कहिले तयार हुन्छ दशरथ रंगशाला?




रंगशालामा खासमा खेल खेलिरहेका खेलाडीहरु देखिनुपर्ने हो। तर, चारवर्ष पुग्न लाग्यो, नेपालको एकमात्र दशरथ रंगशालामा न खेल भएको न खेलाडी देखिएको। २०७२ बैशाखमा भुकम्पले क्षति पुर्याएपछि दशरथ रंगशालामा कुनैपनि खेलकुदका गतिविधि भएका छैनन्।

भर्खरै सकिएको सहिद स्मारक ए डिभिजन लिग, त्यसअघि भएको दक्षिण एसियाली फुटबल प्रतियोगिता(साफ), एसियन गेम्स लगायत ठूला–साना सबै प्रतियोगिताहरुका लागि नेपाली खेलाडीहरुले मुलुकको एकमात्रै रंगशालामा न अभ्यास पाए न प्रशिक्षणका नै।

रंगशालाको पुनर्निर्माण समयमै नहुँदा सन् २०१९ को मार्चमा नेपालले आयोजना गर्ने दक्षिण एसियाली खेलकुद(साग)पनि सर्ने निश्चित भइसकेको छ। रंगशालाकै अभावमा अघिल्लो वर्ष नेपालले पाएका एसियन कप छनोटका खेलहरु पनि एन्फाको आर्टिफिसियल एस्ट्रो टर्फ मैदानमा गर्नुपर्यो। जहाँ न दर्शकले राष्ट्रिय टोलीलाई धित मार्ने गरि सपोर्ट गर्न पाए न खेलाडीले नै नेचुरल मैदानमा आफ्नो अनुभव पोख्न पाए।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा अघिल्लो सातामात्रै केही सय दर्शकहरुको उपस्थितीमा मनाङ मस्र्याङ्दी क्लबले ए डिभिजन लिगको उपाधि उचाल्यो। क्लबका तथा राष्ट्रिय टोलीका समेत कप्तान रहेका विराज महर्जनले देशकै सर्वोच्चो प्रतियोगिताको उपाधि उचाल्दा कुनै रौनक नपाएको गुनासो पाए।

विराजले भने, ‘च्याम्पियन भए पनि खासै रौनक आएन। दशरथ रंगशालामा लिग खेल्दाको मज्जा नै छुट्टै हुन्थ्यो। हजारौं दर्शकका अगाडि खेल्दा बेग्लै आनन्द महसुस हुन्छ। तर केही सय दर्शकहरु सामु च्याम्पियन हुदाँ खुशी साट्नै पाएन्।’

विराजले दशरथ रंगशालामा विगत दशौं हजार दर्शकसहित हुने गुञ्जायमान माहोललाई सम्झदै भने, ‘रंगशालामा खेल्दा जुन माहौल हुन्थ्यो। यसपाली त्यो वातावरणको कमी रह्यो। एन्फा र सरकारका अन्य सरोकारवाला निकायलाई छिटो भन्दा छिटो रंगशाला निर्माणमा ध्यान दिनहुन अनुरोध गर्छु।’

भुकम्प गएको एकवर्षपछि मात्रै पुनर्निर्माणको थालिएको भएको रंगशालाको काम सम्पन्न हुन अझै ६ महिना लाग्ने राष्ट्रिय खेलकुद परिषद्(राखेप)का प्राविधिकहरु बताउँछन्।

राखेपका पूर्वाधार तथा निर्माण विभागका प्रमुख इञ्जिनीयर अरुण उपाध्यायले रंगशाला पुनर्निर्माणको काम झण्डै ७० प्रतिशत सकिएको र आगामी अषाढभित्र निर्माण सम्पन्न हुने बताए।

‘भीआइपी प्याराफिट भत्काउन समय लागेकाले पुनर्निर्माणमा ढिलाई भएको हो,’ उनले भने, ‘भिआइपी प्याराफिटको माथिल्लो भाग बाटोमा(त्रिपुरेश्वर–सुन्धारा खण्ड) पथ्र्यो। हामीले डाइभर्ट गरिदिन भनेका थियौं तर कतैबाट भएन। एकजनाले टुकटुक गरेर त्यत्रो प्याराफिट फोड्नुपर्यो। त्यो भत्काउनमात्रै ७–८ महिना समय लाग्यो। त्यसबाहेक साधारण प्याराफिट भत्काउने र छानो राख्ने काम समेत सम्पन्न भइसकेको छ।’

