अागामी शनिबारदेखि काठमाडौंमा एभरेष्ट प्रिमियर लिग(इपीएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण सुरु हुँदैछ।
प्रतियोगिता सुरु हुन चार दिन मात्रै बाँकी रहँदा ६ वटै फ्रेन्चाइजी टोलीहरुले आ–आफ्नो तयारी सुरु गरिसकेका छन्। स्वदेशी खेलाडीहरु बन्द प्रशिक्षणमा व्यस्त छन्। विदेशी खेलाडीहरु आउने क्रम जारी छ।
मंसिर २२ मा साविकको विजेता पारस खड्काको टोली विराटनगर वारियर्शले ज्ञानेन्द्र मल्लको टोली ललितपुर प्याट्रियोट्ससँग खेल्दै प्रतियोगिताको दैलो उघार्नेछ। त्यसपछि १५ दिनसम्म विराटनगर र ललितपुरसँगै सोमपाल कामीको काठमाडौं किंग्स एल्यावेन, शरद भेषावकरको भैरहवा ग्लाडियटर्स, शक्ति गौचनको पोखरा राइनोज् र दीपेन्द्रसिंह ऐरीको चितवन टाइर्गस भिडेपछि पौष ७ गते उपाधि विजेता टोलीको टुंगो लाग्नेछ।
जारी संस्करणमा फ्रेन्चाइजी टोलीहरुले राम्रा विदेशी खेलाडीहरु अनुबन्ध गरेका कारण प्रतियोगिता प्रतिक्षित बन्नुका साथै प्रतिस्पर्धात्मक हुने विश्वास गरिएको छ।
प्रत्येक खेल जित्दै जाने काठमाडौंको लक्ष्य
खेलाडीहरुः सोमपाल कामी, नरेश बुढाऐर, सिद्धान्त लोहनी, जितेन्द्र मुखिया, सागर पुन, राजु रिजाल, विक्रम भुषाल, अमरसिंह रौटेला, सांम्सद सेख, अमित श्रेष्ठ, नितेश थापा, पुरन विश्वकर्मा।
विदेशी खेलाडीहरुः रोहन मुस्ताफा(कप्तान, यूएई), केभिन ओ’ब्राइन(आयरल्याण्ड्स)
काठमाडौं किग्स एल्यावेन गत संस्करणमा समूह चरणको पाँचौ स्थानमा रहँदै बाहिरिएको थियो। त्यसबेला प्रतियोगिताकै सर्बाधिक अनुभवी खेलाडी श्रीलंकन टेस्ट प्लेयर फरवेज महरुफलाई ल्याए पनि टोलीले राम्रो गर्न सकेन।
टेली होल्डिङ नेपालको स्वामित्वमा रहेको टोलीले यससिजनमा भने उपाधि उचाल्ने लक्ष्यसहित यू–१९ टोलीका प्रशिक्षक विनोद दासलाई प्रशिक्षकमा नियुक्त गरिसकेको छ। यस्तै टोलीले यूएईका कप्तान रोहन मुस्तफा र आयरल्याण्ड्का अलराउण्डर केभिन ओ’ब्राइनलाई भित्र्याउनुले पनि उसको नजर उपाधिमा रहेको स्पष्ट पार्छ।
मुस्तफा गतवर्ष भएको धनगढी प्रिमियर लिगको दोस्रो संस्करणको म्यान अफ द सीरिज हुन्। उनको उत्कृष्ट प्रदर्शनमा घरेलु टोली धनगढीले दोस्रोपटक प्रतियोगिताको ट्रफी उचालेको थियो। यस्तै उनले अघिल्लो महिना सम्पन्न पोखरा प्रिमियर लिगमा समेत बुटवल ब्लास्टर्स टोलीबाट खेलेका थिए।
यस्तै ओ’ब्राइनले सन् २०११ को एक दिवसीय विश्वकपमा इंग्ल्याण्डविरुद्ध ५० बलमा शतक प्रहार गर्दै विश्वकपको सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान रचेका थिए।
यसैवर्षको मे मा आयरल्याण्डले इतिहासमै पहिलो टेस्ट म्याच पाकिस्तानविरुद्ध खेल्दा उनी त्यस टोलीका सदस्य थिए। पहिलो टेस्टमै उनले शतक प्रहार समेत गरेका थिए। सबै फम्र्याटको क्रिकेटमा आयरल्याण्डबाट उनले ३०० भन्दा बढी पटक खल्ने उनी एक्ला खेलाडी समेत हुन्।
