँगै रहेको पौडी पोखरीको काम अझैपनि सकिएको छैन्। प्रतियोगिता दौरान २३ करोड लागतको उक्त पोखरी निर्माण सम्पन्न नभएपछि अन्तिम दिनसम्म पनि पौडी कहाँ हुने भन्ने निश्चित थिएन। तर, स्थानीय एक होटलको पौडी पोखरामा आयोजना गर्दै राखेपले लाज जोगायो। काठमाडौँपछि रंगशाला परिसरमा बनेको उक्त अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने मिल्ने पौडी पोखरीले अबको दिनमा पूर्णता पाउने हो कि हैन भन्ने पनि शंका छ।

यस्तै, नेपालगञ्जमै सुटिङ रेन्ज, भारोत्तोलन एकेडेमी, कभर्ड हल र जुडो हल पनि निर्माणाधिन अवस्थामै सञ्चालन भए। बाँकेको खजुरामा शुक्र भलिबल कोर्ट, बर्दियामा कबड्डी हल, खो–खो कभर्ड हल, सेपाकताक्रो कभर्ड हलले पनि पूर्णता पाएनन्। दाङको बेलझुन्डिमा काठमाडौँबाहिर पहिलो पटक एथ्लेटिक्स प्रतियोगिताको लागि सिन्थेटिक ट्रयाक निर्माण भएको छ। २५ करोड लागतको उक्त सिन्थेटिक ट्रयाकमा नै आठौँ राष्ट्रिय प्रतियोगिताका सम्पूर्ण दौडका स्पर्धाहरु भए।

काठमाडौँमा दशरथ रंगशालामा भुकम्पमा क्षति पुगेपछि पहिलोपटक धेरै खेलाडीले दाङकै उक्त नवनिर्मित सिन्थेटिक ट्रयाकमा दौडको अनुभव लिएका थिए। तर, दौड सुरु हुनुअन्तिम दिनसम्म पनि सिन्थेटिक ट्रयाकको काम सकिएको थिएन। म्याराथनको रुट पहिल्याउन पनि आयोजकले ध्यान दिएको पाइएन। जसका कारण अन्तिम दिनमात्रै म्याराथनको रुट खेलाडीहरुले थाहा पाए।

दाङकै तुल्सीपुरमा निर्माण भएको कभर्ड हल, लमही र कोहलपुलमा स्तरोन्नती गरिएका क्रिकेट मैदान, कपिलवस्तुको कुस्ती मैदानमा पनि कमजोरी कै माझ प्रतियोगिताहरु सञ्चालन भए।

व्यवस्थापकीय कमजोरीको पूरानै रोग

दाङमा निर्माण गरिएको एथ्लेटिक्स ट्रयाक मोफसलमै पहिलो हो

दाङमा निर्माण गरिएको एथ्लेटिक्स ट्रयाक मोफसलमै पहिलो हो


बाँकेको नेपालगञ्ज केन्द्रित भएर आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरु बर्दिया, दाङ, रुपन्देही र कपिलवस्तुमा सञ्चालन गरियो। सबै ठाँउमा देखिएको व्यवस्थापकीय कमजोरी राष्ट्रिय प्रतियोगिता छायाँमा पर्ने अर्को कारणका रुपमा देखियो।

उद्घाटन र समापन समारोह नेपालगञ्ज रंगशालामा भव्य भएपनि पदक दिने क्रममा भने समग्रमा दोस्रो भएको पुलिसका स्थानमा एपीएफलाई ट्रफी दिदैँ आयोजकले गम्भीर त्रुटि गर्‍यो। जबकि, समग्रमा दोस्रो स्थान पुलिसले हात पारेको थियो। प्राविधिक समितिका संयोजक गंगाबहादुर थापामगर कम्प्युटर इन्ट्री गर्दा गलत पर्न गएको भन्दै पन्छिए।

