एसियाली खेलकूदमा नेपालका चार खेललाई स्थान


Infocus



एसियाली खेलकूद प्रतियोगितामा स्थान पाएको प्याराग्लाइडिङ
एसियाली खेलकूद प्रतियोगितामा स्थान पाएको प्याराग्लाइडिङ
फाइल फोटो

एसियाली महादेशको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा मानिएको १८औँ एसियाली खेलकूदमा यसपटक नेपालबाट चार नयाँ खेलले स्थान पाएका छन् ।

NIC ASIA

इण्डोनेसियाको राजधानी जाकार्तामा आगामी २–१७ भदौमा हुने एसियाली खेलकूदमा प्याराग्लाइडिङ, क्लाइमिङ स्पोर्ट, पेनकेक सिलात र स्केटबोर्ड गरी चार नयाँ खेल छनोटमा परेका छन्। यसपटकको एसियाली खेलकूदमा नेपालबाट अहिलेसम्मकै सबैभन्दा बढी २८ खेल समावेश हुँदैछ।

दक्षिण कोरियाको इचोन सहरमा भएको १७ औँ संस्करणको एसियाली खेलकूदमा नेपालबाट २५ खेलले प्रतिनिधित्व गरेको थियो।

एसियाली राष्ट्रबीच सुमधुर सम्बन्ध बनाउने उद्देश्यका साथ स्थापित भएको एसियाली खेलकूद प्रतियोगिता सन् १९५१ बाट शुरुआत भएको हो। त्यतिबेला भारतको नयाँ दिल्लीमा पहिलो पटक प्रतियोगिताको आयोजना गरिएको थियो।

नेपालले प्रतियोगिताको शुरुआतदेखि नै सहभागिता जनाउँदै आइरहेको छ। तर सन् १९५४ र १९६२ को दुई संस्करणको खेलमा भने नेपालले भाग लिएको थिएन।

नयाँ चारखेलसहित प्रतियोगितामा भारोत्तोलन, बक्सिङ, आर्चरी, शुटिङ, एथलेटिक्स, टेबलटेनिस, कराते, ब्याडमिन्टन, कबड्डी, साइक्लिङ, सेपाकताक्रो भलिबल, ट्रायथलन, कुस्ती, फेन्सिङ्, फुटबल, गल्फ, जुडो, लनटेनिस, पौडी, तेक्वान्दो, उसु, कुराँस र बास्केटबल गरी २८ खेलले नेपालको प्रतिनिधित्व गर्नेछ।

प्रतियोगितामा पुरुष खेलाडी १ सय २५ र महिला खेलाडी ५६ गरी १ सय ८१ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै ४५ जना प्रशिक्षक र २४ जना व्यवस्थापक सहभागी हुनेछन्।

आधिकारिक रुपमा भने कति जाने भन्ने टुंगो लागिसकेको छैन। नेपालबाट एसियाली खेलकूदमा जम्मा २ सय ९५ जनाको जम्बो टोली इण्डोनेसिया जाने अनुमान गरिएको छ।

भूकम्पका कारण क्षत विक्षत भएका भौतिक पूर्वधारहरुको समयमा निर्माण हुन नसक्दा खेलाडीले पर्याप्त तालीम लिन केही असहजता भयो। राष्ट्रिय टिम तयारी विभाग प्रमुख अर्जुन विकले विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भौतिक पूर्वाधारको निर्माण कार्य सम्पन्न नहुँदा तालीमका लागि केही असहजता भएको बताए।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा यसपटक नयाँ खेललाई प्राथमिकतामा राखिएकोे जानकारी गराउँदै उनले भने, ‘काठमाडौँमा नभए तापनि देशका विभिन्न ठाउँमा खेलाडीलाई पर्याप्त तालीम दिएका छौँ।’

प्रतियोगिताको तयारीका लागि केही बजेट अपुग भएकै कारणले खेलाडीलाई समयमै तालीम दिन नसकेको उनले बताए।

सरकारले एसियाली खेलकूद प्रतियोगिताका लागि रु पाँच करोड बजेट छुट्याइएको छ। विभिन्न ४५ वटा एसियाका उत्कृष्ट राष्ट्रका खेलाडीबीच हुने उक्त प्रतियोगितामा पदक जित्नु नेपाली खेलाडीका लागि जहिले पनि फलामको च्युरा बन्दै आएको इतिहास छ।

सहभागिताको ६७ वर्ष बितिसक्दा पनि नेपालले एसियाली खेलकूदमा अहिलेसम्म स्वर्णपदक जित्न सकेको छैन। गत संस्करणको खेलमा नेपालले एउटा मात्र पदक जितेको थियो।

त्यतिबेला राखेप मान्यता प्राप्त कराते महासंघले छनोट गरेको खेलाडीको सट्टामा अन्तर्राष्ट्रिय मान्यता प्राप्त कराते महसंघको छनोटमा परेकी विमला तामाङले महिला कराते एकल कातामा कास्य पदक हात पारेकी थिइन्। नेपालको उक्त प्रतियोगितामा जितेको सोही एक पदक मात्र हो । त्यतिबेला कास्य पदक जित्ने देश पनि नेपाल मात्र थियो।

