क्रिकेट सहर धनगढीमा डीपीएलकाे भव्य तयारी




धनगढी विमानस्थलमा उत्रनेवित्तिकै ठूलो होडिङ बोर्डमा लेखिएको देखिन्छ, ‘वेलकम टू सिटी अफ क्रिकेट।’

सुदूरपश्चिमको एक मात्र ठूलो उक्त विमानस्थल धनगढी मुख्य बजारभन्दा ७–८ किलोमिटर उत्तरपूर्वमा अवस्थित छ। विमानस्थलबाट जति–जति धनगढीतिर अघि बढिन्छ केही किलोमिटर बिराएर मुख्य सडकमा गेटहरु र होडिङबोर्डहरु देखिन्छन्। ती गेट तथा होडिङहरुमा पारस खड्कासहितका नेपाली क्रिकेट हस्तीहरुको ब्यानरले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को दोस्रो संस्करणमा आउने आगन्तुकलाई स्वागत गरिरहेका दृश्य छन्।

धनगढीको पश्चिमी नाका कञ्चनपुर र भारतको सीमावर्ती गौरिफन्टा बजारसँग जोडिन्छ। कैलाली भन्सार अवस्थित उक्त नाका धनगढी छिर्ने अर्काे प्रवेशविन्दु हो। यस नाकामा पनि उसैगरी होडिङ बोर्ड र गेटहरु लागेका छन्। सन्देश उही छ, 'क्रिकेटको शहर धनगढीमा स्वागत छ।'

त्यसबाहेक मुख्य बजारका बीच—बीचमा ठूल्लठूला होडिङहरु लगाइएका छन्। बजारमा डीपीएल–२ को प्रचार सामाग्रीसहितका अटो रिक्साहरु माइकिङ गर्दै हिँडिरहेका छन्। अटो रिक्साहरुमा डीपीएलको प्रचार सामाग्रीसहितका फेलेक्स टाँगिएका छन्। बजारबीच भागमा अवस्थित एसएसपी कार्यालयको मैदान (आयोजना स्थल) टेन्ट अनि सजावटले झकिझकाउ बनाइँदैछ। नगरबासी डीपीएलको गाइँगुइँ छ।

शनिबारबाट प्रदेश नम्बर ७ को राजधानी धनगढीमा सुरु हुने रुस्लान डीपीएल–२ अघिका दृश्य हुन् यी। डीपीएलले धनगढीको चहलपहल बढाएको छ। आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाही भन्छन्, ‘डीपीएल यस क्षेत्रका लागि पर्वजस्तै हो। सबैले अपनत्व महसुस गर्दै यसको सेलिब्रेट गर्छन्।’

धनगढीकाे शान डीपीएल

डीपीएल आयोजना स्थलमा देखिने स्थानीयका प्रायोजन ब्यानरहरुले पनि शाहीको कुरालाई पुष्टि गर्न सघाउ पुर्याउँछ। ‘हामीले २०६६ सालमा डीपीएलको जग (तत्कालिन एसपीए कप) बसाएका थियौं,’ शाही भन्छन्, ‘त्यसबेलादेखि हामीलाई साथ दिइरहेका स्थानीय प्रायोजकहरु आजसम्म पनि निरन्तर हामीसँगै जोडिएका छन्। ८ वर्ष लगातार कोही प्रायोजकले तपाइँलाई सहयोग गर्छ भने त्यसमा दुई कुरा हुन सक्छ, पहिलो उनीहरुले आफ्नो लगानीको प्रतिफलमा सन्तुष्ट छन्, दोस्रो, उनीहरुले प्रतियोगितामा अपनत्व महशुस गरिरहेका छन्। स्थानीय प्रायोजकहरुले हामीलाई आजसम्म पनि साथ नछाड्नु अपनत्व महसुस गरेर नै हो। सबैको साथले नै डीपीएल यहाँसम्म आइपुगेको हो।’

संघर्षमय विगत

२०६६ सालमा सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए) कप भनेर कलेज स्तरीय प्रतियोगिताबाट अहिलेको डीपीएलको जग बसाईएको थियो। एसपीए एउटा विशुद्ध शैक्षिक संस्था हो भने त्यसको निर्देशक हुन्, सुवाश शाही।

काठमाडौं होटल म्यानेन्जमेन्ट विषयमा स्नातक गरेपछि शाहीसँग दुई विकल्प थिए। एउटा सहपाठीहरुको लहडमा लाग्दै युरोप, अमेरिका तथा अष्ट्रेलिया लाग्नु अर्को आफ्नो जन्मभुमिमा केही गर्ने धनगढी फर्कनु। शाहीले दोस्रो विकल्प रोजे। उनी स्वदेशमा केही गर्ने आट बोकी धनगढी फर्के।