यस्तै राखेपले प्रतियोगिता बैशाख ५ गते घोषणा गर्दा चैत्र अन्तिम साता गरेको पत्रकार सम्मेलनमा ३ सय ७२ स्वर्णका लागि खेलाडीहरुले प्रतिस्पर्धा गर्ने बताएको थियो। तर, आठौँको समापन हुँदा जम्मा ३ सय ३२ स्वर्णमात्रै देखिए।

अधिकांश खेलहरु निर्धारित कार्यतालिका र समयमा पनि सुरु भएनन्। दाङमा कराँते प्रतियोगिता अघि भएको उद्घाटन समारोह मन्तव्यका कारण लम्बिदा सो दिन हुने खेल नै अर्को दिन सार्नु पर्‍यो। उक्त कार्यक्रममा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्मा तथा राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना स्वयं उपस्थित थिए।

यस्तै, व्यवस्थापनमा कराडौँ खर्च गरिएपनि खेलाडीहरुबाट पोशाक, खाजा, आवातजावत, भत्ता, आवास लगायतका गुनासाहरु प्रतियोगिता अवधिभर नै आइरहे। दाङमा रंगशाला वरिपरि खाजा खाने पसलसम्म नभेटिएपछि खेलाडीहरुले चाउचाउको भरमा बस्नुपर्‍यो। रुपन्देहीमा भएको क्रिकेट प्रतियोगितामा भने खेलाडीलाई पानी समेतको व्यवस्था नभएको गुनासो सुनियो।

राखेपको प्रचारप्रसार शहर केन्द्रित हुँदा गाउँमा भएका प्रतियोगिताहरु दर्शकविना नै सञ्चालन भए। फुटबल, क्रिकेट, भलिबलमा दर्शक देखिएपनि अन्य खेलमा खेलाडी र अफिसियलमात्रै देखिन्थे। फुटबलको सेमिफाइनल र फाइनल खेलमात्रै नेपालगञ्ज रंगशालामा भए। त्यसअघिका लिगचरणका खेलहरु गाउँको विद्यालयमा खेलाइदाँ दर्शकहरु बिनै खेलाडीहरु भिडे।

उपाधि विजेता आर्मीका कप्तान भरत खवासले लिग चरणकै खेलहरु रंगशालामा खेल्न पाएको भए हुन्थ्यो भन्ने इच्छा व्यक्त गरे। सेमिफाइनलको खेलपछि उनले भने, ‘सेमिफाइनलका खेलहरुमा रंगशालाभरि दर्शकहरु भरिएको देख्दा बल्ल राष्ट्रिय खेल खेलिरहेको छु जस्तो लाग्दैछ।’

व्यवस्थापकीय कमजोरी आयोजक राखेपबाट मात्रै हैन, सहभागी टोलीहरुमा पनि देखियो। दाङमा महिला हाइजम्पका क्रममा राखेपले उपलब्ध गराएको जर्सी साइज भन्दा निकै ठूलो भएको भन्दै प्रदेश–६ कि विष्णु राईले इटालीको फुटबल जर्सी लगाएर खेलिन्। एक देशको राष्ट्रिय प्रतियोगितामा अर्को देशको जर्सी लगाएर खेलिएको यो दुर्लभ घटना थियो।

१० हजार मिटर दौडमा गण्डकी प्रदेशकी सरस्वती कुँवर ट्रयाकमै ढलिन्। क्षेत्रीय छनौटमा ५ हजार मिटरमा दौडिएपनि प्रशिक्षक र खेलाडीकै जिद्दीका कारण १० हजारमिटर दौडमा उनी भाग लिएकी थिइन्। अर्कातिर झाडापखालाको अस्वस्थताका बाबजुद पनि दौडिएकी उनी मैदानमै लड्न पुगेकी थिइन्। खेलाडी अस्वस्थता तथा आफ्नो तयारीको स्पर्धा भन्दा माथिल्लो स्पर्धामा मैदान उतार्नु प्रदेश व्यवस्थापनको लापरवाही ठहरियो।

