विश्वकप २०२२: कसरी अंकुराउँदैछ कतारी मरुभूमिमा पालुवा?


Infocus



 घाँसविरुवा हुर्काउने जिम्मेवारी पाएका यासिर अल मुल्लाह
घाँसविरुवा हुर्काउने जिम्मेवारी पाएका यासिर अल मुल्लाह
न्यूयोर्क टाइस्म

दोहाका सडकहरु ‘जीपीएस’ पथ प्रदर्शकहरुबाट अभ्यस्त भइसकेका छन्।

NIC ASIA

 शहरमा सवारी चलाउँदा स्क्रिनमा देखिने हरिया रेखाहरुले आवश्यक निर्देशक दिइरहेका हुन्छन्। केही गल्ती हुने बित्तिकै रोबोटको अटोमेटिक आवाजले शतर्क बनाउँछ। 

कतार यसरी चल्न थालेको दुई दशक हुन आँट्यो। जब तेलले यो देशको भाग्य बदल्यो कतारको विकासले छलाङ नै मार्यो। विकासको गति चमत्कारिक रुपमा हुन थाल्यो। पछिल्ला वर्षहरुमा कतारको विकास संसारलाई आश्चार्यचकित बनाउने किसिमको छ। यो आश्चर्यको कडीमा अब एउटा अर्को विषय थप हुँदैछ। हो, कतारले सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्दैछ।

आइतबार रुसले २१ औं विश्वकप भव्यताका साथ सम्पन्न गरेसँगै अब कतारको पालो आएको छ। अबका चारवर्ष विश्व फुटबल समुदायको ध्यान कतार केन्द्रित हुनेछ। सन् २०२२ मा २६ लाख मानिस भएको कतारले १५ लाख आगन्तुकलाई स्वागत गर्नेछ।

अहिलेको प्रश्न कतारमा कति परिवर्तन होला भन्ने हो। कतारी सामाजले कसरी विश्वकपको उत्साह र अनुभवलाई अविस्मरणीय बनाउला? यो प्रक्रियामा देखापर्ने समस्यालाईे कति मिहिन ढंगले समाधान गर्ला? सबैभन्दा महत्वपूर्ण प्रश्न कामदारको मानवअधिकारसम्बन्धी छ। यसलाई उसले कसरी समाधान गर्नेछ भन्नेमा धेरैको चासो छ। अर्काेतर्फ पैसाको बलमा कतारले विश्वकप आयोजनाको जिम्मा पाएको भन्ने आवाज पनि मत्थर भएको छैन।

यी मध्ये केहीको जवाफ पाइन्छ। केहीको पाइँदैनन् र केहीको जवाफ कहिलै पाइनेवाला पनि छैन।

मरुभूमिमा पालुवा
कतार जस्तोसुकै समयमा पनि अघि बढ्दैछ। गगनचुम्बी घर, सपिङ मल र चमकदार रंगशालाहरु ठडिँदैछन्। कयौं माइल सडकहरु र सार्वजनिक यातायातको ट्रयाक खुलिसकेका छन्। हजारौं आप्रवासी कामदारहरु काममा व्यस्त देखिन्छन्। रुखविरुवा र घाँस मरुभूमिमा अंकुराएको दृश्य रोमाञ्चक लाग्छ। ‘प्रत्येक दिन केही न केही परिवर्तन भइरहेको छ,’ खालिफा अन्तराष्ट्रिय स्टेडियमका म्यानेजर मोहम्मद अहमद भन्छन्, ‘पूरा देश नै ठूलो कुराको भव्य तयारीमा लागिरहेको जस्तो महसुस हुन्छ।’

स्टेडियमका लागि अावश्यक घाँसहरु उमार्ने काममा खटिदैं एक कामदार

स्टेडियमका लागि अावश्यक घाँसहरु उमार्ने काममा खटिदैं एक कामदार

कतारमा गर्मी छ। तातो बालुवामा फोहराहरुले पानी छर्कदैछन्। धेरैजसो पानी त जमिनमा पुग्नुभन्दा अघि नै बाफ बनेर उडिसक्छ। ‘दुईवर्ष अघि यो मरुभूमि थियो,’ घाँस र रुखविरुवाहरु व्यापक रुपमा विस्तार गरिन लागिएको ठाउँ देखाउँदै यासिर अल मुल्लाले भने, ‘त्यसबेला म मरुभूमिमा चल्ने चारपाङ्ग्रे सवारी लिएर अफिस जाने गर्थें। अहिले जागुअर एफ टाइप (जहाँ सुकै चल्ने) गाडी चलाउँछु।’