काठमाडौंले अर्का विदेशी खेलाडीका रुपमा जिम्बाबेका सिकन्दर राजालाई ल्याउने भएपनि अन्तिममा उनको समय नमिल्ने भएपछि उनी नआउँने भएका छन्। उनको विकल्प टोलीले छिट्टै सार्वजनिक गर्ने प्रशिक्षक विनोद दास बताउँछन्।
टोलीले प्रतियोगिताका लागि बिहीबारबाट विशेष प्रशिक्षण सुरु गर्ने भएको छ। अभ्यासबाट ब्यालेन्स टिम निकाल्ने प्रयास गर्ने दासले बताए।
‘हाम्रो लक्ष्य प्रत्येक खेलमा राम्रो गर्दै जानेछ,’ दासले भने, ‘सुरुवाती खेलबाट नै सकरात्मक नतिजा निकाल्दै त्यही मोमेन्टम प्रतियोगिता अवधिभर कायम राख्ने प्रयास गर्नेछौं।’
गतवर्ष समूह चरणबाट बाहिरिए पनि त्यसको नतिजाले यसवर्ष केही फरक नपार्ने उनी बताउँछन्। ‘यसपटक सबै कुरा नयाँ छ। विदेशी खेलाडीहरु पनि अनुभवी छन्। विगतको नतिजाले केही फरक पार्दैन् हामी विल्कुल नयाँ सुरुवात तथा सकरात्मक नतिजाका साथ अघि बढ्छौं,’ दासले भने।
टोलीमा यसअघि नै बलरहरुको पावर हाउस छ। सोमपाल कामी, जितेन्द्र मुखिया, अमरसिंह रौटेला, विक्रम भुषाल, साम्संद शेख टोलीमा मुख्य बलरहरु हुन्। टी–२० ब्याट्सम्यानहरुकै खेल भएकाले अाफूहरूकाे ध्यान पनि ब्याटिङमा भएको दासले बताए।
विदेशी खेलाडी रोहन र केभिन ब्याटिङ अलराउण्डर हुन्। यस्तै ओपनिङमा नरेश बुढाऐर र अमित श्रेष्ठ छन्। यस्तै मध्यक्रमका सागर पुन, राजु रिजाल तथा सिद्धान्त लोहनीले नेपाली टोलीबाट खेलिसकेका छन्।
टोलीको तालिका
डिसेम्बर १० विरुद्ध चितवन टाइगर्स
डिसेम्बर १२ विरुद्ध ललितपुर प्याट्रियोट्स
डिसेम्बर १४ विरुद्ध पोखरा राइनोज्
डिसेम्बर १५ विरुद्ध भैरहवा ग्लाडियटर्स
डिसेम्बर १७ विरुद्ध विराटनगर वारियर्श
उपाधि उचाल्ने ललितपुरको लक्ष्य
खेलाडीहरुः ज्ञानेन्द्र मल्ल(कप्तान), सन्दीप लामिछाने, ललित राजवंशी, कुशल भुर्तेल, सुमित झा, सन्दीप जोरा, नारायण जोशी, योगेन्द्रसिंह कार्की, रसिद खान, शंकर राना, पवन सर्राफ र सोनु तामाङ।
विदेशी खेलाडीः जयकिशन कोल्सावाला(भारत), सन्नी पटेल(भारत), गौरव तमोर(भारत)
ललितपुर प्याट्रियोट्स गतसिजनमा दोस्रो क्लालिफायरसम्म पुगेको टोली हो। यसपटक भने टोलीले उपाधि उचाल्ने लक्ष्य लिएको प्रशिक्षक राजु बस्न्यात बताउँछन्। टोलीले मंगलबार देखि टियू र मुलपानी मैदानमा तयारी सुरु गर्ने भएको छ।
ललितपुरले अनुबन्ध गरेका विदेशी खेलाडीहरु यसअघि नै नेपालमा खेलिसकेकाले त्यसले फाइदा पुग्ने विश्वास लिएको छ। जयकिशन र सन्नीले यसअघिको संस्करणमा पनि ललितपुरबाट खेलिसकेका छन्। गौरव तमोरले अघिल्लो महिना भएको पोखरा प्रिमियर लिग(पीपीएल)मा काठमाडौं रायेल्सबाट खेलेका थिए।