नेपालले अहिलेसम्म जम्मा तीन खेल तेक्वान्दो, कराते र बक्सिङले मात्र पदक जितेको इतिहास छ। एसियाली खेलकूदमा सबैभन्दा ठूलो पदक तेक्वान्दोका सविता राजभण्डारीले जितेकी थिइन्। उनले सन् १९९८ को थाइल्याण्डको बैंककमा भएको एसियाली खेलकूदमा रजत पदक जितेकी हुन्। त्यो नै नेपालको हालसम्म एक मात्र रजत पदक हो।

एसियन खेलकूल प्रतियोगितामा नेपालले अहिलेसम्म २३ वटा पदक जितेको छ, जसमा रजत एक मात्र छ। विगतमा जस्तै यसपटक पनि तेक्वान्दो, जुडो, बक्सिङ, उसु भारोत्तोलन र मार्सलआर्ट्सका खेलमा बढी पदकको आशा गरिएको राखेपअन्तर्गत तालीम तथा प्रशिक्षण विभागका प्रमुख रिमबहादुर रानाभाटले बताए।

‘यसपटकको तयारी व्यापक छ, खेलाडीले पदक भित्र्याउने कुरामा हामी विश्वस्त छौँ’ रानाभाटले भने, ‘यसपटक समावेश गरिएको नयाँ खेल प्याराग्लाइडिङले पनि पदक जित्ने प्रबल सम्भावना छ।’

रानाभाटले प्रतियोगिताका लागि रु सात करोड १३ लाख बजेट आवश्यकता भए तापनि सरकारले छुट्याएको रकम कम भएको गुनासो गरे।

राखेप सदस्य–सचिव केशवकुमार विष्टले विगतमा भन्दा यसपटकको एसियन खेलमा नसोचेको नतिजा ल्याउनेमा आफू विश्वस्त भएको बताए। ‘विगतका संस्करणको खेलमा भन्दा यसपटक नेपालमा धेरै पदक भित्रनेछ’ विष्टले भने, ‘त्यसको सुनिश्चित म गर्छु।’

यता करातेका प्रशिक्षक दीपक श्रेष्ठ भने अहिलेको प्रशिक्षणलाई हेर्दा विगतको वर्ष जस्तै फरक नहुने बताउँछन्। प्रतियोगिता शुरु हुन एक महिना पनि बाँकी नहुँदासम्म आफ्नो टोलीलाई वैदेशिक प्रशिक्षणमा नलगेको उनको गुनासो छ।

‘यही तरिका हो भने खेलाडीले स्वर्णपदक त परै जाओस्, एउटा पदकसमेत हात पार्दैनन्’ ृउनले भने, ‘जबसम्म खेलाडीलाई ‘इन्टनेशनल एक्स्पोर्जर’ गरिँदैन, तबसम्म खेलाडी मानसिक र प्राविधिकरुपमा सबल हुँदैनन्।’

महिला टेबलटेनिसतर्फ छनोट भएकी रविना मर्हजनले आफ्नोतर्फबाट पदक हासिल गर्न सक्दो प्रयास गर्ने बताइन्।

वैदेशिक प्रशिक्षणका लागि आइतबार भारतको नयाँ दिल्ली जाने तयारी भइरहेको जानकारी गराउँदै महर्जनले नेपालभन्दा अन्य एसियाली देशहरु हरेक संरचनाले बलियो भएकाले टेबलटेनिसमा पदक ल्याउने सम्भावना कम रहेको बताइन्।

२ वैशाखदेखि शुरु भएको बन्द प्रशिक्षणमा नेपाली खेलाडी स्वदेश तथा विदेशमा प्रशिक्षण गरिरहेका छन्। नेपाली खेलाडीहरु विराटनगर, महेन्द्रनगर, नेपालगञ्ज, काठमाडौँ, पोखरालगायतका ठाउँमा नियमित प्रशिक्षणमा छन् भने विदेशमा दक्षिण कोरिया, थाइल्याण्ड र चीनमा खेलाडी गइसकेका छन्। त्यस्तै जापान र भारतमा जाने तयारीमा छन्।

प्रकाशित २ साउन २०७५, बुधबार | 2018-07-18 15:46:27
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...

  • नारायणहिटीमा रहेको राजदण्ड हेर्दै प्रधानमन्त्री केपी शर्मा ओली

    हलीको लौरो किन संग्रहालयमा हुँदैन, किन राजाको राजदण्डमात्र हुन्छ?

    जनताले फालेको राजतन्त्रलाई यति सुविस्ता, यति सम्मानका साथ दुनियाँमा कहीँपनि बस्न दिइएको छैन, बस्न दिइएको हुँदैन। तर नेपालमा हामीले अत्यन्त उदार,...

  • दुबर्इमा पक्राउ परेका बेनु श्रेष्ठ (बायाँ) इन्टरपाेल पुलिसकाे नियन्त्रणमा

    इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा: ‘ठूला माछा’ बयान बाहिर

    प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा दुबईबाट पक्राउ गरेका सुन तस्करी ‘सप्लाई चेन’का मुख्य अभियुक्त बेनु श्रेष्ठले...