स्केटिङका स्वर्णधारी युवराज कसरी बने विश्वकै उत्कृष्ट क्रिकेट खेलाडी



युवराज सिंह
युवराज सिंह

एक ओभरमा लगातार ६ छक्का। एउटा विश्वकपमा ३ सय भन्दा बढी रन साथै १५ विकेट। क्यान्सर जस्तो प्राणघातक रोगलाई परास्त गर्दै भारतीय टोलीमा सनसनीपुर्ण पुनरागमन। यति भन्दा नै क्रिकेटप्रति रुची राख्ने जो कोहीले पनि भारतीय अलराउण्डर क्रिकेटर युवराज सिंहको कुरो भइरहेको छ भनेर सजिलै अन्दाज लगाउन सक्छ।

३५ वर्षीय युवराज सिंहले १७ वर्ष पहिले भारतीय टोलीबाट पहिलो खेल खेलेका थिए। ४० टेस्ट तथा ३०४ एकदिवसीय खेलेका उनलाई भारतले २०११ को विश्वकप जित्दाको मुख्य नायक मानिन्छ।

उत्कृष्ट प्रदर्शन गरेपछि उनी प्रतियोगिताको उत्कृष्ट खेलाडीको अवार्डबाट विभुषित भएका थिए।

१७ वटा शतक प्रहार गरिसकेका युवराजको बाल्यकालमा भने क्रिकेटप्रति अलिकति पनि रुची थिएन्। उनी स्केटिङमा बढी रुची राख्थे। बुवा योगराज भने उनलाई क्रिकेटर बनाउन चाहन्थे।  स्केटिङमै लागेका कारण उनले थुप्रैपटक बुबाबाट गाली समेत खानुपर्यो।

आफ्नो आत्मकथा ‘द टेस्ट अफ माइ लाइफ’ मा उनले लेखेका छन्, ‘जब म ११ वर्षको थिएँ, त्यसबेला स्केटिङमा मैले १४ वर्षमुनिको जिल्लास्तरीय प्रतियोगितामा स्वर्णपदक जितेको थिएँ। त्यसरात मेरो बुबा यो महिलाहरुको खेल खेल्न छोडिहाल् भनेर निकै रिसाए। उनले मेरो मेडल पनि एकातिर फालिदिए।’

सिद्धूले फेल गरिदिए

युवराजलाई क्रिकेटर बनाउन उनका पिता योगराजले उनलाई पञ्जाबस्थित पटियाला क्लब लिएर गए, जहाँ नवजोत सिंह सिद्धूको अगाडि उनले आफ्नो क्रिकेट कौशल देखाउनुपर्ने थियो।

आत्मकथामा उनले लेखेका छन्, ‘जब महारानी क्लब पटियालामा सिद्धू मेरो मूल्यांकन गरिरहेका थिए, त्यसबेला म असहज महसुस गरिरहेको थिएँ। म आफ्नै हिसाबले सट खेल्थेँ। मलाई मेरो लेगस्टम्प कहाँ हो भन्ने पनि थाहा हुँदैन थियो। १३ वर्षको उमेरमा म त्यसबेला १३ वर्षीय बालक जस्तै नै थिएँ। १३ वर्षीय सचिन तेन्दुल्कर जस्तो थिइनँ।’

युवराजमा क्रिकेटप्रति  लगाव नदेखेपछि सिद्धूले युवराजलाई एकेडेमीबाटै खारेज गरिदिए र उनी चंडीगढ फर्कनुपर्यो। पिता योगराज युवराजलाई तीब्रगतिका बलर सहित अलराउण्डर बनाउन चाहन्थे। त्यसैले उनले १९९३ मा युवराजलाई बिसनसिंह बेदीको दिल्लीस्थित एकेडेमीमा भर्ना गरिदिए।

‘दिल्लीकोे गर्मीमा हालत खराब थियो। तर अर्कोवर्ष एकेडेमीको क्याम्प हिमाञ्चल प्रदेशमा हुने भएपछि केही राहत महसुस भयो। मलाई एकेडेमीमा तीव्र गतिको बलर बनाउन पठाइएको थियो। जहाँ म आफ्नै उमेरका सहकर्मीहरुसँग तीव्र बलिङसँगै आठौं नम्बरको ब्याट्सम्यानका रुपमा खेल्ने गर्थे।’ उनको आत्मकथामा लेखिएको छ, ‘जब बेदीले मलाई तीव्र गतिमा बलिङ गरिरहेको देखे तब कराउँदै भने, तिमी बलर बन्ने छाँटकाँट छैन, जाऊ ब्याटिङ गर। सायद उनले त्यसबेला भविष्यमा म बायाँ हातको किफायती बलर बन्नेछु भन्ने सोचेका पनि थिएनन्।’

युवराजले ३ सय ४ एक दिवसीय अन्तराष्ट्रिय खेलमा १ सय ११ विकेट लिएका छन् भने ३१ रन खर्चेर ५ विकेट लिनु उनको बलिङतर्फको सर्वश्रेष्ठ प्रदर्शन हो।