‘हाम्रा तीनजनै खेलाडीहरु यसअघि नेपालमा खेलिसकेका छन्,’ बस्न्यातले भने, ‘जयकिशन र सन्नीले पहिले पनि ललितपुरबाट खेलिसकेका हुन् भने गौरव पीपीएलमा बेस्ट ब्याट्सम्यान नै भएका थिए। उनीहरुले नेपाली कन्डिसनमा खेलिसकेको तथा आफ्नो क्षमता अनुसार खेले हामी उपाधि उचाल्छौं।’
अलराउण्डर सन्नी पटेलले पीपीएलको उपविजेता पोखरा राइनोज्बाट खेल्दै १ सय ९४ रन ७ विकेट लिदैँ म्यान अफ द सीरिजको उपाधि जितेका थिए। यस्तै गौरव तामोरले बेस्ट ब्याट्सम्यानको उपाधि पाउँदा ६ इनिङ्सबाट २ सय १२ रन जोडेका थिए।
टोलीले मंगलबारबाट तयारी थालेको छ। टिम ब्यालेन्स रहेको र टोलीका युवा खेलाडीहरुले घरेलु प्रतिस्पर्धा र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा राम्रो प्रदर्शन गरिरहेकाले आफ्नो उपाधि यात्रा अझै बलियो बनेको बस्न्यातले बताए।
राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका ज्ञानेन्द्र मल्ललाई टोलीमा पवन सर्राफ, सोनु तामाङ, कुशल भुर्तेल, शंकर राना, सन्दीप जोराले ब्याटिङमा साथ दिनेछन्। यस्तै सन्दीप लामिछाने, ललित राजवंशी, रसिद खान उसका मुख्य बलर हुन्। यद्यपी बिगब्यास लिग खेल्न जाने भएकाले सन्दीपले इपीएलका दुईवटा खेलमात्रै खेल्नेछन्।
टोलीको तालिका
डिसेम्बर ८ विरुद्ध विराटनगर
डिसेम्बर ९ विरुद्ध चितवन टाइगर्स
डिसेम्बर १० विरुद्ध पोखरा राइनोज्
डिसेम्बर १२ विरुद्ध काठमाडौं किग्स
डिसेम्बर १६ विरुद्ध भैरहवा ग्लाडियटर्स
सुरुमा समूह विजेता बन्ने चितवनको लक्ष्य
खेलाडीहरुः पृथु बास्कोटा, दीपेन्द्रसिंह ऐरी, दीलिप नाथ, ललित भण्डारी, कमलसिंह ऐरी, सदाब आलाम, सागर ढकाल, आदिल खान, भीम सार्की, सन्दीप सुनार र अकाश थापा।
विदेशी खेलाडीः पाउल स्टिर्लिङ(आयरल्याण्ड्स), जर्ज स्कट(इंग्ल्याण्ड), जोन सिम्पसन(इंग्ल्याण्ड)
अघिल्लो सिजनमा चितवनको प्रदर्शन सबैभन्दा कमजोर रह्यो। समूहमा उसले पाँचमध्ये एक खेलमात्रै जित्न सकेको थियो।
कप्तान पृथु बास्कोटा प्रतियोगिता अघि डेभाजु काण्डमा हिरासतमा पुग्नु र टोलीका युवा तथा विदेशी खेलाडीले अपेक्षा अनुरुप प्रदर्शन गर्न नसक्नु त्यसको कारण रह्यो।
यसपटक भने टोलीको नजर समूह विजेता बन्दै उपाधिमा छ। टोलीले यसपटक प्रशिक्षकमा कलाम अलीलाई नियुक्त गरिसकेको छ भने उनले टोलीलाई प्रशिक्षण दिन थालिसकेका छन्।
‘हाम्रो लक्ष्य उपाधि उचाल्ने हो,’ युवा खेलाडीले भरिएको टोलीबाट उत्साहित कलामले भने, ‘सुरुमा हामी ग्रुप टप गर्ने उदेश्य लिएर जान्छौं। त्यसपछि उपाधिका लागि भिड्ने हो। युवा खेलाडीहरु हुनु हाम्रो बलियो पक्ष हो। टी–२० लाई एग्रेसिभ गेम नै भन्छ। युवा खेलाडीहरु एग्रेसिभसँगै फिट हुन्छन्। त्यो हाम्रो पोजिटिभ प्वाइन्ट हो।’