‘मेरो कक्षामा ३० जना विधार्थी थिए,’ स्नातक पढ्दाखेरिको अनुभव सुनाउँदै शाहीले भने, ‘२५ भन्दा बढी विद्यार्थी विदेशिए। कतिपयले मलाई पनि नेपालमा केही छैन्, हिँड् विदेश जाऔं भनेर विदेशका सुन्दर सपना देखाए तर, त्यतिवेलै नेपालमा केही गर्नुपर्छ भन्ने चेत ममा थियो र म धनगढी फर्कें।’धनगढीबाट एसएलसी सकेर काठमाडौं हानिनुअघि सुवाश यस क्षेत्रको क्षेत्रियस्तरका खेलाडी थिए। धनगढी रंगशाला त्यतिबेला उनको क्रिकेट अभ्यासस्थल थियो। २०६८ सालको छैटौं राष्ट्रिय खेलकुद सुदूरपश्चिममा भयो। धनगढी रंगशालालाई फुटबल मैदानमा परिणत गरियो। त्यसअघि हँदै आएको क्रिकेट प्रतियोगिता भने त्यहाँबाट विस्थापित भयो।

रंगशाला बन्नुअघि २०६६ र ६७ सालमा भएका एसपीए कपको पहिलो र दोस्रो संस्करण त्यही मैदानमा भएको थियो। तर, २०६८ पछि भने बजारको मध्यभागमा रहेको अञ्चल प्रहरी कार्यालयको मैदानमा क्रिकेट सीमित भयो।

‘एसपीए कपको पहिलो संस्करण सम्पन्न गर्न हामीलाई ४ लाख बजेट चाहिएको थियो,’ शाहीले सुरुवाती दिनको स्मरण गर्दै भने, ‘थुप्रै धनगढी अनि काठमाडौंका कम्पनीहरुमा म आफैँ प्रायोजन प्रपोजल लिएर गएँ, तर कसैले पत्याएनन् सवैले रित्तो हात फर्काए। तर पनि म हतास भइन स्थानीय सीमित स्पोन्सरहरु खोजेरै भए पनि प्रतियोगिता सम्पन्न गरेँ। किनभने एकचोटी काम गरेर देखाएपछि मान्छेहरु पत्याउन थाल्छन् भन्ने विश्वास ममा थियो।’

पहिलो संस्करणमा देशका विभिन्न १२ टोलीले सहभागिता जनाएका थिए। राष्ट्रिय खेलाडीले भरिएको काठमाडौंको पेन्टागन कलेजले २५ हजार प्रथम पुरस्कार राशी रहेको प्रतियोगिताको उपाधि उचालेको थियो। दोस्रो भएको नेपालगञ्जको होलिल्याण्ड कलेजले १० हजार हात पारेको थियो।

‘पहिलो संस्करण पछि भने हामीले एसपीए कपलाई गति दियौं,’ शाहीले भने, ‘पहिलो संस्करणमा प्रायोजनहरुको मन जित्न केही हदसम्म सफल भएका थियौं। पुराना सम्पूर्ण प्रायोजकले निरन्तरता दिए। र,नयाँले पनि लगानी गर्न नाक खुम्चाएनन्। क्रिकेट हेर्न मैदानसम्म पहिलो संस्करणमै हामी हजारौं दर्शक तान्न सफल भएका थियौं। हाम्रो व्यवस्थापकिय क्षमता पनि बलियो बन्दै गएको थियो।’

२०६७ मा एसपीए कपको दोस्रो संस्करणमा देशका १५ कलेजको सहभागिता थियो। १८ लाख लागत रहेको प्रतियोगिताको विजेता काठमाडौंको नासा कलेजले १ लाख तथा उपविजेता कलैयाको आरआर क्याम्पसले ४० हजार पायो। यही संस्करण देखि प्रतियोगिताले देशकै सर्वाधिक पुरस्कार राशीको ट्याग पायो। यतिवेला सम्म मुलुकमा १ लाख पुरस्कार राशी दिने कुनै प्रतियोगिताहरु आयोजना हुन सकेका थिएनन्।

२०६९ सालमा एसपीए कपको तेस्रो संस्करण आयेजना भयो। पहिलो संस्करणको विजेता काठमाडौंको पेन्टागन कलेजले नै २ लाख सहित उपाधि उचाल्यो। १६ टोली सहभागी यस संस्करणको कुल बजेट २५ लाख थियो।