राष्ट्रिय खेलकुदलाई व्यवस्थापकीय कुशलताका साथ सम्पन्न गर्न सरकारको खेलप्रति हेर्ने दृष्टिकोणमा भर पर्ने बताउँछन् राखेपका सदस्यसचिव विष्ट। ‘विगतभन्दा राम्रो हुँदै गएको छ। मलाई लाग्छ, यो अझै पर्याप्त छैन्,’ विष्टले भने, ‘नवौँमा खेलाडीहरु व्यावसायिक रुपमा उत्रँदै राम्रो पूर्वाधारमा खेल्न पाउनुपर्छ भन्ने मलाई लाग्छ र म यसवर्षको बजेटमै यसलाई सम्बोधन गर्न माग पनि गर्छु। मलाई विश्वास छ नवौँ–दशौँसम्म पुग्दासम्म हामीले व्यवस्थित ढंगबाट राष्ट्रिय प्रतियोगिता आयोजना गर्नसक्छौँ होला।’

विगतमा पनि राष्ट्रिय खेलकुदका लागि निर्माण भएका पूर्वाधारहरु खेलपछि भने बेवारिसे बनेका छन्। आठौँका लागि निर्माण भएका यी पूर्वाधारहरुको अवस्थापनि विगतमा अन्य क्षेत्र झै हुने हो कि भन्ने डर स्थानीयमा छ।

राखेप सदस्यसचिब केशब विष्ट

राखेप सदस्यसचिब केशब विष्ट

यही कुरा मध्यनजर गर्दै समापन अघि पत्रकार सम्मेलन नै गरेर नेपालगञ्ज उपहानगरपालिकाका मेयर धवलशम्शेर राणाले बनेका पूर्वाधारहरुको संरक्षणमा चिन्ता व्यक्त गरेका थिए। उनले बनेका संरचनाहरु संरक्षण र सञ्चालनको जिम्मा स्थानीय निकायलाई दिए आफूहरु तयार रहेको समेत बताए।

‘हामीले देशको परिवेश बुझेकै छौँ। विगतमा अरु ठाँउमा भएको जस्तो नहोस् भन्ने हाम्रो चाहना हो,’ मेयर राणाले भने, ‘यहाँ पूर्वाधार बने, अब बनेका संरचनाहरु र बन्दै गरेका संरचनाको कसरी दिगो संरक्षण गर्ने भन्नेबारे हामी चिन्तित छौँ। खेलकुद परिषदले संरक्षणका लागि हामीलाई आधिकारिक रुपमा पत्र लेखेमा हामी त्यसका लागि तयार छौँ।’

राखेपका सदस्यसचिव विष्ट पनि स्थानीय निकायलाई पूर्वाधारहरु हस्तान्तरण गर्ने कुरामा सकरात्मक देखिए। नेपालखबरसँग आफ्नो व्यक्तिगत धारणा राख्दै भने, ‘नेपालगञ्ज रंगशाला कम्प्लेक्स चाहिँ प्रदेश सरकारलाई दिनुपर्छ। त्यसबाहेक अन्य संरचना सम्बन्धित नगरपालिका वा गाउँपालिकालाई हस्तान्तरण गर्नुपर्छ। संरचनाको थप विकास तथा विस्तारमा केही बजेट हामी दिन्छौँ र त्यसमा उहाँहरुले पनि थप्नुपर्छ।’

देखिएन अब्बल प्रदर्शन

नाथन दोर्जे शेर्पा

नाथन दोर्जे शेर्पा


पहिलोपटक गैरआवासीय नेपाल संघ (एनआरएनए) को टोलीसहित ११ टोली सहभागी प्रतियोगितामा १ सय ४० स्वर्णसहित समग्रमा नेपाल आर्मी क्लब पुनः राष्ट्रिय च्याम्पियन बन्यो। यसअघि सातौँ राष्ट्रिय प्रतियोगिताको च्याम्पियन पनि आर्मी नै थियो।

त्यसबाहेक अपेक्षाकृत नै विभागीय टोलीले पदक तालिकामा वर्चस्व राखे। नेपाल पुलिस क्लब ६२ स्वर्णसहित दोस्रो स्थानमा रह्यो भने शशस्त्र प्रहरी बलको एपीएफ क्लब पदक तालिकामा तेस्रो रह्यो। उसले ५३ स्वर्ण जित्यो।