प्रदर्शन नदेखिएका गत संस्करणका खेलाडीहरुलाई रिलिज गर्दै युवा तथा अनुभवी खेलाडीहरुलाई चितवनले अनुबन्ध गरेको छ। गत संस्करणका विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेललाई रिलिज गर्दै उनको स्थानमा टोलीले आयरल्याण्ड्सका विकेट किपर पाउल स्टिर्लिङलाई लिएको छ।
यस्तै उनीसँगै र इंग्ल्याण्ड जोन सिम्प्सन र जर्ज स्कटलाई विदेशी खेलाडीका रुपमा चितवनले विदेशी खेलाडीको रुपमा ल्याएको छ। दुबैसँग इंग्ल्याण्डको घरेलु प्रतियोगिता काउन्टी खेलेको अनुभव छ।
कप्तान पृथु बास्कोटा फर्किएका छन् भने दीपेन्द्रसिंह ऐरी, भीम सार्की, सन्दीप सुनार, दीलिप नाथले उनलाई ब्याटिङमा साथ दिनेछन्। यस्तै राष्ट्रिय टोलकिा स्ट्राइक बलर ललितसिंह भण्डारी, यू–१९ टोलीका स्ट्राइक बलर कमलसिंह ऐरीले टोलीलाई मजबुद बनाएको छ।
टोलीको तालिका
डिसेम्बर ९ विरुद्ध ललितपुर प्याट्रियोट्स
डिसेम्बर १० विरुद्ध काठमाडौं किग्स्
डिसेम्बर ११ विरुद्ध भैरहवा ग्लाडियटर्श
डिसेम्बर १४ विरुद्ध विराटनगर वारियर्श
डिसेम्बर १५ विरुद्ध पोखरा राइनोज्
रिजल्ट भन्दा उत्कृष्ट खेल पस्कने विराटनगरको लक्ष्य
खेलाडीहरुः पारस खड्का, बसन्त रेग्मी, अनिल साह, आसिफ सेख, आकाश विष्ट, हरीबहादुर चौहान, रामनरेश गिरी, प्रनित थापामगर, सुमित महर्जन, पुष्प थापा
विदेशी खेलाडीः बाबर हायात(हङकङ), पाउल भेन म्याकेरन(नेदरल्याण्ड्स), रोलोफ भेन डि मार्वे(नेदरल्याण्ड्स), स्मीत पटेल(भारत)
साविकको विजेता विराटनगर वारियर्शले सोमबार साँझ आफ्ना विदेशी खेलाडीहरु र विदेशी प्रशिक्षण नै घोषणा गर्दै उपाधि रक्षा गर्ने संकेत देखाइसकेको छ।
घरेलु खेलाडीहरुबाट नै बलियो देखिएको टोलीले विदेशी खेलाडीका रुपमा हङकङका कप्तान बाबर हायातलाई निरन्तरता दिएको छ भने नेदरल्याण्ड्सका पाउल भेन म्याकेरन र रोलोफ भेन डि मावे तथा भारतका स्मीत पटेललाई अनुबन्ध गरेको छ।
हायात गत संस्करणमा प्रतियोगिताको सर्बात्कृष्ट खेलाडी बनेका थिए। उनले ७ खेलमा ४४.७१ को औषतमा ३ सय १३ रन जोडेपनि विराटनगरले प्रतियोगिताको उपाधि उचालेको थियो।
पूर्व दक्षिण अफ्रिकी एकदिवसिय तथा बर्तमान नेदरल्याण्डका अलराउण्डर रोल्फ भान डर मर्वे र उनका नेदरल्याण्डकै सहपाठी पल भान मिकिरिनलाई पारस खड्काको कप्तानीमा रहेको बिराटनगर वारियर्सले अनुबन्ध गरेको छ।
यस्तै मर्वेसँग दक्षिण अफ्रिका र नेदरल्याण्डबाट गरेर १३ एकदिवसीय र २५ टि–२० अन्तर्राष्ट्रिय खेलको अनुभव रहेको छ। इण्डियन प्रिमियर लिगमा उनले दिल्ली डेयरडेभिल्स र रोयल च्यालेञ्जर्स बैंगलोरबाट समेत खेलेका छन्। अर्का नेदरल्याण्ड्कै म्याकेरने तीव्र गतिका बलर हुन्। उनले ४ एकदिवसिय तथा २३ टि–२० अन्तर्राष्ट्रिय खेलका छन्।