उनले काम घाँस तथा रुखविरुवा रेखदेखको जिम्मा पाएका छन्। मैदानमा प्रयोग हुने घाँस तथा स्टेडियम, प्रशिक्षक केन्द्रहरु र सार्वजनिक स्थानको सजावटका लागि चार वर्षपछि आवश्यक पर्ने रुख विरुवाहरु उत्पादन गर्न उनको टोली तल्लिन छ। घाँस उत्पादन गर्न, त्यसमा रंगीन बुट्टाहरु भर्न र बाझोँ जमिनलाई सुन्दर बनाउन उनीहरु चौबिसै घन्टा काम गरिरहेका छन्। अहिले उक्त समूहले देशभित्र र बाहिरबाट १० हजार विरुवाहरु टेन्टभित्र जम्मा पार्दै हुर्काइरहेको छ। प्रति वर्ष तीन इन्चसम्म वर्षा हुने दोहामा बिरुवाहरु सजिलै उम्रदैनन्। तर विश्वकपका लागि भने हरियाली अनिवार्य शर्त हो।

चारवर्षमा मरुभुमीले घेरिएको कतारलार्इ हरियाली बनाउने उदेश्यले राजमार्गका छेउमा रोपिएका खजुरका रुखहरु

चारवर्षमा मरुभुमीले घेरिएको कतारलार्इ हरियाली बनाउने उदेश्यले राजमार्गका छेउमा रोपिएका खजुरका रुखहरु

शहरको अर्को छेउतर्फ एउटा फरक समूह छ। जसले घाँसका विभिन्न १२ प्रजातिमाथि प्रयोग गरिरकेको छ। उनीहरु मैदानमा वास्तविक सतह बनाउन तल्लिन देखिन्छन्। उनीहरुले प्रकाश, माटो, पानी र अन्य कुराहरुको समिश्रण गर्दै बनाएका ट्रायल पीचहरुमा फुटबल गुडाइरहेका र नतिजाको मूल्यांकन गर्दै अघि बढिरहेका छन्। ‘मैदानका लागि घाँस उत्पादन गर्ने काम निकै जटिल छ,’ टर्फ निर्माण कार्यको जिम्मा पाएको आस्पिरे स्पोर्टस टर्फका अनुसन्धान म्यानेजर कार्लोस सार्टोरेटो भन्छन्, ‘र, हरेक स्टेडियमको भिन्न पर्यावरणले झन चुनौती थपेको छ।’

तापक्रम व्यवस्थापन
कतारले बनाउन लागेका आठमध्ये खालिफा स्टेडियम तयार भइसकेको छ। केही दिनअघि एक दिउँसो स्टेडियमका म्यानेजर अहदमले आगन्तुकहरुको एक समूह लिएर मैदान प्रवेश गरे। अनि सोध, ‘के तपाईहरुले गर्मी महशुस गर्नु हो?’

त्यस दिन दोहाको तापक्रम उच्चतम बिन्दुमा थियो। चर्को घाम लागेको थियो। स्टेडियम मैदान ढाकिएका थिएन्। त्यहाँ भएका सबै चीजबस्तुहरु खुला थिए। तर, अचम्म त्यस्तो तापक्रममा पनि मैदानभित्रको हावा चिसो थियो। ‘यो इञ्जिनियरिङको कमाल हो,’ उनले भने, ‘जसरी एक कचौरामा भरिएको पानी माथि आउँछ। त्यसरी तलबाट आउने चिसो हावाले गर्मी हावालाई बाहिरी पठाइदिन्छ।’