छक्का हान्न प्रतिबन्ध लगाइयो

हिमाञ्चल प्रदेशस्थित चैल क्रिकेट मैदान विश्वको सबैभन्दा उचाइमा अवस्थित क्रिकेट मैदान हो। यो मैदान समुद्र सतहबाट २ हजार ४ सय ४४ मिटरको उचाइमा छ। 

बिसनसिंह बेदीको क्याम्पमा नै युवराजले आफ्नो जीवनको पहिलो शतक प्रहार गरेका थिए। जसले उनलाई क्रिकेटको शीर्षमा पुग्दा कस्तो आनन्द हुन्छ भन्ने महसुस गरायो। युवराजले शतक बनाएपछि बिसनसिंह बेदी ब्याट्सम्यानका लागि नयाँ नियम बनाउन बाध्य भए।

आत्मकथामा युवराजले लेखेका छन्, ‘सय रन पुरा गरेपछि मैले दुई छक्का प्रहार गरेँ र तत्कालै पाजी (बिसनसिंह)ले नयाँ नियम लागू गरिदिए। नयाँ नियम बमोजिम छक्का हान्नेलाई आउट घोषित गरिन्थ्यो र पवेलियन फर्कनुपर्थ्यो। पहाडको टुप्पामा अवस्थित उक्त मैदान बाहिर प्रहार गर्दा बल पहाडबाट हजारौँ फिट तल खस्दै हराउने गर्थ्यो। त्यसबेला प्रत्येक बलको मूल्य ३ सय (भारतीय रुपैँया) पर्दथ्यो। एकपछि अर्को गर्दै बल हराउन थालेपछि उक्त नियम लागु गरिएको थियो।’

जुनियर क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै गएपछि युवराजलाई १९९७ मा पञ्जाबको तर्फबाट प्रथम श्रेणीको प्रतियोगिता खेल्न चुनिएको थियो।

रणजी सुपर लिगमा युवराज खेलिरहेका थिए। मोहालीमा खेलिएको उक्त खेलमा ओडिसाविरुद्ध युवराजलाई ओपनिङमा पठाइएको थियो।

सो प्रतियोगिताको स्मरण गर्दै उनले आत्मकथामा लेखेका छन्, ‘सो खेलमा ओपनरका रुपमा मैदान प्रवेश गरेको म शून्य रनमा पवेलियन फर्किएको थिएँ। साथै उक्त खेलमा एउटा क्याच पनि छोडेँ। त्यसपश्चात मेरो नामसँगै धेरैले खराब फिल्डरको ट्याग झुण्ड्याइदिएका थिए।’

जसका कारण पुनः रणजी टिममा पुनरागमन गर्न उनलाई दुई वर्ष पर्खनुपर्यो। रणजी ट्रफीमा सुधारिएको प्रदर्शन जारी राखेपछि उनी सन् २००० मा भारतीय टोलीमा परेका थिए।

(बिबिसी हिन्दी)

 

प्रकाशित २५ असोज २०७४, बुधबार | 2017-10-11 15:51:49

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • सी जिनफिङ र शेरबहादुर देउवा

    सीलाई देउवाको सन्देशः चीनलाई अझै समृद्धिको उचाईमा पुर्‍याउनु

    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासचिव सी जिनफिङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको नयाँ...

  • मोहनविक्रम पत्नी दुर्गा प्यूठानमा साझा वाम उम्मेदवार, राष्ट्रिय जनमोर्चा मिसियो गठबन्धनमा

    एमाले र माओवादी केन्द्र एक मात्र निर्वाचन क्षेत्र रहेको प्यूठान राष्ट्रिय जनमोर्चालाई छाड्न सहमत भएका छन्। यो सहमतिसँगै सोही जिल्लाबाट नेकपा (मसाल)...

  • चिनियाँ विद्यार्थीलाई सँस्कृत पढाउँदै काशीनाथ न्यौपाने

    चिनियाँ विश्वविद्यालयमा सँस्कृत पढाउँदै नेपाली गुरू

    पश्चिम चीनको कान्सु प्रान्तमा सँस्कृत भाषा पढाई सुरू भएको छ। कान्सु प्रान्तको सदरमुकाम लाञ्चौस्थित नर्थवेष्ट जातीय विश्वविद्यालयमा करीब २०० जना...

  • सी जिनपिङका सम्भावित उत्तराधिकारी हु चुनहुवा

    ‘हु चुनहुआ तोकिन सक्छन् सीको उत्तराधिकारी’

    यही महाधिवेसनमा सीले आफ्नो उत्तराधिकारी नतोक्न पनि सक्छन्। ५०–५० सम्भावना छ। मलाई लाग्छ, सीको उत्तराधिकारी हुने सबैभन्दा बढी सम्भावना भएका व्यक्ति...