यस्तै प्रशिक्षकको रुपमा विराटनगरले भारतीय उमेश पटुवाललाई नियुक्त गरेको छ। पटुवालले यसैवर्षको मार्चमा जिम्बाबेमा भएको विश्वकप छनोटमा नेपाली टोलीको ब्याटिङ कन्स्लटेन्सका रुपमा पनि काम गरेका थिए।
मंगलबारबाट तयारी सुरु गर्ने योजनामा रहेको टोलीका व्यवस्थापक रौनक मल्ल आफूहरुले खेलको नतिजा भन्दा पनि प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जाने सोचका साथ खेल्ने बताउँछन्।
‘अघिल्लो संस्करणको विजेता टोली भएकाले उपाधि रक्षा गर्नु चुनौती त हुन्छ नै तर हामी आफ्नो बेष्ट खेल्ने प्रयास गर्नेछौं,’ रौनकले भने, ‘हाम्रो टोलीको मुख्य बलियो पक्ष भनेको टोली एकजुट भएर खेल्छ । गतवर्ष पनि हामीले रिजल्टमा फोकस गर्नुभन्दा पनि व्यक्तिगत प्रदर्शन कसरी सुधार्ने भन्नेमा ध्यान दिएका थियौं। यसपटक पनि हामी त्यसलाई नै निरन्तरता दिन्छौं।’
टोलीको तालिका
डिसेम्बर ८ विरुद्ध ललितपुर प्याट्रियोट्स
डिसेम्बर ११ विरुद्ध पोखरा राइनोज्
डिसेम्बर १२ विरुद्ध भैरहवा ग्लाडियटर्श
डिसेम्बर १४ विरुद्ध चितवन टाइगर्स
डिसेम्बर १७ विरुद्ध काठमाडौं किग्स्
उपविजेताबाट विजेता बन्ने भैरहवाको लक्ष्य
खेलाडीहरुः शरद भेषावकर(कप्तान), प्रदीप ऐरी, आरिफ सेख, रोहितकुमार पौडेल, भुवन कार्की, प्रकाश केसी, कृष्ण कार्की, हरिशंकर शाह, दीपेश श्रेष्ठ, भुपेन्द्र थापा
विदेशी खेलाडीः रायन टेन ड्यासच्याट(नेदरल्याण्ड्स), मोहम्मद नाभिद(यूएई), रविइन्दर सिंह(भारत)
गतसिजनको उपविजेता टोली भैरहवा ग्लाडियटर्सले लक्ष्य एक सिजनमा एक कदम अघि बढ्दै उपाधि उचाल्नेछ। गतसंस्करणमा टोली एक रनले उपाधि उचाल्न चुकेको थियो।
यसपटक भने विदेशी प्रशिक्षक र विदेशी खेलाडीसँगै राम्रा घरेलु खेलाडीहरुले भरिएको भैरहवाले धेरैको ध्यान खिचेको छ। टोलीले दिल्लीका प्रशिक्षकलाई ल्याउने गरेपनि सार्वजनिक भने गरेको छैन्।
उसका विदेशी खेलाडीमा भने नेदरल्याण्ड्सका रायन टेन ड्यासचेट, यूएईका मोहम्मद नाभिद र भारतका रविइन्दर सिंह छन्।
रायनले नेदरल्याण्ड्सबाट ३३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै पाँच शतक प्रहार गरेका छन्। उनले इण्डियन प्रिमियर लिगमा कोलकत्ता नाइट राइडर्सबाट समेत खेलेका छन्। नाभिदसँग ३२ एकदिवसीय अन्तर्राष्ट्रिय, २३ टी–२० अन्तर्राष्ट्रिय खेलेको अनुभव छ। उनी अहिले यूएईमा जारी टी–टेन लिग खेलिरहेका छन्।
रविइन्दर पन्जाबबाट भारतीय रणजी ट्रफी खेल्ने गर्छन्। उनले ४५ पहिलो श्रेणीका खेलहरु खेलिसकेका छन्। भने अघिल्लो महिना पोखरामा सम्पन्न पोखरा प्रिमियर लिगमा प्रभावशाली प्रदर्शन गरेका थिए। पोखरालाई च्याम्पियन बनाउँन उनले फाइनलमा ९० रनको इनिङ्स खेलेका थिए।
भैरहवाले अघिल्लो सातादेखि नै प्रशिक्षण सुरु गरिसकेको छ। सहायक प्रशिक्षक जंगबहादुर थापाले मैदान अभावमा अभ्यास प्रभावित भएको गुनासो पोखे।