उच्च तापक्रम नियन्त्रणका लागि स्टेडियममा एसी लगाइएको छ

उच्च तापक्रम नियन्त्रणका लागि स्टेडियममा एसी लगाइएको छ

कतारले फिफालाई खेलका दौरान स्टेडियमहरु ७२ डिग्री फरेनहाइटको तापक्रममा हुने बाचा गरेको छ। तर, यी स्टेडियम तापक्रम ६४ डिग्री फरेनहाइटमा झार्नसक्छन्। फिफाले प्रतियोगिता पनि नोभेम्बर (चिसो महिना) मा सुरु हुने घोषणा गरिसकेको छ। त्यतिबेला यहाँ बाहिरको तापक्रम ८० डिग्री फरेनहाइट भन्दा माथि हुन्छ। समर सिजनमा आयोजना हुने विश्वकपको परम्परा पहिलो पटक कतारमा तोडिँदैछ।

कामदारको शोषणको मुद्दा
लगभग २० लाख विदेशी कामदारहरु अहिले कतारमा काम गरिरहेका छन्। २०१० मा कतारले विश्वकप आयोजना पाएपछि ती कामदारहरुको जीवन सुरक्षाको सवाल चर्को रुपमा उठ्दै आएको छ। निर्माणाधीन अल वाकारा स्टेडियममा ६ सय सवारी साधानले चक्कर काटिरहेको एकदिन दिउँसो हामीले देखेका थियौं। त्यहाँ चार हजार आप्रवासी कामदारहरु चर्को गर्मी बाबजुद आलोपालो काम गरिरहेका थिए।

कामदारहरुसँग जोडिएका निकै विभत्स घटनाहरु बेलाबेलामा बाहिर आइरहन्छन्। फेब्रुअरीमा सार्वजनिक एउटा अडिट रिपोर्टले कामदारहरुलाई हप्तामा ७२ घन्टासम्म काम गराइएको देखाएको थियो। ती कामदारहरुलाई एक ठेकेदारले १ सय २४ दिनसम्म निरन्तर कठोर श्रम गराएका थिए।

अल वाकारा स्टेडियममा जारी निर्माणकार्य

अल वाकारा स्टेडियममा जारी निर्माणकार्य

केही आलोचनाहरु भने विस्तारै मत्थर भइरहेका छन्। अन्तर्राष्ट्रिय श्रम संगठनले आप्रवासी अधिकारको रक्षा गर्न भनेपछि कतारी सरकार कामदार झिकाउने एजेन्सीहरुसँग प्राबिधिक सहयोग सम्झौता गरेको थियो। त्यसयता कामदारहरुको शोषणमा कमी आएको देखिन्छ। आइएलओले दोहा नजिकै रहेको पश्चिमी खाडीमा आफ्नो शाखा पनि खोलेको थियो। जसमा सुरुमा चार जना कामदार थिए भने अहिले १५ जना काम गरिरहेका छन्।

उक्त शाखाले तीन वर्षे कार्यकालमा केही मुद्दाहरु सम्बोधन गरेको छ। कामदारको न्यूनतम तलब तोक्नु, ठेकेदारको अनुमति बिना कामदार फर्कन नसक्ने समस्यालाई निराकरण गर्न, खुला कामदार बजारको सिर्जना गर्न उनीहरु सफल भएका छन्। यसपछि कामदारहरु एकै कम्पनीसँग मात्रै आवद्ध भइरहनु परेन्। संगठनका कर्मचारीले कामदार, प्रहरी अधिकारीहरु तथा ठेकेदारहरुलाई सचेतनाका कार्यक्रमहरु पनि गर्दै आएका छन्।

रंगीचंगी दोहा
दुई सय बलियन डलरको राष्ट्रिय पूर्बाधार विकास कार्यक्रममध्ये ६.५ बिलियन डलर खर्च गर्ने जिम्मा पाएको एउटा सर्बोच्च समितिले एउटा जलस्तम्भ जस्तो देखिनेवाला चमकदार टावर निर्माण गरिरहेको छ। त्यसका वरिपरि विभिन्न रंगहरुको मिश्रण देखाउने गगनचुम्बी घरहरु हुनेछन्। जसमा परिवर्तन भइरहने रंगहरुले दोहाको आकाशलाई रंगीचंगी बनाइरहनेछ।