रंगशालामा भत्काउँनुपर्ने भाग भत्काइसकेपछि पुनर्निर्माणका लागि २०१८ अप्रिलमा पीएस, किराँतेश्वर र प्रतिष्ठाले संयुक्त रुपमा रंगशाला बनाउने कामको टेण्डर पाएका थिए। उनीहरुले १९ करोड २६ लाख ७२ हजारमा पाएको काम अर्को महिना सक्नेगरि पाएका थिए।

जसमा १३ मध्ये एउटा ब्लकको ढलान गर्न, ४५ मध्ये ७ वटाको रेट्रोफिटिङ(पिलर सबलीकरण) र अन्तिम फिनिसिङको कामबाहेक सम्पूर्ण सकिएको उपाध्यायले बताए। ठेकेदारले फागुनसम्म सम्झौता बमोजिम सम्पूर्ण काम सकेपछि सुविधा थप्ने कामहरु अषाढसम्म सम्पन्न हुने र यो पुनर्निर्माणको अन्तिम मिती भएको उनले बताए।

नेपाली ठेकेदारले फागुनसम्म फनिसिङको काम सकाएपछि चीनले निर्माण गरिदिने भनेको एथलेटिक्स ट्र्याक, साउन्ड सिस्टम, फ्लेडलाइट र स्कोर बोर्डको काम सुरु हुनेछ। जसमा स्कोरबोर्डको काम सुरु भइसकेको छ।

रंगशालाको पुनर्निर्माण समयमै नभएका कारण फागुन अन्तिम साता हुने भनिएको १३औं दक्षिण एसियाली (साग) सर्ने निश्चित भइसकेको छ।

‘सागको मुख्य भेन्यू तयार हुन नै अषाढसम्म समय लाग्ने भएपछि हामीसामु साग सार्नुको विकल्प रहेन्,’ राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिब केशबकुमार विष्टले भने, ‘हामीले साग छ महिनाका लागि सार्ने प्रस्ताव गरेका छौं। अषाढ अन्त्यसम्म रङ्गशालामा भव्य कार्यक्रम गरेर सागको उद्घाटन गर्नेछौं।’

कसरी निर्माण भयो रंगशाला?


पहिले टुडिँखेलको हिस्सा रहेको क्षेत्रलाई २०१३ सालमा रङ्गशाला बनाइएको हो। त्यतिबेला फुटबल खेल्ने उक्त सार्वजनिक मैदान सानो टुँडिखेलको नामले प्रसिद्ध थियो।

तत्कालीन राजा महेन्द्रको राज्याभिषेकको अवसर पारेर २०१३ सालमा फुटबल, टेबुलटेनिस, कुस्ती, एथलेटिक्स र ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने योजना राखियो। त्यसका लागि खेल मैदानको खाँचो महसुस गरी किरण शम्शेरलाई रङ्गशाला बनाउने कामको जिम्मा दिइएको थियो।

त्यतिबेला रङ्गशालाको पूर्वपट्टि सेनाको ब्यारेक थियो। उत्तरतर्फ बाँसको झ्याङ थियो भने दक्षिणतर्फ खुला थियो। पश्चिमतर्फ राष्ट्रका केही विशिष्ट व्यक्ति आउँदा बसेर खेल हेर्ने घर बनाइयो। रङ्गशालाको पहिलो संरचना त्यहीबेला बनेको हो।

राखेप सदस्यसचिवका रूपमा २०३४ सालमा शरदचन्द्र शाह नियुक्त भएपछि यसलाई स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाउने निर्णय भएको थियो। रङ्गशालाको अहिलेको स्वरूप भने २०५५ सालमा तयार भएको हो। नेपालले आठौं साफ आयोजना गर्ने निर्णयलगत्तै चीनले आधुनिक रंगशाला निर्माण गर्न सहयोग गरेको थियो।

प्रकाशित २७ पुस २०७५, शुक्रबार | 2019-01-11 16:39:49
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...

  • चट्टाने पहाडभित्र यस्तो बन्दैछ देशलाई झन् उज्यालो बनाउने आयोजना (३५ तस्बिर)

    तिब्बतको सिमा नजिकै निर्माण भइरहेको यो आयोजना नै सायद नेपाल सरकारले बनाइरहेको यस्तो एउटा विकास आयोजना होला, जहाँ अमेरिकी, भारतीय, चिनियाँ र...

  • कञ्चनपुरमा बरामद १८ किलाे सुन

    बत्तीस केजी सुनका अभियुक्तविरुद्ध मुद्दा

    कञ्चनपुरबाट बरामद ३२ केजी अवैध सुनका सम्बन्धमा राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दर्ता गरेको छ।