यहीवेला शाहीले प्रतियोगितासँगसँगै क्रिकेट खेलाडी पनि उत्पादन गर्नुपर्छ भन्ने उदेश्यले स्थानिय महेश शाह र धिरन्ेद्र सावँदसँग मिलेर धनगढी क्रिकेट एकेडेमीको स्थापना गरे। शाह एकेडेमीका संस्थापक हुन् भने सावँद निर्देशक हुन्।

डिसिएल-एसपीए कप हुँदै डीपीएल

एकेडेमीले नियमित अभ्याससँगै शनिबार र विदाको समयमा मात्रै हुने गरि ६ महिनासम्म चल्ने धनगढी क्रिकेट लिग(डिसिएल) को आयोजनाको सुरु गर्यो। जसमा स्थानीय कैलालीका ८ वटा क्लबहरुले सहभागिता जनाउँथे। २०७० सालमा सम्पन्न डिसिएलको पहिलो संस्करणको उपाधि विजेता सिवाइसी अत्तरियालाई १० हजार नगद दिइएको थियो। 

२०७१ सालमा एसपीए कपको चौथो संस्करण र डिसिएलको दोस्रो संस्करण सम्पन्न भयो। ६० लाख लागत रहेको एसपीए कपको यस संस्करणको विजेता शक्ति गौचन नेतृत्वको न्यू होराइजन कलेज बुटवलले ५ लाख पुरस्कार जितेको थियो। यता, डिसिएलको दोस्रो संस्करणको विजेता कैलाली बहुमुखी क्याम्पस(केएमसी) क्लबले २५ हजार पुरस्कार पाएको थियो।

एकातिर एसपीए कप र अर्कातिर डिसिएल सामानान्तर रुपमा अघि बढिरहेका थिए। त्यहीवेला शाहीले २०७२ मा भएको डिसिएलको तेस्रो संस्करण फ्रेन्चाइजी टोली बनाउँदै खेलाडी बोलकबोल(अक्सन) गराउने घोषणा गरे।

‘प्रतियोगिता आयोजनामा हामीले ५ वर्ष भन्दा बढी समय विताइसकेका थियौं। हामीमा परिपक्वता विकास हुँदै गएको थियो,’ शाहीले भने, ‘त्यसपछि नेपालमा व्यवसायिक क्रिकेटको खाचों रहेको महसुस गर्दै ट्रायलका रुपमा हामीले डिसिएलको तेस्रो संस्करणमा स्थानिय स्थानहरुको फ्रेन्चाइज बनाउँदै खेलाडीहरुको अक्सन गराउने घोषणा गरौं।’

कैलालीका विभिन्न पाँच स्थानका टोलीहरु डीसीएलको तेस्रो संस्करणमा सहभागी थिए। प्रत्येक टोलीले धनगढीमा भएको अक्सनमा खेलाडीहरु माथि भाउ लगाएका थिए। स्थानिय खेलाडीहरुको बाहुल्यता रहेको प्रतियोगितामा तत्कालिन यू–१९ राष्ट्रिय टोलीका कप्तान राजु रिजाललाई सन्तोषी टोल टोलीले सर्वाधिक ४० हजार रुपैयाँको भाउ लगाउँदै टोलीसँग अनुबन्ध गरेको थियो। खेलाडी खरिदमा एउटा टोलीले ३ लाख रुपैयाँसम्म खर्चेका थिए। त्योसँगै डिसिएलले नेपालमा खेलाडीहरुमाथि भाउ लागेको पहिलो इतिहास बनायो। प्रतियोगिताको उपाधि विजेता टीम चौराह धनगढीेले ३ लाख उपाधि उचालेको थियो।

‘डीसीएलको तेस्रो संस्करणमा हामीले स्थानियस्तरमा फ्रेन्चाइजी बनाउँदै खेलाडीहरुको अक्सनसहित प्रतियोगिता नौलो अभ्यासका साथ सम्पन्न गर्न सफल भयौं,’ शाहीले भने, ‘त्यसले हामीलाई थप आत्मविश्वासी अनि मजबुद बनायो र हामी राष्ट्रियस्तरमा फ्रेन्चाइजी बनाएर अक्सन गर्ने गृहकार्य थाल्यौं।’

देशका विभिन्न शहरका टोलीहरुलाई लाखौं रुपैयाँ खर्च गर्न लगायर प्रतियोगितामा भित्र्याउनु कठिन थियो। तर, असम्भव केही छैन भन्ने दोहोर्याइरहने शाही त्यो चुनौतीलाई पनि पार लगाए।

‘हामी जस्तो सपना देख्छौ र पछ्याउँछौ त्यसैमा पुग्ने हो,’ शाही भन्छन्, ‘हाम्रो सपना नेपाल एक दिन टेस्ट राष्ट्र बनोस भन्ने थियो। त्यसका लागि घरेलु क्रिकेट र खेलाडीहरु व्यवसायिक हुन जरुरी थियो। र, हामीले डीपीएलको घोषणा गर्दै त्यसतर्फ पहिलो पाइला चालेका थियौं।’