सात प्रदेशलाई उछिन्दै चौथो स्थानमा रहेको प्रदेश ३ ले २२ स्वर्ण जित्यो भने पुछारमा रहेको कर्णाली प्रदेशले ३ स्वर्णमात्रै हात पार्यो। पहिलो पटक सहभागिता जनाएको एनआरएनएको टोली भने ६ स्वर्णसहित पुछारबाट दोस्रो स्थानमा रह्यो।

३५ खेलका लागि ५ हजार २ सय ११ जना खेलाडीहरु समावेश भएपनि प्रतियोगिता अवधिभर कुनैपनि खेलाडीले उम्दा प्रदर्शन भने गर्न सकेनन्।

पौडीकी गौरिका सिँहले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्दै १२ स्वर्ण जितिन्। व्यक्तिगत रुपमा यस प्रतियोगितामा एकल स्पर्धामा उनी नै सफल खेलाडीका रुपमा रहिन्। तर, बेलायतमा रहेर उच्चस्तरको प्रशिक्षण लिएकी गौरिकासँग प्रतिस्पर्धा गर्ने नेपालमै प्रशिक्षण पाएका कुनै खेलाडी पनि देखिएनन्।

गौरिका सिंह

गौरिका सिंह

पौडीमै आर्मीकी डुवाना लामाले ६, एनआरएनका नाथन दोर्जे शेर्पाले ५ स्वर्ण जिते। नाथनले भने नेपाली पुरुष पौडीमा सम्भावना देखाएका छन्। अमेरिकामा बस्दै आएका उनले पौडी संघले बोलाए आफू आगामी डिसेम्बरमा नेपालमै हुने दक्षिण एसियाली साग खेल्ने र देशका पदक जित्ने आशा व्यक्त गरे। यस्तै जिम्न्यास्टिकतर्फ राजु राईले ५ स्पर्ण जिते। तर, सातौँ खेलकुदमा ७ स्वर्ण जितेको उनको प्रदर्शन यसपटक भने खस्किएको देखियो।

टिम इभेन्ट्सतर्फ फुटबलमा विभागीय टोली आर्मीले पुलिसलाई १–० ले पराजित गर्दै स्वर्ण जित्यो। पुरुष भलिबलमा आर्मीलाई पराजित गर्दै नेपाल च्याम्पियन रह्यो। महिला भलिबलको सदावहार टोली एपीएफलाई कसैले चुनौती दिन सकेन। पुरुष र महिला क्रिकेट दुबै एपीएफकै पोल्टामा रह्यो।

ब्याडमिन्टनमा दुई नेपाली च्याम्पियन जन्मिए। यसअघि निरन्तर नङशल देवी र रत्नजित तामाङ दिदीभाईको वर्चस्वलाई तोड्दै उनीहरुलाई नै हराएर महिलातर्फ रसिला महर्जन र पुरुषतर्फ दीपेश धामी नयाँ राष्ट्रिय च्याम्पियन बने।

एथ्लेटिक्समा पनि विभागीय टोली आर्मीकै वर्चस्व रह्यो। आर्मीले सर्वाधिक २१ स्वर्ण जित्यो। ८ स्वर्ण जितेको एपीएफ दोस्रो र ३ स्वर्ण जितेको पुलिस तेस्रो स्थानमा रह्यो।

आर्मीकै कृष्ण बस्नेतले पुरुष म्याराथनमा अहिलेसम्मकै उत्कृष्ट टाइमिङ २ घण्टा १७ मिनेट ३३ सेकेण्डमा दूरी पूरा गरे। नेपाल प्रहरीकी राजपुरा पछाई महिलातर्फको म्याराथन विजेता बन्दा दुई घण्टा ५९ मिनेट ३८ सेकेण्डको कीर्तिमान बनाउँदै दूरी पूरा गरिन्।

प्रकाशित १४ बैशाख २०७६, शनिबार | 2019-04-27 12:50:05
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...