उक्त निर्माण कार्य नियालिरहेका पेरिसिन गल्फका सहसचिव नासिर अल खातिर मिजासिलो मानिस हुन्। उनी भन्छन्, ‘हामी उनीहरुको कार्यबाट सन्तुष्ट छौं। कामको प्रगती हेर्दा प्रतियोगिता सुरु हुनुभन्दा दुई वर्षअघि नै काम पूरा हुनेमा हामी ढुक्क छौं। कतारका लागि यी उज्याला वर्षहहरु हुन्। पाँच वर्ष अघि हामी कहाँ थियौं र अहिले छिमेकीहरुभन्दा धेरै अघि पुगि सक्यौं।’

साँझमा देखिएको खालिफा इन्टरनेशनल स्टेडियम

साँझमा देखिएको खालिफा इन्टरनेशनल स्टेडियम

छिमेकी साउदी अरेबिया र यूएईले नाकाबन्दी लगाएपछि आवश्यक सामानहरु जुटाउन निकै समस्या झेल्नुपरेको उनले सुनाए। तर उनीहरुले भारत, चीन र टर्कीबाट आवश्यक सामानहरु मगाएर भए पनि निर्माण कार्य प्रभावित हुन दिएनन्। विश्वकप आयोजना मुख्य समितीका अधिकारीहरु उनीहरुले अपनाएको आयोजनाको वैकल्पिक मार्ग पहिचान गरेकोमा सन्तुष्टि छन्।

अल्पसंख्यक कतारीका चुनौती
कतारको कूल जनसंख्या अहिले २६ लाख छ। ती मध्ये ३ लाख मात्र कतारी नागरिक हुन्। त्यस बाहेक अन्य आप्रावासी हुन्। ‘हामी हाम्रो देशमा अल्पसंख्यकका रुपमा छौं,’ महासचिव खातिरी भन्छन्, ‘यहाँ धेरै मानिसहरु हाम्रो संस्कृतिलाई मान्दैनन्। लामो समय नबसेकाले उनीहरुले के सही र के गलत भनेर बुझेकै छैनन्। उनीहरुलाई हाम्रो संस्कृतिबारे जतिसक्दो बढी सिकाउनु हाम्रो अर्को मुख्य काम हो। उनीहरुलाई सत्कारशील बनाउने जिम्मेदारी हाम्रो काँधमा छ।’

उनको भाषामा देशलाई बदनाम गराउन खोज्न विदेशी पत्रकारहरु पछिल्ला वर्षहरुमा पक्राउ पनि परेका छन्। कहिलेकाही कतारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई समेत प्रतिबन्ध लगाएको छ। तर, खातिर भन्छन्, ‘हामी हजारौं पत्रकारहरुलाई स्वागत गर्न तयार छौं। तिनीहरुमध्ये धेरै त फुटबलमा रुचि नराख्ने पनि हुन हुनेछन्। म ढुक्कसँग भन्न सक्छु कि पछिल्ला आठ वर्षमा देशको छाला मोटो भएको छ,’ उनी थप्छन्, ‘२०२२ सम्म त त्यो अझै मोटो भएर जानेछ। हामीलाई धेरै सहनशील भएर प्रस्तुत हुन पनि आवश्यक छ।’

रसियामा पछिल्ला दुई महिनामा त्यहाँका अधिकारीहरु अन्तर्राष्ट्रिय समर्थकहरु र स्थानीयप्रति खुकुलो रुपमा प्रस्तुत भएका थिए। उनीहरुलाई अरुलाई असर नपुर्याउने गरी निर्बाध रुपमा सडकमा नाँच्न, गाउन र पिउन दिइएको थियो। अर्को विश्वकप त्यस्तै चाहिँ हुनेछैन्। खातिर भन्छन्, ‘हामी छुट्टै पिउने स्थानहरु बनाउन सक्छौं तर पूर्व विश्वकप भन्दा रक्सीमा भने बढी नियन्त्रण हुनेछ। आयोजक राष्ट्रले विश्वकप सफल बनाउन आफ्नो पूरै सामथ्र्य खर्चिनुपर्छ। तर, कहिलेकाहीँ समर्थकहरुको व्यवहार आयोजकका लागि चुनौतीपूर्ण हुन्छन्। रुस विश्वकपबाट हामीले त्यो कुरा सिकेका छौं।’