शाहीले भने झै डीपीएल नेपालको पहिलो व्यवसायिक क्रिकेट हो भन्नेमा दुईमत छैन्। त्यसअघि भारत, बंगलादेश, अस्ट्रेलिया, पाकिस्तानका लिगमा फ्रेन्चाइजी टोली र खेलाडीको अक्सन हुने गरेपनि नेपालमा भने त्यसको सुरुवात हुन सकेको थिएन्।

शाही लगायतको टोलीले २०७३ मा डिसिएल र एसपीए कपलाई गाभ्दै डीपीएलको पहिलो संस्करणको घोषणा गर्यो। उक्त प्रतियोगितामा नेपाली क्रिकेटमा विभिन्न नौला प्रयोग भए। देशका ६ वटा शहरहरु फ्रेन्चाइजी टोलीका रुपमा जोडिए। काठमाडौंमा खेलाडीहरुको राष्ट्रियस्तरको अक्सन सम्पन्न भयो। खेलाडीले १ लाख ५० हजारसम्म एउटा प्रतियोगिता खेलेर पाए।

विजेता टीम चौराह धनगढीले १५ लाख र उपविजेता विराटनगरले ७ लाख हात पार्यो। प्रतियोगिताले लगानीका हिसाबले पनि ठूलो फड्को मारेको थियो। आयोजकले उपलब्ध गराएको तथ्यांकका आधारमा प्रतियोगिताको लागत मात्रै १ करोड ६० लाख रुपैयाँ थियो। ४ लाख लागतबाट सुरु भएको एसपीए कपलाई डेढ करोड बढीको लागतमा पुर्याइएको थियो।

डीपीएलकाे लागत तीन कराेड रूपैयाँ

सोही डीपीएलको दोस्रो संस्करण शनिबार धनगढीमा सुरु हुँदैछ। प्रतियोगिताको लागत बढेर अनुमानित तीन करोड रुपैयाँमा पुगेको छ। ६ वटै फ्रेन्चाइजी टोली छन्। अक्सन यसअघि नै सम्पन्न भइसकेको छ। अक्सनबाट एउटा खेलाडीले १ लाख ५० हजारसम्म पाएका छन्। यस संस्करणबाट दुई जना विदेशी खेलाडीहरुले पनि प्रत्येक टोलीबाट प्रतिस्पर्धा गर्दैछन्। नेपालले एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाइसके पछिको पहिलो प्रतियोगिता भएकाले नेपाली क्रिकेट समर्थकहरु प्रतियोगिताको व्यग्र प्रतिक्षामा छन्।

डीपीएलले नेपालमा व्यवसायिक क्रिकेटको जग बसाएको थियो। यसको इतिहास, निरन्तरता, फ्रेन्चाइजी अवधारणा, पुरस्कार राशी, र क्रिकेटमा विकेन्द्रीकरणले यसले नेपाली क्रिकेटमा छुटै विरासत कायम गरेको छ।

प्रकाशित १६ चैत २०७४, शुक्रबार | 2018-03-30 17:04:39



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • बामदेव गौतम

    बामदेव गौतमसँग अन्तर्वार्ताः ओली वाम विमानको मास्टर पाइलट, प्रचण्ड पाइलट, हामी को-पाइलट

    केपीसँग त मेरो ‘दोस्ताना’ हो, त्यस्तो ‘दोस्ताना’ माधबसँग कहिलेपनि भएन। सँगै रक्सी खानेदेखि लिएर रुनेसम्म हामीले गर्‍यौं। मलाई कार्वाहीको माग...

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घन्टा सञ्चालन, दैनिक कार्य प्रगतिको इमेल मन्त्रीलाई (भिडियाे)

    नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि २१ घन्टा सञ्चालनमा आएको छ।

  • बजेटको आन्तरिक स्रोत बलियो बनाउने सरकारको नीति

    सरकारले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आन्तरिक उत्पादनमा बलियो बनाउने योजना घोषणा गरेको छ।

  • प्रेरणा र उनका बुबा पुरुषाेत्तम

    आँशु झार्दै बुबाको प्रश्नः के मेरी छोरीले 'सेलेक्सन' खेल्न पाउने अधिकार छैन्? (भिडियो)

    ‘प्रेरणा कोइराला बनाउन हामीले चारवर्ष निरन्तर मेहनत गरेका छौ। पानी, वर्षा केही भनेनाैं, हामी रातदिन लागि रा’छौं, तर संघ (नेपाल लन टेनिस संघ) जसले...