‘अहिले कहिले टीयू र कहिले मुलपानीमा अभ्यास गराइरहेका छौं,’ थापाले भने, ‘मैदान अभावले राम्रो अभ्यास गर्न पाएका छैनौं। मुलपानी मैदान राम्रो नहुँदा खेलाडीहरुलाई चोटपटक लाग्ने सम्भावना उत्तिकै हुन्छ। अहिले फिटनेशमा फोकस गरिरहेका छौं।’
टोलीको तालिका
डिसेम्बर ९ विरुद्ध पोखरा राइनोज
डिसेम्बर ११ विरुद्ध चितवन टाइगर्स
डिसेम्बर १२ विरुद्ध विराटनगर वारियर्श
डिसेम्बर १५ विरुद्ध काठमाडौं किग्स्
डिसेम्बर १६ विरुद्ध ललितपुर प्याट्रियोट्स
सुरुवाती दुई खेल हेरेर रणनिती बनाउँने पोखराको लक्ष्य
खेलाडीहरुः शक्ति गौचन(कप्तान), विनोद भण्डारी, सुशान भारी, सुनिल धमला, राजेश पुलामीमगर, सौरभ खनाल, विपिन खत्री, किशोर महतो, सुवेन्दु पाण्डे, विक्रम शोब, नन्दन यादब
विदेशी खेलाडीः सन्नी भिमसारिया(हङकङ), कायल कोल्ट्जर(स्कटल्याण्ड), पाउल कोलिङ (इंग्ल्याण्ड), रिचार्ड लेभी(दक्षिण अफ्रिका)
गत संस्करणमा पोखरा राइनोज क्वालिफायरसम्म पुगेको टोली हो। यस संस्करणमा भने टोलीको नजर पनि उपाधि उचाल्नु रहेको छ। तर, कप्तान शक्ति गौचन सुरुवाती दुई खेल हेरेर लक्ष्य तय गर्ने बताउँछन्।
‘हरेक टोलीको लक्ष्य उपाधि उचाल्नु नै हुन्छ,’ शक्तिले नेपालखबरसँग कुरा गर्दै भने, ‘हामी भने सुरुवाती दुईवटा खेलहरु हेर्न चाहान्छौं। दुईवटा खेलमा राम्रो गर्दै प्रतियोगितामा मोमेन्टन हासिल गर्ने लक्ष्य छ। विदेशी प्रशिक्षक आउँनु भएको छ। यसले पनि हाम्रो खेलाडीको ‘मोरल बुष्ट’ गरेको छ। हामी प्रत्येक खेलमा राम्रो गर्दै जाने लक्ष्यका साथ मैदान उत्रनेछौं।’
पोखराले अस्ट्रेलियन घरेलु क्रिकेटमा परिचित प्रशिक्षक नाथन डुडलाई प्रशिक्षकमा रुपमा नियुक्त गरेका छ। उनीसँगै टोलीले स्कटल्याण्ड्सका कप्तान कायल कोल्टजर, इंग्ल्याण्डका अलराउण्डर पाउल कोलिङ, दक्षिण अफ्रिकाका रिचार्ड लोभी र हङकङका सन्नी भिमसारियालाई अनुबन्ध गरेको छ।
बायाँ हाते ब्याट्सम्यान कोयल ५० एकदिवसीय अन्तर्राष्ट्रिय तथा ४५ टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन्। यस्तै कोलिनले इंग्लाण्डका पहिलो श्रेणीका ३२ खेल खेल्दै एक हजार बढी रहन जोडेका छन् भने लेभीले दक्षिण अफ्रिकाबाट १३ टी–२० अन्तर्राष्ट्रिय खेलिसकेको अनुभव बटुलेका छन्।
विनोद भण्डारी, सुनिल धमला, राजेश पुलामी तथा सौरभ खनाल जस्ता घरेलु उत्कृष्ट ब्याट्सम्यानहरुले भरिएको टोलीमा शक्ति गौचनलाई बलिङमा, सुशान भारी, किशोर महतो, विपिन खत्री र विक्रम शोवले सघाउँनेछन्।
टोलीको तालिका
डिसेम्बर ९ विरुद्ध भैरहवा ग्लाडियटर्श
डिसेम्बर १० विरुद्ध ललितपुर प्याट्रियोट्स
डिसेम्बर ११ विरुद्ध विराटनगर वारियर्श
डिसेम्बर १४ विरुद्ध काठमाडौं किंग्स्
डिसेम्बर १५ विरुद्ध काठमाडौं किग्स्