लुइसेल स्टेडियमका अघि रेलको ट्रयाक बनाउने काममा खटिएका मजदुरहरु

लुइसेल स्टेडियमका अघि रेलको ट्रयाक बनाउने काममा खटिएका मजदुरहरु

भौतिक पूर्बाधार निर्माणको सर्वोच्च समितिका प्रमुख हसन अल थावाडी भन्छन्, ‘हाम्रो आयोजक समूहका २५० व्यक्तिहरुले यसपटकको रसिया विश्वकपका हरेक गतिविधि आयोजकसँगै नियालेका छन्। उनीहरुले खेल सञ्चालन, मिडिया व्यवस्थापन र स्टेडियमको बाहिर र भित्रको सुरक्षालाई नजिकबाट हेरेका छन्। उनीहरुले त्यहाँबाट ल्याएका अनुभवहरुलाई हामी यहाँ प्रयोग गर्नेछौ।’ नौ सय वर्ष पूरानो शहर मस्कोले आइतबार रुस विश्वकपको फाइनल आयोजना पूरा गरेको छ। तर चारवर्ष पछि विश्वकप फाइनल हुने लुजिल शहर अहिलेसम्म साँच्चिकै अस्तित्वमा आएकै छैन। मध्य दोहाबाट ३० मिनेट टाढा रहेको यो शहरमा एकातिर ठूला टावरहरु ठिंग्रिङ उभिएका छन् भने अर्कातिर नयाँ निर्माणका कार्यहरु धमाधम भइरहेका छन्। 

अझै पनि भूतको शहरजस्तै लाग्ने पश्चिमी खाडीमा पनि निर्माण कार्य जारी छ। त्यहाँको सडकमा आवारा बिरालोहरु चारैतिर घुमिरहेका छन्। निर्माणाधीन भवनहरुमा राति लाइट बाल्दा हेरचाह गर्नेहरु देखिन्छन्। अन्य टावरहरु अँध्यारा छन्।

लुसेइल शहरमा निर्माण कार्य जारी छ

लुसेइल शहरमा निर्माण कार्य जारी छ

अहिले कतारमा आवश्यकताभन्दा निकै कममात्रै काम भएको छ। कतारले अझै अघि बढ्नुपर्छ। फिफाको म्यान्डेडमा प्रतियोगिताको आयोजकसँग १ लाख २५ हजार होटलका कोठाहरु खाली हुनुपर्छ। तर, कतारसँग अहिले ३० हजारमात्रै कोठाहरु उपलब्ध छन्। यहीबीच थप होटलहरु निर्माण भइरहेका छन्।

सामुद्रिक र मरुभूमिको आनन्द उठाउन चाहनेका लागि कतारले विशेष तयारी गरिरहेछ।

(न्युयाेर्क टाइम्सबाट अनुवाद)

प्रकाशित १ साउन २०७५, मंगलबार | 2018-07-17 14:38:44
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...

  • नारायणहिटीमा रहेको राजदण्ड हेर्दै प्रधानमन्त्री केपी शर्मा ओली

    हलीको लौरो किन संग्रहालयमा हुँदैन, किन राजाको राजदण्डमात्र हुन्छ?

    जनताले फालेको राजतन्त्रलाई यति सुविस्ता, यति सम्मानका साथ दुनियाँमा कहीँपनि बस्न दिइएको छैन, बस्न दिइएको हुँदैन। तर नेपालमा हामीले अत्यन्त उदार,...

  • दुबर्इमा पक्राउ परेका बेनु श्रेष्ठ (बायाँ) इन्टरपाेल पुलिसकाे नियन्त्रणमा

    इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा: ‘ठूला माछा’ बयान बाहिर

    प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा दुबईबाट पक्राउ गरेका सुन तस्करी ‘सप्लाई चेन’का मुख्य अभियुक्त बेनु श्रेष्ठले...